अब कांग्रेस एकताको महाधिवेशन

अब कांग्रेस एकताको महाधिवेशन

आजको आवश्यकता स्पष्ट छ– विवाद होइन, संवाद; विभाजन होइन, एकता र अतीतमा अल्झिने होइन ।

१४ औं महाधिवेशनपछि १५ औं महाधिवेशनसम्मको यात्रामा कांग्रेसले विशेष महाधिवेशनको एउटा अतिरिक्त खुड्किलो पार गर्नु परेको यथार्थ अब इतिहासको अंश भइसकेको छ। यसलाई नकार्ने वा विवादमा अल्झाइराख्नेभन्दा पनि त्यसबाट सिकेर अगाडि बढ्ने समय आएको छ। यो प्रक्रिया विवादरहित थिएन र यसको वैधानिकताबारे अदालतको निर्णय आइसकेको छ। अब गुटहरूलाई पुरानै तवरमा सक्रिय बनाइराखेर बदलिँदो राजनीतिक परिवेश अनुकूल कांग्रेस बन्न सक्दैन। यस सन्दर्भमा महत्त्वपूर्ण प्रश्न– के कांग्रेस विगतका विवादमा अल्झिरहने कि भविष्य निर्माणतर्फ केन्द्रित हुने ?

आत्मसमीक्षाको अवसर :  १५औं महाधिवेशन आत्मसमीक्षाको अवसर पनि हो। गुटीय विरासतलाई जोगाइराख्न कृत्रिम विवाद सिर्जना गर्नु पार्टीको दीर्घकालीन हितमा छैन। विशेषगरी, नेतृत्वबाट टिकट लिएर चुनाव लड्ने र पछि सोही प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्तिले संगठनात्मक एकता, राजनीतिक नैतिकता र एकताका आधारहरूलाई कमजोर बनाउँछ। अब त्यसको अन्त्य हुनुपर्छ। त्यसैले अबको आवश्यकता भनेको आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा एकता, सहमति, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नु हो। समग्र देशको राजनीतिमा जुन स्तरमा परिवर्तन स्थापित भएको त्यसको दाँजोमा पार्टीले आफूलाई परिमार्जन गर्ने कि नगर्ने ? गर्नै पर्दछ।

नेपाली राजनीतिक इतिहासमा नेपाली कांग्रेस एक यस्तो संस्था हो, जसले लोकतन्त्रको स्थापना, पुनस्र्थापना र संस्थागत सुदृढीकरणमा अग्रणी भूमिका निर्वाह गरेको छ। राणा शासनको अन्त्यदेखि लिएर २०४६ सालको जनआन्दोलन, त्यसपछिको बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना, सशस्त्र द्वन्द्वको शान्ति प्रक्रियामा रूपान्तरण र नयाँ संविधान निर्माणसम्मका प्रत्येक ऐतिहासिक मोडमा कांग्रेसको नेतृत्वदायी र निर्णायक भूमिका रहँदै आएको छ। तर, विगतको यही गौरवशाली विरासत बोकेको पार्टी आज आन्तरिक विभाजन, गुटीय मानसिकता र बदलिँदो समयसँग सामञ्जस्य मिलाउन नसक्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेको यथार्थ स्विकार गर्ने कि नगर्ने ?

यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा कांग्रेसप्रतिको चिन्ता र कांग्रेसको अवस्था देखेर देशप्रतिको चिन्ता मुखर भएर आउँछ। आशा कहाँनिर छ भने १५औं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने सम्भावना भने सकिएको छैन। जुन चाहिँ भविष्यको कांग्रेस निर्माणका लागि अत्यन्त महत्त्वपूर्ण पनि छ। यसमा सम्बन्धित सबै सकारात्मक र गम्भीर बन्नैपर्दछ। पार्टीले अहिलेबाटै परस्पर विश्वास निर्माण गर्ने, विगतका असन्तोषहरू समाधान गर्ने र साझा लक्ष्यमा केन्द्रित हुने अभ्यास सुरु गर्न सक्छ। त्यसैले महाधिवेशन केवल नेतृत्व परिवर्तनको प्रक्रिया नभई संगठनात्मक पुनर्जागरणको विन्दु बन्न सक्छ। एकताको बलियो जग बन्न सक्छ।

ताजा विगतलाई नै फर्केर हेर्दा पनि धेरै कुरा सिक्न सकिन्छ। भदौ २३ र २४ गतेको ‘जेन—जी आन्दोलन’ले नेपाली राजनीतिमा एउटा नयाँ सन्देश दिएको थियो। त्यो आन्दोलनले पुस्तागत अन्तर कति गहिरो छ भन्ने कुरा उजागर गर्‍यो। सडकमा रहेका युवा र सत्तामा रहेका नेताहरूबीच करिब पाँच दशकको उमेर अन्तर थियो, जसले सोच, प्राथमिकता र विश्लेषणलाई दुई ध्रुवमा विभाजित गरिदियो। लोकतन्त्रमा जनतासँग यस्तो ध्रुवीकरणको परिणाम चुनावी नतिजामा देखिनु स्वाभाविक हो।

कांग्रेसले आफ्नो अस्तित्व जोगाउनेमात्र होइन, नेपालको लोकतान्त्रिक भविष्यलाई पनि सुरक्षित गर्ने दायित्व छ, कांग्रेसमाथि। अन्यथा, गौरवशाली इतिहास केवल सम्झनाको पानामा सीमित हुने खतरा पनि उत्तिकै प्रबल छ।

लोकतन्त्रमा जनताको अपेक्षासँग असन्तुलन हुँदा त्यसको प्रभाव निर्वाचन परिणाममा देखिएको कारणले गर्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको देखिन्छ। यसबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँगको असामान्य सत्ता सहकार्यले कांग्रेसको वैचारिक स्पष्टता र जनविश्वासमा प्रश्न उठायो। परम्परागत रूपमा उदार लोकतान्त्रिक धार बोकेको पार्टीले वैचारिक रूपमा फरक धारको दलसँग सहकार्य गर्दा त्यसको औचित्य जनतामाझ स्पष्ट भएन। यसले जनविश्वासमा गिरावट ल्याएको तथ्य स्पष्ट देखिन्छ। विगतमा जनतामाझ स्थापित भरोसा कमजोर बन्दै जानु, संगठनात्मक ऊर्जा क्षीण हुनु र विचारधारात्मक स्पष्टता हराउँदै जानुले पनि जनादेशमा असर पारेको यथार्थ हो।

तर यतिमात्र होइन, सुशीला कार्की नेतृत्वमा सरकारको गठन नै निर्वाचनको मिति घोषणासँगै भएको थियो। तर, गुट र टिकट वितरणमा हस्ताक्षर अधिकारको आन्तरिक लडाइँमा कांग्रेसले समयको गणना नै भुलेको जस्तो भेउ दियो। विशेष महाधिवेशनको पक्षधर र तत्कालीन संस्थापनबीचको रस्साकस्सी चलिरहँदा नयाँ शक्तिसँग भिड्ने चुनावी रणनीति कहीँ कतै बहसमा थिएन। नभन्दै चुनाव मुखैमा आइपुग्यो। यी विषयहरू पार्टीलाई विवादको अर्को चरणमा लैजान होइन, आत्मसमीक्षाका निम्ति यतिखेर सान्दर्भिक हुन सक्छन्। भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिने गरी अघि बढ्नुपर्छ।

नवीकृत कांग्रेस निर्माण :  डिजिटल युगमा राजनीति सञ्चालनको तरिका पनि तीव्र रूपमा परिवर्तन भइरहेको छ। सामाजिक सञ्जाल, डाटा र ‘एल्गोरिदम’को प्रभावमा जनमत निर्माण हुने अवस्थामा परम्परागत संगठनात्मक शैली प्रभावहीन बन्दै गइरहेको छ। ‘एल्गोरिदम’को प्रभावमा जनमत निर्माण हुने समयमा कांग्रेस अझै ‘दाजु नेता र अनुयायी कार्यकर्ता’को पुरानो ढर्रामा अड्किएको देखिन्छ। कांग्रेसको ‘नेता केन्द्रित’ संरचनामा निर्णय प्रक्रियामा व्यापक सहभागिता र पारदर्शिता अभाव छ। विशेष महाधिवेशनपछि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्तासँग तालमेल मिलाउने प्रयास गरे पनि त्यो प्रयास ढिलो भइसकेको थियो। गगन–विश्वले नयाँ पुस्तासँग संवाद बढाउने प्रयास गरेका छन्। उनीहरूको सक्रियता र प्रस्तुतिले पार्टीभित्र केही आशा जगाएको भनियो तर त्यो जनमतमा रूपान्तरित हुन सकेन। यो तथ्यलाई मनन् गर्नु पर्दछ।

आजको राजनीतिक सन्दर्भमा देशले अनेकौं जटिल चुनौतीहरूको सामना गरिरहेको छ– आर्थिक मन्दी, वैदेशिक निर्भरता, भू–राजनीतिक दबाब, बढ्दो बेरोजगारी र सामाजिक असन्तोष। यस्तो अवस्थामा एक सक्षम, अनुभवी र दूरदर्शी राजनीतिक शक्तिको आवश्यकता छ। कांग्रेससँग त्यो सम्भावना अझै पनि छ, तर त्यसलाई साकार पार्न संगठनात्मक सुदृढीकरण अनिवार्य छ। एक ढिक्का भएको कांग्रेसले मात्र यो सम्भावनालाई डोहोर्‍याउन सक्छ। इतिहासले प्रमाणित गरेको सत्य हो, ‘कांग्रेसले संकटको समयमा देशलाई निकास दिएको छ।’ तर, विगत तीन दशकको राजनीतिक अभ्यासले सिर्जना गरेका विकृतिहरू भ्रष्टाचार, गुटबन्दी, अवसरवादले ती उपलब्धिहरूलाई ओझेलमा पारेका छन्।

जनतामाझ विश्वासलाई पुनः प्राप्त गर्न यी समस्याहरूको स्विकारोक्ति र समाधान दुवै अनिवार्य छ। यसको सुरुवात नै १५औं महाधिवेशनबाट एकताबद्ध र नवीकृत कांग्रेसको निर्माणबाट हुन सक्छ। अब ‘डिजिटल कांग्रेस’को अवधारणा कार्यान्यवन गर्नुपर्नेछ। १५औं महाधिवेशनले एकताको जग बन्न सक्यो सजिलै अवलम्बन गर्न सकिने यो नवीकरणीय अवधारणा केवल प्रविधिको प्रयोगमात्र होइन, सोच र कार्यशैलीको रूपान्तरण पनि हो। पार्टीका ऐतिहासिक उपलब्धिहरूलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्नु, सदस्यता व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनु, नीति निर्माणमा डाटा आधारित दृष्टिकोण अपनाउनुपर्ने पक्षहरूलाई यसको केन्द्रमा राख्नुपर्ने हुन्छ।

पुस्तान्तरण, संघर्ष होइन सहकार्य :  भविष्यको कांग्रेस निर्माण गर्ने सन्दर्भमा पुस्तान्तरण एउटा केन्द्रीय मुद्दा हो। युवा पुस्तालाई नेतृत्वमा अवसर दिनु आवश्यक छ, तर त्यसका साथसाथै अनुभवी नेताहरूको योगदानलाई सम्मान गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। पुस्तान्तरणलाई संघर्षको विषय नभई सहकार्यको प्रक्रियाका रूपमा बुझ्नुपर्छ। यसका लागि केही ठोस नीतिगत सुधारहरू आवश्यक छन्। पहिलो, गुटीय संरचनालाई संस्थागत रूपमा निष्क्रिय बनाउँदै विचार र नीतिमा आधारित प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु। दोस्रो, संगठनभित्र पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नारा व्यवहारमा उतार्नु। र, तेस्रो, पार्टीभित्र युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै समग्रमा देशका युवाका प्राथमिकता—रोजगारी, शिक्षा, प्रविधिलाई पार्टीको एजेन्डामा समावेश गर्नु।

भदौ २४ पछिको राजनीतिक घटनाक्रमले देखाएको छ कि देश अझै पनि अस्थिरताको जोखिममा छ। यस्तो अवस्थामा लोकतान्त्रिक मूल्य र संस्थाहरूको संरक्षण गर्न कांग्रेसको भूमिका अहम् हुन्छ। विगतमा कांग्रेसले लिएको नीतिगत अडानले देशलाई अधिनायकवादतर्फ जानबाट रोकेको यथार्थलाई सबैले आत्मसात् गर्ने अवस्था बनाउन सक्नुपर्छ। यस अर्थमा १५औं महाधिवेशन कांग्रेसका लागि केवल संगठनात्मक प्रक्रिया होइन, आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो। यदि पार्टीले यसलाई एकताको आधार बनाउँदै अगाडि बढ्न सक्यो भने नयाँ ऊर्जा र जनविश्वासको पुनस्र्थापना हुनेछ। देशको भविष्यले यस्तै कांग्रेस पर्खिरहेको छ। एकता, विश्वास र साझा दृष्टिकोणको आधारमा पुनर्गठित कांग्रेसले मात्र आफ्नो ऐतिहासिक भूमिका पुनस्र्थापित गर्न सक्छ। अन्यथा, विगतको गौरवशाली इतिहास केवल सम्झनामा सीमित हुने खतरा रहिरहन्छ।

यसैले आजको आवश्यकता स्पष्ट छ– विवाद होइन, संवाद; विभाजन होइन, एकता र अतीतमा अल्झिने होइन, भविष्य निर्माणतर्फ अग्रसर हुने साहस। सबै प्रकारका आग्रह/पूर्वाग्रहलाई सबै कांग्रेसजनले त्याग्नु पर्दछ। यदि नेपाली कांग्रेसले यो मार्ग अवलम्बन गर्न सक्यो भने १५औं महाधिवेशन साँच्चिकै एकताको जग बन्नेछ र नेपाली लोकतन्त्रको भविष्य सुदृढ हुनेछ। कांग्रेसले आफ्नो अस्तित्व जोगाउनेमात्र होइन, नेपालको लोकतान्त्रिक भविष्यलाई पनि सुरक्षित गर्ने दायित्व छ, कांग्रेसमाथि। अन्यथा, गौरवशाली इतिहास केवल सम्झनाको पानामा सीमित हुने खतरा पनि उत्तिकै प्रबल छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.