धनगढीमा सीप तथा रोजगार मेला, ६ सयले सीप सिक्दै
धनगढी : धनगढी उपमहानगरपालिकाले दोस्रो संस्करणको सीप तथा रोजगार मेला २०८२ सञ्चालन गरेको छ। सोमबार संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले धनगढीको खुला मञ्चमा सीप तथा रोजगार मेलाको उद्घाटन गरे।
जेन–जी आन्दोलनपछि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका भण्डारीले भौतिक पूर्वाधार मात्रै विकास नभएर मानवीय विकासमा पनि धनगढी उपमहानगरले ध्यान दिएको भन्दै प्रशंसा गरे। ‘अहिलेको विकास तराईमुखी भएको छ। पहाडहरू खाली भइरहेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार र अवसर तराई केन्द्रित भएकाले पनि पहाड खाली भइरहेको हो। त्यसैले अब हरेक स्थानीय तहले धनगढीको जस्तै आ–आफ्नो पालिकामा सीप तथा रोजगार मेलाहरूको आयोजना गर्नुपर्छ। विकास अब पहाड उक्लिनुपर्छ’ मन्त्री भण्डारीले भने।
उनले लामो समयदेखि संघीय सरकारले गरेको उपेक्षाका कारण सुदूरपश्चिम प्रदेश अरू सबै प्रदेशभन्दा गरिब भएको उल्लेख गर्दै भने, ‘समानुपातिक विकास भएन। संघमा बसेकाहरूले थानकोटभन्दा पर पनि नेपाल छ भन्ने कुरा देखेनन्। त्यसैले सम्भावना हुँदाहँुदै पनि सुदूरपश्चिम पछाडि प¥यो,’ उनले भने।
गतवर्ष सुदूरपश्चिम प्रदेशका ३९ स्थानीय तहबाट सहभागी भएका १ हजार ४० युवाहरूलाई सीप तथा रोजगार मेलामार्फत तालिम दिएको थियो। उपमहानगरपालिकाले यसपाली ६ सय जनालाई सीपमूलक तालिम दिने लक्ष्यका साथ दोस्रो संस्करणको सीप तथा रोजगार मेलाको आयोजना गरेको हो। उपमहानगरले ३० दिनका लागि अटोमोबाइल, निर्माण क्षेत्र, आथित्य तथा सत्कार क्षेत्र, इलेक्ट्रिकल तथा मेकानिकल क्षेत्र सूचना प्रविधिको क्षेत्र, शैक्षिक तथा सेवा क्षेत्र र आर्ट काफ्ट तथा डिजाइनिङ क्षेत्रका गरी २२ प्रकारका तालिम दिने भएको मेयर गोपाल हमालले बताए।
यसपालि सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ६ सय जनालाई मात्रै सीपमूलक तालिम दिइने छ। कामको खोजीमा देश छोडिरहेका युवाहरू लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले यसपाली पनि मेलामार्फत तालिम दिन लागेको हो। धनगढीको खुलामञ्चमा हरेक विधाको तालिमका लागि २५ जना छनोट गरिएका छन्।
धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी पनि हो। उपमहानगरपालिकाले यसपालि प्रदेशभरिका ५१ वटा पालिकाका प्रमुख उपप्रुमहरूलाई बोलाएर सबैले संयुक्त रूपमा यस्ता सीपमूलक तालिमको आयोजना गर्न अगुवाइ पनि गरेको छ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ५१ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो। ३३ वटा नगरपालिकाहरूको प्रतिनिधित्व गर्दै बझाङको जयपृथ्वीबहादुर नगरपालिकाका मेयर चेतराज बजाल र ५४ गाउपालिकाहरूको प्रतिनिधित्व गर्दै डडेलधुराको अजयमेरु गाउँपालिकाका प्रमुख उमेश भट्टले रोजगार मेला एक अवसर भएको बताएका थिए।
कामको खोजीमा सीप नसिकेरै भारत र तेस्रो मुलुक जानेहरूको संख्या दिनानु दिन बढरहेका बेला, धनगढी उपमहानगरपालिकाले प्रदेशभरिका युवाहरू लक्षित गर्दै यो मेलाको आयोजना गरेको हो। ३० दिनको सीपमूलक तालिमपश्चात् फागुन ६ देखि १० सम्म स्वरोजगार हुन चाहने युवाहरूका लागि व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास सञ्चालनसम्बन्धी तालिम हुनेछ भने त्यसपछि फागुन ११ र १२ गते दुई दिन रोजगारदाता र प्रशिक्षार्थीहरूबीच रोजगार मेला पनि आयोजना गरिने उपमहानगरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !