त्यो कुरा कसैलाई नभन्नू है .!

स्रष्टा/सिर्जना

त्यो कुरा कसैलाई नभन्नू है .!

स्रष्टा पनि सर्वसाधारण नै त हो। उसले दिमाग खेलाउँदै संरचनामा ढालेर व्यवस्थित ढंगले सबैका लागि लेख्छ।

‘कसैलाई नभन्नू है’ भनेर एउटालाई भनेका कुरा उसले पनि ‘कसैलाई नभन्नू है’ भन्दै अर्कालाई भन्छ। साँच्चै, मान्छेको मनमा धेरै कुरा नअट्दो रहेछ। मन पनि गाग्री जस्तै रहेछ, पानी नसारे थप्दा पोखिएर खेर जाने। लाग्यो, पोखेर भुइँमा खेर फाल्नुभन्दा त कसैको मनमा सार्नु जाती। हो, मैले पनि यत्रो वर्ष एउटा कुरो मनमै राखें। मनको त्यही गाग्रोमा भर्दै लगें, अटाएन। लाग्यो, मनमा मात्र राखेर भएन। अरूको मनमा नसारे नयाँ कुरा भर्ने ठाउँ छैन।

स्रष्टाले यसैगरी आफ्ना कुरा अरूसँग नसाटे कसरी सिर्जना हुन्छ ? पुरुषोत्तम बजगाईंले पनि यसै गरेका हुन्, नीलो प्रेममार्फत। त्यही भएर माथिको सन्दर्भ उनलाई सारमा फुरेको हो। ‘कसैलाई नभन्नू’ भनिन्छ तर त्यही आडमा सबैकुरा भनिन्छ। यसरी भन्दा घाटामात्र हुने होइन, कैयौं सन्दर्भमा नाफा भएका उदाहरण छन्। मान्छेका मनमा कुरा नअटेका होइनन्, ऊ त कम्प्युटरभन्दा बढी क्षमताको हार्ड डिस्क भएको प्राणी हो। खासमा, कुरा ‘सेयर’ गर्नु भनेको मनमा नआटेर होइन– या त ‘यो कुरा’ले ऊ उकुसमुकुस हुन्छ र कसलाई सुनाउँ कसलाई सुनाउँ भनेर भनिदिन्छ वा ‘यो कुरा’ यसै मेसोमा भनिदियो भने अरूसामु पुग्छ र काम हुन्छ।

स्रष्टा पनि त यस्तै सर्वसाधारण नै त हो। फरक यत्ति हो, उसले दिमाग खेलाउँछ र यिनै कुरा संरचनामा ढालेर व्यवस्थित ढंगले सबैलाई काम लाग्नेगरी लेख्छ। २५ वर्षदेखि आमसञ्चारको अभ्यासकर्मी, विद्यार्थी अनि शिक्षक पनि भएकाले भनिरहन्छु, अन्ततः सञ्चार चाहिन्छ, हुनैपर्छ नत्र संसार कसरी चल्छ ? कुनै व्यक्ति सञ्चार होला, कुनै अन्तरव्यक्ति। कुनै सामूहिक सञ्चार होला त कुनै सांगठनिक। अनि कुनै आमसञ्चार। सञ्चार निरन्तर प्रक्रिया भएरै त आजसम्म विगत थाहा पाइरहेका छौं, विश्व बुझिरहेका छौं।

