हिमपात भए कसरी होला, हिमाली जिल्लामा मतदान ?
सुर्खेत/दैलेख : निर्वाचनको दिन नजिकिँदै छ। निर्वाचनको माहोलले देश नै तातेको छ। तर, देशका हिमाली क्षेत्रमा भने चुनावी माहोल तात्न सकेको छैन। बरु यतिबेला त्यहाँ कठ्यांग्रिँदो चिसो बढेको छ। कारण यसपाली हिमाली क्षेत्रमा माघ महिनामा केही दिनको अन्तरमै दुईपटक हिमपात भएको छ। हिमपातका कारण जनजीवन नै प्रभावित बनेको छ। यसले निर्वाचनको पूर्वतयारीमा समेत बाधा पुगेको हो।
फागुन २१ का लागि तोकिएको निर्वाचन हिमाली क्षेत्रमा हिमपात मुख्य चुनौती हुने देखिन्छ। यसअघि पनि यो आशंका नगरिएको होइन। तर, माघमै दुईपटक भएको हिमपातले त्यो आशंकालाई पुष्टि नै गरिदिएको छ। साथै फागुनमा पनि हिमपात भएमा हिमाली जिल्लामा मतदान नै प्रभावित हुने आशंका थप बढेको छ। हिमपातको सम्भावना कायमै भएकाले पनि हिमाली क्षेत्रका मतदातामा भोट दिन नपाइने हो कि भन्ने चिन्ता बढेको हो। निर्वाचन आयोगले समेत हालसम्म यसको विकल्पबारे कुनै निर्णय नगरेका कारण पनि हिमाली क्षेत्रका मतदातामा अन्योल देखिन्छ।
मुख्य गरी कर्णालीका हुम्ला, डोल्पा, जुम्ला र मुगुमा हिमपातले जनजीवन नै ठप्प हुन्छ। यस्तै, कालीकोट, जाजरकोट र रुकुमपश्चिमका उच्च क्षेत्रमा पनि हिमपात हुने गर्दछ। हिमपातका कारण यी जिल्लामा हवाई तथा यातायात सेवा नै प्रभावित हुन्छ। अत्यधिक चिसोका कारण उच्च क्षेत्रमा रहेका बस्तीबाट स्थानीय बासिन्दामात्र होइन, सुरक्षामा खटिने प्रहरी र कर्मचारीहरू हिउँदको समयमा त्यहाँ बस्दैनन्। यस्तो अवस्थामा त्यस क्षेत्रमा सहजै निर्वाचन गराउन र मतदान गर्न कठिन हुने देखिन्छ।
निर्वाचनको दिन नजिकिँदै गर्दा भएको हिमपातका कारण राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न सकस भइरहेको हो। हिमपातका कारण आफूहरू मतदाताको बीचमा जान नसकिरहेको उम्मेदवारको गुनासो छ। फागुनमा पनि यस्तै हिमपात भए यी क्षेत्रमा मतदान कार्यमा कठिनाइ हुने स्थानीय बताउँछन्।
हिमपातपछि सिमकोटमा देखिएको दृष्य
‘हाम्रा लागि हिउँदको समयमा चुनाव नै नतोकेको भए राम्रो हुन्थ्यो’ हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा भन्छन्, ‘हिउँ परिरहेको छ, हिउँदको समय भएकाले अधिकांश मतदाता गाउँमा छैनन्। अब फागुनमा पनि हिउँ पर्दा जनताले कसरी भोट हाल्छन् ? हिमपात भएमा यहाँ चुनाव गराउन सम्भव छैन।’ हिउँदको बेलामा चुनाव तोकिएकाले अधिकांश मतदातामा आफूहरू मतदानबाट वञ्चित हुने चिन्ता रहेको उनले सुनाए। उनले भने, ‘यस्तै हिमपात भयो भने त यहाँ चुनाव गराउन सजिलो छैन, मतदाताबिना त कसरी चुनाव होला र ? हामीले जिल्ला प्रशासनमार्फत आयोगलाई हिउँदमा चुनाव नगराउन आग्रह गरेका थियौं तर उताबाट आजसम्म केही जवाफ आएन।’
गाउँमा छैनन् अधिकांश मतदाता
हिमाली क्षेत्रका बासिन्दा हिउँदको समयमा गाउँ बस्दैनन्। बाक्लो हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले उनीहरू जिल्ला नै छाडेर बाहिर जाने गर्दछन्। यसपाली पनि हिमाली क्षेत्रका अधिकांश बासिन्दा जिल्लामा छैनन्। चिसो छल्न स्थानीय बासिन्दा हिउँदको समयमा जिल्ला सदरमुकाम, प्रदेश राजधानी सुर्खेत, नेपालगन्ज र काठमाडौं जान्छन्। अहिले पनि हिउँदको समय भएकाले अधिकांश यस क्षेत्रका मतदाता गाउँमा छैनन्।
