विश्व चिनाउने नेपालका अद्भुत सम्पत्ति
अप्रिल १८ अर्थात् आज, विश्वभर ‘विश्व सम्पदा दिवस’। मानव सभ्यताका अमूल्य चिनारी र प्रकृतिका अनुपम उपहारलाई संरक्षण गर्न साझा संकल्प गर्ने दिन। वर्षमा एउटा यस्तो दिन आउँछ, जसले हामीलाई हाम्रा ऐतिहासिक तथा प्राकृतिक धरोहरको महत्तवबोध गराउँछ। भौतिक विकासको तीव्र दौडमा अघि बढिरहेको वर्तमान विश्व अनि प्राचीन सम्पदाहरूको संरक्षण र दिगोपन सुनिश्चित गर्नुपर्ने हाम्रो दायित्व। ‘भाइसे–भर्सा’ बनेर उभिएका यी दुईलाई सन्तुलित बनाउँदै अघि बढ्नु आजको सबैभन्दा ठूलो अनि अत्यन्त गम्भीर चुनौती हो।
नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता र अद्वितीय सांस्कृतिक तथा ऐतिहासिक वास्तुकलाले भरिपूर्ण देश हो। यहाँका कैयौं प्राचीन धरोहर र प्राकृतिक निकुञ्जहरूले विश्वव्यापी महत्व बोकेका छन्। यसै यथार्थलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले नेपालका चार वटा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ– १. काठमाडौं उपत्यका (सन् १९७९) ‘सांस्कृतिक’ २. सगरमाथा राष्ट्रिय निकुञ्ज (सन् १९७९) ‘प्राकृतिक’ ३. चितवन राष्ट्रिय निकुञ्ज (सन् १९८४) ‘प्राकृतिक’ ४. लुम्बिनी (गौतम बुद्धको जन्मस्थल), (सन् १९९७) ‘सांस्कृतिक’। यसका अलावा नेपालले १५ वटा स्थललाई अस्थायी सूचीमा प्रस्ताव गरेको छ।
नेपालका विश्व सम्पदा सूचीकृत स्थल
दुई सांस्कृतिक र दुई प्राकृतिक गरी यी चार सम्पदाले नेपाललाई विश्वमा चिनाएको छ। तर यी केवल नेपालका मात्र नभई सिंगो मानव सभ्यता र पृथ्वीकै अमूल्य निधि हुन्। यहाँ यिनको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र वातावरणीय महत्वको विस्तृत र गहिरो विश्लेषण तल प्रस्तुत गरिएको छ।
१. काठमाडौं उपत्यका : काठमाडौं उपत्यका नेपालको सांस्कृतिक र ऐतिहासिक मुटु हो। सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यस उपत्यकाभित्र सातवटा प्रमुख स्मारक क्षेत्रहरू (मोनुमेन्ट जोन्स) पर्छन्। यी स्मारकहरूले हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुता, मल्लकालीन वास्तुकला र नेवा: सभ्यताको उत्कृष्ट काष्ठकला, प्रस्तरकला र धातुकलालाई विश्वसामु प्रस्तुत गर्छन्।
क. हनुमानढोका (काठमाडौं) दरबार क्षेत्र : काठमाडौं महानगरको मुटुमा अवस्थित यो दरबार क्षेत्र मल्ल र शाह राजाहरूको ऐतिहासिक शासन केन्द्र थियो। तलेजु भवानीको मन्दिर, जगन्नाथ मन्दिर, कालभैरवको मूर्ति र जीवित देवीकुमारीको बासस्थान ‘कुमारी घर’ यस क्षेत्रका प्रमुख आकर्षण हुन्। कुमारी घरमा प्रयोग भएका कलात्मक काठका बुट्टा र आँखीझ्यालहरूले प्राचीन नेवारी काष्ठकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छन्। वसन्तपुर डबली र नौतले दरबारले नेपालको ऐतिहासिक शक्ति र कलाको संयोजनलाई झल्काउँछन्।
ख. पाटन दरबार क्षेत्र : ‘ललितपुर’ अर्थात् ‘सुन्दरताको सहर’को रूपमा चिनिने पाटन मल्लकालीन वास्तुकलाको जीवित संग्रहालय हो। १७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले ढुंगैढुंगाले निर्माण गरेको शिखर शैलीको ‘कृष्णमन्दिर’ यस क्षेत्रको प्रमुख पहिचान हो। यसका साथै यहाँ रहेका मूलचोक, सुन्दरीचोक, हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) र कुम्भेश्वर मन्दिरले प्राचीन धातुकला र मूर्तिकलाको अतुलनीय वैभवलाई प्रमाणित गर्छन्।
ग. भक्तपुर दरबार क्षेत्र : भक्तपुर दरबार क्षेत्र नेपालका तीन दरबार क्षेत्रमध्ये सबैभन्दा मौलिक र संरक्षित मानिन्छ। मल्ल राजा भूपतीन्द्रको पालामा कलात्मक विकासको चरम उत्कर्षमा पुगेको बेला बनेको ‘पचपन्न झ्याले दरबार’ काष्ठकलाको एक अद्वितीय नमुना मानिन्छ। त्यस्तै, प्यागोडा शैलीमा निर्मित नेपालकै सबैभन्दा अग्लो पाँचतले मन्दिर (न्यातपोल) यहाँको अर्को गौरव हो। यहाँको स्वर्णद्वार (गोल्डेन गेट)लाई दक्षिण एसियाकै उत्कृष्ट कलाकृतिको रूपमा लिइन्छ।
घ. पशुपतिनाथ मन्दिर : बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीको सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक हो। १२ ज्योतिर्लिंगमा मूल ज्योतिर्लिंग पशुपतिनाथ प्यागोडा शैलीमा निर्मित छ। मन्दिरमा सुनको गजुर र चाँदीका ढोका छन्। मन्दिर परिसरमा पाँच सयभन्दा बढी साना–ठूला मन्दिर र शिवालयहरू छन्। शिवरात्रि र तीजमा यहाँ लाखौं भक्तजनको घुइँचो लाग्छ। आर्यघाटमा निरन्तर बलिरहने चिताको आगोले जीवन र मृत्युको शाश्वत सत्यलाई प्रतिविम्बित गरिरहेको हुन्छ। मठ, मन्दिर, नदी र घाटको संयोजन विदेशी पर्यटकका लागि त विशेष अनुपम छ।
ङ. स्वयम्भूनाथ महाचैत्य : काठमाडौंको पश्चिमतर्फ पहाडको थुम्को छ। जसमा अवस्थित स्वयम्भूनाथ उपत्यकाकै सबैभन्दा पुरानो धार्मिकस्थल मानिन्छ। ‘मंकी टेम्पल’को नामले समेत चिनिने यस स्तूपको गुम्बजमा भगवान् बुद्धका सबैकुरा देख्ने आँखाहरू (अल सिइङ आइज)का रूपमा कोरिएका छन्। भनिन्छ, स्वयम्भूका दुई आँखाले न्याय र अन्याय छुट्ट्याएर हेर्छन्। यस स्थलले बौद्ध र हिन्दु दुवै धर्मका अनुयायीलाई समान रूपमा आकर्षित गर्छ, जसले नेपालको अनुपम धार्मिक सहिष्णुतालाई प्रमाणित गर्छ।
च. बौद्धनाथ महाचैत्य : बौद्धनाथ विश्वकै सबैभन्दा विशाल गोलाकार स्तूपमध्ये एक हो। मण्डलाको आकारमा निर्मित यो स्तूप तिब्बती बौद्ध धर्म र संस्कृतिको प्रमुख केन्द्र हो। आठौं शताब्दीतिर निर्माण भएको मानिने यस स्तूपको वरिपरि रहेका गुम्बाहरू, प्रार्थना चक्रहरू र मन्त्रोच्चारणले यस क्षेत्रलाई अत्यन्त शान्त र आध्यात्मिक ऊर्जाले भरिपूर्ण बनाउँछ।
छ. चाँगुनारायण मन्दिर : भक्तपुरमा रहेको चाँगुनारायण मन्दिर नेपालको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। लिच्छविकालमा निर्माण भएको यस मन्दिरमा भगवान् विष्णुका विभिन्न अवतारलाई प्रस्तर र काठमा अत्यन्त सूक्ष्म रूपले कुँदिएको छ। पाँचौं शताब्दीमा राजा मानदेवले राखेको शिलालेख नेपालको सबैभन्दा महत्वपूर्ण ऐतिहासिक प्रमाण हो, जसले नेपालको प्रामाणिक इतिहासको सुरुआत गर्छ।
२. सगरमाथा राष्ट्रिय निकुञ्ज : सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश भएको सगरमाथा राष्ट्रिय निकुञ्ज प्रकृतिको एक अद्भुत एवं विस्मयकारी सिर्जना हो। जुन १,१४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सोही निकुञ्जभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) छ। जसले विश्वमा नेपाल चिनाउँदै शिर उचो बनाएको छ। निकुञ्जभित्रै ल्होत्से, चोयु, नुप्त्से, आमादब्लामजस्ता हिमशृंखला पर्छन्।
भौगोलिक र पारिस्थितिक विशेषता : यस निकुञ्जको उचाइ २,८४५ मिटरदेखि सगरमाथाको चुचुरोसम्म फैलिएको छ। यहाँको कठिन भौगोलिक बनोट, गहिरा गल्छीहरू र हिमनदीहरू (जस्तै: खुम्बु हिमनदी) आदिले यसलाई अद्वितीय बनाएका छन्। तल्लो भेगमा गोब्रे सल्लो, धुपी, भोजपत्र र गुराँसका जंगलहरू पाइन्छन् भने करिब चार हजार मिटरभन्दा माथि बुट्ट्यान र अल्पाइन वनस्पतिहरू मात्र पाइन्छन्।
जैविक विविधता : सगरमाथा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुहरूको सुरक्षित बासस्थान हो। यहाँ हिउँ चितुवा, कस्तुरी मृग, हाब्रे, हिमाली भालु र झारलजस्ता वन्यजन्तु पाइन्छन्। त्यस्तै, डाँफे, चिलिमेलगायत ११८ भन्दा बढी प्रजातिका चराचुरुंगी यस निकुञ्जका आकर्षण हुन्।
सांस्कृतिक महत्व : यस निकुञ्जको अर्को महत्वपूर्ण पक्ष भनेको यहाँ बसोबास गर्ने शेर्पा समुदाय र उनीहरूको संस्कृति हो। शेर्पाहरूको अद्वितीय हिमाली जीवनशैली, उनीहरूको आतिथ्य सत्कार र बौद्ध धर्मप्रतिको गहिरो आस्था यस क्षेत्रको प्राण हो। तेङ्बोचे, पाङ्बोचे र थामेजस्ता प्राचीन गुम्बाहरूले यस प्राकृतिक सम्पदालाई आध्यात्मिक र सांस्कृतिक उचाइ प्रदान गरेका छन्।
३. चितवन राष्ट्रिय निकुञ्ज : सन् १९७३ मा स्थापना भएको र सन् १९८४ मा विश्व सम्पदा सूचीमा पर्न सफल चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। तराईको भित्री मधेसमा ९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज दक्षिण एसियाकै उत्कृष्ट संरक्षित क्षेत्रमध्ये एक मानिन्छ।
जैविक विविधता र वन्यजन्तु संरक्षण : चितवन राष्ट्रिय निकुञ्ज विशेषगरी दुर्लभ एकसिंगे गैंडा र पाटेबाघको संरक्षणका लागि विश्वभर प्रसिद्ध छ। यहाँका सालका घनाजंगल, अग्ला हात्तीगवा भएका घाँसेमैदान र नदी तटीय क्षेत्रहरूले वन्यजन्तुलाई उत्कृष्ट बासस्थान प्रदान गरेका छन्। यहाँ ५० भन्दा बढी प्रजातिका स्तनधारी जनावर पाइन्छन्, जसमा जंगली हात्ती, चितुवा, भालु, गौरीगाई र विभिन्न प्रजातिका मृग पर्छन्।
जलचर र पक्षी विहार : राप्ती, नारायणी र रिउ नदीहरूले घेरिएको यस निकुञ्जमा संकटापन्न घडियाल गोही र मगर गोहीहरूको संरक्षण प्रजनन गरिन्छ। यसका साथै ५ सय ४० भन्दा बढी प्रजातिका चराचुरुंगी पाइन्छन्। यो निकुञ्ज ‘पक्षी अवलोकन’का लागि स्वर्ग मानिन्छ। हिउँदको समयमा साइबेरिया र अन्य चिसो क्षेत्रबाट बसाइँ सरेर आउने आगन्तुक चराहरूले यसको पारिस्थितिक महत्वलाई झन् बढाएका छन्।
थारू संस्कृति : निकुञ्जको मध्यवर्ती क्षेत्रमा सदियौंदेखि बसोबास गर्दै आएका भूमिपुत्र थारू समुदायको संस्कृति यस निकुञ्जको अभिन्न अंग हो। थारूहरूको परम्परागत माटाका घरहरू, उनीहरूको पहिरन र प्रख्यात ‘लौरो नाच’ले ‘इको–टुरिज्म’लाई प्रवद्र्धन गर्न ठूलो मद्दत पुर्याएको छ। संरक्षण र स्थानीय समुदायबीचको सहकार्यको उत्कृष्ट नमुनाका रूपमा चितवनलाई लिन सकिन्छ।
४. लुम्बिनी (गौतम बुद्धको जन्मस्थल) : सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हो। ईशापूर्व ६२३ मा सिद्धार्थ गौतमले यसै पवित्र भूमिमा जन्म लिएका थिए। आज लुम्बिनी विश्वभरका अर्बौं बौद्ध धर्मावलम्बी र शान्तिप्रेमी मानिसहरूका लागि एक सर्वोच्च तीर्थस्थल र आस्थाको केन्द्र बनेको छ।
ऐतिहासिक र पुरातात्विक महत्व : लुम्बिनीको सबैभन्दा ठूलो ऐतिहासिक प्रमाण भारतीय सम्राट् अशोकले ईशापूर्व २४९ मा स्थापना गरेको ‘अशोक स्तम्भ’ हो। यस स्तम्भमा ब्राह्मी लिपिमा ‘यहाँ शाक्यमुनि बुद्ध जन्मिनुभएको थियो’ भनी स्पष्ट रूपमा कुँदिएको छ। मायादेवी मन्दिर यस क्षेत्रको मुख्य आकर्षण हो, जसभित्र बुद्ध जन्मिएको ठ्याक्कै स्थान ‘मार्कर स्टोन’ सुरक्षित राखिएको छ। मन्दिरको छेउमै पवित्र पुष्करिणी पोखरी छ, जहाँ रानी मायादेवीले बुद्धलाई जन्म दिनुअघि स्नान गरेकी थिइन्, जहाँ बुद्धलाई पहिलो पटक शुद्धीकरण गराइएको थियो।
लुम्बिनी गुरुयोजना : सन् १९७८ मा जापानी वास्तुविद् प्रोफेसर केन्जो टांगेले लुम्बिनीको विकासका लागि एक बृहत् गुरुयोजना तयार पारेका थिए। करिब तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन भागमा विभाजन गरिएको छ। विहार क्षेत्रलाई बीचको नहरले पूर्वी (थेरवाद विहार) र पश्चिमी (महायान र बज्रयान विहार) भागमा बाँडेको छ। विश्वका विभिन्न देश (जस्तै: थाइल्यान्ड, म्यानमार, चीन, जर्मनी, श्रीलंका, जापान, फ्रान्स आदि)ले आआफ्ना वास्तुकला र शैलीमा यहाँ भव्य गुम्बाहरू निर्माण गरेका छन्। यसले लुम्बिनीलाई सानो विश्वग्राम (ग्लोबल भिलेज)को स्वरूप दिएको छ।
यी चार विश्व सम्पदा सूचीकृत स्थलहरू नेपालका अद्भुत सम्पत्ति हुन्, जसले प्राकृतिक सन्तुलन, ऐतिहासिक निरन्तरता र आध्यात्मिक शान्तिको सन्देश प्रवाह गर्छन्। यिनको संरक्षण, संवद्र्धन र दिगो व्यवस्थापन गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्व समुदायको साझा दायित्व हो।
विश्वका प्रमुख १० सम्पदा
१. चीनको ग्रेट वाल : तेस्रोदेखि सुरु गरी १७औं शताब्दीसम्म बनेको चीनको ग्रेट वाल अर्थात् विशाल पर्खाल सन् १९८७ मा विश्व सम्पदा सूचीमा सूचीकृत भयो। जुन मानव इतिहासकै अद्भुत इन्जिनियरिङ चमत्कार र सुरक्षाको अजेय ढाल हो। चाइना स्टेट एडमिनिस्टे«सन अफ कल्चरल रेलिक्सको सन् २०१२ को सर्वेअनुसार, २१ हजार १ सय ९६ किलोमिटर फैलिएको यो संरचनाले अदम्य मानवीय संकल्पको कथा बोल्छ। संसारको सबैभन्दा ठूलो मानव निर्मित संरचना यो १५ प्रान्तमा फैलिएको छ र यसलाई पूर्ण रूपमा बनाउन दुई हजार वर्षभन्दा बढी समय लागेको थियो। यो केवल पर्खालमात्र नभई किल्ला र टावरहरूको एकीकृत रक्षा प्रणाली हो, जहाँ १५ रणनीतिक नाका छन्।
२. ताजमहल, भारत : भारतको ताजमहल अमर प्रेम र वास्तुकलाको अनुपम महाकाव्य हो। सन् १९८३ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेको थियो। मुगल सम्राट् शाहजहाँले पत्नी मुमताज महलको सम्झनामा यो भव्य चिहान निर्माण गराएका थिए। यसमा जडिएका २८ प्रकारका बहुमूल्य पत्थरका कारण दिनको फरक–फरक समयमा ताजमहलको रङ परिवर्तन भएको देखिन्छ। बिहान यो गुलाबी, दिउँसो सेतो र पूर्णिमाको रातमा यो सुनौलो देखिन्छ, जसले दर्शकलाई मन्त्रमुग्ध पार्छ। ताजमहल यमुना नदीको किनारमा अवस्थित छ। यसको निर्माण सम्पन्न गर्न झन्डै २२ वर्ष लागेको थियो र २० हजारभन्दा बढी मजदुरले अहोरात्र काम गरेका थिए। निर्माण सामग्री बोक्न एक हजारभन्दा बढी हात्तीको प्रयोग गरिएको थियो।
३. माचु पिच्चु, पेरु : पेरुको माचु पिच्चु इन्का सभ्यताको रहस्यमय सहर र इन्जिनियरिङ कुशलताको सर्वोच्च नमुना हो। इन्का इन्जिनियरिङको नमुना यो सहर १५औं शताब्दीमा कुनै पनि फलामका औजार वा चक्काको प्रयोगबिनै एन्डिज पर्वतको उच्च चुचुरामा निर्माण गरिएको थियो। अन्तरिक्षसँग सम्बन्ध रहेको यहाँ ‘इन्तिहुआताना’ ढुंगाले सूर्यको अवस्थितिलाई ठ्याक्कै संकेत गर्छ। हराएको सहर नामले परिचितमाचु पिच्चु स्पेनी आक्रमणकारीले कहिल्यै फेला पार्न नसकेको सहर हो। बादलमाथिको सहर पनि भनिने यो समुद्री सतहबाट झन्डै २६०० देखि ४२१५ मिटर उचाइमा रहेको छ, जुन प्राय: बादलले ढाकिन्छ।
४. कोलोसियम, इटाली : इटालीको कोलोसियम प्राचीन रोमन शक्ति र वास्तुकलाको विशालतम प्रतीक हो। सन् ८० मा निर्मित यो भव्य एम्पिथिएटर आज पनि इन्जिनियरिङको आश्चर्य मानिन्छ। रोमन सम्राट् भेस्पासियनले निर्माण सुरु गरेको यो संरचना विश्वकै सबैभन्दा ठूलो गोलाकार नाट्यशाला हो। ८० वटा प्रवेशद्वार भएको यसमा एकैपटक ५० हजारदेखि ८० हजारसम्म दर्शक अट्न सक्थे। यसको निर्माणमा चुनढुंगा, कंक्रिट र इँटाको प्रयोग छ।
कोलोसियमको जमिनमुनि सुरुङ र कोठाहरूको जटिल सञ्जाल थियो। यहाँ चार सय वर्षभन्दा बढी समयसम्म मानिस र जनावरबीचको भयानक युद्ध प्रदर्शन गरियो। जहाँ झन्डै पाँच लाख मानिस र १० लाखभन्दा बढी जनावर मारिएका थिए। मृत्युदण्डविरुद्धको प्रतीक यसलाई मृत्युदण्ड विरुद्धको अभियानको प्रतीक मानिन्छ। यो विश्वकै सबैभन्दा धेरै भ्रमण गरिने स्थलमध्ये एक हो।
५. पेट्रा, जोर्डन : जोर्डनको ‘रोज सिटी’ पेट्रा चट्टानमा कुँदिएको प्राचीन इन्जिनियरिङ र जल व्यवस्थापनको अनुपम नमुना हो। ‘चट्टानमा कुँदिएको सहर’ नामले परिचिति पेट्रा पहाडका राता चट्टानहरूलाई खोपेर निकाली बनाइएको हो। यहाँका चट्टानहरूको रङ गुलाबी र रातो छ। ईशापूर्व चौथो शताब्दीमा नाबातियन साम्राज्यको समृद्ध व्यापारिक केन्द्र थियो। उनीहरूले मरुभूमिको बीचमा यति भव्य सहर कसरी निर्माण गरे भन्ने कुरा अझै पनि आश्चर्यजनक छ। सन् २००७ मा पेट्रालाई विश्वका नयाँ सात आश्चर्यमध्ये एक घोषित गरियो। यसले जोर्डनको अर्थतन्त्र र पर्यटनमा ठुलो योगदान पु¥याएको छ।
६. गिजाका पिरामिडहरू, इजिप्ट : प्राचीन विश्वको जीवित आश्चर्य हुन्, गिजाका पिरामिडहरू। प्राचीन विश्वका सात आश्चर्यमध्ये गिजाको महान् पिरामिडमात्र आजसम्म अस्तित्वमा छ। यो झन्डै ४५ सय वर्ष पुरानो छ र यसको भव्यता अझै उस्तै छ। खगोलीय शुद्धताका दृष्टिले यी पिरामिड पृथ्वीको चारै दिशा (उत्तर, दक्षिण, पूर्व, पश्चिम)सँग ठ्याक्कै मेल खानेगरी बनाइएका छन्। महान् पिरामिड बनाउन २३ लाखभन्दा बढी ढुंगाका ब्लकहरू प्रयोग गरिएका छन्, जसमध्ये कतिपयको तौल ८० टनसम्म छ। पिरामिडहरू राजा (फराओ)हरूको चिहानका रूपमा बनाइएका थिए। पिरामिडहरूको अगाडि मानिसको टाउको र सिंहको शरीर भएको विशाल मूर्ति ‘स्फिङ्कस’ छ। यसलाई पिरामिडको संरक्षकका रूपमा मानिन्छ जुन विशाल चट्टानलाई कुँदेर बनाइएको हो।
७. स्टोनहेन्ज, बेलायत : बेलायतको स्टोनहेन्ज प्रागैतिहासिक मानवको खगोलीय चेतना र वास्तुकलाको उत्कृष्ट प्रमाण हो। प्रागैतिहासिक रहस्य यो झन्डै पाँच हजार वर्ष पुरानो ढुंगे संरचना हो, जसको निर्माणको उद्देश्य अझै पनि पूर्ण रूपमा खुल्न सकेको छैन। यो कुनै लिखित इतिहास नभएको समयको मानव सभ्यताको चिनारी हो। सन् १९८६ मा युनेस्कोले यसलाई विश्व सम्पदामा समावेश गरेको हो। प्रयोग गरिएका कतिपय साना ढुंगा (ब्लुस्टोन) २५० किलोमिटर टाढा वेल्सबाट ल्याइएका थिए। ती ढुंगाहरू सूर्योदय र सूर्यास्तसँग ठ्याक्कै मेल खानेगरी मिलाइएका छन् भनिन्छ। स्टोनहेन्ज एकै पटक बनेको होइन, बरु झन्डै १५ सय वर्षको अन्तरालमा विभिन्न चरणमा निर्माण गरिएको हो।
८. अंकोर वाट, कम्बोडिया : कम्बोडियाको अंकोरबाट विश्वकै भव्य धार्मिक स्मारक र खमेर सभ्यताको गौरव हो। यसको ज्यामितीय पूर्णता विस्मयकारी छ। जुन विश्वको ठुलो धार्मिकस्थल हो जुन १६२ हेक्टरमा फैलिएको छ। यसको विशालता र सूक्ष्म कलाकृतिले हेर्ने जोकोहीलाई चकित बनाउँछ। हिन्दुदेखि बौद्धसम्म जोडेको यो मन्दिर १२औं शताब्दीमा राजा सूर्यवर्मन द्वितीयले बनाएका थिए। ब्रह्माण्डको स्वरूप यसको बनोटले हिन्दु पौराणिक कथाको ‘मेरु पर्वत’ (देवताहरूको निवास) जनाउँछ। मन्दिरका भित्ताहरूमा समुद्र मन्थन, रामायण र महाभारतका कला र कथा कुँदिएका छन्। चैतमा सूर्य मन्दिरको मुख्य शिखरको ठ्याक्कै माथिबाट उदाउँछ।
९. एथेन्सको एक्रोपोलिस, ग्रिस : एथेन्सको एक्रोपोलिस लोकतन्त्र र दर्शनको उद्गमस्थल मानिने अद्वितीय धरोहर हो। सभ्यताको मुहान यो उच्च पहाडमा अवस्थित ग्रीक वास्तुकलाको सर्वोच्चता झल्काउने प्राचीन सहरले पश्चिमी सभ्यता, लोकतन्त्र र दर्शनको जग बसालेको मानिन्छ। यसले साढे दुई हजार वर्षदेखि एथेन्स सहरलाई सुरक्षा र पहिचान दिँदै आएको छ। एक्रोपोलिसको सबैभन्दा भव्य भवन पार्थेनन हो, जुन देवी एथेनालाई समर्पित छ। यो ग्रीक वास्तुकलाको ‘गोल्डेन रेसियो’ र ज्यामितीय पूर्णताको उत्कृष्ट उदाहरण हो। पेन्टेलिक मार्बल प्रयोग गरिएकाले सूर्यको प्रकाशमा विशेष चमक दिन्छ।
१०. चिचेन इत्जा, मेक्सिको : मेक्सिकोको चिचेन इत्जा माया सभ्यताको खगोलीय र इन्जिनियरिङ कौशलको अद्भुत उदाहरण हो। माया सभ्यताको केन्द्र यो युकाटान प्रायद्वीपमा अवस्थित माया सभ्यताको सबैभन्दा ठूलो र शक्तिशाली सहर हो। कुल्कुलकन पिरामिड (एल कास्टिलो) विशाल ढुंगे क्यालेन्डर हो। यसका चारैतिर ९१ वटा खुड्किला छन् र माथिको अन्तिम भाग जोड्दा वर्षको ३६५ दिन पुग्छन्। एल काराकोल (वेधशाला) गोलो भवन हो, जसलाई माया खगोलशास्त्रीहरूले ग्रह र ताराहरूको गति हेर्न प्रयोग गर्थे। यसका झ्यालहरू शुक्र ग्रह र अन्य ताराको अवस्थितिसँग ठ्याक्कै मेल खान्छन्। सन् २००७ मा चिचेन इत्जालाई विश्वका नयाँ सात आश्चर्यमध्ये एक चुनियो।
आउँदो पुस्तालाई सुन्दर र सुरक्षित विश्व हस्तान्तरण : विश्व सम्पदा दिवसले विगतको गौरव र भविष्यको जिम्मेवारीबीचको गहिरो सम्बन्धको स्मरण गराउँछ। हाम्रा ऐतिहासिक तथा प्राकृतिक धरोहरहरू केवल विगतका मृत अवशेष होइनन्; बरु यी त हाम्रा सभ्यताका जीवन्त श्वास हुन्, जसले वर्तमानलाई अर्थपूर्ण बनाउँछन्। पूर्वाधार विकास (सडक, पुल आदि)को तीव्र हुटहुटीमा दौडिरहँदा अमूल्य यी सम्पदाको संरक्षणलाई बिर्सनु हुँदैन।
सम्पदा र विकासबीचको सन्तुलन नै दिगो भविष्यको आधार हो। यी सम्पदा जोगाउनु भनेको आफ्नै पहिचान र आत्मालाई सुरक्षित राख्नु हो। सबै मिलेर अद्वितीय सम्पदाहरूको सम्मान, संवद्र्धन र संरक्षण गर्दै आउँदो पुस्तालाई सुन्दर एवं सुरक्षित विश्व हस्तान्तरण गर्ने दृढ संकल्पको खाँचो भने टड्कारो देखिन्छ। सबै समयमै सचेत हुने कि ?
१. इटाली – ६० सम्पदा २. चीन – ५९ सम्पदा
३. जर्मनी – ५४ सम्पदा ४. फ्रान्स – ५३ सम्पदा
५. स्पेन – ५० सम्पदा ६. भारत – ४४ सम्पदा
७. मेक्सिको – ३५ सम्पदा ८. बेलायत – ३२ सम्पदा
९. रुस – ३२ सम्पदा १०. इरान – २९ सम्पदा
११. संयुक्त राज्य अमेरिका– २६ १२. जापान – २६
१३. ब्राजिल – २४ १४. क्यानडा – २२
१५. टर्की – २१ १६. अस्ट्रेलिया – २१
१७. ग्रिस – २० १८. पोल्यान्ड – १७
१९. पोर्चुगल – १७ २०. चेकिया – १७
प्रतिक्रिया दिनुहोस !