नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहास सैद्धान्तिक निष्ठाभन्दा बढी नेतृत्वको व्यक्तिगत अहंकार, पद–प्रतिष्ठा र टुटफुटको विरासतले भरिएको छ। २००६ सालको स्थापनादेखि नै नीतिगत विवाद र कार्यदिशाका नाममा सुरु भएको विभाजनको शृंखला आजसम्म आइपुग्दा झनै गन्जागोल बनेको छ। गत चुनावमा नराम्ररी पराजय भोगेका दुई मुख्य कम्युनिस्ट घटक एमाले र नेकपाबीच पुनः एकताको चर्चा सुरु भएपछि भुइँतहका कार्यकर्ता र युवा पुस्ता भने पुस्तान्तरणको पक्षमा खुल्न थालेका छन्।
नेपालगन्ज : करिब ३२ वर्षअघि माओवादी सशस्त्र विद्रोहको उद्गम थलो थियो— पहाडी जिल्ला रोल्पा। जहाँबाट २०५२ साल फागुन १ गते माओवादीले ‘बन्दुकको नालबाट राजनीतिक परिवर्तन’ को मार्ग कोरेका थिए। उनीहरूले त्यही मार्ग हुँदै लक्ष्यमा पुग्न वैचारिकसँगै भौतिक आक्रमणलाई तीव्र पारे।
‘बन्दुकको नालबाट निस्किएको विचार’ शब्दभन्दा चर्को आवाजमा गुन्जिन थाल्यो। आक्रमण केवल शरीरमाथि मात्र थिएन, कांग्रेसको ‘रूख’ र एमालेको ‘सूर्य’ सबैलाई तारो बनाउँदै आफ्नोबाहेक अरूका विचारलाई ‘शत्रु’ को संज्ञा दिइएको थियो। खासगरी रोल्पामा एमालेको जग र संगठन निकै बलियो थियो। त्यसलाई नभत्काउँदासम्म रोल्पालाई माओवादीले आफ्नो लडाइँको सुरक्षित ‘आधार क्षेत्र’ बनाउन सक्ने अवस्था थिएन। जसका कारण वैचारिक र सैद्धान्तिक प्रतिवादमा उत्रनेहरूलाई शत्रु ठान्दै भौतिक आक्रमण गर्न थालियो। तर, आफ्नो सैद्धान्तिक आस्था र विश्वासको दियो निभ्न नदिन समर्थकहरूले आक्रमणको सामना गर्दै र सहँदै गए। जुन बेला कार्यकर्ता र समर्थकको गर्धनमा खुकुरी तेस्र्याइन्थ्यो, त्यो बेला अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी सदस्यमात्रै थिए।
तर, रोल्पाली एमाले समर्थकहरू आफ्नो आस्था काँधमा बोकेर गोलीभन्दा कडा बनेर उभिन खोज्दै थिए। उनीहरूमध्येकै एक हुन्– ईश्वरी जीएम। डाँडाकाँडामा हिँड्ने पाइला, थकाइ नमानी अघि बढ्ने विश्वास र मृत्युको डरलाई सामान्य छायाझैं पन्छाउने साहससँगै बलिदानको भावना थियो उनमा।
कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा एकता, रूपान्तरणका नारासहित मनाइरहँदा जीएमलाई एकताको नारामा उत्ति चित्त बुझेको छैन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीले अस्पतालमै भेटेपछि चलेको एकताको बहसले उनलाई शंका मात्र होइन, विरक्त पनि लागेको छ। उनी भन्छिन्, ‘यस्तो भयो भने बचेखुचेका समर्थकहरू पनि पूरै पाखा लाग्ने चिन्ताले पिरोलेको छ।’
केन्द्रीय कमिटीको बैठकमा ओलीको कार्यशैलीविरुद्ध प्रतिवादमा उत्रने साहस राख्ने यी महिला नेतृ अहिले ओलीको नियतप्रति शंका गर्छिन्। त्यति मात्र होइन, एक सातायता पुनः चर्किएको एकताको बहसप्रति उनले गम्भीर प्रश्न उठाएकी छन्।
जीएम कम्युनिस्ट पार्टीहरूबीचको एकताका लागि उठाइएको बहस—सैद्धान्तिक रूपमा आकर्षक भए पनि अनुपयुक्त ठान्छिन्। भन्छिन्, ‘यदि एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने सोच सच्चा मनसाय र एमाले समर्थकहरूको आकांक्षासँग मेल खाने गरी आएको भए स्वागत गर्न सकिन्थ्यो। तर, पछिल्लो राजनीतिक परिदृश्य हेर्दा यो बहस स्वाभाविकभन्दा पनि रणनीतिक देखिन्छ।’ आमनिर्वाचनमा आएको कमजोर परिणामपछि नैतिक रूपमा राजीनामा दिएर युवाहरूलाई नेतृत्वको मार्ग प्रशस्त गर्लान् भन्ने अपेक्षा गरेका एमालेका अधिकांश दोस्रो र तेस्रो पुस्ताका नेताहरू पनि उस्तै निराश र आक्रोशित छन्।
सबैतिरबाट तिरस्कृत भइसक्दासमेत युवा शक्तिलाई समेत छिन्नभिन्न तुल्याएर आफ्नो स्थान सुरक्षित गर्न खोजेको ठहर उनको छ। ‘यो बेला त युवाहरूलाई नेतृत्व हस्तान्तरण गरेर परिवर्तनको सन्देश दिने र ऊर्जावान् तुल्याउने समय हो। त्यो त उहाँले गर्नुभएन नै,’ माओवादीको भौतिक आक्रमण भइरहेको क्षण सम्झँदै जीएमले थप टिप्पणी गरिन्, ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ। त्यो चोट सहेर एमाले बचाउनेहरू फेरि उसैसँग मिल्दा भावनात्मक एकता हुनै सक्दैन।’
जीएमको निष्कर्ष स्पष्ट छ— अहिलेको मूल आवश्यकता केवल कम्युनिस्ट एकता होइन, बरु आन्तरिक रूपान्तरण हो। उनी भन्छिन्, ‘पार्टीलाई जनतामाझ पुनः स्थापित गर्न नयाँ सोच, नयाँ नेतृत्व र खुला दृष्टिकोण आवश्यक छ।’ यस्तै असन्तुष्टि अर्को कोणबाट पनि देखिन्छ। रुकुमपश्चिमकी नेकपा जिल्ला कमिटी सदस्य चिना बिकको अनुभव फरक छ, तर निष्कर्ष उस्तै छ। उनी ओलीले एमालेमा सम्मानपूर्वक बस्न नदिँदा आफू माधवकुमार नेपालसँगै एमाले छाड्न बाध्य भएको बताउँछिन्। भन्छिन्, ‘जसले आफ्नै नेता–कार्यकर्तालाई पार्टीमा बस्न दिएन, उसैले फेरि एकताको नारा दिनु नाटक मात्र हो।’
रोल्पासँगै रुकुमपश्चिमका पुराना घाउहरू अझै पनि पूर्णरूपमा भरिएका छैनन्। त्यसैले त्यही भूगोलबाट उठेका आवाजहरूले निकै गहिरो सन्देश दिन्छन्। ‘राजनीतिक एकता केवल नेतृत्वको सहमति होइन, त्यो इतिहास, भावना र विश्वासको पुनर्मिलन पनि हुनुपर्छ,’ चिनाले भनिन्।
एमालेका हुन् वा एकीकृत समाजवादीका युवाहरू, उनीहरू व्यावहारिक र नेतृत्वगत यथार्थलाई हेर्दा तत्काल यस्तो एकता सम्भव देख्दैनन्। दाहाल र ओलीबीच भेटवार्ता भएको सन्दर्भमा एकताको बहस हुनुलाई उनीहरू स्वाभाविक ठान्छन्। तर, विगतका घटनाक्रमले देखाउँछ कि एमालेभित्रै पनि माधवकुमार नेपालजस्ता नेतासँग दीर्घकालीन सहकार्य कायम रहन सकेन। यस्तो अवस्थामा अहिले दाहाल र नेपालसँग स्थायी रूपमा मिलेर अगाडि बढ्ने सम्भावना कमजोर देखिन्छ।
