साताको सुरुदेखि ओरालो यात्राको नेप्से मार्जिन सुविधासँगै उकालोतिर

साताको सुरुदेखि ओरालो यात्राको नेप्से मार्जिन सुविधासँगै उकालोतिर

काठमाडौं : माघको अन्तिम साताको पहिलो दिन आइतबारदेखि नै सेयर बजार ओरालो यात्रामा लागेको थियो। यो क्रम बुधबारसम्म रह्यो। नेपाल धितोपत्र बोर्डले बुधबार ‘मार्जिन कारोबार सुविधा निर्देशिका २०८२’ जारी गरेपछि भने बिहीबार नेप्सेले उकालो यात्रा तय गरेको देखियो। 

अधिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २७०८.७० अंकमा बन्द भएको नेप्से यस साता २६७१.०७ बिन्दुमा बन्द भएको छ। यस साता ५ दिन कारोबार भएकोमा आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंकले घट्यो भने साताको कारोबारको अन्तिम दिन बिहीबार ८.९७ अंकले बढ्यो। यस साता नेप्से ३७.६१ बिन्दुले घट्न पुग्यो। सातामा नेप्से न्यून बिन्दु बिहीबार २६५५.३० र उच्च विन्दु आइतबार २७२८.४३ अंकमा पुगेर सेयर कारोबार भएको थियो।  

यस साता कारोबार रकम भने बढेको छ। साता भरमा ५० अर्ब २२ करोड ७८ लाखको कारोबार भएकोमा आइतबार सबैभन्दा बढी ११ अर्ब ५९ करोड २० लाख भएको छ भने सबैभन्दा कम बुधबार ८ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ भएको छ। यस साता दैनिक औसतमा १० अर्ब ४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो साता दैनिक औसतमा ८ अर्ब ८८ करोड १८ लाख रुपैयाँको खरिदबिक्री भएको थियो। 

यस साता नेप्सेको कुल बजार पूँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ। गत साताको बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड पुगेकोमा यस साता ६३ अर्ब १८ करोड रुपैयाँले घटेको हो।

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन फागुन ५ देखि 

सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन फागुन ५ देखि खुल्ने भएको छ। यसअघि हाइड्रोपावरले फागुन ४ देखि आवेदन खुलाउने सूचना जारी गरेको थियो। 

कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीहरूका लागि ३१ हजार कित्ता छुट्याइएको छ। यसअघि कम्पनीले १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर पनि सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ। सुपर खुदीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको होे।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यसको निष्कासन बन्द हुने मिति छिटोमा फागुन ११ र ढिलोमा फागुन २० गते हुनेछ।

रिज लाइन इनर्जीको आईपीओ आवेदन फागुन ४ सम्म 
रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि माघ २८ देखि आईपीओ निष्कासन गरेकोमा फागुन ४ गते बन्द हुने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ। 

कम्पनीले २८ हजार ४४० कित्ता सेयर कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो। 

कम्पनीले यसअघि ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। 

रिज लाइन इनर्जीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको होे। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

मार्जिन कारोबार सुविधा निर्देशिका २०८२’ जारी 

नेपाल धितोपत्र बोर्डले गत बुधबार ‘मार्जिन कारोबार सुविधा निर्देशिका २०८२’ जारी गरेको छ। यसबाट लगानीकर्ताले अब सस्तो दरमा मार्जिन सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
यस निर्देशिकामा दुई पक्षहरू सकारात्मक रहेको ब्रोकर व्यवसायीहरू  बताउँछन्। यसमा कम्पनी छनोट प्रक्रिया धेरै लचक भएर आएको छ। विगतको कम्पनी छनोट प्रकृया नै मुस्किल थियो। यस निर्देशिकाले तीन वर्षमा न्यूनतम २ वर्ष नाफा आर्जन गरेको भए पुग्ने व्यवस्था गरेको छ। अर्कोे पक्ष, यसमा ब्रोकर, बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीका सञ्चालक र सेयरधनीहरूबाट पनि ऋण लिएर मार्जिन कारोबारको लागि स्रोत व्यवस्थापन गर्न सक्ने व्यवस्था गरिएको छ। 

यस निर्देशिकाले नेटवर्थको ५ गुणासम्म ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। त्यसैगरी, लगानीकर्ताले कारोबार गर्ने आकारको १० प्रतिशतको दरले लेन्डिङ गर्न सक्ने अवस्था बनेको छ। अब १० करोड रुपैयाँसम्म एक लगानीकर्तालाई लगानी गर्न पाउने व्यवस्था भएको छ। 
ब्याजदरको विषयमा प्रतिस्पर्धाको आधारमा ब्याजदर निर्धारण हुने व्यवस्था भएकोले लगानीकर्ताले सस्तो दरमा मार्जिन सुविधा प्राप्त गर्न सक्ने अवस्था भएको छ।  

एसएमईको विनियमावली स्वीकृतिका लागि बोर्डमा 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना तथा मझौला संगठित संस्था (एसएमई) विनियमावली स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले १० महिनाअघि ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ सार्वजनिक गरेकाले यसको कार्यान्वयन प्रक्रियाका लागि विनियमावली पठाइएको हो। 

हालै नेप्सेको सञ्चालक समितिले ‘साना तथा मझौला संगठित संस्थाको सूचीकरण तथा कारोबार विनियमावली, २०८२’ लाई पारित गरेर अन्तिम स्वीकृतिका लागि बोर्डमा पठाएको छ। यसबाट साना कम्पनीहरूले पनि सेयर बजारमार्फत पुँजी संकलन गर्न पाउने बाटो खुल्ने छ। नियमावली स्वीकृतपछि साना तथा मझौला कम्पनीहरूले सेयर निष्कासन र कारोबारका लागि छुट्टै प्लेटफर्म पाउनेछन्। कुनै पनि पब्लिक कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड र बढीमा २५ करोड रुपैयाँसम्म हुनुपर्नेछ। त्यसैगरी, सेयर निष्कासन गर्दा कम्पनीले कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने छ। 

एसएमई प्लेटफर्ममा साधारण सेयर बजारमा जस्तो १० कित्ता आवेदन दिन पाइने छैन, कम्तीमा ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। सेयर बाँडफाँटको आधार पनि ५०० कित्ता नै हुनेछ। दोस्रो बजारमा कारोबारमा पनि न्यूनतम सीमा ५०० कित्ता नै तोकिएको छ। सर्किट ब्रेकको व्यवस्था भने हालको जस्तै १० प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.