२६ वर्षकी कामना विभागीय टिम नेपाल पुलिस क्लब र महिला भलिबलको राष्ट्रिय टिमकी भरपर्दो स्पाइकर हुन्।
सानो छँदा उनी एथलेटिक्सकी खेलाडी थिइन्। दौडिनु उनको नियमित कर्म थियो। आफ्नै तरिकाले दौडदै गरेकी उनी दौडको रफ्तारलाई बिट मार्दै भलिबलको दुनियाँमा प्रवेश गरिन्। जीवनमा उनले जे पाइन्, आखिर त्यो सब भलिबलले नै दियो। उनी अर्थात् कामना विष्ट, नेपालकी भलिबल क्विन। २६ वर्षकी कामना विभागीय टिम नेपाल पुलिस क्लब र महिला भलिबलको राष्ट्रिय टिमकी भरपर्दो स्पाइकर हुन्।
जाजरकोट खलंगामा जन्मिएकी उनले हरेक बर्ष विद्यालयमा हुने राष्ट्रपति रनिङ सिल्डमा दौड, लङजम्प, हाइजम्पमा सधैं च्याम्पियन हुन्थिन्। उनलाई भलिबल खेल्न भने खासै आउदैन्थ्यो। त्रिभुवन मावि खलंगामा ७÷८ कक्षामा अध्ययन गर्ने सिलसिलामै विस्तारै विद्यालयका शिक्षकहरूले सिकाउँथे, उनले त्यहीअनुसार खेल्न थालिन्।
उनको परिवारमा भलिबलमय वातावरण भएर होला उनी विस्तारै यसमा आकर्षित भईन्। १४ वर्षको उमेरमा उनले क्षेत्रीय खेल खेल्ने अवसर पाइन्, जतिबेला उनी कक्षा १० मा अध्ययन गर्थिन्। त्यही समय उनले राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाइन्, भलिबल खेलाडी भएर। उत्कृष्ट प्रदर्शन गर्दै गएपछि उनी मध्यपश्चिमबाट छनोटमा परिन्।
सातौं राष्ट्रिय खेलकुद उनको पहिलो राष्ट्रियस्तरको प्रतियोगिता बन्यो। उनले मध्यपश्चिमबाट खेलेकी थिइन्। गज्जबको प्रदर्शन गरिन्। त्यही प्रतियोगिताले उनको खेल जीवनमा नयाँ मोड दियो। सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनलाई २०७३ सालमा नेपाल पुलिस क्लबकी कोपिला रानाले विभागीय टिम पुलिसमा प्रवेश गराइन्। 
पुलिससँग जोडिएपछि कामनाको दैनिकी भलिबलमै केन्द्रित भयो। निरन्तरको कडा परिश्रम र मेहनतले उनलाई पहिलो राष्ट्रियस्तरको प्रतियोगितामै प्ले अफ द सिरिजको उपाधि दिलायो। उनले ढोरपाटन महिला भलिबल लिगमा ‘प्लेयर अफ द सिरिज’को उपाधि जितेर स्कुटर प्राप्त गरेकी थिइन्।
‘जीवनमा पाएको पहिलो सफलताले ठूलो खुसी दिने रैछ,’ उनले आमालाई फोन गरेर सुनाइन्। परिवारमा खुसी छायो, छोरीले प्राप्त गरेको सफलतामा आमा बुवाले समेत हर्ष बढाइँ गरे। कामनाका बुवा हरिहर भलिबलकै क्षेत्रीय खेलाडी हुन्। उत्कृष्ट खेल हुँदाहुँदै पनि उनी राष्ट्रिय टिममा छनोट हुन पाएनन्। खेलकुदको राजनीतिबाट भुक्तभोगी कामनाका बुवा आफ्ना सन्तानले नियति भोग्न नपरोस् भन्ने चाहन्थे र छोरीलाई इन्जिनियर बनाउन चाहन्थे। तर छोरीको अन्तरमनले खेल क्षेत्र नै रोज्यो। दृढ इच्छाशक्ति र मिहिनेतले उनलाई नेपालकै भलिबलकी क्विन बनायो।
नेपाली भलिबलकी स्टार प्रतिभा माली र सरस्वती चौधरी उनका मनपर्ने खेलाडी हुन् भने सञ्जय अर्याल उनका आइडल हुन्। ९ कक्षामा पढ्दा उनले सरस्वतीलाई फोटो पत्रिकामा देखेकी थिइन्। त्यही समय हो उनले आफू पनि त्यस्तै खेलाडी बन्ने सपना बुनेको। आज उनको सपनाले आकार लिएको छ। उनी अहिले सरस्वतीसँग एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। 
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली खेलाडी कामना विष्ट पछिल्लो समय नेपाली भलिबल जगत्मा एक आशालाग्दो नामको रूपमा स्थापित छिन्। चोटका कारण केहीसमय समस्यामा परेकी कामनाले २०७६ सालमा त्रिवि शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी थिइन्। त्यतिबेला राष्ट्रिय टिममा पर्ने प्रबल सम्भावना देखाएकी कामनाले टिममा पर्न लामो समय कुर्नुपर्यो।
