ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा झापामा बुबा छोरीको मृत्यु, एक महिला गम्भीर
झापा : झापाको कनकाईमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बुबा-छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
आज दिउँसो करिब १२ बजे कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा पछाडि सवार उनकी आमा ४५ वर्षीया नुरेश सादेवी घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएकोमा चिकित्सकले चालक अली र छोरी हाजिरालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्ड सी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !