मन मात्रै जित्यौ कि, ‘गेम’ पनि जित्छौ गगन ?

टिप्पणी

मन मात्रै जित्यौ कि, ‘गेम’ पनि जित्छौ गगन ?
फाइल तस्बिर

काठमाडौं : ‘यहाँ कुनै बा छैनन्, जसले नबोलभन्दा बोल्न छोड्ने कोही छैन’ भृकुटीमण्डप त तालीको गडगडाहटले गुञ्ज्यो नै, सामाजिक सञ्जाल पनि क्षणभरमै रंगियो।

विशेष महाधिवेशनमा महामन्त्रीको हैसियतमा कांग्रेस महामन्त्री गगन थापाले बोलिरहँदा प्रतिक्रियाका वर्षा भए। ‘स्याबास गगन,’ कस्तो ओजपूर्ण भनाइ, त्यो पनि शान्त र सौम्य भाषामा। अनि, सामाजिक सञ्जालमा उपदेशसँगै भावनात्मक अभिव्यक्ति बर्सिन थाले– ‘हो, कांग्रेस दास र लासहरूको पार्टी हुनुहंँुदैन। ‘ज्युँदो मान्छे’ भएर निस्क्यौं, अघि बढ गगन।’ हुन पनि, कांग्रेसका विधि, नीति र व्यवस्था के–के हुन् ?  त्यतातिरभन्दा गगनलाई काँध थाप्ने जेन–जीमा हुटहुटी थियो– कांग्रेसमा अविलम्ब रूपान्तरण र पुस्तान्तरण।

अर्थात्, गगनहरूको नेतृत्वमा कांग्रेस चुनावमा जानुपर्छ। पुरानै अनुहार लिएर चुनावमा जाँदा जनतामा आशा जगाउन सकिँदैन।’ गगनहरूलाई राम्ररी हेक्का छ– रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ जस्ता नयाँ पात्र चुनावमा जाँदा ‘जेन–जी आन्दोलनले अस्वीकृत’ गरेका पुराना अनुहार अघि लगाएर चुनावमा जान सकिँदैन, नयाँ पुस्तामा पार्टी स्थापित हुन सक्दैन।’

त्यसैकारण, गगनको आँट र विश्वप्रकाश शर्माको काँधले विशेष महाधिवेशन आयोजना भएको हो। उनीहरूको मुख्य जोड थियो– नेतृत्व परिवर्तन गर्ने, चुनावमा नयाँ अनुहार लिएर जनतामा जाने।’ त्यसकै लागि गगनहरूले संस्थापन पक्षसँग दर्जनौं पटक वार्ता र सम्वाद गरे। तर, ‘हिलोको किलो’ जस्तो बनिसकेको नेतृत्व किन गल्थ्यो र ?  ‘गगनले तान्दा गगनतिर मुख फर्काउने, कृष्णप्रसाद सिटौला–प्रकाशशरण महतले तान्दा उतै फर्किने, तर हिलोबाट बाहिर निस्कनै नचाहने नेतृत्वले उल्टै गगन र विश्वलाई कारबाही गर्‍यो। अर्थात्, परिवर्तनको नारा लगाउने ‘गगनहरूलाई बोझ ठान्यो, विरासत छोड्न मानेन।’ भलै, सभापति शेरबहादुर देउवाको उपस्थितिमा मात्रै आफ्नो भविष्य सुरक्षित देख्ने ‘पुरानै अनुहार र नेपोटिजम्’ को दबाबले पनि कारबाहीको अप्रिय निर्णय लिन देउवालाई बाध्य बनाएको यथार्थता लुक्न सक्दैन।

हुन त, नेतृत्व परिवर्तन र जेन–जीको एजेन्डा पक्रिँदा गगनले जनताको मन जितेकै देखिन्छ। तर, संसदीय एवं गणितीय राजनीतिमा ‘जनताको मन मात्रै जितेर पुग्दैन, खेल (गेम) पनि जित्नैपर्छ।’ यसमा चुके भने गगन–विश्वहरू कांग्रेसविहीन अर्थात् बुढो रूखको ओत पनि नपाउने अवस्था आउन सक्छ। किनभने, विशेष महाधिवेशन गरे पनि कांग्रेस विधानका व्यवस्था, पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा बहुमतका खेल हुनेछन्। 

निर्वाचन आयोगमा पार्टी आधिकारिताको लडाइँ पनि कम्ती चुनौतीपूर्ण हुने छैन। अर्कोतिर, संसदीय राजनीतिमा माहिर खेलाडी (शेरबहादुर देउवा) सँग पार्टी आधिकारिताको प्रमाण जुटाउन पक्कै पनि गगनहरूका लागि सहज हुने छैन। संसदीय राजनीतिका विकृतिले गाँज्दा विगतमा गणेशमान सिंहको ‘चारतारे झन्डा’ ओढेर अनन्त यात्रामा निस्कने सपना पूरा हुन पाएन। किसुनजीले पनि रूखको ओत छोडेर त्रिशूलको सहारामा राजनीतिको यात्रा अघि बढाउनु परेको थियो।

निश्चय नै, गगनहरूका पनि कमजोरी नभएका होइनन्। पार्टीको दोस्रो शक्तिशाली पद ओगटेकाले आन्तरिक संघर्ष गरेर पार्टी र नेतृत्वलाई रूपान्तरण हुन बाध्य पार्ने अस्त्र हातमै थिए। अर्कोतिर, संस्थापन पक्षको पछि लागेको भए वैशाखमा सिंगो कांग्रेसको नेतृत्व लिने ‘सुवर्ण अवसर’ थियो। किनभने, देउवाले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरिसकेका थिए। यसको समीक्षा इतिहासले आउँदा दिनमा गर्दै जाला।

कांग्रेस एक ढिक्का भएर चुनावको सामना गथ्र्यो। ‘पाकाको अनुभव, नयाँको नेतृत्व’ भन्दै विकाउ नारा लगाउने अवसर पनि थियो। तर, त्यसका लागि गगनहरूसँग समय थिएन–जेन–जीले भन्दै थियो–हातको हात परिवर्तन चाहियो।’ अब गगनहरूको यात्रा ‘पुराना र अस्वीकृत’ अनुहारसँग हुने छैन। नवयुवाको विश्वास जित्दै परिवर्तनप्रतिको तीव्र इच्छा र आकांक्षालाई सम्बोधन गरेर पार्टी हाँक्नुपर्नेछ। भलै, यो यात्रा तातो तावाभन्दा कम्ती जोखिम र चुनौतीपूर्ण छैन। 

सँगसँगै असफल हुने छुट पनि छैन। किनभने, गगनहरूको सफलताले मात्रै हरेक पुराना पार्टीलाई ‘पुस्तान्तरण र रूपान्तरण’ हुन बाध्य पार्ने छ। अन्यथा, कुनै पनि पार्टीमा अझै केही वर्ष गगनहरू ‘जन्मिने’ छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.