पञ्चांगमा एकै वर्ष थपिए २५ चाडपर्व

पञ्चांगमा एकै वर्ष थपिए २५ चाडपर्व
सुन्नुहोस्

काठमाडौं : नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८३ सालको पात्रोमा २५ वटा नयाँ चाडपर्व समावेश गरेको छ। मापदण्ड पूरा गरेका चाडपर्व पञ्चांग (पात्रो)मा समावेश गर्ने क्रममा एकैपटक दुई दर्जनभन्दा बढी चाडपर्व राखिएका हुन्।

‘समितिद्वारा निर्णय गरिएका र २०८३ सालमा समावेश गरिएका नयाँ चाडपर्व, दिवस र जात्राहरू पञ्चांगमा थपेका हौं’, समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले अन्नपूर्णसँग भने, ‘राष्ट्रिय सूचना दिवसदेखि, ललितकला दिवस हुँदै हस्तकला दिवससम्म नयाँ छन्। जेठ, असार र साउनबाहेक वैशाखदेखि चैतसम्म चाडपर्व र दिवस थपिएका छन्।’ सबैभन्दा बढी कात्तिक र पुस महिनामा चार/चारवटा नयाँ थपिएका छन्।

वैशाख १ गते तागा संक्रान्ति र खात बिहु (सुरु) छन् भने वैशाख २ गते ललितकला दिवस राखिएको छ। वैशाख ६ गते खात बिहु समाप्ति, भाद्र ३ गते राष्ट्रिय सूचना दिवस, भाद्र २० गते बाबा गणीनाथ पूजनोत्सव (श्रीकृष्ण जन्माष्टमीदेखि पछि पर्ने शनिबारको दिन) असोज ९ गते अनन्त चर्तुदशीका दिन कपल्लेकी जात्रा (डोटी), कात्तिक संक्रान्तिमा काति बिहु थपिएका हुन्। कात्तिक २ गते जनबहाः कुछि भ्वय्, कात्तिक ६ गते तागा सेलाउने र कात्तिक २३ गते धुकु लक्ष्मी द्योः पूजा समावेश गरिएका छन्।

मंसिर ७ गते वैकुण्ठ चर्तुदशी र गण्डकी परिक्रमा महोत्सव, मार्गशुक्ल पूर्णिमामा नानी भैली कर्णाली र मंसिर २८ गते हस्तकला दिवस थपिएका छन्। पौष कृष्ण पञ्चमीमा महांकालेश्वरी जात्रा थाक्रे (धादिङ), पुस मसान्तमा उरूका, पुस शुक्ल प्रतिपदामा कर्णालीमा ठूली भैली सुरु (पाँच दिनसम्म), पौष शुक्ल द्वितीयामा चेल्यातिहार कर्णाली र पौष शुक्ल पञ्चमीमा कर्णालीमा ठूली भैली समाप्ती गर्ने पर्व थपिएका छन्। माघे संक्रान्तिमा भोगाली बिहु, माघशुक्ल द्वादशीमा चैतलो, फागुन ४ गते सल्य दशमीको दिन विश्वनाथ मन्दिरमा मेला (पूजा हटाउने) थपिएका छन्। 

यस्तै, फागुन पूर्णिमामा तोन्पा जयन्ती, चैत्र १२ मा बारुवा (मार्सी धानको बिउ राख्ने), चैत्र २० गते विक्षेति (बिसुआँ) र चैत्रशुक्ल त्रयोदशीमा चैतेली पर्व राखिएका छन्। समितिका सदस्य एवं वाल्मिकि क्याम्पसका धर्मसंस्कृति विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईले चाडपर्व, दिवस वा जात्रा पात्रोमा समावेश गर्न ६ वटा मापदण्ड पूरा गर्नुपर्ने जानकारी दिए। ‘आधिकारिक संघ, संस्थाबाट समितिले पास गरेको पत्र जुन स्थानीय सरकारबाट स्वीकृत हुन्छ, पर्वको ऐतिहासिकता र समाजले पाउने गरेको पर्वबाट हुने उपलब्धिहरू हुन्’, उनले भने, ‘यस्तै, क्षेत्रगत (प्रदेशगत) मान्यता, राष्ट्रिय स्तरमा परिचित तर पछि परेको विषयलाई उजागर गर्ने उद्देश्य र संस्कृति मात्र नभएर शास्त्रीयता अन्वेषित।’ समितिसँग १९ जना पञ्चांगकारको विज्ञ सूची छ। यस्ता कुनै विशेष निर्णय गर्नुपरे आवश्यकताअनुसार बैठकमा सहभागी गराउने प्रचलन छ।

वैशाख १, ६, कात्तिक संक्रान्ति, पुस मसान्त र माघ संक्रान्तिका दिन मनाइने चाडपर्व भारतको आसाममा बस्ने नेपालीले मनाउने गर्छन्। कात्तिक २ र २३ गते मनाइने चाडपर्व नेवारी समुदायहरूसँग सम्बन्धित छन्। पञ्चांगमा थप गरिएका बाँकी चाडपर्व, दिवस र जात्रा कर्णाली प्रदेशमा मनाइने विभिन्न चाडपर्वहरू हुन्। बिहु असमको जातीय उत्सव हो। वर्षभरमा तीनवटा बिहु मनाउने गरिन्छ। यसमा कुनै तिथिको कुरा छैन तर संक्रान्तिको अवसरमा आयोजना गरिन्छ। सर्वप्रथम नववर्षमा मनाइन्छ रंगाली बिहु वा सात बिहु (खात बिहु) सात दिन मनाइन्छ। यस बिहुलाई नेपालको तिहार चाडसँग तुलना गर्न सकिन्छ। अर्को बिहु कात्तिक संक्रान्तिको दिन मनाइन्छ जसलाई काति बिहु वा कंगाली बिहु भनिन्छ। अन्तमा, माघ संक्रान्तिको दिन भोगाली बिहु वा माघ बिहु मनाइन्छ। माघ बिहुको अघिल्लो दिनलाई वा पौष मसान्तलाई उरुका भन्छन्। उरुकाको रात्री खुब भोज भात खाने चलन छ। विभिन्न भोग्य पदार्थ भोग गरिने हुनाले यसलाई भोगाली बिहु भनेको हो।

अनुमतिबिना क्यालेन्डर छापे कारबाही
नेपाल पञ्चांग निर्णायक विकास समितिले गठन आदेश, २०७७ को दफा ७ (ञ), (ठ) र (ढ) तथा आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ बमोजिम पञ्चांग (पात्रो) तथा भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन नगरे एक लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ। सरोकारवाला सबैले समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

गठन आदेशअनुसार निर्माण भएको आन्तरिक व्यवस्थापन दिग्दर्शनको परिच्छेद १५ को दफा ५३.१ पञ्चांग तथा भित्तेपात्रो प्रकाशन गर्ने व्यक्ति, संघ, संस्था, समुदायले पात्रो, भित्तेपात्रो, गोजी पात्रो, क्यालेन्डर, टेबल क्यालेन्डर प्रकाशन गर्न अनिवार्य रूपले समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्ने समितिले जनाएको छ। यस्तै, सोही परिच्छेद १५ दफा ५६.१ बमोजिम प्रकाशित पञ्चांग तथा भित्तेपात्रोको निरीक्षण गर्न मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयको प्रतिनिधि, गृह मन्त्रायलको प्रतिनिधि, समितिले तोकेको पञ्चांगकारको प्रतिनिधि, समितिको प्रतिनिधि रहने व्यवस्था छ।

‘दफा ५६.३ अनुगमन समितिको सिफारिसमा समितिद्वारा स्वीकृति, नलिई भित्तेपात्रो वा पञ्चांग प्रकाशन गरेमा समितिले उक्त प्रकाशित सामाग्री जफत गर्न, प्रकाशनमा रोक लगाउन र स्वीकृति लिई प्रकाशित भएका पञ्चांग, भित्तेपात्रोलाई हानि पुर्‍याएबापत कसुर हेरी १० हजारदेखि एक लाख रुपैयाँसम्म बिगोबापत दण्ड जरिवाना हुनेछ’, समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले भने, ‘२०७९ सालदेखि पञ्चांग (पात्रो)का अतिरिक्त भित्तेपात्रो (क्यालेन्डरहरू)मा समेत स्वीकृति अनिवार्य गरिएको छ।’ उनका अनुसार, समितिबाट स्वीकृति प्राप्त नगरी प्रकाशित गरिएका क्यालेन्डर तथा पञ्चांगहरूमा चाडपर्व, तिथि, मिति, मुहूर्त, सरकारी बिदालगायत विषयमा त्रुटि तथा असंगति देखिन सक्ने हुँदा सर्वसाधारणमा भ्रम तथा असहजता उत्पन्न हुने गरेको पाइएकाले यसो गर्नु परेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.