नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित
मुम्बई : वुमन्स एसिया राइजिङ स्टारको समूह 'ए' अन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।
पाकिस्तान ‘ए’ ले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०७ रन मात्रै जोड्न सक्यो। नेपालका लागि ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । उनले ४५ बलमा ८ चौका प्रहार गरिन्।
अर्की ओपनर सम्झना खड्का ६ रनमा कट एण्ड बोल्ड भइन्। कप्तान पूजा महतो ११ रनमा क्याच भइन्। कविता कुँवर १८ र सीता राना मगर १९ रनमा अविजित रहे। नपाकिस्तान ‘ए’ को लागि अनोसा नासिरले सर्वाधिक ३ विकेट लिइन्। मोमिना रियासतले २ र वाहिदा अख्तरले १ विकेट लिइन्।
त्यसअघि, पाकिस्तान ‘ए’ को लागि कप्तान हप्सा खलिदले सर्वाधिक ४० रन बनाइन् । उनले ३९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहिन्। सवाल जुलिफरले १०, हुरैना साजादले १७, वाहिदा अख्तरले २३ रन बनाइन्। इमान नसिर ९ रनमा अविजित रहिन्।
नेपालको लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन्। मनिषा उपाध्याय,रिया शर्मा, सीता राना मगर र रुबिना क्षेत्रीले १–१ विकेट लिइन्। यस प्रतियोगितामा नेपाल, भारत ए, पाकिस्तान ए,यूइए समुह ए मा रहेर प्रतिस्पर्धा गर्नेछन् भने समूह 'बी' मा बंगलादेश, मलेसिया, श्रीलंक ए र थाइल्यान्ड रहेको छ।
यो प्रतियोगिताको कप्तानी पूजा महतोले गरिरहेकी छन्। नियमित कप्तान इन्दु बर्मा चोटका कारण यो सिरिजबाट बाहिरिएकी थिइन्। पूजाले पहिलो पटक नेपालको लागि सिनियर टिमको कप्तानीमा आजको खेल खेलेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !