नवलपुरमा टिप्पर दुर्घटना, घाइते तीनजनामध्ये दुईको अवस्था गम्भीर
नवलपुर : नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बुधबार दिउँसो चुनढुङ्गा बोकेको टिप्पर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सर्बोत्तम सिमेन्ट कम्पनीको खानीबाट चुनढुङ्गा लोड गरी पश्चिम नवलपरासी स्थित उद्योगतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८७२१ नम्बरको टिप्पर विनयी त्रिवेणी–५, खाम्चास्थित भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ। ओरालो र साँघुरो सडकका कारण टिप्पर अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी टिप्परमा सवार पाल्पा माछागढी गाउँपालिका–७ मटेरीका ३५ वर्षीय कुल बहादुर ढेगा र विनयी त्रिवेणी–५ चिडीया बस्ने २६ वर्षीय टोप बहादुर राना गम्भीर घाइते भएका छन् । ढेगाको दुवै खुट्टा, दाहिने हात र टाउकोमा गहिरो चोट लागेको छ भने रानाको टाउको र कम्मरमा गम्भीर चोट देखिएको छ ।
यस्तै,टिप्पर चालक रुपन्देही तिलोत्तमा नगरपालिकाका ४७ वर्षीय बाबुराज भट्टराईको छातीमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । घाइते तीनै जनालाई घटनास्थलबाट तत्काल उद्धार गरी थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !