विज्ञान र दर्शनको महायात्रा

समीक्षा

विज्ञान र दर्शनको महायात्रा
सुन्नुहोस्

समय सूत्र केवल समय व्यवस्थापनको गाइडमात्र होइन, बरु यो त भौतिक विज्ञानको जटिलता र पूर्वीय दर्शनको गहनतालाई एउटै सूत्रमा उनेर तयार पारिएको एउटा दार्शनिक दस्तावेज हो।

समय एक यस्तो अनन्त र रहस्यमय प्रवाह हो, जसलाई न त कसैले समात्न सकेको छ, न त रोक्न नै। सृष्टिको आदिम कालदेखि नै मानिसले यसलाई बुझ्ने प्रयास गर्दै आएको छ। कहिले यो घडीका सुइहरूमा टिक–टिक गर्दै दौडिए झैं लाग्छ, त कहिले हाम्रो स्मृतिको गहिराइमा स्थिर भएर बसे झैं आभास हुन्छ। यही समयको बहुआयामिक स्वरूपलाई उधिन्ने एउटा गम्भीर र स्तुत्य प्रयास हो– श्रीश भण्डारीको पछिल्लो कृति ‘समय सूत्र’। यो पुस्तक केवल समय व्यवस्थापनको गाइडमात्र होइन, बरु यो त भौतिक विज्ञानको जटिलता र पूर्वीय दर्शनको गहनतालाई एउटै सूत्रमा उनेर तयार पारिएको एउटा दार्शनिक दस्तावेज हो।

विज्ञका दृष्टिमा ‘समय सूत्र’ : पुस्तकको ओजलाई यसमा समावेश गरिएका विद्वान्हरूका भूमिका र विचारले थप उचाइ प्रदान गरेका छन्। भौतिकशास्त्री प्रा। उदयराज खनाल लेख्छन्, ‘समय सृष्टिको सबैभन्दा गहिरो र रहस्यमय अवधारणामध्ये एक हो। हामी समयमै जीवित छौं र समयलाई मापन गर्छौं, तैपनि समय आफैंमा के हो भन्ने प्रश्नबारे अझै अनभिज्ञ छौं।’ खनालका अनुसार यो पुस्तकले जटिल वैज्ञानिक अवधारणाहरूलाई सटिक र प्रवाहपूर्ण नेपालीमा प्रस्तुत गर्ने प्रशंसनीय प्रयास गरेको छ। 

अर्कोतर्फ, प्रा. आमोदवर्धन कौण्डिन्यायनले समयलाई वेद र उपनिषद्को आँखाबाट नियालेका छन्। उनको विचारमा, ‘वेद अनादि, नित्य, अपौरुषेय तथा शाश्वत ज्ञानराशि हो’ र धेरैजसो आधुनिक ज्ञान–विज्ञानको मूलस्रोत वेदकै ऋचाहरूमा भेटिन्छन्। उनले समयलाई ‘काल’को रूपमा व्याख्या गर्दै यसलाई नै सृष्टिको सञ्चालक र ईश्वरको रूपमा परिभाषित गरेका छन्। पुस्तकमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायको अर्थपूर्ण आवरण चित्र रहेको छ।   

समयसँग साक्षात्कार र भौतिक चिन्तन : भण्डारीले ‘समयसँग साक्षात्कार’ शीर्षकबाट आफ्नो जिज्ञासाको ढोका खोलेका छन्। उनका अनुसार, ‘समय बुझ्नु भनेको घडीको चाल हेर्नु होइनस अस्तित्वको भाषा बुझ्नु, भाव अनुभूत गर्नु र लय पक्रनु हो।’ यो लयात्मक सुरुवातले नै पाठकलाई पुस्तकको गहिराइमा डुब्न प्रेरित गर्दछ। पुस्तकभित्रका शीर्षकहरूले समयका विभिन्न पाटालाई सूक्ष्म रूपमा केलाएका छन्। 

‘भौतिक समय’सम्बन्धी अध्यायमा ‘समय किन सधैं अगाडि मात्रै बग्छ रु’ भन्ने प्रश्नको उत्तर थर्मोडायनामिक्सको दोस्रो नियम र ‘एन्ट्रोपी’सँग जोडेर व्याख्या गरिएको छ। यसअनुसार ‘जति समय बित्दै जान्छ, ब्रह्माण्डमा एन्ट्रोपी अर्थात् अव्यवस्था पनि बढ्दै जान्छ।’ ‘क्वान्टम तहमा समय’को चर्चा गर्दा पुस्तकले विज्ञानको अर्को रोचक पाटोलाई छुन्छ। सूक्ष्म कणहरूको स्तरमा समय दुवैतर्फ अर्थात् अगाडि र पछाडि पनि बग्न सक्ने सम्भावनालाई यहाँ चर्चा गरिएको छ। स्टेफन हकिङको भनाइलाई सापटी लिँदै भण्डारी लेख्छन्, ‘वास्तविक समयमा ब्रह्माण्डको सुरु र अन्त्य हुन्छ... तर काल्पनिक समयमा कुनै सीमा वा सिंगुलारिटी हुँदैन।’

मनोविज्ञान र जैविक समयको लय : समय केवल घडीमा मात्र हुँदैन, यो हाम्रो मस्तिष्क र शरीरभित्र पनि उत्तिकै सक्रिय हुन्छ। ‘मनोवैज्ञानकि समय’ मा लेखकले मानिसको उमेर र अनुभवअनुसार समयको गति फरक हुने तथ्य प्रस्तुत गरेका छन्। ‘जैविक समय’ शीर्षकको अर्को अध्यायमा जीव तथा वनस्पतिहरूमा निहीत रहने सूक्ष्म घडीबारे चर्चा छ जसले सर्काडियन रिदम, अल्ट्राडियन रिदम र इन्फ्राडियन रिदमका रूपमा काम गरिरहेका हुन्छन्। प्रकृतिसँग हाम्रो शरीरको लय कसरी बाँधिएको छ भन्ने कुरालाई यसले बुझाउँछ।

दर्शन र कर्मको कसीमा समय : ‘समय सूत्र’को एउटा बलियो खण्ड ‘समय र दर्शन’ हो। यहाँ लेखकले ऋग्वेद, यजुर्वेद र अथर्ववेद तथा उपनिषद्का महावाक्यहरूलाई आधुनिक जीवनसँग जोडेका छन्। ‘सत्य तिमी स्वयं हौ’ (तत्वमसी) भन्ने उपनिषद्को सारलाई उनले समयको प्रवाहमा हराइरहेका मानिसलाई आत्मबोध गराउने सूत्रको रूपमा प्रस्तुत गरेका छन्। ‘समय र कर्म’ का सन्दर्भमा लेखकको चिन्तन निकै  घतलाग्दो छ। उनी लेख्छन्, ‘समय त यसै बित्छ, उसै बित्छ। त्यो समयमा हामी जस्तो काम गर्छौं, आफू त्यस्तै बन्छौं।’

श्रीमद्भगवद्गीताको कर्मयोगलाई स्मरण गर्दै उनले समयलाई सार्थक बनाउने एकमात्र औजार ‘सत्कर्म’ नै हो भन्ने निष्कर्ष निकालेका छन्। ‘समयको अनिकाल’ शीर्षक अध्यायमा आजको युगमा हामी सबै किन जहिल्यै हतारोमै मात्र हुन थालेका छौं रु भन्ने प्रश्नको गहन विवेचन छ। यसको प्रमुख कारणका रूपमा केही समय चोरहरूलाई औंल्याइएको छ जसमा पैसा, प्रविधि, सरकार-श्रम शोषक, समाज-परम्परा, स्वास्थ्य-कार्यशैली आदिलाई औंल्याइएको छ। 

व्यवहार–व्यवस्थापन र स्व–व्यवस्थापन : पुस्तकको अन्त्यतिर जीवनका दैनन्दिन कार्यहरूका साथै स्व–व्यवस्थापनको चर्चा छ। समय व्यवस्थापनका चर्चित ९ विधिलाई प्रस्तुत गरे पनि लेखकको जोड बाहिरी समय व्यवस्थापनमा मात्र छैन। उनी ‘स्व–व्यवस्थापन’लाई बढी महत्व दिन्छन्। उनका अनुसार, ‘समयलाई हामीले नियन्त्रण वा व्यवस्थापन गर्न सक्दैनौं, हामीले त समयको गतिअनुसार आफैंलाई व्यवस्थापन गरेर जीवन सफल पार्ने हो।’ अन्तिम अध्याय ‘जीवन व्यवस्थापन’मा उनले कठोपनिषद्को रथ–रूपकलाई प्रस्तुत गरेका छन् जहाँ आत्मा घोडचडी जस्तै हो भने शरीर रथ, बुद्धि सारथी, मन लगाम र इन्द्रियहरू घोडा हुन्। 

समय चिन्तनको नयाँ गोरेटो : समग्रमा भन्नुपर्दा, ‘समय सूत्र’ एक यस्तो उत्कृष्ट कृति हो जसले पाठकलाई केवल सूचनामात्र दिँदैन, बरु चिन्तनको एउटा नयाँ गोरेटोमा डोहोर्‍याउँछ। श्रीशको लेखन शैली साहित्यिक छ, जसमा तर्कको दृढता र भाषाको लयात्मकता सँगसँगै पाइन्छ। यो पुस्तकले हामीलाई सम्झाउँछ, समय केवल घडीको सुइमा सीमित छैन। यो त हाम्रो स्मृति, आशा र अस्तित्वको अभिन्न हिस्सा हो। प्रा। खनालले भनेझैं, ‘पुस्तकले उत्तर थोपर्ने प्रयास गर्दैन, बरु सही प्रश्नहरू उठाएर पाठकलाई चिन्तनको यात्रामा सहभागी गराउँछ।’

गहिरो सत्यको बोध : यदि तपाईं समयलाई ‘सेकेन्ड’, ‘मिनेट’ वा ‘घण्टा’जस्ता इकाइभन्दा माथि उठेर बृहत् आध्यात्मिक र वैज्ञानिक दृष्टिकोणबाट बुझ्न चाहनुहुन्छ भने ‘समय सूत्र’ तपाईंका लागि एउटा अनिवार्य साथी बन्नेछ। पुस्तकले एउटा गहिरो सत्य बोध गराउँछ– ‘भोलिका अनिश्चित प्राप्तिहरूको आशामा आजका निश्चित उपलब्धिहरू गुमाउनु हुँदैन।’ आजको यो भागदौडपूर्ण संसारमा आफ्नो आन्तरिक लय खोज्न चाहने जोकोहीका लागि ‘समय सूत्र’ वास्तवमै एउटा अमूल्य उपहार हो। यो पुस्तक परिवारका सदस्य, साथी वा शुभेच्छुकलाई समेत जन्मदिन वा यस्तै कुनै विशेष अवसरमा उपहार दिन लायक छ। अनुशासन, संयम र धैर्यको खाँचो रहेको युवा पुस्तादेखि आफ्नै जीवनको समीक्षायोग्य उमेरमा पुगेका वयोवृद्ध समेतका लागि यो अत्यन्तै उपयोगी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.