इन्डो–नेपाल यू–१३ टी–२० : विराटनगरविरुद्ध इनरुवाको १८५ रनको विशाल जित
झापा : इन्डो–नेपाल यू–१३ टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ का खेलहरू बुधबारदेखि सुरु भएका छन् । उद्घाटन खेलमै इनरुवा क्रिकेट क्लबले लायन क्रिकेट एकेडेमी विराटनगरमाथि एक पक्षीय प्रदर्शन गर्दै १८५ रनको फराकिलो जित दर्ता गरेको छ ।
अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सम्पन्न खेलमा इनरुवाले प्रस्तुत गरेको १९६ रनको विशाल लक्ष्य पछ्याएको लायन ८.३ ओभरमै मात्र १० रनमा समेटिँदा खेल पूर्णरूपमा एकतर्फी बनेको थियो । पहिले ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रनको मजबुत योगफल तयार गरेको थियो । टोलीका लागि आदित्य राजबारले १६ बलमा ४२ रनको आक्रामक इनिङ्स खेल्दै इनिङ्सलाई गति दिएका थिए । त्यस्तै, प्रिन्स मण्डलले ३० रन र अरमान अन्सारीले २९ रनको महत्वपूर्ण योगदान गरे ।
लायनका बलरहरूमा रुहान पोखरेल र शाश्वत बस्नेतले समान १ विकेट लिए भने करिथाथा बस्नेतले १ विकेट हात पारे । जवाफमा लायन क्रिकेट एकेडेमी विराटनगरको ब्याटिङ पूर्णरूपमा असफल रह्यो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । राघव खनाल, प्रयुष भट्टराई र मयुर सोनी शून्यमै आउट भए ।
इनरुवाका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । अरमान अन्सारीले २ ओभरमा ३ विकेट लिँदै खेलको नतिजा एकतर्फी बनाउँदा सुदीप के उरावन र सलमान रैनले समान २-२ विकेट लिए । यसअघि समूह ‘ए’ बाट बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !