सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि प्रश्न उठ्न सक्छ : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादस्पद हुन सक्ने बताएका हुन्।
उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानुनी हिसाबले टेक्ने आधार बनाउनुपर्ने धारणा राखे।
सभापति थापाले हरेक प्रकरणको छानबिन हुनुपर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरमा ल्याउनुपर्ने आफूहरूको प्रस्ट धारणा रहेको उल्लेख गरे। उनले राहदानी छपाई प्रकरणमा पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने भन्दै सरकारले पनि कानुनी विधि प्रक्रियाको ख्याल गर्नुपर्ने बताए।
उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यस बारेमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !