अभियानअन्तर्गत दीपेश देशका विभिन्न सहरमा पुग्ने गर्छन्। जहाँ उनले युवालाई लागुऔषधबाट टाढा रहँदै जीवन जीउने तरिका सिकाउँछन्। आत्मबोध, आत्मचेतना, सेल्फकेयर, सञ्चार सीप र तनाव व्यवस्थापनबारे युवालाई प्रशिक्षण दिन्छन्। पाँच वर्षको अवधिमा उनले २५ हजारलाई प्रशिक्षण दिइसकेका छन्।
दीपेश शाही ठकुरीले लागुऔषधको दुव्यर्सनले धेरै युवा बर्बाद भएको देखे। त्यतिमात्र होइन, दुव्र्यसनका कारण थुप्रै सम्बन्धहरू टुटेको र परिवार नै भत्किएको पनि देखे। कुलतमा फसेका सन्तानका कारण आमाहरू रोएको उनले हेर्न सकेनन्। विद्यालय उमेरका बालबालिका लागुऔषधको दुव्र्यसनमा फसेको देखेपछि उनलाई थप पोल्यो।
समाजमा दिनहुँजसो देखिने यस्ता दृश्यले उनको मनमा केही काम गर्ने योजना बन्यो। अनि वीरेन्द्रनगर–३ का २६ वर्षीय युवा दीपेशले लागुऔषधविरुद्ध काम गर्ने अठोट गरे। त्यसपछि सुरु भयो लागुऔषधविरुद्ध उनको अभियान। अहिले दीपेशको परिचय नै बदलिएको छ। अर्थात् उनी हिजोआज लागुऔषधविरुद्धको अभियन्ताको रूपमा परिचित छन्। यही अभियानमार्फत उनले हाल युवालाई लागुऔषधको दुव्र्यसनबाट टाढा राख्ने प्रयास गरिरहेका हुन्।
बढ्दो सहरीकरण, सूचना प्रविधिको पहुँच र देखासिकीका कारण युवाहरू लागुऔषधको कुलतमा फसिरहेका छन्। कर्णालीमा पछिल्ला वर्षहरूमा प्रहरीले पक्राउ गरेको तथ्यांकलाई आधार मान्दा पनि युवाहरू लागुऔषधको जालोमा फसेको तथ्यलाई पुष्टि गर्दछ। दुव्र्यसनकै कारण आज धेरै परिवार अन्धकारमा डुबेका छन्। त्यस्ता परिवारलाई परामर्शमार्फत दीपेशले उज्यालो दिने प्रयास गरिरहेका छन्। हिजो दुव्र्यसनबाट बाहिर निस्कन नचाहनेहरू पनि विस्तारै उनको अभियानबाट प्रभावित भएर कुलतको जालोबाट निस्कन थालेका छन्। एक हिसाबले भन्दा दीपेशले अन्धकारमा दियो बाल्ने प्रयास गरिरहेका छन्।
दीपेशले यो अभियान थालेको पाँच वर्ष भयो। अभियानमार्फत दीपेश कहिले कारागारमा पुगेर मनोपरामर्श गर्छन्। कहिले उनी बालसुधारगृहमा पुगेर लागुऔषधको हानीबारे प्रवचन दिन्छन्। त्यतिमात्र होइन, उनी पुनस्र्थापना केन्द्र, विद्यालय, कलेज र समुदायस्तरमा पनि पुगेर सचेतना फैलाउने गरिरहेका हुन्। युवालक्षित अभियान भए पनि उनी सबै उमेरसमूहका व्यक्तिलाई परामर्श दिन्छन्। जसबाट प्रभावित भएर युवाहरू कहिले पनि लागुऔषधको दुव्र्यसनमा नफस्ने बाचा गरिरहेका छन्। उनको यो अभियानमा विद्यालय, युवा क्लव, प्रहरी र अभिभावकले साथ दिँदै आएका छन्। व्यक्तिगत प्रयास र पहलमा अभियान सञ्चालन गरिरहेका उनले हालसम्म २५ हजार जनालाई परामर्श र हौसला दिइसकेका छन्।
‘कारागारमा युवाको आँखामा आँसु देखेको छु, लागुऔषधको नशामा थरथरी काँपिरहेका युवामा परिवर्तन हुनसक्ने इच्छा पनि देखेको छु,’ दीपेश भन्छन्, ‘परिवर्तन सम्भव छ, युवाको सोचलाई परिवर्तन गरेर सभ्य समाज निर्माण गर्न सकिन्छ।’ युवालाई लागुऔषध दुर्व्यसनको जालोबाट मुक्त गर्न सबैभन्दा पहिलो काम सचेतना नै भएको उनी बताउँछन्। सचेतनामूलक कार्यक्रमले युवालाई दुव्र्यसनबाट टाढा राख्न सकिने उनको भनाइ छ। यस्तै दुव्र्यसनमा फसेकाको पहिचान गरेर उनीहरूको व्यवस्थापन गर्न सकेमा पनि यो समस्या कम हुने उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले यो समस्या भित्रभित्रै भुसको आगोजस्तै बनेको छ, अब यसलाई लुकाउने वा दबाउने भन्दा पनि समाजमा सम्मानजनक पुनःस्थापना आवश्यक छ। कुलतमा फसेकाहरूलाई घृणाभन्दा पनि पुनस्र्थापना गरौं, उहाँहरू पनि आत्मबोध गरेर रूपान्तरण हुन सक्नुहुन्छ।’
अभियानमार्फत दीपेश कर्णालीमा मात्र होइन, देशका विभिन्न सहरमा पुग्ने गर्छन्। जहाँ उनले युवालाई जीवन जिउने तरिका सिकाउने गर्छन्। आत्मबोध, आत्मचेतना, सेल्फकेयर, सञ्चार सीप र तनाव व्यवस्थापनबारे युवालाई प्रशिक्षण दिन्छन्। आत्मबोधले युवालाई कुलतबाट बाहिर निकालेर समाजमा बाँच्न बल पुगेको उनको भनाइ छ।
दीपेश भन्छन्, ‘सोच बदलिए, जीवन बदलिन्छ। मान्छे कोही पनि खराब हुँदैनन्, केवल सोच खराब हुन सक्छन्।’ यसकारण पनि व्यक्तिको सोचमा परिवर्तन गरेर समाजलाई लागुऔषधको जालोबाट टाढा राख्न सकिने उनको दाबी छ। यसका लागि उनको सुझाव छ, ‘लागुऔषधको कारोबार गर्नेलाई कडा कारबाही गरौं, दुव्र्यसनमा फसेकाहरूलाई पहिचान गरेर समाजमा सम्मानजनक पुनस्र्थापना गरौं। युवालाई दुव्र्यसनबाट टाढा राख्न सचेतनामूलक अभियानलाई प्रभावकारी बनाऔं, युवालाई सीपमूलक उद्यममा जोडौं।’ दीपेशलाई यो अभियानमा लाग्न परिवारको साथ छ। परिवारको साथ र सहयोगका कारण नै आफूले अभियानमा समय दिन पाएको उनी बताउँछन्।
हाल स्नातक तहमा अध्ययरत दीपेशको यो अभियानमार्फत एउटा सपना छ। त्यो भनेको, ‘अबको केही वर्षपछि लागुऔषधको कारण कोही पनि युवा कारागार जानु नपरोस्, लागुऔषधकै कारण कुनै पनि परिवार नटुटोस्। युवापुस्ता लागुऔषधबाट टाढै रहुन्।’ आगामी दिनमा यो अभियानलाई थप व्यवस्थित बनाउँदै लैजाने उनको योजना छ। सरकारले भौतिक विकासलाई मात्र प्राथमिकता दिइरहेको भन्दै उनी अब स्वस्थ समाज निर्माणमा पनि लगानी गर्न सुझाव दिन्छन्। ‘सडक र पुल बनाएरमात्र के गर्नु ? यदि समाजलाई लागुऔषधको जालोबाट बाहिर निकाल्न सकिएन भने भौतिक विकासको अर्थ रहँदैन’, उनी भन्छन्। लागुऔषध परिवार व्यक्तिको मात्र समस्या नभई राज्यकै समस्या भएको उनको भनाइ छ।
युवा दुर्व्यसनमा फसेका कारण राज्यले समेत नोक्सान बेहोरिरहेको भन्दै उनले युवालाई स्वस्थ भएर बाँच्न आग्रह गरे। युवा शक्ति स्वस्थ भए देश नै स्वस्थ हुने भएकाले राज्यले पनि यो अभियानको अपनत्व लिनुपर्ने उनको भनाइ छ। दीपेशको अभियानबाट प्रभावित भएर हिजोआज युवाहरूले उनलाई वक्ताको रुपमा बोलाउन थालेका छन्। यस्तै विद्यालय, कलेज, युवा समूह, संघसंस्थाले पनि उनलाई आमन्त्रण गर्दै लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गर्न थालेका हुन्। यस्तै दीपेश आफैंले पनि पछिल्लो समय लागुऔषधविरुद्ध विभिन्न सचेतनामूलक सन्देशहरू निर्माण गरेर सामाजिक सञ्जालमा राख्ने गरेका छन्। यसले लागुऔषधविरुद्ध दीपेशले सञ्चालन गरिरहेको अभियानलाई थप बल पुगेको छ।
प्रतिक्रिया दिनुहोस !