चिसो छल्न स्थानीय बासिन्दाहरू जिल्लाबाहिर गएकाले उनीहरूलाई चुनावमा गाउँ कसरी फर्काउने भन्ने चिन्ता उम्मेदवारहरूलाई छ। हुम्लाको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमल्सिना भन्छिन्, ‘हिमाली जिल्लामा भूगोल नै कठिन छ, त्यसमाथि हिमपातले गर्दा अहिले उम्मेदवार र दलहरू मतदाताको बीचमा जान समस्या भइरहेको छ। त्यसमाथि हिउँदको समय भएकाले अधिकांश मतदाता जिल्लाबाहिर छन्, अब उनीहरूलाई कसरी चुनावको बेलामा गाउँ ल्याउने भन्ने समस्या छ।’
हिउँदको समय र चिसो धेरै हुने भएकाले यो बेलामा गाउँमा मानिसहरू नबस्ने गरेको उनको भनाइ छ। ‘फागुनमा चुनाव हिमाली क्षेत्रका लागि उपयुक्त नै होइन,’ हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा भन्छन्, ‘मैले थाहा पाएसम्म अहिलेसम्म हिउँदको समयमा चुनाव भएको थिएन, यसपटक पनि नगरौं भनेर हामीले जिल्ला प्रशासन कार्यालयमार्फत आयोगलाई आग्रह गरेका थियौं। तर, अहिले गाउँमा मान्छे छैनन्, यस्तो अवस्थामा अब कसरी सोचे जति मत खस्ला र ? ’
उचित विकल्प नदिए मत नखस्ने डर
फागुनमा हिमपात भए यी क्षेत्रमा अपेक्षाअनुसार मत पनि नखस्ने देखिन्छ। यसकारण पनि हिमाली क्षेत्रका लागि निर्वाचन आयोगले उचित विकल्प दिनुपर्ने माग स्थानीयले गरेका छन्। कर्णालीका हिमाली जिल्लाको भूगोल नै कठिन भएको र हिमपात हुँदा थप जटिलता हुने उनीहरूको भनाइ छ। यसकारण पनि निर्वाचन आयोगले तत्काल हिमाली क्षेत्रका लागि उचित विकल्प दिनुपर्ने स्थानीयको माग छ।
‘हिउँदको समय भएकाले अपेक्षाअनुसार मत नखस्न सक्छ,’ नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा भन्छन्, ‘हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना कायमै छ, यदि हिउँ परेमा नागरिकले भोट दिन सक्ने अवस्था हुँदैन। जबरजस्ती चुनाव गराउनुको के अर्थ ? हिमाली क्षेत्रका नागरिकको भावनाको सम्मान गर्ने हो भने फागुनमा चुनाव उपयुक्त हुँदैन्।’ यसका लागि उनले समय छँदै निर्वाचन आयोगले विकल्प दिनुपर्ने बताए। उनले भने ‘सकभर हिमाली जिल्लामा वैशाखमा चुनाव गर्दा उपयुक्त हुन्छ, आयोगले यो विकल्प दिँदा उपयुक्त हुन्छ।’
- हिमपातपछि हुम्ला सदरमुकाम सिमकोटमा देखिएको दृश्य (बायाँ) । हिमपातपछि डोल्पाको काइगाउँको दृश्य।
- फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्लाहरू जस्तै हुम्ला, डोल्पा, जुम्ला, मुगु, कालीकोट, जाजरकोट र रुकुमपश्चिममा मतदान चुनौतीपूर्ण हुने देखिन्छ।
- माघ महिनामा हिमाली क्षेत्रमा दुईपटक हिमपात हुँदा जनजीवन प्रभावित भयो र निर्वाचनको तयारीमा बाधा पुगेको छ।
- अत्यधिक चिसो र हिमपातका कारण स्थानीय मतदाता गाउँमा छैनन्, अधिकांश बाहिर जिल्लामा, प्रदेश राजधानी वा काठमाडौंमा छन्।
- उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष सम्पर्क गर्नसमेत समस्या भोगिरहेका छन्।
- स्थानीय र नागरिक समाजले हिमाली क्षेत्रका लागि वैकल्पिक निर्वाचन मिति दिने माग गरेका छन्, ताकि अधिकतम मतदाता मतदानमा भाग लिन सकून्।
- निर्वाचन आयोग र सुरक्षा निकायलाई हिमाली क्षेत्रमा चुनौतीपूर्ण अवस्था व्यवस्थापनको विकल्प खोज्न आवश्यक देखिएको छ।
डोल्पाको ठूलीभेरी नगरपालिकाकी स्थानीय बासिन्दा धनकुमारी विकले पनि आफूहरूका लागि आयोगले विकल्प दिन सक्ने बताउँछिन्। ‘हिमपातले जनजीवन प्रभावित भइरहेको छ, अझै पनि हिउँ पर्न सक्छ,’ उनले भनिन्, ‘हिउँ पर्यो भने हामीले कसरी भोट हाल्ने ? मतदान स्थलसम्म पुग्न सकिँदैन। यसकारण पनि उचित विकल्प चाँडै आओस्, हामीले पनि भोट हाल्न पाऊँ।’ यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिना भन्छिन् ‘यही अवस्थामा चुनाव भए सबै मत खस्न कठिन छ, हिमाली जिल्लाका लागि उचित विकल्प चाहिन्छ। आयोगले चाँडै विकल्प देओस्, सबै मतदाताले सजिलै मत खसाल्ने अवसर पाऊन्।’
हिमपातपछि सदरमुकातिर झरे सुरक्षाकर्मी
कर्णालीका हिमाली जिल्लाको दुर्गम क्षेत्रमा रहेका सुरक्षाकर्मी सदरमुकाम सारिएका छन्। हिमपातपछि अत्यधिक चिसो बढेपछि निर्वाचनको सुरक्षामा खटिने प्रहरीलाई सदरमुकाम तथा नजिकै रहेका प्रहरी चौकीमा सारिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार अब उनीहरू फागुन लागेपछि मात्रै कार्यक्षेत्रमा जानेछन्।
डोल्पा, हुम्ला र मुगुका २० वटा मतदान स्थलको सुरक्षा गर्ने ९ वटा प्रहरी चौकीका प्रहरीलाई सदरमुकाम सारिएको छ। ती मतदान स्थलमा करिब चार हजार तीन सय मतदाता छन्। हिमपात भएको र अत्यधिक चिसोका कारण बस्न सक्ने अवस्था नभएपछि ती स्थानबाट प्रहरीलाई सदरमुकामतिर सारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बताए। उनका अनुसार हिउँदको समयमा हिमाली क्षेत्रमा प्रहरीलाई काम गर्न समस्या हुने गर्दछ। हिमाली क्षेत्रको मतदान स्थलबारे केन्द्रले निर्णय गर्ने सापकोटाको भनाइ छ।
उनले भने, ‘माघमा दुईपटक हिमपात भइसकेको छ, अत्यधिक चिसो र हिमपातले नौवटा प्रहरी युनिट त्यहाँ बस्न सक्ने अवस्था भएन। त्यसकारण हामीले त्यहाँबाट जिल्ला सदरमुकाम वा नजिकको प्रहरी युनिटमा हाललाई मर्ज गरेका छौं, हामीले त्यहाँको अवस्थाबारे केन्द्रलाई पनि जानकारी गराइसकेका छौं।’ हिमपातको समयमा हिमाली क्षेत्रमा निर्वाचनको सुरक्षा कसरी गर्ने भन्ने बारेमा केन्द्रबाट आउने जवाफको प्रतीक्षामा आफूहरू रहेको उनले बताए। हिमाली क्षेत्रमा समस्या भए पनि आफूहरू निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा अवस्था मजबुत बनाउन लागि परेको उनको भनाइ छ।
उनका अनुसार अब प्रहरी कार्यालयमा जनशक्तिको १० प्रतिशत मात्रै प्रहरी राखेर अरू सबैलाई निर्वाचनको सुरक्षामा खटाइनेछ। कर्णालीमा करिब ९ हजारभन्दा बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेका छन्। ‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ, राजनीतिक दल, सञ्चारमाध्यम र सञ्चारकर्मी, कर्मचारीलगायत सबैले पूर्णरूपमा पालना गरे निर्वाचनलाई सफल बनाउनुपर्छ,’ उनले भने।
कर्णालीमा करिब ८ सय मतदान स्थल संवेदनशील
निर्वाचन आयोगका अनुसार कर्णालीका १० जिल्लामा कुल ९ सय ४१ मतदान स्थल छन्। यस्तै, कुल एक हजार चार सय ३७ मतदान केन्द्र रहेका छन्। जसमध्ये कर्णालीमा संवेदनशील मतदान स्थलको संख्या धेरै छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सात सय ७९ वटा मतदान स्थल संवेदनशील रहेका छन्। तीमध्ये चार सय २० वटा संवेदनशील र तीन सय ५९ वटा अति संवेदनशील रहेको प्रहरीको भनाइ छ। एक सय ६२ वटा मतदान स्थल सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, प्रहरीका अनुसार १८ वटा मतदान स्थल अस्थायी छन्। एक हजार ४ सय ३७ वटा मतदान केन्द्रमध्ये एक हजार एक सयवटा मतदान केन्द्र संवेदनशील रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ६ सय ५९ वटा संवेदनशील र चार सय ४१ वटा अति संवदेनशील मतदान केन्द्र छन्। तीन सय एक मतदान केन्द्र भने सामान्य अवस्थाका छन्। जिल्ला सुरक्षा समितिले विभिन्न मापदण्डका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील रूपमा वर्गीकरण गर्ने गरेको हो।
कर्णालीमा छन् १० लाख मतदाता
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा १० लाखभन्दा बढी मतदाता कायम भएका छन्। निर्वाचन आयोगका अनुसार प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ। दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ मा एक लाख २२ हजार ९ सय २ तथा क्षेत्र नम्बर २ मा एक लाख २६ हजार ४१ जना मतदाता छन्। दुईवटै निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा ७९ हजार सातसय एक र क्षेत्र नम्बर २ मा ८१ हजार पाँच सय तीन जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।
कर्णालीका अन्य ८ जिल्लामा एकमात्र निर्वाचन क्षेत्र छन्। निर्वाचन आयोगका अनुसार रूकुमपश्चिममा कुल मतदाता संख्या एक लाख ६ हजार ६ सय ६० र जाजरकोटमा एक लाख सात हजार ९१ जना जना मतदाता कायम भएका छन्। यस्तै, हुम्लामा ३४ हजार तीन सय ७२, कालीकोटमा ८४ हजार ६ सय ४६ तथा मुगुमा ३६ हजार ३१ जना मतदाता रहेका छन्। डोल्पामा २४ हजार एक सय १५, सल्यानमा एक लाख ६२ हजार चार सय ४९ तथा जुम्लामा ७१ हजार ७ सय ३९ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।
हिमाली भेगका मतदाता सहरमै
चुमनुब्री गाउँपालिका–४ छाकका ल्हाक्पा लामा अहिले गाउँमै छन्। जाडो छल्न अधिकांश बासिन्दा सहर झरेको भए पनि काम विशेषले उनी गाउँमै अडेका हुन्।
‘अहिले त हिमाली भेगका बासिन्दा प्रायः सहरमै छन्, खेती किसानी गर्नेहरू कोहीकोही गाउँमा पनि छन्। व्यापार, व्यवसाय गर्नेहरू सहर झरेका छन्’, उनी भन्छन्, ‘सहर झरेकाहरू कोही सहरमै ल्होसार मानेर फर्किन्छन्, कोही गाउँमै ल्होसार मान्न आउँछन्।’
गाउँलेहरू सहरमा झरेकाले अहिले हिमाली भेगमा चुनाव प्रचारप्रसार सुरु भएको छैन। ‘खै, सहरमा पनि कुनै पनि पार्टीका उम्मेदवारले भोट मागेको थाहा पाएको छैन’, काठमाडौंमै रहेका चुमनुब्री–१ सामागाउँका दावा नुर्बु लामाले भने, ‘अब गाउँमा चुनाव ल्होसारपछि पो लाग्छ होला।’
गोरखाको चुमनुब्री गाउँपालिकामा बौद्ध धर्मावलम्बीको बसोबास छ। उनीहरू फागुन ६ गते धुमधामले ग्याल्पो ल्होसार मनाउँछन्।
‘तीन भागमा दुई भाग ल्होसार मनाउन गाउँ जान्छन्, एक भाग चाहिँ काठमाडांैमा ल्होसार मनाउँछन्’, चुमनुब्री–१ का पासाङ लामा भन्छन्, ‘चुनावमा ९० प्रतिशत गाउँले फर्कन्छन् होला।’
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका दोर्जे लामाले गाउँमा अहिलेसम्म चुनावी माहोल नछाएको बताएका छन्। सामाजिक सञ्जाल चुनावको सामग्रीले भरिपूर्ण भए तापनि विकटका गाउँबस्तीमा चुनाव नलागेको उनले बताएका छन्। उनी भन्छन्, ‘गाउँका आधा बासिन्दा सहरमै छन्। यता त अहिलेसम्म चुनाव लागेको छैन। चुनाव हुन्छ रे भनेर पनि फेसबुकबाटै थाहा पाएको छु।’ आफूहरू चुनावमा सहभागी हुन भने आतुर रहेको लामाले बताएका छन्। अन्य गाउँलेहरू पनि चुनाव लागेसँगै मतदान गर्न गाउँमै फर्कने उनको भनाइ छ।
चुनावी तापक्रम शून्य डिग्रीमै
केही दिनको माघेझरीपछि अहिले देशभर चुनावी सरगर्मी बढिरहेको छ। उम्मेद्वारहरू घरदैलो, मतदाता भेटघाट, सामाजिक सञ्जाल परिचालनमा व्यस्त छन्। तर, हिमाली भेगमा भने चुनावी तापक्रम शून्य डिग्रीमै छ। फागुन २१ मा हुने चुनावको दिनसम्म पनि हिमाली भेगमा चुनावी तापक्रम बढ्ने नबढ्नेबारे स्थानीयबासी नै अनभिज्ञ छन्।
हिमाली भेगका बासिन्दा जाडो छल्न सहर झरेको करिब एक महिना भइसक्यो। चुनावको दिनसम्म उनीहरू गाउँ फर्कने नफर्कने अनिश्चित छ। ‘खै चुनावको दिनसम्म पनि कोहीकोही त गाउँ पुग्लान्। सबैजना त कसरी जान्छन् होला र ? ’, चुमनुब्री–१ का मिङ्मार लामा भन्छन्, ‘ल्होसार तलै मानेर १५ १६ दिनपछि मात्र गाउँ जान्छन् होला।’ गाउँमा भोट माग्न अहिलेसम्म कोही नपुगेको उनको भनाइ छ।
चुमनुब्री गाउँपालिका–४ छाकका ल्हाक्पा लामा अहिले गाउँमै छन्। जाडो छल्न अधिकांश बासिन्दा सहर झरेको भए पनि काम विशेषले उनी गाउँमै अडेका हुन्। ‘अहिले त हिमाली भेगका बासिन्दा प्राय सहरमै छन्, खेती किसानी गर्नेहरू कोहीकोही गाउँमा पनि छन्। व्यापार व्यवसाय गर्नेहरू सहर झरेका छन्’, उनी भन्छन्, ‘सहर झरेकाहरू कोही सहरमै ल्होसार मानेर फर्किन्छन्, कोही गाउँमै ल्होसार मान्न आउँछन्।’
गाउँलेहरू सहरमा झरेकाले अहिले हिमाली भेगमा चुनाव प्रचारप्रसार सुरु भएको छैन। ‘खै, सहरीमा पनि हाम्रो समुदायमा कुनै पनि पार्टीका उम्मेदवारले भोट मागेको थाहा पाएको छैन’, काठमाडौंमै रहेका चुमनुब्री–१ सामा गाउँका दावा नुर्वु लामाले भने, ‘अब गाउँमा चुनाव ल्होसारपछि पो लाग्छ होला।’ गोरखाको चुमनुब्री गाउँपालिकावासी बौद्ध धर्मावलम्बी हुन्। उनीहरू फागुन ६ गते धुमधामले ग्याल्पो ल्होसार मनाउँछन्।
‘तीनभागमा दुई भागले ल्होसार मनाउन गाउँमा जान्छन्, एक भागचाहिँ काठमाडौंमा ल्होसार मनाउँछन्’, चुमनुब्री–१ का पासाङ लामा भन्छन्, ‘चुनावमा ९० प्रतिशत गाउँले फर्कन्छन् होला।’
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका दोर्जे लामाले गाउँमा अहिलेसम्म चुनावी माहोल नबनेको बताएका छन्। सामाजिक सञ्जाल चुनावको सामग्रीले भरीपूर्ण भए तापनि विकटका गाउँबस्तीमा चुनाव नलागेको उनले बताएका छन्। उनी भन्छन्, ‘गाउँको आधा बासिन्दा सहरमै छन्। यता त अहिलेसम्म चुनाव लागेको छैन। चुनाव हुन्छ रे भनेर पनि फेसबुकबाटै थाहा पाएको छु।’
आफूहरू चुनावमा सहभागी हुन आतुर रहेको लामाले बताएका छन्। अन्य गाउँलेहरू पनि चुनाव लागेसँगै मतदान गर्न गाउँमै फर्कने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !