जान र लोरेनको शतकीय साझेदारीसहित नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नामिबियाले नेपाललाई २१२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको हो। नामिबियाका लागि जान फ्राइलिंक र लोरेन स्टिनकाम्पको १३१ रनको शतकीय साझेदारी निकै महत्त्वपूर्ण रह्यो।
व्यक्तिगततर्फ जान फ्राइलिंकले सर्वाधिक १०० रनको शतकीय पारी खेले। उनले १४९ बलमा ३ चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि लोरेनसँग १३१ रनको शतकीय साझेदारी बनाउँदै खेलको लय सम्हालेका थिए। ओपनर ब्याटर माइकल भान लिंगेन ५ रनमै सोमपाल कामीको बलमा बोल्ड भएका थिए। अर्का ओपनर मलान कुर्गेर पनि करण केसीको बलमा १५ रन बनाउँदै क्याच भए।
लोरेन स्टिनकाम्पले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान गेरहार्ड इरास्मस ३ रनमै पेभेलियन फर्किए। जेजे स्मिथ ३ रनमा क्याच भए। जेन ग्रिन ६ रनमा अन्तिम बलमा करण केसीको बलमा गुल्सन झाको हातमा क्याच भए। जान निकोल लोफ्टी इटोन १० रनमा अविजित रहे।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामीले १ विकेट लिए। नेपालका ५ बलर विकेटविहीन रहे। सन्दीप लामिछाने लगातार ३ खेलमा विकेटविहीन बनेका छन्।
प्रतिक्रिया दिनुहोस !