चोटकै कारण कामनाको राष्ट्रिय टिममा डेब्यु ढिलो भयो। त्योभन्दा धेरै दुःख उनलाई नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउँदा लाग्यो। ‘चोटले गर्दा डेब्यु पनि ढिलो भयो, १३औं साग पनि छुट्यो। त्यो समयमा राम्रा मौकाहरू गुमाएँ,’ कामनाले भनिन्, ‘उक्त खुट्टाको शल्यक्रिया गर्दा पुरस्कार पाएको स्कुटर नै बेच्नु पर्यो।’
चोटपछि भलिबलमा पुनरागमन भएकी कामनाले सन् २०२१ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपबाट राष्ट्रिय टिममा डेब्यु गरिन्। डेब्यु प्रतियोगिताबाटै राष्ट्रलाई स्वर्ण पदक दिलाउन उनी सफल भइन्।
कामनाले सन् २०२३ मा माल्दिभ्समा भएको भलिबल एसोसिएसन कपमा माल्दिभ्स प्रहरीबाट खेलेकी थिइन्। पुलिसलाई सेमिफाइनलसम्मको यात्रामा पुर्याउन योगदान दिएकी कामनाको यो पहिलो अन्तर्राष्ट्रिय एक्सपोजर थियो। उनले माल्दिभ्स यात्राबारे सुनाइन्, ‘विदेशी लिग खेलेर आएपछि आफूमा आत्मविश्वास बढेको महसुस भएको छ। फ्री भएर खेल्न सकिरहेको छु।’
कामनाले एथलेटिक्स तर्फको लङजम्पमा जुनियर च्याम्पियन भएर सन् २०१४ मा कतारको दोहामा भएको एसियन जुनियर च्याम्पियन प्रतियोगितामा भाग लिने मौका पाएकी थिइन्। एथलेटिक्समा राम्रो हुँदाहुँदै पनि छोडेर भलिबल नै भविष्य बनाउने योजनाका साथ कामना पुलिस क्लबमा आबद्ध भइन्। पुलिसकी खेलाडी कोपिला रानाबाट पाएको यो मौका उनको लागि राष्ट्रिय खेलाडी बन्ने सुरुआती चरण बन्यो।
सन् २०२५ को अक्टोबरमा माल्दिभ्समा भएको ‘नाइबोली भलिबल च्याम्पियनसिप’ मा उनी लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन्। सन् २०२१ र २०२४ मा एसियन भलिबल चेम्पियनसिप सेन्ट्रल जोनमा नेपालको प्रतिनिधित्व गर्दै खेलेकी कामनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। सन् २०२३ मा चीनमा भएको १९औँ एसियाली खेलकुदमा उनले सहभागिता जनाएकी थिइन्।
उनले नेपाल पुलिसबाट थुप्रै घरेलु प्रतियोगिताहरू जितेकी छन्। ललितपुर क्विन्सबाट पहिलो सिजनको एभरेस्ट वुमन्स भलिबल लिग खेलेर उनले उत्कृष्ट प्रदर्शन गरिन्।
स्पाइकर पोजिसनमा खेल्ने उनी आफ्नो उत्कृष्ट जम्प र पावरफुल स्पाइकका लागि चिनिन्छिन्। उनी अहिले नेपाली महिला भलिबलको एक महत्वपूर्ण खम्बा र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी छन्। दुर्गम गाँउमा जन्मेर, बिना प्रशिक्षण त्यही खेलेर पनि राष्ट्रिय«य खेलाडी बनेर देशका लागि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन्। खेलमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने कुरा उनले प्रमाणित गरिदिएकी छिन्।
कामनाले २०८२ मा भएको आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई मात्र जिताइनन्, आफूले सर्वोत्कृष्ट खेलाडीको उपाधिसमेत पाइन्। २०८२ मै नेपाल भलिबल एसोसियसनले आयोजना गरेको लिग भलिबलमा पनि नेपाल पुलिस क्लबलाई विजेता बनाउँदै कामनाले वेस्ट स्पाइकरको उपाधि हात पार्न सफल भइन्। भन्छिन्, ‘मैले रोजेको क्षेत्रबाट म सन्तुष्ट छु। मैले राष्ट्रका लागि धेरै गर्नु छ। नयाँ इतिहास रच्ने जिम्मा हाम्रै काँधमा छ। नियमितको अभ्यास, लगनशीलता र मिहिनेतले अवश्य सफलता हात पर्छ। हामी केही गरेर देखाउने छौं।’
प्रतिक्रिया दिनुहोस !