ओलीको राजनीतिक शैली र स्वभावलाई हेर्दा उनी अरू नेताको अधीनमा बसेर राजनीति गर्ने सम्भावना न्यून छ। यस कारणले एकता भए पनि दीर्घकालीन स्थायित्व रहन्छ भन्नेमा शंका गर्न सकिन्छ। चिना भन्छिन्, ‘यसैले वर्तमान अवस्थामा पूर्ण एकीकरणभन्दा सहकार्य वा कार्यगत समझदारी सम्भव देखिन्छ। तर तत्काल एकीकरण हुने सम्भावना निकै कम छ।’
एमालेमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि करिश्मा योगी पनि माधव नेपालसँगै समाजवादीतिर लागेकी थिइन्। अहिले उनी नेपाली कम्युनिस्ट पार्टी बाँकेकी सक्रिय युवा नेतृ हुन्। उनको अनुभव छ, ‘पार्टीभित्र अहिले नेताहरूले आफ्नै स्वार्थ पूरा गर्ने खेल मात्र चलाइरहेका छन्, जहाँ कार्यकर्ताको आवाज सुन्ने कुनै संस्कार नै बाँकी छैन।’
आफ्नै नेता र कार्यकर्तालाई पाखा लगाएर नेकपासँग एकीकरणको कुरा गर्नु केवल देखावटी राजनीति भएको उनको आरोप छ। उनी स्पष्ट भन्छिन्, ‘यस्तो परिस्थितिमा कुनै पनि हालतमा भावनात्मक एकता सम्भव छैन। नेताहरू देश र पार्टीको भविष्यभन्दा पनि ‘म कसरी बाँच्ने ?’ भन्ने स्वार्थी दाउमा केन्द्रित छन्।’
उनका अनुसार दाहाल अझै केही वर्ष सत्तामा टिकिरहने रणनीतिमा छन्। यो खेलमा ओली र दाहाल मिलेर फेरि माधवकुमार नेपाललाई किनारामा पार्ने सम्भावना देख्छिन्, जसको उदाहरण विगतमै देखिइसकेको छ।
अब भने कसैको पछि लाग्ने, झोला बोक्ने वा निर्देशन कुर्ने जस्तो राजनीति स्वीकार्य नहुने उनको स्पष्ट धारणा छ। ‘केवल पार्टी कार्यालय धाएर बस्ने वा आशामा समय बिताउने कामले कुनै परिवर्तन ल्याउँदैन,’ योगीले निष्कर्ष सुनाइन्।
एमाले बाँकेका युवा नेता सतिश निरौला पनि वर्तमान राजनीतिलाई केवल घटनाको शृंखला होइन, समयको थाकेको कथा जस्तो देख्छन्। उनका शब्दमा— ओली अब केवल एक नाम मात्र होइनन्, एउटा यस्तो अध्याय हुन् जसको म्याद इतिहासले नै विस्तारै बन्द गरिसकेको छ।
एकपटक बनाइएको पुल भत्किसकेको छ भने त्यही भग्नावशेषमाथि फेरि बाटो बनाउने कल्पना केवल भ्रम हो। उनी निष्कर्ष निकाल्छन्, ‘जुन एकता डरबाट जन्मिन्छ, त्यो दीर्घकालीन हुँदैन। त्यसले न त मन जित्न सक्छ, न त इतिहास। त्यसैले यस्तो प्रयास सफल हुनु त टाढाको कुरा, स्थिर रहन पनि सक्दैन। अन्ततः समयले फेरि प्रमाणित गर्नेछ— जबरजस्ती गाँसिएका सम्बन्धहरू सधैं कमजोर हुन्छन्।’
अर्का पाका नेता तथा एमाले बाँकेका पूर्वसांसद बाबुराम गौतम पनि ‘माथि–माथि एकीकरणको कुरा’ ले भ्रम सिर्जना गरेको बताउँछन्। गौतम ओलीका कारण पार्टीको शीर्ष तह र तल्लो तहबीच गहिरो दूरी सिर्जना भइसकेको संकेत गर्छन्। जब नेतृत्वले रणनीतिक निर्णय लिन्छ तर कार्यकर्ताको मनोविज्ञान बुझ्दैन, त्यस्तो एकता केवल कागजमा सीमित हुन्छ।
गौतमलाई भूगोलमा तल्लो तहका कार्यकर्ता र समर्थक निराश र निष्क्रिय भइरहेको राम्रो जानकारी छ। उनको भनाइले पार्टीको वास्तविक संकट उजागर गर्छ। कुनै पनि राजनीतिक दलको शक्ति केवल नेतामा होइन, आधारभूत संरचना अर्थात् कार्यकर्तामा हुन्छ। यदि त्यो आधार नै निराश छ भने त्यो पार्टी भौतिक रूपमा बाँकी त रहन्छ, तर ऊर्जाहीन र दिशाहीन बन्छ। एमालेभित्र ‘संरचनात्मक थकान’ बढिरहेको छ।
एमाले र अन्य कम्युनिस्ट पार्टीका युवा नेताहरूको प्रतिक्रिया र भनाइलाई हल्का रूपमा लिन सकिँदैन। उनीहरूको धारणाले एकीकरण गर्ने भनिएका पार्टीभित्र सम्भावित ठूलो पुनर्संरचना वा आन्तरिक द्वन्द्वको प्रारम्भिक संकेत गरेका छन्। यस्तो अवस्थामा नेतृत्वले बलपूर्वक आफ्नो मात्र योजनाको भारी बोकाउन खोज्यो भने अब जनाधार गुमाएका पार्टीभित्र थप विस्फोट हुने संकेतहरू देखिएका छन्।
एकता नै भावनाविपरीत
तल्लो तहका कार्यकर्ता र समर्थकहरूको भावनाविपरीत २०७५ जेठ ३ गते एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। त्यो बेला पुनर्गठित पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल थिए। तर, माओवादीसँग एकता गर्दा धेरै एमाले समर्थकको भावना र चाहनामा गहिरो चोट पुग्यो।
सशस्त्र विद्रोहमा बन्दुकको नालसँग जुधेर एमालेको सूर्य झन्डा समातेर हिँड्ने हात र मनहरू निष्क्रिय भएका थिए। ओलीको लहडले चरम निराशा ल्याएको थियो। अन्ततः त्यो एकीकरण २ वर्ष ९ महिनापछि फेरि दुई टुक्रा भयो। धेरै नेता, कार्यकर्ता र समर्थकहरू एमाले र माओवादी केन्द्रमै फर्किए।
ओलीले देश बनाउन एकता गरेको र अर्का अध्यक्ष दाहालले समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकताको निर्णय लिएको दाबी गरेका थिए। यी दुई नेताका दाबीलाई समय र व्यवहारले पूरै असत्य सावित गरिदिएको छ। जसको प्रमाण उति बेलै ओलीले एकता घोषणा कार्यक्रममा देखाएका थिए। ओलीले अरू साना कम्युनिस्ट घटकहरूलाई हेपेर भनेका थिए, ‘के ससाना पसल थालेर बस्ने ? आउनुहोस् एकजुट भएर जाऊँ।’
२०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि दाहालले आन्तरिक भेलाहरूमा भनेका थिए, ‘अब सके एमालेलाई निल्ने, नत्र...।’ ओली र दाहालले छेडेको एकताको बहस चल्दा निष्ठावान् एमाले कार्यकर्ता ‘बचेको एमालेलाई पनि एकीकरणको नाममा दाहालले निल्ने त होइन ? ’ भन्ने त्रासमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बीच २०४७ पुस २२ गते पनि एकीकरण भएको थियो। त्यो बेला पनि सबै माक्र्सवादी समेटिन सकेका थिएनन्।
एकताका सूत्रधार नै छिन्नभिन्न
२०७५ साल जेठ ३ गते भएको एकताका सूत्रधार थिए— एमालेका वामदेव गौतम र विष्णु पौडेल। माओवादीबाट भने समयक्रममा पात्रहरू फेरिए, तर जनार्दन शर्मा मुख्य सूत्रधारका रूपमा देखिए। गौतम र पौडेलले केपी ओलीको दूतका रूपमा काम गरेका थिए भने शर्माले प्रचण्डको।
ईश्वर पोखरेल र सुवास नेम्बाङ पनि सूत्रधारमध्येकै हुन्। निष्कर्षमा पुग्ने बेला झलनाथ खनाल, माधव नेपाल र माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालाई सहभागी गराइयो। तर, अहिले एकीकरणका सूत्रधारहरू समेत एमालेमा अटाउन नसकेर बाहिरिनु परेको प्रष्ट छ। हुन त त्यो एकता प्रक्रियामा कृष्णबहादुर महरा र वर्षमान पुन असन्तुष्ट थिए, त्यसैले उनीहरू एकता घोषणासभामा देखिएनन्।
माधवकुमार नेपालले ओली र दाहाल मिलेर आफ्नो भूमिका कमजोर पार्न खोजेको भन्दै चित्त दुखाइसकेका थिए। उनले आफ्नो भूमिकालाई नजरअन्दाज नगर्न ओलीलाई पटक–पटक चेतावनीसमेत दिए। एकीकरण संयोजन समितिमा एमालेबाट ४ जना सदस्य रहने भनिए पनि झलनाथ खनाल र ईश्वर पोखरेलमध्ये को रहने भन्ने प्रश्न उठेपछि खनाल पनि खिन्न भए। यी तथ्यहरूले ओली र दाहाल जसरी पनि आफू सत्ता र केन्द्रमा टिकिरहने दाउमा थिए र अहिले पनि छन् भन्ने आधारलाई पुष्टि गर्छन्। यस आधारमा यी दुई नेताहरूले आफ्ना लागि नेता, कार्यकर्ता र समर्थकहरूको भावनालाई जुनसुकै बेला तिलाञ्जली दिन सक्छन् भन्न सकिन्छ।
फुटको मुख्य कारण
२०७८ भदौ २ गते धेरैलाई निराश तुल्याउने र एमाले दुईटुक्रा पारेको दिन हो। लामो विवादपछि एमाले औपचारिक रूपमै विभाजन भएको थियो। अन्ततः एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन गरे।
दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश आएलगत्तै नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। अध्यादेशमार्फत विभाजनको मौका कुरेर बसेको समूहले नयाँ दल दर्ता गर्यो । नयाँ दलमा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना संघीय सांसद आबद्ध भएका थिए। ती सबैलाई ओलीको उपेक्षाले एकढिक्का हुन सहयोग पुर्याएको थियो।
हुन त नेपाल पक्षले विभाजन नहुँदै समानान्तर गतिविधि गर्दै आएको थियो। फुटेर नयाँ दल बनेसँगै ओलीलाई चुनौती दिन अर्को दलसँग एकता गर्नु उसको अपेक्षा थियो। ओलीलाई दोष दिए पनि यो पार्टी धेरै दिन सग्लो रहन भने सकेन। किनभने नयाँ दल गठनमा साथ दिएका सबै नेता पछि सहमत भएनन्। भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य र रघुजी पन्तलगायतका दोस्रो तहका नेताहरू एकीकृत समाजवादीमा गएनन्। उनीहरूले फुटलाई गलत भने र एमालेमै फर्किन आग्रह गरे। तर, एमालेमा फर्केकामध्ये पनि धेरै जना ओलीको व्यवहारका कारण फेरि किनारा लाग्न पुगेका थिए।
विभाजनको ४ वर्षपछि २०८२ कात्तिक १९ गते माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीच एकता घोषणा भयो र नेपाली कम्युनिस्ट पार्टी गठन भयो। अहिले यो पार्टीका संयोजक दाहाल फेरि ओली नजिक पुग्न थालेपछि एकीकृत समाजवादीका युवाहरू ओलीसँग सहकार्य वा एकीकरण गर्न नसकिने बताउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस !