समाचारकक्षमा एआई र अमेरिकी अभ्यास

समाचारकक्षमा एआई र अमेरिकी अभ्यास
सुन्नुहोस्

काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई)ले विश्वभरका सञ्चारमाध्यमको कार्यशैलीलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ। हालै अमेरिकाका विभिन्न सञ्चार संस्थाहरूको भ्रमणका क्रममा त्यहाँका समाचारकक्षमा एआईको प्रयोग विस्तार भइरहेको नजिकबाट नियाल्ने अवसर जुर्‍यो। अमेरिकी विदेश मन्त्रालयको ‘इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम’अन्तर्गत त्यहाँका विभिन्न सञ्चारमाध्यममा पुग्दा ती संस्थाले निकै सावधानीपूर्वक समाचारकक्षमा एआई प्रयोग गर्ने गरेको पाइयो।

अमेरिकाका अधिकांश सञ्चारमाध्यमले आफ्नै एआई प्रणाली र त्यससँग सम्बन्धित आचारसंहिता निर्माण गरेर आफ्नो सञ्चारगृहभित्र लागू गरेको पाइयो। यही आचारसंहिताभित्र रहेर काम गर्न सहज हुने गरेको अनुभव पत्रकारले सुनाए। सञ्चारमाध्यमले वित्तीय रिपोर्ट, खेलकुद प्रतियोगिताका नतिजा, मौसमसम्बन्धी अपडेटलगायतका नियमित समाचार सामग्री स्वचालित रूपमा तयार गर्न एआई प्रयोग गरिरहेको देखियो। यसले पत्रकारहरूलाई दैनिक र दोहोरिरहने कामबाट केही हदसम्म मुक्त बनाउँदै अनुसन्धानमूलक तथा खोजी रिपोर्टिङमा ध्यान केन्द्रित गर्ने समय मिलेको ती संस्थामा कार्यरत पत्रकारले जनाए।

अमेरिकी समाचारकक्षमा एआईको प्रयोग बढ्दो छ। एआई मानव पत्रकारको विकल्प हुन सक्छ, तर यसले पूर्ण प्रतिस्थापन गर्न सक्दैन भन्नेमा विज्ञहरू सहमत देखिन्छन्। विस्कन्सिन प्रसारक संघकी अध्यक्ष मिसेल भेट्टरकाइन्ड भन्छिन्, ‘आजका दिनमा समाचारकक्षमा एआई निकै महत्वपूर्ण उपकरण बनेको छ, तर यसले कहिल्यै पनि मानव स्रोतलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न भने सक्दैन।’

उनका अनुसार विस्कन्सिन राज्यका रेडियो र टेलिभिजन स्टेसनहरूले ‘एयर–टाइम डोनेसन’ मार्फत मात्र आफ्नो समुदायलाई प्रत्येक वर्ष करिब २७० मिलियन अमेरिकी डलरबराबरको योगदान गर्ने गरेका छन्। समुदायसँगको यस्तो सम्बन्ध र सामाजिक जिम्मेवारी कुनै पनि प्रविधिले प्रतिस्थापन गर्न नसक्ने उनको तर्क छ।

अमेरिकाका केही सञ्चारमाध्यम र विश्वविद्यालयहरूले आफ्नै आन्तरिक एआई प्रणाली विकास गरेर प्रयोग गरिरहेका छन्। यसले संस्थागत तथ्यांक र गोप्य सूचनाको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ। ओहायोस्थित सिन्सिनाटी विश्वविद्यालयकी प्राध्यापक डा. भिक्टोरिया एल. लापोका अनुसार त्यहाँ ‘बियरक्याट जीपीटी’ नामक आन्तरिक एआई प्रणाली विकास गरिएको छ, जसलाई विद्यार्थीले अध्ययन र अनुसन्धानका क्रममा प्रयोग गर्ने गर्छन्। पूर्वटेलिभिजन समाचार निर्मातासमेत रहेकी लापोका अनुसार च्याटबट वा अन्य एआई उपकरणहरू पत्रकारितामा सहायक हुन सक्छन्, तर तिनले मानव निर्णय क्षमता र पत्रकारिताको मूल सिन्द्धान्तलाई कहिले प्रतिस्थापन गर्न सक्दैनन्।

मायामी विश्वविद्यालयकी प्राध्यापक क्रिस्टी म्याक मेनामीले भने एआई प्रयोग गर्दा निकै सावधानी अपनाउनु आवश्यक रहेको औंल्याइन्। उनका अनुसार पर्याप्त मानवीय निरीक्षण र तथ्य जाँचबिना एआई प्रयोग गर्दा भ्रामक सूचना फैलिन सक्ने, पूर्वाग्रह र भेदभाव बढ्न सक्ने, प्रतिलिपि अधिकार उल्लंघन हुन सक्ने, तथ्यांक चुहावटको जोखिम बढ्न सक्ने तथा मिडियाप्रतिको जनविश्वास घट्दै जान सक्ने सम्भावना रहन्छ।

सिन्सिनाटीस्थित एक पुरानो सञ्चार संस्था सिन्सीनाटी इन्क्वायररले संवेदनशील तथ्यांकसँग आफूहरूले काम गर्नुपर्ने भएकाले औपचारिक रूपमा सुरक्षित एआई प्रणालीसँग सम्झौता गरेर त्यसलाई मात्र आफ्नो मिडियामा प्रयोग गर्ने गरेको जनाएको छ। उक्त संस्थाको कोपाइलटसँग सम्झौता छ। १८० वर्षभन्दा पुरानो यस संस्थाले द सिन्सीनाटी इन्क्वायरर पत्रिका र सिन्सीनाटी डट कम अनलाइन प्लेटफर्म सञ्चालन गर्दै आएको छ। सोही संस्थाका ब्रेकिङ न्युज रिपोर्टर डेभिड फेराराका अनुसार उनीहरू अत्यावश्यक नभएसम्म एआई प्रयोग गर्न हिचकिचाउँछन्। ‘अहिले पनि धेरै पत्रकार एआई प्रयोग गर्न केही सतर्क देखिन्छन्’, उनले भने।

करिब एक हजारप्रति प्रकाशनबाट सुरु गरेको उक्त सञ्चारसंस्थाले अहिले वेबसाइट, मोबाइल एप, न्युजलेटर, सामाजिक सञ्जाल, पोडकास्ट र छापामाध्यममार्फत प्रतिमहिना २० लाखभन्दा बढी पाठकसम्म आफ्नो सामग्री पुर्‍याउँदै आएको छ। यसले दुई वटा पुलिट्जर पुरस्कारसमेत प्राप्त गरिसकेको छ, जसमध्ये पछिल्लो पुरस्कार सन् २०१८ मा प्रकाशित हेरोइनको विनाशकारी असरसम्बन्धीको एक अनुसन्धानात्मक रिपोर्टले जितेको थियो।

अमेरिकी समाचारकक्षका नेतृत्वकर्ताका अनुसार पछिल्ला केही वर्षमा समाचार उत्पादन प्रक्रियामा एआईको प्रयोग नाटकीय ढंगमा बढेको छ। तर यसको प्रयोग सधैं सचेत र जिम्मेवार ढंगले गर्नु पर्नेमा उनीहरूको जोड छ। सिन्सिनाटीस्थित टेलिभिजन च्यानल डब्लूसीपीओका समाचार निर्देशक जोन एडकिन्स भन्छन्, ‘एआईबाट प्राप्त कुनै पनि सूचना स्वतन्त्र रूपमा प्रमाणीकरण गर्नु हाम्रो अनिवार्य दायित्व हो।’

एबीसीसँग आबद्ध उक्त टेलिभिजनले प्रचारात्मक भिडियो निर्माणमा मात्र नभइ केही सिर्जनात्मक सामग्री तयार गर्न पनि एआई प्रयोग गर्ने गरेको पाइयो। यद्यपि पारदर्शितालाई प्राथमिकता दिँदै कुन एआई उपकरण प्रयोग गरी उक्त सामग्री निर्माण गरिएको हो भन्ने विषयमा दर्शकलाई स्पष्ट रूपमा जानकारी दिने गरेको एडकिन्सले जनाए।

सामान्यतया अमेरिकी सञ्चारमाध्यमहरूले समाचार संकलन, सामग्रीको सारांश तयार पार्न, ट्रेन्डिङ विषय पहिचान गर्न, भिडियो प्रशोधन, प्रुफरिडिङ तथा प्रारम्भिक समाचार ड्राफ्ट तयार पार्नेजस्ता काममा एआई प्रयोग गर्ने गरेको पाइन्छ। तर अन्तिम सम्पादन, तथ्य प्रमाणीकरण र सम्पादकीय निर्णय भने मानव पत्रकारकै जिम्मेवारी रहनेमा उनीहरू स्पष्ट देखिन्छन्।

पछिल्ला वर्षहरूमा नेपालका समाचारकक्षहरूले पनि एआईलाई परीक्षण र अभ्यास गर्न थालेका छन्। च्याट जीपीटी, गुगल जेमिनाइजस्ता एआई उपकरणहरूले पत्रकारहरूलाई सारांश तयार गर्न, सामग्री अनुवाद, अन्तर्वार्ता ट्रान्सक्रिप्सनदेखि शीर्षक फुराउन सहयोग गर्दै आएको छ। सीमित स्रोतसाधन र निश्चित समयसीमामा बाँधिएर काम गर्नुपर्ने नेपाली मिडियाका लागि यस्तो प्रविधिले धेरै सहयोग गरेको छ। यसले निश्चय पनि समयको बचत र उत्पादनशीलता बढाउन सक्छ। यद्यपि एआई उपकरणहरूले कहिलेकाहीँ गलत वा भ्रामक सामग्री उत्पादन गर्न सक्छन्। नभएको कुरालाई पनि भएको जस्तो अनुभव गराउन सक्छ, जसलाई प्रायः ‘हल्युसिनेसन’ भनिन्छ। यस्ता सामग्री पर्याप्त प्रमाणीकरण बिना प्रयोग गरिएमा समाजमा गलत सूचना फैलिने जोखिम बढ्छ। हाल विश्वभर मिडियाप्रतिको जनविश्वास घट्दो अवस्थामा रहेकोमा यस्ता त्रुटिहरूले झनै गम्भीर परिणाम निम्त्याउन सक्छन्। त्यसैले एआईलाई पत्रकारको विकल्प नभई सहयोगी उपकरणका रूपमा प्रयोग गर्नुपर्नेमा विज्ञहरू जोड दिन्छन्।

पारदर्शिता एआई प्रयोगको एउटा महत्त्वपूर्ण पाटो हो। समाचार संस्थाहरूले समाचार उत्पादन प्रक्रियामा एआई कसरी प्रयोग भइरहेको छ भन्नेबारे आफ्ना पाठक र दर्शकलाई स्पष्ट जानकारी दिनुपर्छ। यसले मिडिया र जनताबीचको विश्वास कायम राख्न मद्दत पुर्‍याउँछ। अमेरिकी सञ्चारमाध्यमले यसमा पारदर्शिता अपनाउने गरेको पाइन्छ। तथापि नेपाली सञ्चारमाध्यममा यस्तो अभ्यासको कमी देखिन्छ।

विश्वका केही संस्थाहरूले एआई प्रयोगसम्बन्धी आन्तरिक निर्देशिका पनि तयार गरिसकेका छन्। रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नालिज्म, एसोसियटेड प्रेसलगायतका पत्रकारिताको अध्ययन र अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले प्रमाणीकरण, पारदर्शिता र नैतिक जिम्मेवारीलाई प्राथमिकता दिने नीतिहरू विकास गरिरहेका छन्। ती संस्थाहरूले आफ्नो नीतिमार्फत समाचार उत्पादनमा कुन–कुन एआईलाई कहाँ र कसरी प्रयोग गर्न पाइन्छ वा पाइन्न भन्ने स्पष्ट तोकिदिएका छन्। नेपाली सञ्चारमाध्यमहरूले पनि यस्ता अनुभवबाट सिक्दै आफ्नो सन्दर्भअनुसार आन्तरिक नीति निर्माण गर्न सके समाचारकक्षमा एआईको जिम्मेवार प्रयोग सम्भव हुने विश्वका यी अभ्यासले प्रस्ट्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.