विश्व–क्यानभासमा सांस्कृतिक इन्द्रेणी

चाडपर्व

विश्व–क्यानभासमा सांस्कृतिक इन्द्रेणी
सुन्नुहोस्

मानव समाजको विविधता र तिनको ऐतिहासिक निरन्तरतालाई बुझ्न विश्वका विभिन्न कुनाकाप्चामा मनाइने सांस्कृतिक परम्परा, जात्रा र पर्वहरू सबैभन्दा प्रभावकारी माध्यम हुन्। 

यी विषय, घटना वा सन्दर्भ केवल परम्पराको पुनरावृत्तिा मात्र होइनन्, बरु समुदायको सामूहिक अवचेतन, आध्यात्मिक विश्वास र वातावरणीय अनुकूलनको एक जीवन्त अभिव्यक्ति  हुन्। विभिन्न भौगोलिक क्षेत्रमा विकसित भएका अनौठा रीतिरिवाजहरूले मानिसको प्रकृति र संस्कृतिप्रतिको दृष्टिकोण, मृत्युपछिको अवस्थाबारेको धारणा र सामाजिक एकता कायम गर्ने संयन्त्रहरूलाई प्रतिविम्बित गर्छन्। विविधता नै मानव जातिको सौन्दर्य हो। रीतिथिति, संस्कृति र परम्पराहरूले नै विश्वलाई एक साझा तर रंगीन घरको रूपमा परिभाषित गरेका छन्, प्रस्तुत जात्रा र चाडपर्वले यही पुष्टि गरेका छन्। त्यसैले तिनको संरक्षण हुनु भनेको मानव इतिहासको जीवन्त संग्रहालयलाई जीवित राख्नु नै होभन्दा अत्युक्ति नहोला। आउनुहोस्, विश्वका ती अनौठा र आश्चर्यजनक जात्रापर्वहरूमा डुबौं। जहाँ परम्पराले आधुनिकताको हात सुम्सुम्याउँछ। जहाँ आस्थाले विज्ञानलाई चुनौती दिन्छ।

बच्चामाथि उफ्रिने पर्व (एल कोलाचो), स्पेन 

स्पेनको कास्ट्रिल्लो डे मुर्सिया नामक गाउँमा प्रत्येक वर्ष एल कोलाचो भन्ने अचम्मको पर्व मनाइन्छ। शताब्दीऔं पुरानो यो पर्व क्याथोलिक परम्परा र पुराना पैगन (पौराणिक) संस्कारको मिश्रण हो। कोर्पस क्रिस्टी पर्वपछि पर्ने आइतबार (अंग्रेजी जुन महिनाको मध्यतिर) यो मनाइन्छ। जहाँ रातो र पहेंलो लुगा र मास्क लगाएका मानिसहरू देखिन्छन्, जसलाई ‘सैतान’को रूप दिइन्छ र जसले गाउँभरि दौडँदै गाउँलेलाई पिट्छन्। जुन नयाँ मानिसलाई अचम्म लाग्छ। त्यसले दुष्ट शक्तिलाई भगाउँछ भन्ने जनविश्वास छ। पर्वको मुख्य आकर्षण एल साल्तो डेल कोलाचो हो, जहाँ सैतानको भेषमा रहेका मानिस सडकमा राखिएका बच्चाहरूमाथि उफ्रन्छन्।

सैतानले उनीहरूलाई पार गर्दा बालबालिकाको मौलिक पाप हट्छ भन्ने विश्वास गरिन्छ। ती बच्चाहरूलाई वर्षभर जन्मिएका शिशुहरूको प्रतीक मानिन्छ। यसरी शिशुहरूलाई रोगरहित र सुरक्षित राख्ने यो परम्परा विश्वकै लागि अनौठो रहिआएको छ। सन् १६२१ मा पोप ग्रेगोरी–१५ ले यसलाई धार्मिक मान्यता दिएको उल्लेख छ। चार सय वर्षभन्दा पुरानो यस परम्पराले आजसम्म निरन्तरता पाइरहेको छ। यद्यपि क्याथोलिक चर्चभित्र यसबारे विवाद पनि हुने गरेको छ। तर, स्पेनकै अचम्मको पर्वमध्ये यो अझै पनि सुरक्षित रूपमा सञ्चालन हुँदै भने आइरहेको पाइन्छ।

सहर समृद्ध बनाउन बाँदर भोज पर्व, थाइल्यान्ड
थाइल्यान्डको लोपबुरी सहरमा हरेक वर्ष नोभेम्बर महिनाको अन्तिम आइतबार मंकी बफेट अर्थात् बाँदर भोज पर्व आयोजना गरिन्छ। यस दिन फ्रा प्राङ साम योट मन्दिर वरपर हजारौं बाँदरलाई सम्मानपूर्वक भोजन अर्पण गरिन्छ। स्थानीय बासिन्दाहरूको विश्वास छ कि बाँदरहरू ‘शुभ रक्षक’ हुन् र उनीहरूलाई सन्तुष्ट पार्दा सहरमा समृद्धि आउँछ। यो पर्वमा ठूलो टेबलमा सजाएर फलफूल, तरकारी, मिठाईदेखि विभिन्न परिकारसम्म बाँदरहरूका लागि राखिन्छन्। बाँदरहरूले टेबलमा चढेर, रैथाने शैलीमा भोजन गर्न थाल्छन्।null

यो दृश्य हेर्न हजारौं पर्यटक आउने भएकाले यो पर्व अहिले पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ। यसको जरो पुरानो हिन्दु सन्दर्भ हनुमान देवताको सहयोगले भगवान् रामले सीताको उद्धार गरेका थिए भन्ने जनविश्वाससँग जोडिएको पाइन्छ। त्यसैले बाँदरलाई सम्मान दिने यो संस्कार अझै जीवित छ। अहिले यो पर्व स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय पर्यटक दुवैका लागि लोपबुरी सहरको पहिचान बनेको छ।

बच्चा रुवाउने पर्व (नाकी सुमो), जापान

जापानका विभिन्न शिन्तो मन्दिरहरूमा विशेषगरी टोकियोको सेन्सोजी मन्दिरमा प्रत्येक वसन्त नाकी सुमो पर्व आयोजना गरिन्छ। यसमा एक वर्ष उमेरका शिशुहरूलाई सुमो पहलवानले काखमा बोकेर रिंगमा ल्याउँछन्। यसको उद्देश्य भनेकै बच्चालाई चाँडो र जोडले रोओस् भन्ने हो।null

स्थानीय विश्वासअनुसार, जोडले रोएको बच्चा स्वस्थ र भाग्यमानी हुन्छ। यो काम नै यस पर्वको आधार हो। साथै, बच्चाको रोदनले दुष्टआत्माहरूलाई भगाउँछ भन्ने पनि जनविश्वास छ। प्रतियोगितामा प्रायः सयभन्दा बढी बच्चा सहभागी हुन्छन्। बालबालिकालाई डर देखाउन पुजारी राक्षस (टेंगु) जस्तो देखिने मास्क लगाएर अनौठो हाउभाउका साथ नजिकै पुग्छन्। बच्चा रोएको खण्डमा अभिभावक खुसी हुन्छन् र मन्दिरमा आशीर्वाद लिन्छन्। यो परम्परा हजार वर्ष पुरानो मानिन्छ र जुन जापानमा लोकप्रिय छ।

तिब्बती आकाश संस्कार, नेपाल, तिब्बत, भुटान, मंगोलिया

तिब्बतको बौद्ध परम्परामा ‘आकाश संस्कार मृत्यु’ संस्कारको विशेष विधि हो। हिमाली क्षेत्रमा हिउँ कडा भएर जम्ने, जमिन पनि कठोर हुने साथै काठ अभाव हुने भएकाले न त दाहसंस्कार सम्भव हुन्छ, न त गाड्ने प्रचलन सजिलो हुन्छ। त्यसैले मृतकको शरीरलाई चिहानघाट जस्तै पवित्र स्थानमा लगेर स–साना टुक्रा पारिन्छ र गिद्धलाई खानेकुराका रूपमा अर्पण गरिन्छ। यसको धार्मिक अर्थ भने निकै गहिरो छ।

तिब्बती बौद्ध धर्ममा शरीरलाई नश्वर (असारिक) मानिन्छ तर आत्माले भने पुनर्जन्म लिन्छ भन्ने जनविश्वास छ। त्यसैले शरीरलाई जीवित प्राणी (गिद्ध)लाई अर्पण गर्नु दानको उच्च रूप मानिन्छ। यो संस्कार हजारौं वर्षदेखि अभ्यास हुँदै आएको छ। अझै पनि यो संस्कार तिब्बत तथा नेपाल, भुटान र मंगोलियाका केही भू–भागमा पाइन्छ। आज पर्यटकका लागि यो संवेदनशील विषय बनेको छ। यद्यपि, अन्य देशबाट भ्रमणका लागि मानिस आउँछन्। तर, यसमा प्रत्यक्ष सहभागी गराइँदैन अर्थात् अवलोकन गर्न दिइँदैन।

समुद्रभित्र अनौठो संगीत पर्व, अमेरिका फ्लोरिडाको की लार्गो क्षेत्रमा हरेक वर्ष जुलाई महिनामा समुद्रभित्र अन्डरवाटर म्युजिक फेस्टिभल आयोजना गरिन्छ। करिब २० मिटर तल कोरल रिफ (सामसन रिफ) क्षेत्रमा चालकहरू भेला भई विशेष रूपमा बनाइएका पानीभित्र बज्ने वाद्यवादन (जस्तै, माछाको आकारको गिटार, शंखजस्तो भाँडो) बजाउँछन्। यस पर्वको उद्देश्य केवल मनोरञ्जनमात्र नभई समुद्री जीव संरक्षणप्रति जागरण फैलाउनु हो। सहभागीहरूलाई समुद्री जीवलाई हानि नगरी संगीतमार्फत समुद्रसँग मित्रता गर्ने अवसर मिल्छ। रेडियो स्टेसनबाट पानीभित्र प्रसारण हुने धुनमा डाइभरहरूले नाच्ने, वाद्यवादन बजाउने दृश्य हेर्न  चालक र पर्यटक सहभागी हुन्छन्। सन् १९८५ देखि सुरु भएको यो कार्यक्रम अहिले पर्यावरणीय सन्देशसहितको अनौठो संगीत पर्व बनेको छ।

चीज रोलिङ फेस्टिभल, बेलायत, यूके
बेलायतको ग्लोसेस्टरस्थित कुपर हिलमा हरेक वर्षको मे महिनामा चीज रोलिङ प्रतियोगिता हुन्छ। यसमा ठूलो परिकार (डबल ग्लुस्टर चीज)लाई पहाडको भिरालो घाँसे चौरमा लडाइन्छ अनि प्रतिस्पर्धीहरू त्यसको पछाडि दौडिन लगाइन्छ।

पहाडको भिरालो करिब ४५ डिग्री हुने भएकाले मानिसहरू प्रायः लड्छन्, पछारिन्छन्। तर पनि जो पहिले तल पुग्छ, उसले चीज जित्छ। यसमा भाग लिन सयौं मानिस आउँछन्, दर्शक त हजारौं हुन्छन्। यो परम्परा १९औं शताब्दीभन्दा पुरानो मानिन्छ। प्रारम्भमा स्थानीय बासिन्दाले वसन्त आगमनको खुसी मनाउन यसलाई सुरु गरेको जनविश्वास छ। अहिले यो विश्वप्रसिद्ध अचम्मको खेल र संस्कार बनेको छ।

गोल्डेन इगल फेस्टिभल, मंगोलिया
मंगोलियाको पश्चिमी क्षेत्रमा बसोबास गर्ने काजाक नामक घुमन्ते समुदायले प्रत्येक अक्टोबरमा गोल्डेन इगल फेस्टिभल आयोजना गर्छन्। यस पर्वमा सिकारीहरूले आफ्ना प्रशिक्षित सुनौलो चील (गोल्डेन इगल) प्रदर्शनमा उतार्छन्। पर्वको मुख्य आकर्षण चीललाई आकाशमा छोडेर टाढा बस्ने मालिकको काँध वा हातमा फर्काउन लगाइन्छ। जसको चील छिटो, अनुशासित र बलियो हुन्छ, त्यो विजेता हुन्छ।

चीललाई खरायो, लोमडीजस्ता सिकार झिकाइन्छ। यो संस्कार मंगोल र काजाक घुमन्ते जीवनशैलीसँग गहिरोरूपमा जोडिएको छ। चील सिकार केवल खेलमात्र नभई कठोर वातावरणमा जीविकोपार्जनको उपाय हो। आज यो पर्व पर्यटन र सांस्कृतिक गर्वको प्रतीक बनेको छ।

फायरबल्स फेस्टिभल, एल साल्भाडोर
एल साल्भाडोरमा प्रत्येक ३१ अगस्टमा फायरबल्स फेस्टिभल मनाइन्छ। यस दिन युवाहरूले आगोले पोलिएको कपडा वा माटोको बललाई हातमा समातेर एकअर्कामाथि फ्याँक्छन्। यो परम्परा सन् १६५८ मा ज्वालामुखी बिस्फोट हुँदा सहर पूरै ध्वस्त भएको स्मृतिमा सुरु भएको हो। स्थानीयहरूको विश्वासअनुसार, सहरका संरक्षक सन्त (सन्त जेरोनिमो)ले आगोसहितको शक्तिले ज्वालामुखीलाई रोकेका थिए रे ! आज यो पर्व साहस, आस्था र स्थानीय इतिहासको स्मरणका रूपमा मनाइन्छ। सहभागीहरूले आगोको ज्वालाबाट आफूलाई बचाउँदै तर उत्साहका साथ यो खेल खेलिन्छ।null

जुलु रिड डान्स, दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको क्वाजुलु–नाटाल क्षेत्रमा हरेक सेप्टेम्बरमा उम्खोसी वोम्हलान्गा वा जुलु रिड डान्स हुन्छ। यसमा हजारौं अविवाहित युवतीहरूले लामो रंगीन लुगा लगाएर, हातमा रिड (घाँस) बोकेर राजाको दरबारमा नृत्य गर्छन्।

यो पर्वको उद्देश्य युवतीहरूको पवित्रता, समुदायको ऐक्यबद्धता र परम्परागत संस्कृति जोगाउनु हो। पर्वमा राजा स्वयं उपस्थित भएर युवतीहरूको नृत्य अवलोकन गर्छन्। ऐतिहासिक जग १९औं शताब्दीसम्म पुग्छ, जब जुलु राजा शाका जुलुले यसलाई समुदाय एकता र अनुशासन कायम गर्न सुरु गरेका थिए। यो दक्षिण अफ्रिकाको पहिचान बनेको छ।

बुजकासी, मध्य एसियादेखि अफगानिस्तानसम्म
अफगानिस्तानको राष्ट्रिय खेल बुजकासी अत्यन्त असामान्य छ। यसमा घोडामा सवार टोलीहरूले बाख्राको टाउको वा शवलाई उठाएर निर्धारित गोल क्षेत्रमै पुर्‍याउनु पर्छ। खेल मध्य एसियामा शताब्दीऔंदेखि अभ्यासमा छ। परम्परागत रूपमा यो युद्धमा घोडचढी र साहस अभ्यास गर्ने तरिका थियो। यो खेल अत्यन्त कठोर हुन्छ, जसमा सयौं घोडा भिड्छन्। प्रतिस्पर्धीहरूलाई शारीरिक रूपमा निकै चोटपटक लाग्छ। आज यो अफगानिस्तानमात्र नभई मध्य एसियाका कीर्गिस्तान, ताजिकिस्तानजस्ता मुलुकमा पनि प्रचलित छ। यद्यपि, यसलाई अझै पनि अफगान पहिचान र वीरत्वको प्रतीक मानिन्छ।

फुकेट शाकाहारी महोत्सवमा शरीर भेदन, थाइल्यान्ड
थाइल्यान्डको फुकेट टापुमा प्रत्येक वर्ष चिनियाँ चन्द्र पात्रोको नवौं महिनामा ‘शाकाहारी महोत्सव’ अर्थात् फुकेट भेजिटेरियन फेस्टिभल मनाइन्छ। जसलाई विश्वकै सबैभन्दा आश्चर्यजनक र कडा धार्मिक अनुष्ठानमध्ये एक मानिन्छ। यो नौ दिने उत्सवलाई ‘नाइन एम्परर गड फेस्टिभल’का नामले पनि चिनिन्छ, जसले चिनियाँ ताओवादी परम्परा र स्थानीय थाई संस्कृतिको समिश्रणलाई प्रस्तुत गर्दछ।

ऐतिहासिक उत्पत्ति र पौराणिक आधारका दृष्टिले यो महोत्सवको सुरुवात सन् १८२५ तिर भएको प्रमाणहरू भेटिन्छन्। तत्कालीन समयमा फुकेटको काथु जिल्लामा एउटा चिनियाँ ओपेरा टोली भ्रमणमा पुगेको थियो। उक्त टोलीका सदस्यहरू अचानक महामारी (जसलाई मलेरिया वा हैजा मानिन्छ) बाट संक्रमित भए। उनीहरूले आफू बिरामी हुनुको कारण नौ सम्राट् देवताहरूको पूजा गर्न बिर्सनुलाई ठाने र शुद्धीकरणका लागि कडा शाकाहारी आहार र धार्मिक अनुष्ठानहरू सुरु गरे।

आश्चर्यजनक रूपमा ती कलाकारहरू चाँडै निको भए। त्यसपछि स्थानीय बासिन्दाहरूले यसलाई ईश्वरीय शक्तिको रूपमा स्वीकार गरे। यसरी, सोही समयदेखि प्रत्येक वर्ष यो महोत्सव मनाउन थालियो। महोत्सवमा शरीरलाई देवताले सवारीको रूपमा प्रयोग गर्ने मान्यता छ। यसरी अर्ध–चेत वा ‘ट्रान्स’को अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा पुगेपछि उनीहरूले आफ्नो शरीरमा कठोर भेदन (पियर्सिङ) गर्छन्।

अनुसन्धानले देखाउँछ कि यी ‘माह सङ’हरूले कुनै पनि एनेस्थेसिया बिनै आफ्नो गाला, जिब्रो र शरीरका अन्य अंगहरूमा तरबार, त्रिशूल, साइकलका ह्यान्डल, छाता र अन्य धारिला वस्तुहरू वारपार छेड्छन्। जो धारिलो भर्‍याङ पनि चढ्न सक्छन्। वैज्ञानिक र मानवशास्त्रीय दृष्टिकोणबाट यो घटना निकै चाखलाग्दो छ। ट्रान्सको अवस्थामा रहने हुनाले उनीहरूलाई पीडा महसुस हुँदैन र रगत पनि तुलनात्मक रूपमा कम बग्ने गर्दछ। यो अनुष्ठानको मुख्य उद्देश्य समुदायको खराब कर्मलाई पखाल्नु र समाजमा सुख–शान्ति ल्याउनु हो।


संसार एउटा विशाल रंगमञ्च हो। यहाँका हामी मानिसहरू पात्र। संस्कृति भनेको ऐना हो। जहाँ हामी हाम्रो विगत देख्छौं। जहाँ हामी हाम्रो भविष्यको बाटो कोर्छौं। अनि संस्कृति ती पात्रहरूले लगाउने जीवन्त रंग हो, जहाँ हरपल क्यानभास कोरिइन्छ। जात्रा र चाडपर्वहरूले नै हामीलाई मानिस हुनुको बोध गराउँछन्। मानव समाजको विविधता बुझ्न इतिहासका ठेली पल्टाएरमात्र पुग्दैन। जात्रा र पर्वहरू केवल मिति र पात्रोका पाना होइनन्। ती त हाम्रा पुर्खाका धड्कन हुन्। ती हाम्रा सामूहिक अवचेतनका झिल्का हुन्। पृथ्वीका विभिन्न कुनाकाप्चामा फरक–फरक जीवनशैली, रहनसहन र संस्कृति छन्। तर सबैको एउटै उद्देश्य छ, विविधताभित्र एकता खोज्नु अनि जीवनलाई उत्सवमय मनाउनु। प्रस्तुत सन्दर्भहरू केवल परम्पराको पुनरावृत्तिा होइनन्। बरु यी त समुदायको सामूहिक आवाज हुन्। आध्यात्मिक विश्वासका खम्बाहरू हुन्।

पुर्खासँगको पुनर्मिलन र हाडखोरको नाच, अफ्रिका
अफ्रिकी महादेशको पूर्वी तटमा अवस्थित टापु राष्ट्र मेडागास्करमा ‘फामाडिहाना’ नामक एक अत्यन्तै विशिष्ट र भावनात्मक अन्त्येष्टि परम्परा प्रचलित छ। मेरिना र बेटिसलियो समुदायमा प्रचलित यो परम्परालाई ‘टर्निङ अफ द बोन्स’ पनि भनिन्छ। मृत्यु र पुर्खाप्रतिको दार्शनिक दृष्टिकोण मेडागास्करको यो संस्कृतिमा मृत्युलाई जीवनको अन्त्य मानिँदैन। उनीहरूलाई विश्वास छ कि मृतकको आत्मा तबसम्म पूर्णरूपमा पुर्खाको संसारमा प्रवेश गर्न सक्दैन, जबसम्म शरीर पूर्ण रूपमा सडेर माटोमा मिल्दैन। त्यसैले, मृतकको आत्मा र जीवित परिवारबीचको सम्बन्धलाई कायम राख्न प्रत्येक ५ देखि ७ वर्षमा परिवारका सदस्यहरूले आफ्ना पुर्खाको चिहान खनेर अवशेषहरू बाहिर निकाल्छन्।

फामाडिहाना कुनै शोकको समय होइन, बरु यो एक भव्य उत्सव र पारिवारिक पुनर्मिलन हो भन्न सकिन्छ। चिहानबाट अवशेषहरू निकालेपछि परिवारका सदस्यहरूले ती अवशेषलाई नयाँ सेतो रेशमी कपडा (लम्बा)ले सावधानीपूर्वक बेर्छन्। त्यसपछि, जीवन्त संगीत (लाइभ म्युजिक)को तालमा पुर्खाको शव वा हाडखोरलाई काँधमा बोकेर चिहानको वरिपरि नाँच्छन्। यस प्रक्रियालाई ‘पुर्खासँगको नाच’ भनिन्छ। उक्त समयमा परिवारका सदस्यहरूले आफ्ना पुर्खासँग कुरा गर्छन्, उनीहरूलाई परिवारमा भएका नयाँ जन्म वा विवाहका बारेमा जानकारी दिन्छन् र पितृहरूसँग आशीर्वाद पनि माग्छन्। यो संस्कारले मेडागास्करको समाजमा वंश परम्परा र पारिवारिक सम्बन्धलाई निकै बलियो बनाएको छ। जसको सामाजिक र आर्थिक प्रभाव निकै गहिरो पाइन्छ। फामाडिहाना आयोजना गर्न रेशमी कपडा, भोजभतेर र संगीतका लागि हजारौं डलर खर्च हुन्छ।

सूर्य महोत्सव र भविष्यवाणी, दक्षिण अमेरिका
पेरुको कुस्को सहरमा प्रत्येक वर्ष जुन २४ मा मनाइने ‘इन्ती रायमी’ अर्थात् ‘सूर्य महोत्सव’ दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र ऐतिहासिक पर्व हो। यो पर्व प्राचीन इन्का साम्राज्यको धार्मिक र राजनीतिक शक्ति प्रदर्शनको एक महत्त्वपूर्ण कडी हो। इन्का सभ्यतामा सूर्य देवता ‘इन्ती’लाई सृष्टिको स्रोत र जीवनदाता मानिन्थ्यो। इन्काहरूले आफूलाई सूर्यका प्रत्यक्ष सन्तान मान्थे त्यसबेला। जुन महिना दक्षिणी गोलार्धमा जाडोको समय हो र यस समयमा सूर्य पृथ्वीबाट सबैभन्दा टाढा पुग्छ। इन्काहरू ‘सूर्य कतै सधैंका लागि हराउने त होइन ?’ भन्ने डरले सूर्यदेवलाई प्रसन्न पार्न र नयाँ वर्षको स्वागत गर्न यो भव्य पूजा गर्थे। सन् १४३० तिर राजा पाचाकुटेकले यसको संस्थागत सुरुवात गरेका थिए।

प्राचीन समयमा यो महोत्सव १५ दिनसम्म चल्थ्यो। मुख्य अनुष्ठानमा बलि दिने र त्यसका अंगहरू हेरेर भविष्यवाणी गर्ने चलन थियो। स्पेनिस उपनिवेशकालमा यो पर्वलाई ‘काफिर’को अभ्यास भन्दै प्रतिबन्ध लगाइएको थियो। सोही कारण झन्डै चार सय वर्षसम्म यो पर्व ओझेलमा पर्‍यो। सन् १९४४ मा पेरुभियन बुद्धिजीवीहरूले यसलाई पुनर्जीवित गर्ने निर्णय गरे। हाल यो महोत्सव एक ऐतिहासिक नाटक (रिनक्याक्टमेन्ट)को रूपमा प्रस्तुत गरिन्छ, जहाँ सात सयभन्दा बढी कलाकारले इन्का राजा (सापा इन्का), रानी (कोया) र पुजारीहरूको भूमिका निर्वाह गर्छन्। यो पर्व पेरुको आदिवासी पहिचानलाई विश्वभर चिनाउन सफल भएको छ। महोत्सवमा प्रयोग गरिने ‘चिचा’ (कोदो वा मकैको मदिरा) र ‘कोका’का पातहरूले प्राचीन एन्डियन संस्कृतिको गहिराइलाई प्रस्तुत गर्दछन्।

तिन्कु, रगतको बलि र धर्ती माताप्रतिको भक्ति, बोलिभिया :

 बोलिभियाको उत्तरी पोटोसी क्षेत्रमा प्रचलित ‘तिन्कु’ एक यस्तो अनौठो पर्व हो, जहाँ हिंसा र धर्मको एकै ठाउँमा संगम हुन्छ। क्वेचुआ भाषामा ‘तिन्कु’को अर्थ ‘मुठभेड’ वा ‘भेटघाट’ हुन्छ। यस पर्वको मूल उद्देश्य धर्ती माता ‘पाचाममा’लाई प्रसन्न पार्नु हो। स्थानीय समुदायको गहिरो विश्वास छ कि यदि तिन्कु लडाइँको क्रममा रगत भूमिमा खस्यो भने आउने वर्ष बालीनाली राम्रो हुन्छ र जमिन उर्वर हुन्छ। रगतलाई धर्ती माताका लागि दिइने एक पवित्र दानको रूपमा हेरिन्छ। यो पर्वमा छिमेकी गाउँका मानिसहरू भेला भएर एकअर्कासँग हातपातको लडाइँ गर्छन्। उनीहरूले विशेष प्रकारको छालाको हेलमेट (मोन्टेरा) लगाउँछन् ।

पुरुषहरू मात्र होइन, कतिपय अवस्थामा महिलाहरू पनि यो लडाइँमा सहभागी हुन्छन्। कडा मुड्कीले प्रहार गर्न उनीहरूले हातमा ढुंगा लुकाउने वा सिसाका टुक्रासमेत बाँध्ने गर्छन्। समाजशास्त्रीय दृष्टिकोणबाट तिन्कुले समुदायबीचको आन्तरिक तनाव र रिसलाई बाहिर निकाल्ने माध्यमको रूपमा कार्य गर्दछ। लडाइँ सकिएपछि फेरि उनीहरू शत्रुता बिर्सिएर सबै मिल्छन्। त्यसपछि संगीत र नृत्यमा रमाउने गर्दछन्। यद्यपि कहिलेकाहीँ यो लडाइँमा सहभागीहरूको मृत्युसमेत हुने गर्छ, तर त्यस्तो मृत्युलाई पनि धर्ती माताका लागि दिइएको सर्वोच्च बलिदान मानिन्छ।
एजेन्सीहरूको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.