सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, किन्ने कि बेच्ने ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बजारमा बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गर्यो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुन प्रतितोला २० हजार ५ सयले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च विन्दुमा पुगेको मूल्य हो।
गत बुधबार सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढेको थियो। शुक्रबार सुनको मूल्य ९ हजार २ सय रुपैयाँले वृद्धि भयो। त्यसपछि लगातार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै रह्यो। गत आइतबार सुनको मूल्यमा २ हजार ४ सय, सोमबार ५ हजार २ सय, मंगलबार ३ सय र बुधबार ९ हजार ५ सय रुपैयाँले बढ्यो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। बिहीबार तोलामा २ सय ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सयमा खरिदबिक्री भएको थियो। अघिल्लो दिन मंगलबार प्रतितोला चाँदी ६ हजार ८ सय ७० रुपैयाँ थियो। अहिले नेपाली बजारमा सुनका गरगहना बनाउने ग्राहक कमै आउने गरेको सुन व्यवसायी बताउँछन्। उनीहरूका अनुसार सुनका गहना बेच्न र विवाहका लागि आवश्यक पर्नेहरू पुराना गहनाबाट नयाँ गहना बनाउनेहरू बढी आउने गरेका छन्।
बजारमा चाँदीको कृत्रिम अभाव
नेपाली बजारमा चाँदीको अभाव देखिएको छ। केही दिनयता बजारमा चाँदीको माग बढिरहेकोमा व्यवसायीहरू भने स्टक सकिएको भन्दै बिक्री गर्न चाहिरहेका छैनन्। उनीहरू बैंकले चाँदी बिक्री नगरेको र आफूहरूसँग भएको स्टक सकिएको बताउँछन्। तर बजारमा व्यवसायीहरूले नै चाँदीको कृत्रिम अभाव गराइरहेको जानकारहरूको आरोप छ। अहिले बैंकले निक्षेपमा दिने ब्याज र कर्जाको ब्याज दुवै कम छ। यसबेला चाँदीमा लगानी बढिरहेको व्यवसायीहरू बताउँछन्। अहिले भाँडाकुँडा र गरगहनाभन्दा पनि चाँदीका दाना किन्ने बढेका छन्। यसअघि चाँदीका मुद्रा र ढिक्का किन्ने गरिन्थ्यो। चाँदीका ढिक्काका मूल्य बढी हुने र यसको कारोबार थोरै परिमाणमा गर्न नमिल्ने भएकाले दानाको किनबेचमा आकर्षण बढको ब्यवसायीको भनाइ छ।
विश्व बजारमा सोलार र आईटी क्षेत्रमा औद्योगिक प्रयोजनका लागि चाँदीको माग बढ्दो छ। त्यसैले पनि चाँदी मूल्य विश्व बजारमै बढेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार चाँदी प्रतिऔंस १ सय २० डलरमा कारोबार भएको थियो। सन् २०२६ को अन्त्यसम्ममा चाँदीको मूल्य प्रतिऔंस २ सय डलर पुग्ने आकलन गरिएको छ।
किन बढिरहेछ सुनको मूल्य ?
विश्वका केन्द्रीय बैंकहरूले सुन थुपारेको तथ्यांक बाहिरिएको छ। भारत, चीन, अमेरिका, टर्की, काजकस्तान, ब्राजिल, उज्वेकिस्तान, इन्डोनेसिया, चेक गणतन्त्र, घाना, फिलिपिन्सजस्ता देशका केन्द्रीय बैंकहरूले आक्रामक रूपमा सुनको भण्डार बढाउँदै लगेको सञ्चार माध्यमहरूले जनाएका छन्। विश्व बजारमा अमेरिकी डलर कमजोर हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को अस्थिर निर्णय, अतिरिक्त शुल्क र भूराजनीतिक तनावका कारण विभिन्न देशहरूले सुन थुपार्न लागेको देखिन्छ। सुन र अन्य बहुमूल्य धातुलाई ‘सुरक्षित सम्पत्ति’ मानिन्छ। फेरि आर्थिक क्षेत्र अन्योलका बेला धेरै लगानीकर्ताहरू सुनचाँदीजस्ता धातु किन्ने गर्छन्। यी नै कारणले सुनको भाउ निरन्तर उकालो लागेको अर्थशास्त्रीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रतिऔंस ५ हजार २ सय ४० डलर रहेकोमा बिहीबार ५ हजार ५ सय ६० डलर पुगेको छ। सन् २०२६ को अन्त्यसम्ममा सुन प्रतिऔंस ६ हजारदेखि ७ हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य निर्धारणले नेपालको सुनचाँदीको मूल्य तोकिन्छ। अर्को कुरा विवाह लगनको बेला सुनको मूल्य बढ्नु परम्परा जस्तो नै बनेको छ। माघ महिनामा लगन आउँदै गर्दा पनि सुनचाँदीको भाउ उँभो लागेको व्यवसायीको भनाइ छ। धेरै व्यवसायी घरजग्गा र सेयरमा लगानी गर्न छोडेर सुनचाँदीतर्फ लाग्दा पनि मूल्य बढ्ने क्रम नरोकिएको जानकारहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !