पाल्पाको मतदान केन्द्रमा पठाउने सामग्रीहरुको ‘प्याकेजिङ’ सकियो
तानसेन : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सरगर्मी बढेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा निर्वाचन कार्यालय पाल्पाले मतदानका लागि मतदानस्थलमा आवश्यक पर्ने सरसमानको विवरण बनाई रुजु गर्दै ‘प्याकिङ’ गरी तयारी अवस्थामा राखेको छ ।
निर्वाचन मिति नजिकिँदै गर्दा पाल्पामा चुनावी तयारीले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयले पाल्पाका दुवै निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरूको प्याकेजिङ कार्य सकेको हो । निर्वाचनका लागि अनिवार्य मानिने मत पेटिका, स्वस्तिक छाप र स्ट्याम्प प्याडदेखि मसलन्दका सरसमान, मतदान अधिकृतको डायरी, मुचुल्का फारम, मतदाता नामावली र नयाँ मतदाता परिचयपत्र, तयार गरेको छ ।
यसैगरी लाहा छाप, सलाई, मैनबत्ती, सुतली धागो, स्टेशनरी सामग्री र मतदान केन्द्र व्यवस्थापनका लागि डोरी, अशक्त बृद्धबृद्धाका लागि प्रयोग हुने सांकेतिक कार्ड र प्राथमिक उपचार बाकसको समेत व्यबस्था गरिएको छ । मतदानस्थलमा चाहिने ६० भन्दा बढी प्रकारका सामग्रीहरुको प्याकिङ गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका लेखापाल विनोद घिमिरेले बताए ।
निर्वाचन मिति नजिकिँदै जाँदा देशभरका निर्वाचन कार्यालयमा अन्तिम तयारीको लागि कर्मचारीहरु खटिएका छन । विहान ७ बजेदेखि राति अबेरसम्म कर्मचारीको व्यस्तता बढेको छ । मतदान प्रक्रियालाई व्यवस्थित बनाउन सानादेखि ठूला सबै सामग्रीको सूची तयार पारिएको छ । पाल्पाका दुई वटा निर्वाचन क्षेत्रका २५१ वटा स्थायी र २ वटा अस्थायी गरी २५३ वटै मतदान केन्द्रका लागि आवश्यक सामग्रीहरू रुजु गरी पोका बनाउने काम सम्पन्न भएको निर्वाचन कार्यालय पाल्पाका निवाचन अधिकारी महेश शर्माले बताए ।
पाल्पामा प्रत्येक निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ६ जनाका दरले कमचारी खटाउने गरी अन्तिम तयारी लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । प्रत्येक मतदान केन्द्रका लागि चाहिने सानादेखि ठूला सामानहरू प्याकिङसँगै केहि दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिममा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ । पाल्पा जिल्लाको क्षेत्र नं. १ मा ५२ वटा मतदानस्थलको ११७ वटा मतदान केन्द्रमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन ।
यसै गरी क्षेत्र नं. २ मा ६६ वटा मतदानस्थलको १३४ वटा मतदान केन्द्रमा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । पाल्पामा निर्वाचनका लागि विभिन्न किसिमका तयारी पूरा भएसँगै अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ सोझिएको छ । पाल्पा दुई सिटको लागि क्षेत्र नं. १ मा १४ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस !