कांग्रेस अहिले ‘कुहिरोको काग’

कांग्रेस अहिले ‘कुहिरोको काग’
सुन्नुहोस्

निर्वाचनपछि कांग्रेस कसरी बढ्ने ? त्यसअघि पार्टीभित्र आन्तरिक लोकतन्त्र कसरी आयामित हुने ? सबाल अहम् र गम्भीर छ ।

हालै सम्पन्न भएको निर्वाचनले नेपाली राजनीतिमा केवल शक्ति सन्तुलनको फेरबदलमात्र गरेन, यसले पुराना दलहरूको वैधता, विश्वसनीयता र भविष्यको दिशामाथि समेत गम्भीर प्रश्न खडा गर्‍यो। अब हिरासत र विरासतको सियासत चल्दैन भन्ने देखायो।

यस परिप्रेक्ष्यमा कांग्रेस जसले आफूलाई लोकतन्त्रको मेरुदण्ड ठान्दै आएको छ र थियो पनि। तर आज एक जटिल मोडमा छ। परिणामले उसलाई पूर्ण असफल भने बनाएको छैन, तर स्पष्ट रूपमा असहज र अस्थिर बनाएको छ। कांग्रेस अहिले ‘कुहिरोको काग’ बनेको छ। चुनावी परिणामपछि एकै पटक कांग्रेसको आन्तरिक जीवनमा हलचल मच्चाएको छ। निर्वाचनमा हारजित पहिला पनि हुन्थ्यो तर पार्टीले त्यसबाट पाठ सिकेर अगाडि बढ्थ्यो। यस पटकको अवस्था 
सर्वथा भिन्न छ।

निर्वाचनपछि कांग्रेस कसरी बढ्ने ? त्यसअघि पार्टीभित्र आन्तरिक लोकतन्त्र कसरी आयामित हुने ? सबाल अहम् र गम्भीर छ। जसको ठूलो हिस्सा अझै पनि निकट अतीतमा जे भयो, त्यसबाट सन्तुष्ट छैन। त्यो विकसित हुन पुगेको अवस्थालाई स्वीकार गर्न सकिरहेको छैन। सबै पक्षका आ–आफ्नै तर्क र अडान छन्। कुनै पनि पक्षले यदि बलमिच्याइँ गर्‍यो भने नेका भूसको आगोमा सल्किँदै खरानी बन्न सक्छ।

कांग्रेसले २०८२ को निर्वाचनमा उपस्थिति जोगायो, तर त्यो उपस्थिति उत्सवभन्दा बढी चेतावनी हो। मत परिणामले संकेत गर्‍यो कि जनताले कांग्रेसलाई अझै पूर्ण रूपमा अस्वीकार गरेका छैनन्। बरु आँखामुनि राखेर हेरिरहेका छन्। यो ‘कन्डिसनल लेजिटिमेसी’ हो, सर्तसहितको स्वीकृति।

परिणामको राजनीतिक सन्देश, जित कि चेतावनी ? : कांग्रेसले २०८२ को निर्वाचनमा उपस्थिति जोगायो, तर त्यो उपस्थिति उत्सवभन्दा बढी चेतावनी हो। मत परिणामले संकेत ग¥यो कि जनताले कांग्रेसलाई अझै पूर्ण रूपमा अस्वीकार गरेका छैनन्। बरु आँखामुनि राखेर हेरिरहेका छन्। यो ‘कन्डिसनल लेजिटिमेसी’ हो, सर्तसहितको स्वीकृति। यो परिणामले तीनवटा कडा सन्देश दिएको छ। पहिलो, कांग्रेस अब स्वतःस्फूर्त जनसमर्थनको पार्टी होइन; उसले हरेक मत कमाउनुपर्छ। दोस्रो, गठबन्धन बिना उसको सत्तारोहण कठिन छ। तेस्रो, नयाँ राजनीतिक शक्तिहरू अब परिधिको घटना होइनन्, केन्द्रतर्फ उन्मुख वास्तविक चुनौती हुन्।

आम कांग्रेसी कार्यकर्ताको बुझाइमा नीतिगत स्पष्टता हराउँदै गएको छ। सरकार र संगठन सञ्चालनमा कांग्रेस नेतृत्वको निर्णायकता अत्यन्त कमजोर देखिन्छ। हरेक निर्णय ‘कन्सेन्सस इन्जिनियरिङ’को थकाइपूर्ण प्रक्रियाबाट गुज्रिन्छ। यसले न केवल शासन र संगठनलाई मन्द बनाउँछ, कांग्रेसलाई ‘लिडिङ पार्टी’ होइन, ‘मेनेजिङ पार्टी’को रूपमा रूपान्तरण गरिरहेको छ। अब गम्भीर प्रश्न उठ्छ— के कांग्रेस अझै नेतृत्व गर्ने पार्टी हो ? वा, केवल सन्तुलन मिलाउने ?

पुस्तान्तरणको भय : कांग्रेसभित्रको सबैभन्दा गहिरो संकट नेतृत्वको हो। पुरानो पुस्ता अझै पनि शक्ति समातेर बसेको छ, जबकि नयाँ पुस्ता प्रतीक्षामा छ। अवसरको होइन, परिवर्तनको। तर समस्या केवल पुस्ताको होइन, मानसिकताको हो। नेतृत्व परिवर्तनलाई खतरा ठान्ने संस्कृति कांग्रेसभित्र संस्थागत भइसकेको छ। परिणामतः, पार्टी ‘रिन्युवल’ होइन, ‘रिसाइक्लिङ’को चक्रमा फसिरहेको छ। नयाँ पुस्ता हुँ भन्ने दाबी गर्नेहरूमा एक खालको जिद्दीपन छ भने पुराना संस्थापन अझै दाउपेचमै लागेका छन्। कांग्रेसभित्र फेबिकोल लिडरसिप चाहियो भन्ने एक बलियो तप्का छ। यो अवस्थाले दुईवटा जोखिम निम्त्याउँछ– पार्टीभित्रै वैकल्पिक शक्ति निर्माण र बाहिरका नयाँ दलहरूतर्फ युवा मतदाताको तीव्र झुकाव। यदि नेतृत्वमा वास्तविक पुस्तान्तरण गर्न सकेन भने उसले केवल चुनाव होइन, समय नै हार्नेछ।

वैचारिक शून्यता समाजवाद कि सुविधा ? : नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादको पक्षधर भन्छ। तर २०८२ पछि यो प्रश्न झन् तीव्र भएको छ— के यो विचारधारा अझै जीवित छ, कि केवल भाषणको अवशेष ? आर्थिक नीतिमा पनि अस्पष्ट छ— कहिले उदारवाद, कहिले कल्याणकारी राज्यको भाष्य। सामाजिक न्यायका सबालमा पनि स्पष्ट एजेन्डा देखिँदैन। परिणामतः, कांग्रेस ‘सेन्ट्रिस्ट एम्बिग्युइटी’को सिकार भएको छ– जहाँ सबैलाई खुसी पार्ने प्रयासमा कसैलाई पनि विश्वस्त बनाउन सकिँदैन। २०८२ को निर्वाचनले देखायो कि अब इतिहासमात्र पर्याप्त छैन। भ्रष्टाचारका आरोप, सत्तामा हुँदा कमजोर प्रदर्शन र जनतासँगको दूरीले कांग्रेसको नैतिक आधार कमजोर बनाएको छ। जनता अब ‘लिगेसी पोलिटिस्यु’ भन्दा ‘पर्फर्मेन्स पोलिटिस्यु’तर्फ उन्मुख छन्।

कांग्रेसको समस्या केवल आलोचना होइन, विश्वासको क्षय हो। विश्वास एकपटक गुमेपछि, पुनस्र्थापना गर्न दशक लाग्न सक्छ। कांग्रेसको संगठनात्मक संरचना अहिले गम्भीर संकटमा छ। पार्टी अब विचार र नीतिले होइन, गुट र व्यक्तिले चलिरहेको जस्तो देखिन्छ। स्थानीय तहमा संगठन कमजोर छ। कार्यकर्ताहरू निरुत्साहित छन्। निर्णय प्रक्रिया केन्द्रीकृत छ, तर प्रभावहीन। यो ‘सेन्ट्रलाइज्ड विकनेस’ हो– जहाँ शक्ति केन्द्रमा छ, तर प्रभाव छैन। गुटबन्दीले पार्टीलाई केवल विभाजित गरेको छैन, यसले निर्णय क्षमतालाई नै अपांग बनाएको छ। परिणामतः, कांग्रेस ‘रेन्सपोन्सिभ’ होइन, ‘रियाक्टिभ’ पार्टी बन्दै गएको छ।

असन्तुष्टिको राजनीति : २०८२ को निर्वाचनले देखाएको सबैभन्दा महत्वपूर्ण प्रवृत्ति भनेको नयाँ राजनीतिक शक्तिहरूको उदय हो। यी शक्तिहरू केवल विकल्प होइनन्, असन्तुष्टिको प्रतिनिधि हुन्। स्वतन्त्र उम्मेदवारहरू, नयाँ दलहरू र वैकल्पिक आन्दोलनहरूले कांग्रेसको परम्परागत मताधारमा सीधा हस्तक्षेप गरेका छन्। विशेषगरी सहरी क्षेत्र र युवा वर्गमा कांग्रेसको पकड कमजोर हुँदै गएको छ। यो केवल प्रतिस्पर्धा होइन— यो ‘पोलिटिकल डिस्प्लेसमेन्ट’को सुरुवात हुन सक्छ।

अब के गर्ने त ? : सुधारको कठोर मार्ग अपनाउनु पर्छ। कांग्रेससँग अझै अवसर छ, तर समय सीमित छ। सुधार अब विकल्प होइन, अनिवार्यता हो। हार र कमजोरीलाई इमान्दारीपूर्वक स्वीकार गर्ने, पुस्तान्तरणलाई योजनाबद्ध र निर्णायक बनाउने, प्रजातान्त्रिक समाजवादलाई समसामयिक बनाउने, गुटबन्दी अन्त्य गर्दै कार्यकर्ता–केन्द्रित संरचना निर्माण गर्ने, पारदर्शिता र उत्तरदायित्वमा शून्य सहनशीलता अपनाउने आदि। यी कदम सजिला छैनन्। तर यसो नगरिकन कांग्रेसको पुनर्जागरण सम्भव छैन।

अस्तित्वको प्रश्न : निर्वाचन २०८२ पछिको कांग्रेस केवल राजनीतिक पार्टीको रूपमा होइन, एक ऐतिहासिक संस्थाको रूपमा संकटमा छ। यो संकट केवल सिट संख्याको होइन; यो वैधता, विश्वसनीयता र भविष्यको हो। यदि अब पनि वर्तमान अवस्थालाई गम्भीर रूपमा नलिने हो भने इतिहासले उसलाई सम्मान त दिनेछ तर वर्तमानले अस्वीकार गर्नेछ।

अन्ततः प्रश्न सिधा छ– के कांग्रेस आफूलाई परिवर्तन गर्न तयार छ, कि केवल समयसँग पराजित हुन ? र अन्त्यमा, चुनावको परिणामपश्चात् पार्टीका निकाय र उम्मेदवारहरूले पूर्वाग्रही, बिनाप्रमाण, गुटगत रूपमा अर्थात् हचुवा तवरले चरित्र हत्या गरी कार्बाही गर्ने कुरा मिडियामा ल्याइएको छ वा ल्याउन लगाइएको छ यदि त्यो सत्य हो भने त्यसले निम्त्याउने अद्भुत, अकल्पनीय, अविश्वसनीय भयावहता बारे सम्बन्धित सबैले बेला छँदै विचार पुर्‍याउनुपर्छ र जिम्मेवारहरू त अत्यन्त सजग, चनाखो र गम्भीर बन्नैपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.