साताभर ओरालो यात्रामा नेप्से, किन बढ्न सकेन सेयर बजार ?
काठमाडौं : फागुनको पहिलो साता सेयर बजार ओरालो यात्रा लागिरह्यो। यो साता ३ दिन बिदा परेको हुँदा सोमबार र मंगलबार २ दिन मात्रै सेयर कारोबार भएको थियो।
अघिल्लो साताको बुधबार नेपाल धितोपत्र बोर्ड (सेवोन)ले ‘मार्जिन कारोबार सुविधा निर्देशिका २०८२’जारी गरेपछि भने बिहीबार नेप्से बढेको भए पनि त्यसपछिका कारोबारका दिनहरूमा भने दैनिक घट्ने क्रम रोकिएन।
अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २६७१.०७ अंकमा बन्द भएको नेप्से यस साता २६४२.१५ बिन्दुमा बन्द भएको छ। यस साता सोमबार ८.१६ र मंगलबार २०.७५ गरी नेप्से २८.९१ बिन्दुले घट्न पुग्यो। सातामा नेप्से न्यून बिन्दु मंगलबार २६३६.४० र उच्च बिन्दु सोमबार २६८२.२० अंकमा पुगेर सेयर कारोबार भएको थियो।
यस साता सोमबार ७ अर्ब ९४ करोड २७ लाख र मंगलबार ८ अर्ब ३६ करोड ४४ लाख कारोबार हुँदा औसतमा दैनिक ८ अर्ब १५ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो साता दैनिक औसतमा १० अर्ब४ करोड ५५ लाख रुपैयाँको खरिदबिक्री भएको थियो।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ४४ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ। गत साताको बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रहेकोमा यस साता ४४ अर्ब ३४ करोड रुपैयाँले घटेको हो।
यस साता साल्पा विकास बैंकको दुवै दिन सेयर मूल्य १० प्रतिशतका दरले बढ्दा प्रतिकित्ता ३ सय ६३ रुपैयाँ पुगेको छ। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको कारोबार ३ सयबाट सुरु भएकामा पहिलो दिन १० प्रतिशत र दोस्रो दिन ९.६४ प्रतिशतले बढ्दा ३ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ।
यस साताको सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावरको र मंगलबार रिडी पावर र आँखुखोलाको सेयर सर्किट लेभलमा कारोबार भयो भने सुपर माई हाइड्रोपावरको नेगेटिभ सर्किट लागेको थियो। निर्वाचन मिति नजिकिँदै गर्दा कतिपय लगानीकर्ता सेयर बिक्रीमा लागेका छन्। सबैको ध्यान अब निर्वाचनतिर मोडिएको छ। अर्कोतिर कम्पनीहरूले भटाभट आईपीओ निष्कासन गरिरहेका हुनाले सेयर बजार सुस्ताएको विश्लेषकहरूको भनाइ छ।
पार्टीका घोषणापत्रमा सेयर बजार
फागुन २१ गते आसन्न निर्वाचनका लागि कांग्रेस, एमाले र रास्वपाले घोषणा पत्रमा सेयर बजारलाई पनि समेटेका छन्। उनीहरूले बजारलाई पुँजी परिचालनको माध्यम बनाउने र लगानीकर्तालाई नयाँ उपकरण दिने उल्लेख गरेका छन्। एमालेले सेयर बजारको नियमन बलियो बनाउने तथा लगानीका नयाँ उपकरण विस्तार गर्नेमा जोड दिएको छ। रास्वपाले सेयर बजारमा संस्थागत लगानीकर्ता र नयाँ उपकरण भित्र्याउने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न सहज बनाउने घोषणा पत्रमा बाचा गरेको छ। कांग्रेसले इन्साइडर ट्रेडिङमा निगरानी प्रणाली, लगानीकर्ताको हित संरक्षणमा कोषलाई प्रभावकारी बनाउने तथा साना तथा मझौला कम्पनी (एसएमई) प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणापत्रमा उल्लेख गरेको छ। त्यसैगरी, कांग्रेस र रास्वपाले नेप्से पुनर्संचरनामा जोड दिएका छन् भने एमाले यस विषयमा बोलेको छैन।
नासा सेक्युरिटिजको मार्जिन ट्रेडिङ सुविधा
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२ लागू गरेसँगै नासा सेक्युरिटिजले मार्जिन ट्रेडिङ कारोबार सुरु गरेकोे छ। लगानीकर्ताले नासाबाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने भएका हुन्।
नासाले मार्जिन कारोबार सुविधाअन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको छ। यदि कुनै ग्राहकले १० लाख रुपैयाँबराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछ। बाँकी ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिने छ। कम्पनीले १० लाखदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू रहेको जनाएको छ।
सुपर खुदीको आईपीओमा आवेदन फागुन ११ सम्म
सुपर खुदी हाइड्रोपावरले फागुन ५ देखि निष्कासन गरेको आईपीओको आवेदन फागुन ११ सम्म दिन सकिने छ। कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट भइसकेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन २० गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो।
सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर ५७ हजार २ सय ४३ जनाले १० कित्ताका दरले पाएका छन् । एक जना आवेदकले भने १ कित्ता सेयर बढी पाए।
कम्पनीले गत माघ १८ देखि २१ सम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० बराबरको ५ लाख ७२ हजार ४ सय ३१ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त निष्कासनमा कुल २४ लाख ५२ हजार ६ सय२ जनाले २ करोड ६१ लाख ३२ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको हो।
सेवोनमा ८७ कम्पनीको आईपीओको आवेदन
नेपाल धितो पत्र बोर्ड (सेवोन) मा ८७ कम्पनीले आईपीओ निष्कासन गर्न अनुमतिका लागि निवेदन दिएका छन् । उनीहरूले ५९ अर्ब ६३ करोड १९ लाख १७ हजार रुपैयाँबराबरको ४१ करोड ६३ लाख १० हजार १ सय ३२ कित्ताको सेयर निष्कासनका लागि अनुमतिका लागि निवेदन दिएका हुन् ।
अनुमतिका लागि निवेदन दिनेमा जलविद्युत् क्षेत्रका ३२, होटेल तथा पर्यटन १२, अन्य ११, माइक्रो इन्स्योरेन्स ३ र इन्भेस्टमेन्ट क्षेत्रका ४ गरी ८७ कम्पनीले अनुमतिका लागि आवेदन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !