सर्पसँग खेल्ने प्रदीप ‘सर्प उद्धारकर्ता’

सर्पसँग खेल्ने प्रदीप ‘सर्प उद्धारकर्ता’
सर्प उद्धारमा खटिएका प्रदीप श्रेष्ठ । तस्बिर : हरि लम्जेल
सुन्नुहोस्

धनकुटा : धेरैका लागि सर्प भनेको डर र त्रासको प्रतीक हो । सर्प देख्नेबित्तिकै मानिस भाग्ने वा मार्ने प्रयास गर्छन् । तर, महालक्ष्मी नगरपालिका–५ लेगुवा रामबजार निवासी २२ वर्षीय प्रदीप श्रेष्ठको सर्पसँगको भेट डर होइन, जिम्मेवारीमा पर्दछ । उनी यतिबेला धनकुटा जिल्लाभरि ‘सर्प उद्धारकर्ता’ का रूपमा परिचित छन् ।

सानैदेखि जनावरप्रति रुचि राख्ने प्रदीपले कुनै औपचारिक तालिम लिएका छैनन् । तर, सर्प उद्धारमा उनी खटिरहेका छन् । उनले सर्प उद्धार गर्न थालेको ८–९ वर्ष भइसकेको छ । बाल्यकालदेखि नै सर्पबारे आफैं अध्ययन गर्दै उद्धारमा खटिरहेको उनले बताए । उनको लेगुवा रामबजारमा हार्डवेयर पसल छ । तर, सर्प भेटिएको खबर आउनेबित्तिकै पसल छाडेरै उद्धारका निम्ति निस्किन्छन् । स्थानीय बासिन्दाले फोनमार्फत खबर गरेपछि उनी तुरुन्तै घटनास्थलमा पुग्ने गर्छन् । मुख्यत :  घर वा बस्तीभित्र पसेका सर्पहरूको मात्रै उद्धार गर्छन् । ‘जंगलमा भएको सर्पलाई किन उद्धार गर्नु ? त्यो त सर्पको प्राकृतिक बासस्थान हो,’ उनी बताउँछन् । 

अहिलेसम्म करिब ३ सयभन्दा बढी सर्पलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएका छन् । उनले उद्धार गरेका सर्पहरूमा किङ कोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेट, र्याट स्नेकदेखि लिएर विभिन्न प्रजातिका अन्य सर्पहरू पर्छन् । तीमध्ये किङ कोब्रा (राजगोमन) अत्यन्त विषालु हुने उनी बताउँछन् । 

सबैभन्दा चुनौतीपूर्ण क्षण किङ कोब्रा उद्धारकै हुने उनी बताउँछन् । ‘सुरुका दिनमा स्रोत साधन केही थिएन । एकपटक किङ कोब्रा नियन्त्रणमा लिन करिब ४ घण्टा लागेको थियो,’ उनले सम्झिए । त्यो अनुभवले उनलाई अझ सतर्क र अनुभवी बनाएको उनी बताउँछन् । उद्धार गरिएका सर्पहरूलाई प्रजातिअनुसार फरक–फरक स्थानमा छोड्ने गरिएको छ । विषालु नभएका सर्पहरू नजिकैको जंगलमा छोडिन्छ । विषालु सर्पहरूलाई वन कार्यालयसँग समन्वय गरेर बस्तीभन्दा टाढा रहेको घना जंगलमा लगिन्छ । अहिले किङ कोब्रालाई उद्धार गरी तराईको चारकोसे झाडीमा छोड्ने गरिएको छ । 

तर, यति जोखिमपूर्ण काम गर्दा पनि सरकारी निकायबाट अपेक्षित सहयोग नपाएको उनी गुनासो गर्छन् । ‘वन कार्यालयले सहयोग गर्ने भनेको छ तर अहिलेसम्म व्यवहारिक रूपमा केही गरेको छैन’, उनी दुखेसो पोख्छन् । उद्धारमा खटिँदा लाग्ने अधिकांश खर्च आफैंले बेहोर्दै आएका छन् । 
पछिल्लो समय पहाडी क्षेत्रमा धेरै विषालु सर्प देखिन थालेका छन् । यसको कारण जलवायु परिवर्तन, डढेलो र सामान ढुवानीका क्रममा सर्प सर्ने जस्ता हुन् । ‘पहिला खासै नदेखिने सर्प अहिले देखिन थालेका छन्’, उनले भने, ‘यसले जोखिम पनि बढाएको छ ।’ 

सर्पदंशको जोखिम बढ्दै जाँदा पहाडी क्षेत्रमा उपचारको व्यवस्था भने अझै पर्याप्त नभएको उनी बताउँछन् । स्थानीय अस्पतालहरूमा एन्टिभेनम (विष नाशक औषधि) उपलब्ध हुनु पर्ने उनको भनाइ छ । सर्प उद्धारमा उनी प्राय :  एक्लै खटिने गर्छन् । कहिलेकाहीँ टाढा जाँदा सहयोगका लागि छिमेकीलाई लैजान्छन् । ‘सरकारले अरू मानिसलाई पनि तालिम दिएर यस काममा लगाउनुपर्छ’, उनले भने, ‘एक्लैले सबै ठाउँ धान्न गाह्रो हुन्छ ।’ किङ कोब्रा जस्तो दुर्लभ र खतरनाक सर्प अहिलेसम्म चारवटा उनले उद्धार गरिसकेका छन् । सर्प उद्धारमा अहिले पनि उनी निरन्तर सक्रिय छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.