फेरियो चुनावी प्रचार शैली : आमसभा भन्दा घरदैलो र डिजिटल प्रचार

फेरियो चुनावी प्रचार शैली : आमसभा भन्दा घरदैलो र डिजिटल प्रचार
सुन्नुहोस्

तानसेन :  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण पाल्पामा चुनावी सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा  पाल्पाका राजनीतिक दल र उम्मेदवारहरूले विगतको परम्परागत शैलीलाई त्याग्दै नयाँ फरक शैलीमा  प्रचारप्रसारलाई अगाडि बढाएका छन् । विगतमा पाल्पामा हुने  ठूला र खर्चिला आम सभा कुनै पनि राजनीतिक दलहरुले गरेका छैनन् । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका  उम्मेदवारहरू मतदाताको घरदैलो र सामाजिक सञ्जालमा बढी केन्द्रित देखिएका छन् । 

उम्मेदवारी मनोनयन पत्र दर्तापछि राजनीतिक दल तथा उम्मेदवारहरुले माघ ६ गतेदेखि फागुन ३ गतेसम्म नै आन्तरिक तयारी, रणनीति निर्माण चुनावी घरदैलो अभियानमा जुटेका छन् ।  माघ ६ देखि फागुन ३ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरुले वडादेखि जिल्ला तहसम्मका नेता–कार्यकर्ताहरूसँग सघन भेटघाट र सांगठनिक रणनीति निर्माणका कामहरु चलायमान बनाएका छन् ।  सोही अवधिमा टोल–टोलमा पार्टी सम्पर्क कार्यालयहरू स्थापना गरी संगठनलाई चलायमान बनाएका छन् । फागुन ४ गतेदेखि भने उम्मेदवारहरुले  प्रचारप्रसारलाई   तीव्रता दिएका छन् ।

विगतमा जिल्ला, पालिका र इलाकास्तरमा हुने ठूला आमसभा र कोणसभाहरू यस पटक निकै कम देखिएका छन् । त्यसको सट्टा उम्मेदवारहरू आफै टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । बजारदेखि गाउँसम्म माइकिङ, तुल र ब्यानरहरू प्रयोग भए पनि डिजिटल प्रचारको प्रभाव निकै बढेको छ । सामाजिक सञ्जालमा चुनावी एजेण्डाहरूको ‘बाढी’ नै आएको छ, जहाँ उम्मेदवारहरूले भिडियो सन्देशमार्फत मत मागिरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । 

युवा उम्मेदवार र सभ्य प्रतिष्पर्धा यस पटक पाल्पामा अधिकांश राजनीतिक दलले नयाँ र युवा अनुहारलाई चुनावी मैदानमा उतारेका छन्। उम्मेदवारहरूबीच व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा पनि मित्रवत रूपमा स्वस्थ प्रतिष्पर्धा भइरहेको पाइएको छ । अधिकांशले केन्द्रीय घोषणापत्र र स्थानीय प्रतिबद्धता पत्रलाई मुख्य आधार बनाएर आफ्ना एजेण्डाहरू प्रस्तुत गरिरहेको नेपाली काग्रेसका उपसभापति झपेन्द्र गैरेले बताए । 

निर्वाचनको अंक गणित र तयारी पाल्पामा दुई निर्वाचन क्षेत्रका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पाल्पामा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच बढी प्रतिष्पर्धा देखिए पनि अन्य राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी,  राष्ट्रिय जनमुक्ति पार्टी, सार्वभौम नागरिक पार्टीहरुले ठूला पार्टीबाट जनताहरु रुष्ट रहेकाले आफ्नो पक्षमा जनमत आउने दावी गर्दै आएका छन् । 

पाल्पा क्षेत्र नं. १ मा  ५२ मतदानस्थल र ११७ मतदान केन्द्र रहेका छन् । जसमा  ९८ हजार ३ सय ८३ मतदाता छन् ।  जुनमा १४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ ।  पाल्पा क्षेत्र नं. २ मा  ६६ मतदानस्थल र १३४ मतदान केन्द्र रहेका छन् जसमा एक लाख ९ हजार ५३ मतदाता छन् ।  

क्षेत्र नं. २ मा  १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  निर्वाचनका लागि जिल्लाभर १ हजार ५ सय १८ जना निर्वाचन कर्मचारी परिचालन गरिँदैछ ।  सुरक्षा व्यवस्था चुस्त बनाउन मतदानको पहिलो सुरक्षा घेरामा  ७५१ जना नेपाल प्रहरी र १ हजार ४ सय १३ जना निर्वाचन प्रहरी खटाइएको छ । अहिलेसम्म पाल्पामा शान्तिपूर्ण रुपमा निर्वाचन प्रचारको काम भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.