भोजपुरमा रोचक टक्कर

पूर्वमुख्यमन्त्री शेरधनसँग भिड्न अजम्बर, ध्रुब, बालकृष्णको रस्साकस्सी

पूर्वमुख्यमन्त्री शेरधनसँग भिड्न अजम्बर, ध्रुब, बालकृष्णको रस्साकस्सी

भोजपुर : प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयनसँगै भोजपुरमा चुनावी माहोल तातिएको छ । यसपटक पुराना दलहरूले पुरानै अनुहारलाई निरन्तरता दिएका छन् भने केही नयाँ दलहरूले आफ्नो प्रभावशाली अनुहारलाई अघि सारेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ दल चुनावमा सामेल छन् । भोजपुरबाट पूर्व मुख्यमन्त्री शेरधन राईसँगै अजम्बर राई काङमाङ, ध्रुवराज राई, बालकृष्ण थापाको नाम चर्चामा छ ।

निकै रस्साकस्सी देखिएको भोजपुरमा यसपटक एमालेका सचिव शेरधन राई हेभिवेट उम्मेदवार हुन् । उनीसँग काँग्रेसका बालकृष्ण, नेकपाका अजम्बर, श्रम सँस्कृति पार्टीबाट ध्रुवबीच कडा चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यस्तै रास्वपाबाट साझा उम्मेदवार बनेका रमेश कुमार ओझा पनि राम्रो मत ल्याउने ताकमा छन् ।

२०४४ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका शेरधन नेपालकै कान्छो सांसद हुन् । भोजपुरबाट छैटौँ पटकका लागि चुनाव लड्ने तयारीमा रहेका राईले २०५६ सालको आमनिर्वाचन, २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको प्रदेशसभाको चुनाव जितेका छन् भने २०६४ सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभाको दुवै चुनावमा पूर्व माओवादीका सुदन किरातीसँग हार व्यहोरेका छन् । 

२०७२ कात्तिकमा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता समेत बनिसकेका राईले कोशी प्रदेशको संस्थापक मुख्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन् । उनी हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।
मुलुकको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको सुनाउँदै राईले भोजपुरको समृद्धिलाई उचाइमा पुर्‍याउने संकल्पका साथ चुनावी मैदानमा उभिएको बताए । 

‘जेन्जी आन्दोलनपछिको मुलुकको अस्थिरता र राष्ट्रियतामाथि भएको भौतिक र सांघातिक आक्रमणको चर्को विरोधमा नेकपा एमाले बलियो खम्बा भएर उभिएको छ, संविधानको रक्षार्थ पनि यसपटकको चुनावमा एमालेको सहभागिता महत्वपूर्ण छ’ राईले भने, ‘भोजपुरको समृद्धलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ मैले नेकपा एमालेको उच्च पदको हैसियतले उम्मेदवारी दिएको हुँ ।’

यस्तै एमाले त्यागेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका ध्रुवराज राईको चर्चा पनि उत्तिकै छ । टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका राईले उम्मेदवारको टिकट पाएसँगै गाउँगाउँमा भेला, बैठक, संगठन विस्तारमा लागेका छन् । भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियू सभापति भएका राईले २०७४ स्थानीय तहको चुनावमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएर ‘चुनावी नेता’ का रूपमा परिचित छन् । यसपटक नयाँ युवापुस्ताको मुहार र भोजपुरको भविष्य फेर्ने दृढ अठोटका साथ आफुले उम्मेदवारी दिएको राईले बताए । विशेषगरि जेन्जी आन्दोलनको सपना साकार पार्दै भोजपुरलाई पनि समृद्ध बनाउने कुरामा आफु कट्टिबद्ध रहेको उनी बताउँछन् ।

यस्तै भोजपुरबाट तेस्रो पटक चुनाव लड्ने नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङको चर्चा पनि चुलिएको छ । पार्टीबाट प्रतिनिधीसभा सदस्यको टिकट पाएका काङमाङ जिल्लाका एक कुशल राजनीतिक हस्तीका रुपमा गनिन्छन् । यसअघि काङमाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट तेस्रो र २०७४ सालको प्रदेशसभा सदस्यमा भोजपुर क्षेत्र नं १ मा तत्कालिन एमालेका राजेन्द्र राईसँग ७ हजार ७ सय ५६ मतान्तरले हारेका थिए ।

यसपटक उनी संविधान संशोधन गर्ने सरकार बनाउन, भ्रष्टाचार निर्मूल गर्न, सुशासन स्थापित गर्न, स्वाधीनतासहितको राष्ट्रिय पुँजी निर्माण, भूँई तहका भोजपुरे जनताको खाँटी प्रतिनिधित्वका लागि उम्मेदवारी दिएको बताउँछन् । प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्रका काङमाङले यसपटक भने पार्टी एकिकरणपछिको पूर्व एकीकृत समाजवादीसहितका दलहरूको मत पाउनेछन् । 

शेरधन–बालकृष्ण दोस्रोपटक आमुन्नेसामुन्ने
एमालेका शेरधन र कांग्रेसका बालकृष्णको यो दोस्रो चुनावी प्रतिष्पर्धा हो । २०७० सालको भोजपुर क्षेत्र नं. २ चुनावमा थापा राईसँग ५ हजार ५ सय ७४ मतान्तरले हारे । त्यो चुनावमा राईले ११ हजार नौ सय  २७ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी एमाओवादीका सुदन किराँतीले ७ हजार चार सय ४४ मत पाए भने तेस्रो स्थानका थापाले कुल ६ हजार तीनसय ५३ मत पाएका थिए ।

यसपटक भने थापा अघिल्लो चुनावको हारको पासा पल्टाउने सुरमा छन् भने राई फेरिपनि क्लिनस्विप गर्ने होडमा छन् । एमालेका राई र कांग्रेसका थापा दुवै जिल्लाका कुशल राजनीतिक नेताका रुपमा चिनिन्छन् । श्रम सँस्कृतिका ध्रुवले एमाले र नेकपाका उम्मेदवारको मत काट्ने र कांग्रेसको मत जोगाए आफू निर्वाचित हुने सम्भावना रहेकोमा थापा ढुक्क छन् ।

ध्रुवलाई पूर्वमन्त्री सुदनको साथ
ध्रुवलाई यसपटक चुनावमा भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सुदन किरातीको साथ छ । माओवादी केन्द्र विघटनपछि प्रचण्डको साथ छाडेका पूर्व पर्यटनमन्त्री किरातीले भोजपुरमा ध्रुवलाई सघाउने निर्णय गरेका हुन् । 

जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका सुनसरी क्षेत्र नं. १ का हर्कराज राई र भोजपुरका ध्रुवराज राईलाई सहयोग गर्ने किरातीले बताए । भने, ‘यसपटक भोजपुरमा ध्रुवलाई सहयोग गर्नेछु र समानपातिकमा भने देशव्यापी रुपमा हाम्रो पनि सहभागिता रहनेछ ।’ किराती यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट एमालेका शेरधनलाई हराएका थिए ।

 भोजपुरमा नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश प्रसाद ओझा, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट चन्द्र प्रसाद राई, नेकपा (माओवादी) बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपाल कुमार राई र आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट युवराज थापाले पनि उम्मेदवारी दिएका छन् । 
यतिबेला उम्मेदवार र दलहरूले जेनजी पुस्ताका माग अनुकूलका चुनावी एजेन्डा बनाएर मतदाता रिझाउन गाउँगाउँमा घरदैलो गर्न निस्किसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा आगामी निर्वाचनमा कुल एक लाख २५ हजार ७ सय ६६ जना मतदाता रहेका छन् । भने भोजपुरमा ८७ मतदान स्थल र एक सय ५५ मतदान केन्द्र तय गरिएको छ ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.