दैलेख–१ : पहिले एक पार्टी, अहिले प्रतिद्वन्द्वी
पहिले एउटै दलका सहकर्मी अहिले प्रतिस्पर्धी बनेका एमालेका रवीन्द्रराज शर्मा, नेकपाका अम्मरबहादुर थापा र रास्वपाका नन्दकिशोर बस्नेत तथा कांग्रेसकी उम्मेदवार बास्ना थापा।
दैलेख : कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत र दैलेखमा मात्रै दुई/दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा तीनजना पूर्वसहकर्मी चुनावी प्रतिस्पर्धामा छन्।उनीहरू हुन्, नेकपा एमालेका रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत।फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शर्मा, थापा र बस्नेतसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन्।
यो क्षेत्रमा नेकपा एमालेका रवीन्द्रराज शर्मा, नेपाली कांग्रेसका बासना थापा र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाबीच प्रतिस्पर्धा हुने चर्चा छ।यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका रणबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओली, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रामलाल विश्वकर्मा, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट मेनका श्रेष्ठ र स्वतन्त्रबाट लोगबहादुर चुनावी मैदानमा छन्।
यी १० उम्मेदवारमध्ये नेकपा एमालेका रवीन्द्रराज शर्मा, नेकपाका अम्मरबहादुर थापा र रास्वपाका नन्दकिशोर बस्नेत कुनै बेला एमालेमै थिए।तीनै जना एउटै दलमा रहेर सँगै काम गरेका पूर्वसहकर्मी हुन्।उनीहरू अहिले फरकफरक दलबाट चुनावी मैदानमा छन्।हाल नेकपाबाट उम्मेदवार रहेका थापा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी हुँदै प्रचण्ड नेतृत्वको नेकपामा समायोजन भएर निर्वाचनमा होमिएका हुन्।
रास्वपाका उम्मेदवार बस्नेत उम्मेदवारी दर्ताको केही दिन अघिमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन्।यसरी तीन पुराना सहकर्मी अहिले चुनावी प्रतिद्वन्द्वीका रूपमा आमने–सामने बनेका छन्।तीनजना पूर्वसहकर्मीको चुनावी प्रतिस्पर्धाले यसपाली यहाँको निर्वाचन रोचक बनाएको छ।
जेन—जी आन्दोलनको बलमा हुन लागेको निर्वाचनमा दैलेखमा एमाले, कांग्रेस र नेकपाको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य साना दलको प्रभाव कम छ।२०७९ मा सम्पन्न निर्वाचनमा यहाँ रहेका प्रमुख दलहरूले प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्ने हो भने फागुन २१ मा हुने निर्वाचनमा दैलेख–१ मा तीन दलहरू एमाले, कांग्रेस र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
समानुपातिकतर्फ १६ हजार ३ सय १३ मत प्राप्त गर्दै अघिल्लो निर्वाचनमा यहाँ एमाले पहिलो दल थियो।समानुपातिक मत प्राप्त गर्ने दोस्रो दल हो, नेपाली कांग्रेस।त्यसबेला कांग्रेसले १५ हजार ८ सय ३७ समानुपातिक मत पाएको थियो।यस क्षेत्रमा दलहरूको सांगठनिक स्थिति नियाल्दा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन्।सदरमुकाममा रहेको नारायण नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको यो क्षेत्रमा एमालेका ४ हजार ४ सय ४८ संगठित सदस्य छन्।कांग्रेसमा ४ हजार ७ सय क्रियाशील सदस्य छन् ।
अघिल्ला निर्वाचनको मत र दलको संगठनले भन्दा पनि जनताले परिवर्तन चाहेकाले आफू निर्वाचन जित्ने रास्वपाका उम्मेदवार नन्दकिशोर बस्नेतको दाबी छ।एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रवीन्द्रराज शर्मा अघिल्लो निर्वाचनमा पराजित भएका थिए।नेपाली कांग्रेस, तत्कालीन नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनसँगको ठूलो मतान्तरमा रहँदारहँदै झिनो मतले पराजय खेपेका शर्मा यस पटकको निर्वाचनमा जित हात पर्नेमा विश्वस्त देखिन्छन्।
यस क्षेत्रमा रहेका सबै वडादेखि टोलस्तरसम्म एमालेको संगठन मजबुत रहेकाले आफ्नो जित सुनिश्चित रहेको शर्माको दाबी छ।एमालेले यहाँको विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेकाले बाँकी जनताका अपेक्षा पूरा गर्न आफूले निर्वाचन जित्नुको विकल्प नरहेको शर्मा बताउँछन्।
‘एमाले सरकारमा रहँदा दैलेख, कर्णालीमात्र नभई मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने ग्यास अन्वेषणको काम थालनी गरिएको हो, त्यसको परिमाण पुष्टि भइसकेको छ।जिल्लामा भएका अन्य विकासे कामका आधारमा जनताले एमालेलाई मत दिनुहुन्छ भन्नेमा ढुक्का छौं’, शर्माले भने।
पहिले एउटै पार्टीमा रहेका र अहिले प्रतिद्वन्द्वीको रुपमा फरकफरक पार्टीबाट चुनावी मैदानमा रहेका तीन नेताको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले फाइदा उठाउने आकलनसमेत गरिएको छ।२०७४ को स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थापा भन्छिन्, ‘जनताका ठूला अपेक्षा नरहेकाले आफू संघीय संसद्मा पुगेपछि नीति निर्माण गरी नागरिकका समस्या समाधान गर्न सक्षम छु।’ जनस्तरबाट आएका मागहरू पूरा गर्न भिजनअनुसार अघि बढ्ने थापाको तर्क छ।
प्रचण्ड नेतृत्वको माओवादी र एकीकृत समाजवादी समायोजन भई बनेको नेकपाको दैलेख–१ मा बलियो जनाधार देखिँदैन।गत निर्वाचनपछि समायोजन भएका दुई पार्टीको समानुपातिक मत ५ हजार ८ सय ११ मात्र हो।विगतको निर्वाचनमा पाएको मतभन्दा पनि अहिले परिस्थिति फेरिएकाले आफू निर्वाचन जित्नेमा ढुक्क रहेको नेकपाका उम्मेदवार अम्बरबहादुर थापाको दाबी छ।
जनताले चाहना गरेका आधारभूत विकासको अपेक्षा आफूले पूरा गर्न सक्ने दाबी उनको छ।दैलेख–१ मा निर्वाचनमा सहभागी स्वतन्त्रसहित दलका उम्मेदवारले जिल्लाको विकास र नागरिकका मागलाई प्रमुख प्राथमिकतामा राखेका छन्।
प्रतिक्रिया दिनुहोस !