गृहमन्त्रालयले गठन गर्यो पाँच सदस्यीय छानविन समिति
कप्तानगन्जमा झडप प्रकरण : संयमित भएर शान्ति-सुरक्षा कायम गर्ने सर्वपक्षीय सहमति
सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति भएको छ। घटनापछि सोमबार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय,इनरुवामा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो।
बैठकले गृहमन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ। साथै,घटनालाई लिएर उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयम अपनाउने र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्ने र कुनै पनि प्रकारका उत्तेजक गतिविधि हुन नदिने विषयमा समेत छलफल भएको थियो। गृहमन्त्रालयले कप्तानगन्ज घटनाको छानबिन गर्न सोमबार नै पाँच सदस्यीय समिति गठन गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !