दुई पटकसम्म पोखरा विमानस्थलबाट विस्थापित गनेस बने पर्यटनमन्त्री
पोखरा : समृद्धिमा अघि भए पनि पोखराले राज्यको शक्तिशाली जिम्मेवारीमा पहुँच विरलै पाएको छ। २०१५ सालमा बिपी कोइरालाको सरकारमा कास्कीका मीनबहादुर गुरुङ मात्र उपमन्त्री थिए। पूर्ण मन्त्री पाउन कास्कीले दशकौं कुर्नुपर्यो।
बालेन्द्र शाहले प्रधानमन्त्रीमा आफूले शपथ लिएसँगै कास्कीलाई पनि शक्तिशाली मन्त्रालय दिएका छन्। त्यो जिम्मेवारी उनकै अभिन्न राजनीतिक मित्र खडक राज पौडेल(गनेस)को काँधमा आएको छ। पर्यटनको राजधानी मानिएको सहर पोखराबाट निर्वाचित पौडेलले पर्यटन मन्त्रालयकै बागडोर सम्हाल्न पाएका छन्।
कास्कीले पर्यटन मन्त्री पाएको पहिलो पटक भने होइन। २०७४ पछिको सरकारमा युवा नेता रवीन्द्र अधिकारीले त्यो अवसर पाएका थिए। त्यसो त सांसद सपथ लिनासाथ गनेसले फेसबुक स्टाटस लेखेर कृतिशेष रवीन्द्र अधिकारीलाई सम्झिए, ‘यो त्यही संसद् हो, यही थलो, जहाँ पछिल्लो पुस्तामा, मेरै जिल्लाका, नागरिकका सतत सपनासँग संवाद गर्ने स्वर्गीय रवीन्द्र अधिकारी यही स्थानमा बसेर नवीन कल्पनाका तराना बुन्नुहुन्थ्यो।’
संसद पुग्दा रवीन्द्र सम्झिएका उनलाई रवीन्द्रले हाँकेको मन्त्रालयको जिम्मेवारी आएको हो। रवीन्द्रको विरासत थाम्दै राजनीतिमा होमिएकी उनी जीवन साथी विद्या भट्टराईले भने तत्कालीन केपी ओली सरकारमा शिक्षा मन्त्रालय सम्हाल्न पाइन्।
त्यसो त २०५६ मा निर्वाचित भएका कास्कीका महादेव गुरुङ पर्यटन राज्यमन्त्रीसम्म हुन पाएका थिए। कास्कीबाट २०४८ सालपछि तारानाथ रानाभाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए। ७४ सालपछि भने रानाभाटकै गाउँका यज्ञबहादुर थापा उक्त मन्त्रालय सम्हाल्न पाउने अर्का नेता भए। सुशीला कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका खगराज अधिकारी १३ दिने गृहमन्त्रीसमेत भएका थिए। यीबाहेक शक्तिशाली मन्त्रालय पाउने गनेस नै हुन्।
बोलीचालीमा पर्यटन भनिए पनि यो मन्त्रालयभित्र संस्कृति र नागरिक उड्डयनजस्ता अरू दुई फराकिला र संवेदनशील क्षेत्र पनि छन्, जससँग गनेस आफ्नै खाले साइनो छ। गनेसले जीवनमा पेसा, व्यवसायका लागि भन्दा धेरै पठनमा बिताएका छन्। सधैं किताबको संसारमा घोत्लिरहने उनी आफैंले स्वैरकाल्पनिक उपन्यास पैताला लेखेका छन्। त्यसो त उनले थुप्रै कविता पनि लेखेका छन् र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक उनले जोन स्टेबेकको यो उपन्यास ‘अफ् माइस एन्ड मेन’ नेपालीमा अनुवाद गरेका छन्।
गनेसको मन्त्रालयको अन्तर्गत उड्डयन अर्थात् विमानस्थलहरुमा पनि पर्छन्। पोखरा १४ मझेरीपाटनमा २०३६ असोज १६ गते जन्मिएका गनेस स्वयं पोखरा विमानस्थलबाट विस्थापित हुन्। जसको निर्माणताका उनले विमानस्थल पीडितहरुको न्यायका लागि निर्मित संघर्ष समितिको नेतृत्व गरेका थिए। विमानस्थलले बुढीआमासहित गनेसलाई घरबाट विस्थापित गरी डेराबासी बनाइदिएको थियो।
त्यसो त २०३२ सालमा विमानस्थलका लागि जग्गा अधिग्रहण हुँदा पनि गनेस र उनका छिमेकीसमेत गरी सिंगो गाउँ विस्थापित हुनुपरेको थियो। २०७३ सालमा निर्माण सुरु भएपछि फेरि दोस्रोपटक पौडेल परिवार विस्थापनमा पर्यो, उनको घर भएको ठाउँ अहिले विमानस्थलभित्र पर्छ। जग्गा मुआब्जा लगायत सबै काम सकेर विमानस्थल बनिसक्यो र सञ्चालनमा पनि आइसक्यो। अब गनेसको जिम्मेवारी भने पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने चाँजोपाँचो मिलाउने हुनेछ।
पोखरा विश्वविद्यालयबाट एमबिए गरेका गनेसले शिक्षणको डेढ दशक लामो अनुभव लिएका छन्। उनैले स्थापना गरेका विद्यालय र संघसंस्था थुप्रै छन् पोखरामा। साथीसर्कल र परिवारले कल्पना नगरेको क्षेत्र राजनीतिमा भने उनको रुचि २०७९ को स्थानीय निर्वाचनमा देखिएको थियो। परम्परागत राजनीतिलाई अटेर गर्ने भन्दै अटेर अभियानमात्रै उनले त्यतिबेला घोषणा गरेनन्, लौरो चुनाव चिन्हसहित पोखरा महानगरपालिको मेयरमा उम्मेदवारी दिए। त्यही निर्वाचनमा हो, काठमाडौंमा बालेन शाह मेयरको स्वतन्त्र उम्मेदवार बनेर जितेको।
यता पोखरामा गनेसले जित्न नसके पनि अटेरी अभियान र बालेनसँगको सहकार्य भने निरन्तर रह्यो। जसै बालेनले पार्टी राजनीतिको बाटो समाते गनेसले खुट्टा कमाएनन्, अघि बढे। कास्की १ बाट निर्वाचन जितेपछि बालेनले आफ्ना विश्वासपात्र गनेसलाई उनको सहर सुहाउँदो मन्त्रालय पर्यटन सुम्पिएका छन्।
कोमल हृदयका गनेस शालीन छन्, अध्ययनशील र बौद्धिक पनि। चिन्नेजान्नेहरु उनलाई कहिल्यै राजनीतिमा लाग्ने ठान्दैनथे। उनी आफै पनि गनेस शक्तिको खेल भन्दा फरक मान्छन्। उनकै शब्दमा राजनीति विचारभन्दा बढी संस्कृति, अभ्यास र सम्मानजनक सहकार्य हो। राजनीतिमा सफलता जिम्मेवारी एकैसाथ प्राप्तिपछि पनि उनमा त्यो जिम्मेवारी फेरि बोध भएर प्रकट भएको छ।
उनले सांसदको शपथ लिनासाथ लेखेका थिए, ‘इतिहासको विशाल पुस्तकमा म आफ्नो नाम लेख्न आएको होइन, बरु जिम्मेवारीको एउटा अधुरो वाक्य पूरा गर्न आएको हुँ। यहाँ आउनु व्यक्तिगत उपलब्धिभन्दा बढी, अघिल्ला पुस्ताले देखेका सपनाहरूको निरन्तरता सम्हाल्ने अवसर जस्तो लागेको थियो। सायद जीवनका केही क्षणहरू यस्तै हुन्छन् ! जहाँ व्यक्ति आफूभन्दा ठूलो कुनै प्रवाहमा मिसिन्छ। मलाई यो अलौकिक अनुभूतिको साक्षात्कार गर्न योग्य बनाइदिने कास्की १ का तमाम मतदाताप्रति म सदैव अनुग्रहित रहने छु !’
प्रतिक्रिया दिनुहोस !