बजगाईंले पनि ‘नीलो प्रेम’ नामक गाग्रीमा शब्दको पानी भरे जुन अरूले पिइरहेका छन्। तिर्सना मेटाइरहेका छन्। पुस्तक पनि आमसञ्चारको एउटा अंग हो। यो त झनै सबैभन्दा पुरानो विधा मानिन्छ। समय सूचना–प्रविधिको हो। यो २१औं शताब्दीमा कृत्रिम बौद्धिकता (एआई)ले विश्वभर कब्जा जमाइसकेको छ। तर पनि पुस्तक अपरिहार्य छ र त लेखक बाँचेका छन् र संसारलाई बचाइरहेका छन्। तिनैमध्येका एक हुन् उनी। काभ्रेपलान्चोकको नाला, काँक्रेमा जन्मेका नीलो प्रेमका उपन्यासकार बजगाईं अमेरिका बस्छन्। त्यहीँको कोलम्बिया विश्वविद्यालयबाट कम्प्युटर साइन्स अध्ययन गरे। तर पनि नेपाली साहित्यमा कलम चलाउँछन्। त्यसैले सायद, ‘नेपाली पढ्न लेख्न गाह्रो छ’ भन्ने गलत भाष्यलाई मेटाउँदै नेपाली भाषा, साहित्य र संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गराउन उनी प्रयत्नशील छन्।
‘के गर्दै ?’ मैले सोधें त्यही बेला।
‘वर्षाले के गर्छे ?’, कुनै दिन मैले नै सोधे झैं सोधी।
उसैको तरिकामा जबाफ दिएँ, ‘त्यो त तिमीलाई नै 
थाहा होला।’
‘वर्षा बादलभित्र लुक्छे’, सिको गर्ने क्रम जारी राखी।
‘किन लुक्छे बादलभित्र ?’, मैले सोधें।
‘आकाशले देख्छ भनेर।’
‘आकाशले देखे के हुन्छ ?’
‘थाहा छैन।’
‘किन ?’
‘त्यो पनि थाहा छैन।’
‘त्यसो भए के थाहा छ त ?’
‘थाहा छ कि बादलभित्र आकाशको मन छ।’
उसको जबाफले गद्गद् भइसकेको थिएँ। सोधें, ‘उसो 
भए वर्षाको मन चैं कहाँ छ त...?’

आकाश र वर्षा नीलो प्रेम उपन्यासका मूल पात्र हुन्। त्यसभित्रको यो संवादले स्रष्टाको सिर्जनात्मक खुबी उजागर गरेको छ। नामसँग जोडेर गरिएको यो संवाद, यो संवादभित्रको जिज्ञासा, प्रश्न, द्वन्द्व ! ‘आकाश खुलेपछि वर्षा हुन्छ’, बजगाईं भन्छन्, ‘अनि उज्यालो फराकिलो प्रेम नीलो प्रेम। शान्त र शीतलताको प्रतीक हो, नीलो रंग।’ किताबको आवरणमा नीलो आकाशमात्र छैन, नीलो छाता छ। जुन ओढेर एक जोडी युवा मौन मनोवादमा लठ्ठ छन्, आफ्नै संसारमा। साक्षी छ त केवल नीलो आकाश। उनको पहिलो प्रकाशित कृति हो, नीलो प्रेम।

२१औं शताब्दीमा कृत्रिम बौद्धिकता (एआई)ले विश्वभर कब्जा जमाइसकेको छ। तर पनि पुस्तक अपरिहार्य छ र त लेखक बाँचेका छन् र संसारलाई बचाइरहेका छन्।

‘कतै सुनेको कथा हो, आख्यानीकरण गरें। मनमा गुम्स्याएर कसलाई थाहा हुन्छ र ?’, बजगाईं भन्छन्, ‘कोभिडको समयमा लेख्दै, माझ्दै, थप्दै गरें। १ लाख १५ हजार हाराहारी शब्द कोरेछु। सरल भाषामा जस्तो बोलिन्छ त्यस्तै लेखेछु। पाठक तानिए।’ उनलाई लागेको छ, ‘प्रेम त बैंसमा हुन्छ जुन गुलाबी उमेर हो तर मैले त्यसलाई नीलो भनें र त पाठकले नयाँ परिभाषा रुचाए।’ 

‘‘घरमा दिनरात खट्ने आमालाई केही सहयोग गर्ने इच्छा भने हुँदैन। लडेको गिलास पनि उठाइदिँदैनन्। ‘ए बाबू, जा त पँधेराबाट एक गाग्रो पानी ल्याइदे’ भन्दा ‘सक्दिनँ म’ भन्दै झर्केर घरभित्र छिर्ने सन्तानहरू खाटमा बसी फेसबुकमा लेख्छन्, ‘ह्याप्पी मदर्स डे।’’ समाजको चित्र ठ्याक्कै उतारेपछि, युवाको मनका कुरा दुरुस्तै लेखिदिएपछि लेखकलाई तिनले नपत्याएर सुख ? भएको यही हो। युवाको मुटुमा नीलो प्रेम झांगिएको छ। उपन्यास युवामा केन्द्रित छ। युवावस्थाको प्रेम बीज बनेको छ, नीलो प्रेमको माटोमा। उम्रिएको छ, युवाप्रेमको बोटले छहारी खोज्ने सबैलाई शीतलता प्रदान गरेको छ। आधा भागसम्म यसरी अघि बढेपछि बाठा लेखकले दाजु–बैनीको प्रेमलाई थाहै नपाई घुसाइदिएका छन् र जोडेका छन् परिवारलाई। यी सबैलाई समाजसँग र मस्तले पढाएका छन् सामाजिक सम्बन्ध।

‘इष्टमित्र, साथीभाइ सारा नेपालमा थिए। म के गर्न अमेरिका बस्थें र ? पैसाका लागि ? पैसाले पाइँदा रहेनछन् ती सारा मानिस र नपाइँदो रहेछ ती मानिससँगै बसेर जीवन बिताउनुको मजा। पैसाले के गर्छ र ? जब भाइटीकामा निधार खाली हुन्छ। अमेरिकामा घर त हुन्थ्यो होला तर त्यस घरमा बस्नुको के अर्थ जब इष्टमित्र भेला गरेर चाडपर्व मनाउन नपाएपछि ? गाडी त हुथ्यो होला तर त्यस गाडीमा चढ्नुको के मजा जब नेपालमा रहेका परिवार र आफन्तको त्यस्तो गाडी चढ्ने रहर रहरमै सीमित भएपछि ?’, उपन्यासकारले अमेरिकालगायत पुगेकालाई नेपाल फर्काउने प्रयत्नमा यसरी कथा बुनिरहेको पाएँ नीलो प्रेममा, ‘जीवनको हरक्षण आफ्नाबीच बिताउने सपना थियो मेरो। परदेशमा बस्नु त सपना नै थिएन। गाउँघरमा हुने विवाह, व्रतबन्धमा सरिक हुन नपाएपछि, अप्ठ्यारो पर्दा सहयोगी हात बढाउन नपाएपछि के गर्छ र पैसाले ?’

एकभित्र अनेक विषय उधिन्न सफल छन् बजगाईं। अर्थात्, नीलो प्रेमभित्रका विषयले युवालाई जीवन सिकाएका छन्, जगत् बुझाएका छन्, सम्बन्धहरू सुझाएका छन्, समस्या र समाधान पढाएका छन्, स्वदेश र विदेश चिनाएका छन्, प्रेम र पीडा पस्किएका छन्, पैसा र प्राप्ति पिलाएका छन्। र, अन्त्यमा उनले उपन्यासलाई यसरी टुंग्याएका छन् कि मानौं पाठकले अर्को नीलो प्रेम खोजोस्। पात्र (आकाश, वर्षा, आरती, गरिमा, जागृति, विनोद आदि) चयनदेखि प्रकाशक (इन्डिगो इन्क) चयनसम्म।

बहुअर्थी रूपमा आएको पुरुषोत्तम बजगाईंको नीलो प्रेममा नीलो आकाश झैं फराकिलो प्रेम छैन कि नीलो सागर झैं हार्दिकताको गहिराइ छैन ? स्रष्टाले युवालाई दिन खोजेको प्रेमको सन्देशले जीवनलाई खुलेको नीलो आकाश झैं उज्यालो बनाउने सन्देश दिएका छन्। एक जोडीको प्रेमकथामा आधारित यो उपन्यासभित्र मित्रता, पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध र त्यसभित्रका जीवनका आरोह–अवरोह सबै छन्। पाठकलाई सँगसँगै हिँडाइरहने क्षमता उपन्यासकारमा छ र घुमिसकेपछि पाठकले किताब बन्द गर्छ तर पनि उसको मनमस्तिष्क भने घुमिरहन्छ।

‘कसैलाई नभन्नू है’ भनेर एउटालाई भनेका कुरा उसले पनि ‘कसैलाई नभन्नू है’ भन्दै अर्कालाई भन्छ।’ कति जाती हुन्थ्यो होला ! सबै पाठकले पढेका किताबबारे यसैगरी अरूलाई ‘कसैलाई नभन्नू है’ भनेर भन्दै हिँडे ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.