सर्पसँग खेल्ने प्रदीप ‘सर्प उद्धारकर्ता’
धनकुटा : धेरैका लागि सर्प भनेको डर र त्रासको प्रतीक हो । सर्प देख्नेबित्तिकै मानिस भाग्ने वा मार्ने प्रयास गर्छन् । तर, महालक्ष्मी नगरपालिका–५ लेगुवा रामबजार निवासी २२ वर्षीय प्रदीप श्रेष्ठको सर्पसँगको भेट डर होइन, जिम्मेवारीमा पर्दछ । उनी यतिबेला धनकुटा जिल्लाभरि ‘सर्प उद्धारकर्ता’ का रूपमा परिचित छन् ।
सानैदेखि जनावरप्रति रुचि राख्ने प्रदीपले कुनै औपचारिक तालिम लिएका छैनन् । तर, सर्प उद्धारमा उनी खटिरहेका छन् । उनले सर्प उद्धार गर्न थालेको ८–९ वर्ष भइसकेको छ । बाल्यकालदेखि नै सर्पबारे आफैं अध्ययन गर्दै उद्धारमा खटिरहेको उनले बताए । उनको लेगुवा रामबजारमा हार्डवेयर पसल छ । तर, सर्प भेटिएको खबर आउनेबित्तिकै पसल छाडेरै उद्धारका निम्ति निस्किन्छन् । स्थानीय बासिन्दाले फोनमार्फत खबर गरेपछि उनी तुरुन्तै घटनास्थलमा पुग्ने गर्छन् । मुख्यत : घर वा बस्तीभित्र पसेका सर्पहरूको मात्रै उद्धार गर्छन् । ‘जंगलमा भएको सर्पलाई किन उद्धार गर्नु ? त्यो त सर्पको प्राकृतिक बासस्थान हो,’ उनी बताउँछन् ।
अहिलेसम्म करिब ३ सयभन्दा बढी सर्पलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएका छन् । उनले उद्धार गरेका सर्पहरूमा किङ कोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेट, र्याट स्नेकदेखि लिएर विभिन्न प्रजातिका अन्य सर्पहरू पर्छन् । तीमध्ये किङ कोब्रा (राजगोमन) अत्यन्त विषालु हुने उनी बताउँछन् ।
सबैभन्दा चुनौतीपूर्ण क्षण किङ कोब्रा उद्धारकै हुने उनी बताउँछन् । ‘सुरुका दिनमा स्रोत साधन केही थिएन । एकपटक किङ कोब्रा नियन्त्रणमा लिन करिब ४ घण्टा लागेको थियो,’ उनले सम्झिए । त्यो अनुभवले उनलाई अझ सतर्क र अनुभवी बनाएको उनी बताउँछन् । उद्धार गरिएका सर्पहरूलाई प्रजातिअनुसार फरक–फरक स्थानमा छोड्ने गरिएको छ । विषालु नभएका सर्पहरू नजिकैको जंगलमा छोडिन्छ । विषालु सर्पहरूलाई वन कार्यालयसँग समन्वय गरेर बस्तीभन्दा टाढा रहेको घना जंगलमा लगिन्छ । अहिले किङ कोब्रालाई उद्धार गरी तराईको चारकोसे झाडीमा छोड्ने गरिएको छ ।
तर, यति जोखिमपूर्ण काम गर्दा पनि सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको उनी गुनासो गर्छन् । ‘वन कार्यालयले सहयोग गर्ने भनेको छ तर अहिलेसम्म व्यवहारिक रूपमा केही गरेको छैन’, उनी दुखेसो पोख्छन् । उद्धारमा खटिँदा लाग्ने अधिकांश खर्च आफैंले बेहोर्दै आएका छन् ।
पछिल्लो समय पहाडी क्षेत्रमा धेरै विषालु सर्प देखिन थालेका छन् । यसको कारण जलवायु परिवर्तन, डढेलो र सामान ढुवानीका क्रममा सर्प सर्ने जस्ता हुन् । ‘पहिला खासै नदेखिने सर्प अहिले देखिन थालेका छन्’, उनले भने, ‘यसले जोखिम पनि बढाएको छ ।’
सर्पदंशको जोखिम बढ्दै जाँदा पहाडी क्षेत्रमा उपचारको व्यवस्था भने अझै पर्याप्त नभएको उनी बताउँछन् । स्थानीय अस्पतालहरूमा एन्टिभेनम (विष नाशक औषधि) उपलब्ध हुनु पर्ने उनको भनाइ छ । सर्प उद्धारमा उनी प्राय : एक्लै खटिने गर्छन् । कहिलेकाहीँ टाढा जाँदा सहयोगका लागि छिमेकीलाई लैजान्छन् । ‘सरकारले अरू मानिसलाई पनि तालिम दिएर यस काममा लगाउनुपर्छ’, उनले भने, ‘एक्लैले सबै ठाउँ धान्न गाह्रो हुन्छ ।’ किङ कोब्रा जस्तो दुर्लभ र खतरनाक सर्प अहिलेसम्म चारवटा उनले उद्धार गरिसकेका छन् । सर्प उद्धारमा अहिले पनि उनी निरन्तर सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस !