ईश्वरीय करुणादेखि मानवीय संवेदनासम्म
मानवीय संवेदना र ईश्वरीय करुणाको संगम १२ ज्योतिर्लिंग भनेका मानव र ईश्वरबीचको प्रत्यक्ष संवादका जीवन्त साक्षी हुन्। जगद्गुरुले नेपालमै १२ ज्योतिर्लिंग फेला पारे, जुन मानव अस्तित्वका १२ वटा ऊर्जा केन्द्र हुन्।
१२ ज्योतिर्लिंग : १२ ज्योतिर्लिंगहरूको उत्पत्तिका पछाडि कुनै न कुनै मानवीय संकट वा भक्तको आर्तनाद लुकेको छ। चन्द्रमाको मानसिक पीडा (सोमनाथ), महर्षि गौतममाथि लागेको मिथ्या कलंक (त्रयम्बकेश्वर), सुप्रियमाथिको असुर अत्याचार (नागेश्वर) वा घृष्माको पुत्रशोक (घृष्णेश्वर), यी सबै घटनाले के पुष्टि गर्छन् भने भगवान् शिव ‘आशुतोष’ हुनुहुन्छ। उहाँ आफ्ना भक्तको पीडा सहन सक्नुहुन्न र तुरुन्तै प्रकट भएर न्याय र अभय प्रदान गर्नुहुन्छ। यसर्थ, मानवीय संवेदना र ईश्वरीय करुणाको संगम १२ ज्योतिर्लिंग भनेका मानव र ईश्वरबीचको प्रत्यक्ष संवादका जीवन्त साक्षी हुन्।
१.सोमनाथ ज्योतिर्लिंग: सोमनाथ ज्योतिर्लिंगको कथा चन्द्रमाको अहंकार र क्षयरोगको मुक्तिसँग जोडिएको छ। दक्ष प्रजापतिका २७ कन्यासँग विवाह गरेका चन्द्रमाले रोहिणीलाई मात्र बढी प्रेम गर्दा अन्य पत्नी दुःखी भए। दक्षले सम्झाउँदा पनि नमानेपछि चन्द्रमालाई ‘क्षयरोग’ लाग्ने श्राप दिए। विस्तारै चन्द्रमाको कान्ति हराउँदै गयो र सृष्टिमा अन्धकार छायो। तब ब्रह्माजीको सल्लाहअनुसार चन्द्रमाले प्रभास क्षेत्रमा मृत्युञ्जय मन्त्रको कठोर अनुष्ठान गरे। अन्ततः भगवान् शिव प्रकट भएर चन्द्रमालाई श्रापमुक्त गर्नुभयो र भक्तको अनुरोधमा त्यहीँ ‘सोमनाथ’का रूपमा विराजमान हुनुभयो।
सोमनाथको अर्थ हो, ‘चन्द्रमाका स्वामी’। यसको आध्यात्मिक पक्षले भन्छ, मानिसको मन जब अहंकार वा पक्षपातमा फस्छ, तब उसको पतन निश्चित छ। तर, जब त्यही मन पूर्ण श्रद्धाका साथ शिव (परमात्मा)मा समर्पित हुन्छ, तब हराएको कान्ति र ऊर्जा पुनः प्राप्त हुन्छ। यो ज्योतिर्लिंग पुनरागमनको प्रतीक हो। सोमनाथको भक्तिले मानिसको मानसिक विकार र शारीरिक व्याधिहरू अन्त्य हुन्छन्। यो श्रद्धा र अटल विश्वासको विजयको प्रतीक हो।
२.मल्लिकार्जुन ज्योतिर्लिंग: कैलाश पर्वतमा गणेश र कार्तिकेयबीच कसको विवाह पहिला हुने भन्ने प्रतिस्पर्धा भयो। पृथ्वीको परिक्रमा गर्ने सर्तमा गणेशले मातापिता (शिव–पार्वती)लाई नै सात पटक घुमेर विजय प्राप्त गर्नुभयो। यसबाट रिसाएर कार्तिकेय क्रौञ्च पर्वतमा गएर बस्नुभयो। पुत्रलाई मनाउन र भेट्न माता पार्वती र पिता शिव त्यहाँ पुग्नुभयो। तर कार्तिकेय त्यहाँबाट पनि टाढा जान खोजेपछि पुत्रको प्रेममा बाँधिएका शिव र शक्ति त्यही श्रीशैल पर्वतमा ज्योतिर्लिंगका रूपमा स्थापित हुनुभयो। पार्वतीको नाम ‘मल्लिका’ र शिवको नाम ‘अर्जुन’बाट यो लिंगको नाम ‘मल्लिकार्जुन’ रहन गयो।
मल्लिकार्जुन ज्योतिर्लिंगले ‘प्रेम’ र ‘विरह’को अद्भुत समन्वय प्रस्तुत गर्छ। यसमा पारिवारिक मूल्यमान्यताको ठूलो पाठ लुकेको छ। मातापिता र सन्तानबीचको सम्बन्ध जतिसुकै टाढा भए पनि आत्मिक रूपमा सधैं जोडिएको हुन्छ भन्ने सिकाएको छ। दार्शनिक रूपमा ‘मल्लिका’ (शक्ति) र ‘अर्जुन’ (ब्रह्म)को मिलन नै सृष्टिको मूल आधार हो। मल्लिकार्जुनको दर्शनले पुत्र–वियोगको दुःख अन्त्य हुन्छ र परिवारमा सुख–शान्तिको वर्षा हुन्छ। यो वात्सल्य र अद्वैत तत्वकोे मिलनबिन्दु हो।
३.महाकाल ज्योतिर्लिंग: अवन्तिका नगरीमा वेदप्रिय नामक एक धर्मात्मा ब्राह्मण बस्थे। उनका चार छोरा पनि शिवभक्त थिए। त्यतिबेला दूषणनामक शक्तिशाली दैत्यले धर्मको नास गर्दै ब्राह्मणहरूलाई सताउन थाल्यो। जब दैत्यले तिनलाई आक्रमण गर्यो, तब ती चार दाजुभाइले शिवको पार्थिव पूजन गर्दै रक्षाको पुकार गरे। त्यही समयमा जमिन फाटेर शिव महाकालको रौद्र रूप प्रकट भयो र एकै हुँकारले दूषण र उसको सेनाको संहार गर्नुभयो।
‘महाकाल’ शब्दले समय र मृत्यु बुझाउँछ। शिव समयभन्दा माथि र मृत्युका पनि नियन्ता (नियमक) हुनुहुन्छ। यो संसारमा सबै कुरा कालको अधीनमा छ, तर शिवकालका पनि काल हुनुहुन्छ। दक्षिण दिशालाई मृत्युको दिशा मानिन्छ र यो ज्योतिर्लिंग दक्षिणमुखी हुनुको अर्थ हो-भक्तलाई मृत्युको भयबाट पूर्ण रूपमा मुक्त गर्नु। महाकालको शरणमा जाने भक्तलाई अकाल मृत्युको डर हुँदैन। यो ज्योतिर्लिंग शक्ति, न्याय र निर्भयताको प्रतीक हो।
४.ओंकारेश्वर ज्योतिर्लिंग: क पटक नारदजी विन्ध्याचल पर्वतमा पुग्नुभयो। विन्ध्याचलले ठूलो फूर्ति लगाए। त्यसपछि नारदजीले मेरु पर्वतको तुलनामा विन्ध्याचल केही पनि होइन भनी अहंकार तोडिदिनुभयो। लज्जित र दुःखी विन्ध्याचलले शिवको प्रसन्नताका लागि पार्थिव लिंग बनाएर कठोर तपस्या गरे। शिव प्रकट भएर वरदान दिनुभयो। त्यही समयमा देवता र ऋषिहरूले पनि लोककल्याणका लागि त्यहीँ बस्न प्रार्थना गरे। शिवले ओंकारको स्वरूप धारण गरी दुई भागमा विभाजित हुनुभयो-एक ओंकारेश्वर र अर्को ममलेश्वर।
ओंकारेश्वर ज्योतिर्लिंग साक्षात् ‘ॐ’ को साकार रूप हो। ॐ नै सृष्टिको आदि ध्वनि हो। विन्ध्याचलको कथाले सिकाउँछ कि आध्यात्मिक यात्रामा ‘अहंकार’ सबैभन्दा ठूलो बाधक हो। तर, यदि अहंकारलाई त्याग गरी शिवको शरण लिइयो भने कठिन कार्य पनि सम्भव हुन्छ। यो लिंगले शान्ति र स्थिरताको बोध गराउँछ। यो ज्ञानको त्यो ज्योति हो, जसले अज्ञानको पहाडलाई पगालिदिन्छ। ओंकारेश्वरको पूजनले मनुष्यले सांसारिक वैभव र आध्यात्मिक मोक्ष प्राप्त गर्छ। यो एकात्मकता र शान्तिको प्रतीक हो।
५.केदारेश्वर ज्योतिर्लिंग: हिमालयको पावन काखमा मन्दाकिनी नदीको तटमा केदारेश्वर ज्योतिर्लिंग अवस्थित छ। जसको उत्पत्ति नर र नारायण (विष्णुका अवतार)को तपस्यासँग जोडिएको छ। बदरिकाश्रममा तपस्या गरिरहेका नर–नारायणले पार्थिव लिंग बनाएर शिवको आराधना गर्थे। उनीहरूको भक्तिबाट प्रसन्न भई शिव प्रकट हुँदा उनीहरूले लोककल्याणका लागि शिवलाई सधैं त्यहीँ बस्न प्रार्थना गरे। अर्को पौराणिक सन्दर्भअनुसार, महाभारतको युद्धपछि पाण्डवहरू गोत्रहत्याको पापबाट मुक्त हुन शिवको खोजीमा यहाँ पुगेका थिए। शिवले राँगोको रूप धारण गरी लुक्न खोज्दा भीमले उनलाई समात्न खोजे र शिवको पृष्ठ भाग (कुप्रा) ज्योतिर्लिंगका रूपमा स्थापित भयो।
केदारनाथ त्याग, तपस्या र सहनशीलताको प्रतीक हो। समुद्री सतहबाट अत्यन्त उचाइमा हुनुले यो संकेत गर्छ कि ईश्वर प्राप्तिको मार्ग कठिन छ। तर जो अडिग रहन्छ, उसले शिवको साक्षात् दर्शन पाउँछ। नर–नारायणको कथाले भगवान् र भक्तबीचको अभेद सम्बन्ध देखाउँछ। पाण्डवको प्रसंगमा जस्तोसुकै भीषण पाप गरे पनि यदि पश्चात्ताप र समर्पण छ भने महादेवले मुक्ति दिनुहुन्छ सन्देश छ। केदारेश्वरको दर्शन र पूजनले मानिसका सबै पाप पखालिन्छन्। यो ज्योतिर्लिंगले मनुष्यलाई सांसारिक मोहबाट माथि उठेर हिमालय जस्तै अटल भक्तिमा लीन हुन प्रेरणा दिन्छ।

६.भीमेश्वर ज्योतिर्लिंग: भीम (राक्षस)को संहारसँग ज्योतिर्लिंगको कथा जोडिएको छ। भीम रावणको भाइ कुम्भकर्णको छोरा थियो। उसले ब्रह्माबाट वरदान पाएर देवता र मनुष्यलाई त्रस्त बनाएको थियो। उसले शिवभक्त राजा सुदक्षिणलाई झ्यालखानामा हालेर शिवको पूजा गर्न रोक्न खोज्यो। जब राजाले कारागारमै पार्थिव लिंग बनाएर ध्यान गर्न थाले, भीमले आफ्नो तरबारले लिंगमा प्रहार गर्यो। त्यही समयमा लिंगबाट साक्षात् महादेव प्रकट हुनुभयो र भीमको संहार गर्नुभयो। भक्तको रक्षाका लागि शिव त्यहीँ भीमेश्वरका रूपमा बस्नुभयो।
भीमेश्वर ज्योतिर्लिंग ‘संरक्षण’को ऊर्जा हो। यसले सिकाउँछ, जब अधर्मले सीमा नाघ्छ र भक्तमाथि संकट आउँछ, तब परमात्माले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्नुहुन्छ। राजा सुदक्षिणको अटल भक्तिले यो प्रमाणित गर्छ कि शरीर बन्धनमा भए पनि मन स्वतन्त्र रहन सक्छ र शिवमा एकाकार हुन सक्छ। यो ज्योतिर्लिंगले साहस र सुरक्षाको बोध गराउँछ। ‘भीम’ को अर्थ विशाल र शक्तिशाली हुन्छ, जसले भक्तका ठूला–ठूला बाधालाई एकै पलमा ध्वस्त पार्ने क्षमता राख्छ। भीमेश्वरको उपासनाले मानिसले शत्रुमाथि विजय प्राप्त गर्छ र उसको जीवनमा रहेका सबै डर समाप्त हुन्छन्। यो अन्याय विरुद्धको दैवी न्यायको प्रतीक हो।
७.विश्वेश्वर ज्योतिर्लिंग : काशी (वाराणसी) संसारको सबैभन्दा पुरानो जीवन्त सहर मानिन्छ। शिवपुराणका अनुसार, सृष्टिको आदिमा विष्णु र ब्रह्माको उत्पत्तिपछि शिवले आफ्नो आनन्दका लागि यो नगरी निर्माण गर्नुभयो। यो नगरी शिवको त्रिशूलमा अडिएको छ, त्यसैले प्रलयकालमा पनि यसको विनाश हुँदैन। यहाँ शिव ‘विश्वनाथ’ वा ‘विश्वेश्वर’का रूपमा विराजमान हुनुहुन्छ। ब्रह्मा र विष्णुले पनि यहाँ शिवको आराधना गरे।
काशी केवल भूगोल होइन, ‘महाश्मशान’ हो, जहाँ जीवको अहंकार मर्छ र ब्रह्मज्ञानको जन्म हुन्छ। विश्वेश्वर ज्योतिर्लिंगले ब्रह्माण्डको केन्द्रलाई जनाउँछ। यहाँ शिवले मुमुक्षुहरूलाई ‘तारक मन्त्र’ दिनुहुन्छ, जसले सिधै मोक्षतर्फ लैजान्छ। दार्शनिक रूपमा, काशी ज्ञानको प्रकाश (काशते इति काशी) हो। जसले सिकाउँछ, जीवनको अन्तिम सत्य मृत्यु हो र मृत्युको स्वामी शिव हुनुहुन्छ। काशीमा गरिने वास र पूजाले जीवलाई जन्म–मरणको चक्रबाट पूर्णतः मुक्त गर्छ। विश्वेश्वरको शरणमा पुग्नु भनेको मुक्तिको नजिक पुग्नु हो। काशी विश्वनाथले मानव जातिलाई भौतिक संसारबाट आध्यात्मिक संसारतर्फको पुलको काम गर्नुहुन्छ।
१२ ज्योतिर्लिंग र तिनका मुख्य सन्देश
- सोमनाथ अहंकार त्याग र मानसिक पुनर्जागरणको प्रतीक
- मल्लिकार्जुन पारिवारिक प्रेम र शक्ति–ब्रह्मको अद्वैत मिलन
- महाकालेश्वर कालको नियन्त्रण र अकाल मृत्युको भयबाट मुक्ति
- ॐकारेश्वर अहंकारको विसर्जन र आत्मज्ञानको ज्योति
- केदारेश्वर कठोर तपस्या र पाप पखाल्ने समर्पणको मार्ग
- भीमेश्वर अन्यायविरुद्धको साहस र दैवी संरक्षणको ऊर्जा
- विश्वेश्वर जन्म–मरणको चक्रबाट मुक्ति र परम ज्ञानको बास
- त्रयंम्बकेश्वर षड्यन्त्रमाथि सत्यको विजय र त्रैलोक्यको एकता
- वैद्यनाथ आरोग्यको वरदान र सेवाको उच्चतम भाव
- नागेश्वर नकारात्मक ऊर्जामाथि नियन्त्रण र निर्भयताको बोध
- रामेश्वर हरिहरको एकता र मर्यादामा आधारित अटुट भक्ति
- घृष्णेश्वर क्षमाशीलताको पराकाष्ठा र निःस्वार्थ भक्तिको शक्ति
- स्रोत : श्रीशिवमहापुराण, कोटीरुद्रसंहिता, अध्याय १४ देखि अध्याय २४ सम्म।
८.त्रयम्बकेश्वर ज्योतिर्लिंग: महर्षि गौतम र उनकी पत्नी अहल्यासँग यो ज्योतिर्लिंगको कथा जोडिएको छ। एक पटक भीषण अनिकाल पर्दा गौतम ऋषिले आफ्नो तपस्याले वरुणलाई प्रसन्न पारी पानी र अन्नको व्यवस्था गरे। यसबाट ईष्र्या गर्ने अन्य ब्राह्मणले उनलाई ‘गौहत्या’को झुटो आरोप लगाए। सो कलंक मेटाउन गौतमले शिवको आराधना गरे र गंगालाई पृथ्वीमा ल्याउन प्रार्थना गरे। शिव प्रकट भएर गंगालाई ‘गौतमी’ (गोदावरी)का रूपमा त्यहाँ प्रकट गराउनुभयो र स्वयं त्रयम्बकेश्वरका रूपमा स्थापित हुनुभयो।
त्रयम्बकेश्वर ज्योतिर्लिंगको विशेषता हो- एउटै लिंगभित्र तीनवटा लिंग हुनु, जसलाई ब्रह्मा, विष्णु र महेश मानिन्छ। यो ‘त्रिदेव’को एकताको प्रतीक हो। गौतम ऋषिको कथाले सिकाउँछ कि यदि मानिस सत्यको मार्गमा छ भने षड्यन्त्र र कलंकले उसलाई दुःख दिए पनि अन्ततः उसकै विजय हुन्छ र ईश्वरले उसको सम्मानको रक्षा गर्नुहुन्छ। गोदावरीको उत्पत्ति र शिवको आगमनले प्रकृति र पुरुषको पवित्रता झल्काउँछ। त्रयम्बकेश्वरको दर्शनले मानिसका सबै ज्ञात–अज्ञात पाप नष्ट हुन्छन्। यसले जीवलाई शुद्धीकरण र नयाँ चेतनाको मार्गमा डोर्याउँछ।
९.वैद्यनाथ ज्योतिर्लिंग: वैद्यनाथ ज्योतिर्लिंगको सम्बन्ध रावणको भक्ति र उसको अहंकारसँग छ। रावणले शिवलाई लंकामा स्थापित गर्न कठोर तपस्या ग¥यो। शिवले प्रसन्न भएर एउटा लिंग दिनुभयो तर सर्त राख्नुभयो कि बाटोमा यसलाई जमिनमा राखेमा यो त्यहीँ स्थापित हुनेछ। देवताहरूले रावणको शक्ति बढ्ने डरले चाल चले। वरुण देव रावणको पेटमा प्रवेश गरे, जसले उसलाई लघुशंका (पिसाब) लाग्यो। उसले एक ब्राह्मण (साक्षात् विष्णु )लाई लिंग समात्न दियो। ब्राह्मणले लिंग जमिनमा राखिदिए र शिव त्यहीँ ‘वैद्यनाथ’का रूपमा स्थापित हुनुभयो।
शिवलाई ‘वैद्यराज’ (डाक्टरहरूको पनि डाक्टर) भनिन्छ। यो ज्योतिर्लिंगले शारीरिक र मानसिक स्वास्थ्यको ठूलो महत्वलाई दर्शाउँछ। रावणको कथाले सिकाउँछ कि भक्ति जतिसुकै ठूलो भए पनि यदि त्यसमा अहंकार र स्वार्थ छ भने त्यो पूर्ण हुँदैन। तर, शिव यति दयालु हुनुहुन्छ कि उनले रावणलाई दिएको वचन पनि राख्नुभयो र त्यहीँ बसेर सर्वसाधारणको रोगव्याधि हरण गर्न थाल्नुभयो। यो आरोग्य र जीवनदानको केन्द्र हो। वैद्यनाथको अर्चनाले असाध्य रोगहरूबाट मुक्ति मिल्छ। यो ज्योतिर्लिंगले मानिसलाई स्वस्थ शरीर र पवित्र मनका साथ बाँच्ने प्रेरणा दिन्छ।
१०. नागेश्वर ज्योतिर्लिंग : दारुकावन नामक वनमा दारुक र दारुका नामक राक्षस दम्पतीले आतंक मच्चाएका थिए। उनीहरूले सुप्रिय नामक परम शिवभक्त वैश्यलाई कारागारमा थुनेका थिए। सुप्रियले जेलभित्रै शिवको ध्यान र ‘ॐ नमः शिवाय’को जप गर्न थाले। राक्षसहरूले उसलाई मार्न खोज्दा शिवज्योति स्वरूपमा प्रकट भएर राक्षसहरूको संहार गर्नुभयो र सुप्रियको रक्षा गर्नुभयो। नागहरूको राजा (नागेश)का रूपमा प्रकट हुनु भएकाले यसलाई नागेश्वर भनिएको हो।
नागेश्वर ज्योतिर्लिंगले सुरक्षा र निर्भयताको सन्देश दिन्छ। शिवको घाँटीमा नाग हुनुको अर्थ हो– विषालु र नकारात्मक ऊर्जालाई पनि नियन्त्रणमा राख्नु। सुप्रियको कथाले सिकाउँछ, जहाँ भक्त हुन्छन्, त्यहाँ भगवान् आफैं पुग्नु हुन्छ। बन्धनमा परेका जीवलाई मुक्त गराउनु शिवको मुख्य कार्य हो। यो ज्योतिर्लिंगले मानिसको कुण्डलिनी शक्ति (सर्पको रूपमा)लाई जागृत गराउने आध्यात्मिक रहस्य पनि बोकेको छ। नागेश्वरको दर्शनले मानिसलाई कुनै पनि प्रकारको शत्रु वा विषालु तत्वको डर हुँदैन। यो विजय र निर्भय जीवनको प्रतीक हो।
११. रामेश्वर ज्योतिर्लिंग : त्रेतायुगमा जब भगवान् श्रीराम माता सीताको खोजीमा लंका जान समुद्रको किनारमा पुग्नुभयो, तब उहाँले विजय प्राप्तिका लागि बालुवाको शिवलिंग बनाएर पूजा गर्नुभयो। श्रीरामको भक्तिबाट प्रसन्न भई शिव प्रकट हुनुभयो र रावणमाथि विजय पाउने वरदान दिनुभयो। श्रीरामको अनुरोधमा शिव त्यहीँ ‘रामेश्वर’ (रामका ईश्वर)का रूपमा स्थापित हुनुभयो। अर्कोतिर, शिवले रामलाई ईश्वर मान्नु भएकाले यो नामको अर्थ ‘राम जसका ईश्वर हुन्’ भन्ने पनि लाग्छ।
रामेश्वर ज्योतिर्लिंग हरि (विष्णु) र हर (शिव)बीचको अनन्य प्रेम र एकताको सर्वश्रेष्ठ उदाहरण हो। यसले सिकाउँछ कि शैव र वैष्णव सम्प्रदायबीच कुनै भिन्नता छैन। श्रीरामले मर्यादा पुरुषोत्तमका रूपमा शिवको पूजा गरेर देखाउनुभयो कि शक्ति र सफलताका लागि आध्यात्मिक बल अनिवार्य छ। यो ज्योतिर्लिंगले विशालता र गम्भीरताको बोध गराउँछ। यो सेतु (पुल) हो, जसले मानिसलाई संसारबाट पार गराउँछ। रामेश्वरको यात्राले मानिसको अहंकार नास गर्छ र उसमा भक्ति र मर्यादाको विकास गराउँछ।
१२.घृष्णेश्वर ज्योतिर्लिंग: घृष्मा नामक सुपुत्री शिवको परम भक्त थिइन्। उनकी दिदी सुदेहाले डाहवश घृष्माका छोराको हत्या गरिन्। छोराको मृत्यु हुँदा पनि घृष्मा विचलित नभई आफ्नो नित्य शिव पूजा र लिंग विसर्जनको कार्यमा लागिरहिन्। उनको यो अनन्य भक्ति र धैर्य देखेर शिवले मृत छोरालाई जीवित तुल्याइदिनुभयो र घृष्माको नामबाट ‘घृष्णेश्वर’का रूपमा त्यहीँ बस्नुभयो।
घृष्णेश्वर ज्योतिर्लिंग निष्काम भक्ति र क्षमाको पराकाष्ठा हो। घृष्माले आफ्नो छोरा मार्ने दिदीलाई पनि क्षमा गरिदिइन् र शिवमा मात्र ध्यान केन्द्रित गरिन्। यसले सिकाउँछ, यदि भक्ति साँचो छ भने मृत्यु पनि हार्छ। शिव ‘आशुतोष’ हुनुहुन्छ, जो सानो भक्तिले पनि तुरुन्त प्रसन्न हुनुहुन्छ। यो ज्योतिर्लिंगले पारिवारिक कलहको अन्त्य र शान्तिको प्रतीकको रूपमा काम गर्छ। घृष्णेश्वरको दर्शनले भक्तको वंश वृद्धि हुन्छ र जीवनमा सुख–समृद्धि छाउँछ।
समग्रमा श्रीशिवमहापुराणको कोटीरुद्र संहितामा वर्णित १२ ज्योतिर्लिंगहरूको गाथा केवल पौराणिक कथाहरूको संग्रह होइन, यो त मानव चेतनाको उच्चतम अवस्था र ईश्वरको सर्वव्यापी स्वरूप समेटिएको विशाल एवं अनुपम महाकाव्य हो। जसको समीक्षात्मक निष्कर्षलाई निम्न बुँदामा प्रस्तुत गर्न सकिन्छ :–
१. अनन्त प्रकाशको भूमण्डलीकरण : ज्योतिर्लिंगको अर्थ हो-‘प्रकाशको स्तम्भ’। सृष्टिको प्रारम्भमा ब्रह्मा र विष्णुको विवाद सुल्झाउन प्रकट भएको त्यो अनादि र अनन्त प्रकाशको स्तम्भ नै भक्तहरूको कल्याणका लागि पृथ्वीका १२ स्थानमा घनीभूत भएको हो। नेपालमा पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्म फैलिएका १२ ज्योतिलिंग भारतको उत्तरमा केदारनाथदेखि दक्षिणमा रामेश्वरसम्म, पश्चिममा सोमनाथदेखि पूर्वमा वैद्यनाथसम्म फैलिएका छन्। जसले सांस्कृतिक र आध्यात्मिक रूपमा मूलतः सनातनीहरूलाई अखण्डताको सूत्रमा उनेका छन्।
२. प्रकृति र अध्यात्मको तादात्म्यता : यी ज्योतिर्लिंगको अवस्थिति हेर्दा प्रकृतिको संरक्षण र पूजनको गहिरो सन्देश पाइन्छ। कतै हिमालयको काख, कतै नर्मदा र गोदावरीजस्ता पवित्र नदीका तट, कतै घनाजंगल त कतै समुद्रको किनार। यसले सिकाउँछ कि प्रकृति नै शिवको स्वरूप हो र प्रकृतिको काखमा पुग्दामात्रै मानिसले आफ्नो वास्तविक ‘स्व’लाई चिन्न सक्छ।
३. मोक्ष र सामाजिक समरसताको प्रतीक : काशी विश्वनाथले ‘तारक मन्त्र’ दिएर जीवनको अन्तिम सत्य ‘मोक्ष’तर्फ डोहो¥याउनु भएको छ भने रामेश्वरले ‘हरि र हर’ (विष्णु र शिव)बीचको अभेद सम्बन्ध देखाएर धार्मिक संकीर्णतालाई तोडिदिनु भएको छ। यी ज्योतिर्लिंगले मानिसलाई अहंकार त्याग्न, धैर्य धारण गर्न र निष्काम भक्ति गर्न प्रेरित गर्छन्।
निष्कर्षमा, १२ ज्योतिर्लिंग मानव अस्तित्वका १२ वटा ऊर्जा केन्द्र हुन्। त्यसैले शिवको आराधना केवल कर्मकाण्ड होइन, यो त जीवनको अन्धकारलाई ‘ज्योति’ले विस्थापित गर्ने प्रक्रिया हो। जो भक्तले यी लिंगहरूको स्मरण र दर्शन गर्छ, उसले केवल सांसारिक वैभवमात्र होइन, बरु जन्म–मृत्युको चक्रबाट मुक्त गराउने परम शान्ति र कैवल्य पद प्राप्त गर्छ। यी ज्योतिर्लिंगले सिकाउने अन्तिम सत्य हो–‘शिव नै सत्य हुन् र सत्य नै शिव हुन्।’
प्रतिक्रिया दिनुहोस !