काठमाडौंमा ११ हजार बढी अपराधको मुद्दा दर्ता
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा अपराध सम्बन्धी ११ हजार भन्दा बढी मुद्दा दर्ता भएको जनाएको छ।
काठमाडौं प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको जनाएको हो। आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको थियो।
धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैकिंङ कसुर पहिलो नम्वरमा रहेको छ भने त्यसपछि क्रमश अभद्र व्यवहार, चोरी, ठगि, लागूऔषध, आत्महत्या, जवरजस्ती करणी, ज्यानमार्ने उद्योग लगाएत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
उहाले सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग गर्दै एआइ क्यामरामार्फत ५९ जना संकित मानिस पहिचान गरि पक्राउ गरिएको बताए। सोही अवधिमा १ सय ४५ हातहतियार बरामद भएको र ५२ जनालाई पक्राउ गरिएको, १ सय ७५ फरार कैदी र ९४ जना थुनुवालाई पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ।
आर्थिक बर्ष २०८२/८३ मा १६ सय धर्ना, ४४३ विरोध/जुलुस भएको र ३ सय ५१ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। सार्वजनिक सेवा प्रवाह हुने स्थानमा दुख–हैरानी दिने ३०९ जनालाई पक्राउ गरिएको र ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको उनले बताए।
त्यस्तै काठमाडौं प्रहरी परिसरले साइबर अपराध तथा नयाँ–नयाँ एप्लिकेसनहरूको संख्या तीव्र रूपमा बढेकाले पहिचान, निगरानी र नियन्त्रणमा कठिनाइ भइरहेको जनाएको छ। सचेत नागरिकहरूसमेत ठगीको शिकार हुनुपरेको र सामाजिक सञ्जालमा हुने कुप्रचार/साइबर बुलिङले मानिसहरूको पारिवारिक तथा सामाजिक जीवनमा असर पारेको प्रवक्ता भट्टराईले बताए।
उनले अपराधका घटना नियन्त्रण र न्यूनिकरण गर्न दैनिक १ हजार १५० देखि १ हजार १८० जना प्रहरी जनशक्ति क्षेत्र (फिल्ड) तथा चेकप्वाइन्टहरूमा खटाइने गरिएको र दैनिक २२० भन्दा बढी सवारी साधन चेकजाँच हुने गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !