फुकन्ता फुकेट !

फुकन्ता फुकेट !

फुकेट पुग्नु अनि बुद्धलाई नभेट्नु ! फुकेट पुग्नु, वाट चालोङ नपुग्नु ! यो हुन सक्दैन। ‘स्पिरिच्युअल सिम्बोल’ मानिने यो मन्दिर थाइल्यान्डका सबैभन्दा पवित्र मन्दिरमध्ये एक रहेछ। जहाँ भगवान् गौतम बुद्धको हड्डीको अवशेष छ।

त्यस्तो टापु पुग्दैथियौं, जुन भूगोल र जनसंख्या दुवैका हिसाबले त्यो देशको सबैभन्दा ठूलो रहेछ। त्यो देश जहाँ खास गनिएका टापुहरूको संख्या १ हजार ४ सय ३० ! उसो त चान्केचुन्के सबै जोड्दा झन्डै १८ सय टापु रहेछन्। तीमध्ये सबैभन्दा विशेष टापु– हाम्रो गन्तव्य। वाउ !
खास कुरो त बाँकी नै छ। विश्व पर्यटनको गतिलोमध्येको एक ‘डेस्टिनेसन’, थाइल्यान्ड। अनि थाइल्यान्डको सबैभन्दा गतिलो ‘गन्तव्य’ अर्थात् ‘डेस्टिनेसन’ चाहिँ ‘फुकेट’। र, हामी १२ जनाको गन्तव्य पनि त्यही फुकेट। फरक थियो, अरू र हाम्रो गन्तव्यको लक्ष्य र उद्देश्य चाहिँ। अरू घुम्न, रमाउन तर हामी ज्ञान लिन अनि अग्निपरीक्षा दिन।

५ सय ७६ वर्ग किलोमिटर क्षेत्रफलमा समुद्रझैं लमतन्न सुतेको फुकेट हरिया रुखहरूको आकाश ओढेझैं थियो। जसले ४ लाख १६ हजार जनसंख्या (सन् २०२३)लाई स्थायी छहारी दिएको रहेछ। त्यसो त बढीमा वार्षिक पर्यटक १ करोड ८० लाख (सन् २०२३)लाई समेत फुकेटले स्वागत गरिसकेको रहेछ। कोभिड–१९ को वर्ष डेढ करोड पर्यटक पाउँदा खुसीले नाचेको फुकेट (थाइल्यान्ड)ले २३ मा आफ्नै रेकर्ड ब्रेक गरेको रहेछ। जब हामी नेपाली २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दैछौं।

पहिले सुवर्णभूमि, अहिले डोन मुएङ : तीन घण्टा जतिको हवाईयात्रापछि एयर एसियाले आफ्नो गतिमा ब्रेक लगायो, ‘डोन मुएङ इन्टरनेसनल एयरपोर्ट’ बैंककमा १९ वैशाख २०८२ (२ मे २०२५) का दिन। पहिलो पटक २०७४ वैशाख (सन् २०१७ मे)मा नेपाल एयरलाइन्सबाट ‘सुवर्णभूमि इन्टरनेसनल एयरपोर्ट’, बैंककमा ‘ल्यान्ड’ भएथ्यौं हामी दुई। हुन त त्यसबेला त १६ जनाको समूह थियो, पतायासम्मको भ्रमणमा।
थाइल्यान्डमा ६ मुख्य अन्तर्राष्ट्रिय एयरपोर्ट रहेछन्, फुकेट, चियाङ माई, माए फाह लुआङ–चिआङ राई र हाट याईसमेत गरी। यस्तै, अन्य चार छन्। ३९ कमर्सियल सर्भिस एयरपोर्ट छन्। थाइल्यान्डमा जम्मा १ सय ३ एयरपोर्ट रहेछन्। सुवर्णभूमि एसिया प्यासिफिकमा दोस्रो उत्तम एयरपोर्ट। स्काईट्र्याक्स र्‍यांकिङमा यो विमानस्थल ३९औं ‘वल्र्डस् बेस्ट एयरपोर्ट’मा दर्ज छ, २०२५ मा। डोनचाहिँ ‘वल्र्डस् बेस्ट लो–कस्ट एयरलाइन टर्मिनल्स्–२०२५’ मा आठौं उत्कृष्टमा परेको एयरपोर्ट। जुन अघिल्लो वर्ष १०औं नम्बरमा रहेछ।

त्यसबेला कान्तिपुर होलिडे यात्राको माध्यम थियो, यस पटक पीएसयू (प्रिन्स अफ सङ्क्स्ला युनिभर्सिटी)। उसबेला सिंगापुर र त्यसपछि मलेसिया पनि घुमेथ्यौं हामी दुई। यी दुई देशमा ११ जनाको टोली। पाँच जनाले थाइल्यान्डका लागि मात्र योजना बनाएका रहेछन्। त्यो सबै समूह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भेट हुँदा चिनजान भएथे। यस पटकका १२ भने एक वर्षदेखि आपसी चिनापर्चीका हामी।
२०७४ मा ११ दिने यात्रा, २०८२ मा दुई साताको। त्यसबेला सुवर्णभूमि ल्यान्ड भएलगत्तै पताया पुर्‍याएको थियो होलिडेले सोही साँझ ८ बजेतिर। तर, यस पटक डोन मुएङ एयरपोर्टबाट आफैं रिजर्भ गरेर स्पेसल माइक्रोबसको यात्रा रातभर रह्यो फुकेटका लागि। दुई अन्तर्राष्ट्रिय एयरपोर्ट सुवर्णभूमि र डोन मुएङबीच ४४ किलोमिटर दूरी रहेछ। सुवर्णभूमिबाट साँझ रुट नम्बर ७ बाट डेढ घण्टामा १ सय २२ किलोमिटर पर पताया पुगेथ्यौं त्यसबेला। यसबेला भने डोन मुएङ (डीएमके)बाट एएचटू हुँदै १६ घण्टे यात्रा गरेर ८ सय ६२ किलोमिटर दूरीको दक्षिणी थाइल्यान्ड फुकेट पुग्यौं। फुकेट–पताया दूरी चाहिँ झन्डै एक हजार किलोमिटर (९७५)।

बैंककदेखि फुकेटसम्म : विदेश यात्रामा सिंगापुरदेखि मलेसियाको ५ सय १६ किलोमिटर दूरीको डिलक्स बस यात्रा झन्डै सात घण्टा लगाएर गरेथ्यौं हामी दुई (जीवनसंगिनी कमला)ले। यो नै विदेशको लामो सडक यात्रा थियो, २०७४ को। तर, बैंककदेखि फुकेटको यो यात्राले त्यो रेकर्ड तोडेको थियो। साँझ ९ देखि भोलिपल्ट १ बजेसम्म। तर यो स्वाद लिनु नै थियो हामीलाई। थाइल्यान्ड घुम्ने सुनौलो अवसर ठान्यौं भुइँबाट र रोजेका थियौं सडक यात्रा आफू अनुकूलको रिजर्भ माइक्रोको।

धेरैले थाहा पाउनु भएको छैन सायद, बैंककको खास नाम। गिनिज वल्र्ड रेकर्ड राख्न सफल बैंककको खास नाम रहेछ, ‘क्रुङथेप्महनाखोन एमोन्रत्तनाकोसिन महिन्थरयुत्थय महडिलोक्फोप नोप्फारट्रचथनिबुरिरोम उडोम्रत्चनिवेत्महसथान अमोन्फििमनवतत्सथिट सक्कथत्तीयाविट्सनुकम्प्रसिट’। पहिलो थाइल्यान्ड यात्रामा यस्तो विशेष विषय पत्तै भएन। जब पुनः बैंकक हुँदै फुकेट जाँदैछौं भनेर यसो गुगल सर्चमा हराएँ, तब पो थाहा पाएँ। सञ्चारकर्मी भएपछि थाहा पाएको छु, सूचनाको महत्त्व कति हुन्छ भनेर !

विद्यानाथ भट्टराई, रीता अधिकारी, तरुणरञ्जन दत्त, शिरोमणि दवाडी, नीरु केसी, आत्माराम थापा, माधव भट्टराई र पंक्तिकारका यो यात्रा थियो फुकेटस्थित पीएसयूसम्मको। सूर्यप्रसाद न्यौपाने र सुनील नेपाली केही दिनअघि 
पुग्नुभएथ्यो। पीएचडी क्यान्डिेट हामी सबै पहिलोपटक आफू अध्ययनरत विश्वविद्यालय पुग्दैथियौं। जब नयाँ र सुन्दर दृश्यहरू एकपछि अर्को आँखामा आउँछन्, छाउँछन्, तब यात्रा जतिसुकै लामो किन नहोस्, स्वादिलो हुन्छ। झन्डै १६ घण्टा लामो बैंकक–फुकेट यात्रा अविस्मरणीय बन्यो हामी ९ को। कहिलेकाहीँ काठमाडौंदेखि झापा पुग्दा पनि मैले करिब पाँच सय किलोमिटर दूरीमा १८ घण्टे माइक्रोयात्रा गरेकै हुँ। दूरीका हिसाबले झन्डै दोब्बर यो यात्रा भने ठाउँमा भने जसरी यात्रा गर्दा समय लम्बिएकै हो।

तर हामी फर्कंदा ‘नाइट बस’को अनुभव पनि लिँदै फर्कियौं, त्यो पनि १० घण्टामै फुकेट–बैंकक। प्लेन बरु ‘डिले’ हुन्छ, घण्टा, डेढ घण्टा। यो बसले एक मिनेट पनि ढिलो गरेन। बस स्टेसन पनि नेपालको सानोतिनो एयरपोर्टजत्रै। चालक पाइलटजस्तै लाग्ने। बस चढ्नुअघि स्टेसनमा टिकट लिने र चेकिङ गर्ने काम पूरै सिस्टेमेटिक। कर्मचारी पनि ड्रेसमै। बैंकक–फुकेट प्लेन यात्रा भने १ घण्टा १५ मिनेटको रहेछ। भविष्यमा ४–५ घण्टामै ‘हाई स्पिड रेल’बाट बैंकक–फुकेट गर्ने अवस्थाको 
थाइल्यान्ड सरकारले व्यवस्था (योजना) गर्दै रहेछ।

संसार सडक र हवाई सञ्जालको : सडकलाई विकासको मूल आधार मान्ने म दुई दशकदेखि विकास पत्रकारितामा कलम चलाउँदैछु। अहिले फुकेटस्थित प्रिन्स अफ सङ्क्स्ला युनिभर्सिटी (पीएसयू), थाइल्यान्डमा गरिरहेको विद्यावारिधि यसैको प्रभाव हो। र, रिसर्चको विषय पनि ‘विकास र वातावरण’ नै बनाएको छु। डिजिटल डिप्लोमेसीमा पीएचडी गर्ने प्रयास सडकजस्तै उकालो–ओरालो र घुमाउँरो यात्रा गर्दै ‘इको–फ्रेन्डली रोड कन्स्ट्रक्सन’मा पुगेको छ। यसको ‘पोलिसी’ र ‘प्राक्टिस’बीच के, कति र कस्ता ‘ग्याप’ छन्, अनुसन्धान गर्दैछु। लाग्छ, विश्वभर सडकमा यही ‘ट्रेन्ड’ देखिएको छ। र, अब नेपालमा यो अत्यावश्यक हुँदैछ।

नेपालमा करिब एक लाख किलोमिटर सडक निर्माण भएको छ। तर दुर्भाग्य एक तिहाई सडकमा मात्र बाह्रैमहिना सवारीसाधन चल्छन्। जबकि थाइल्यान्डमा चार लाख किलोमिटर सडक सञ्जाल रहेछ। जुन चार भागमा वर्गीकृत छ, नेसनल हाइ–वे ५० हजार, ग्रामीण सडक ५० हजार, एक्सप्रेस–वेज २०७ र पालिका सरकार मातहतमा तीन लाख किलोमिटर सडक रहेछ।

बैंकक–फुकेट विकास यात्रा कठिनदेखि आर्थिक धमनीसम्मको पाइयो। ‘पृथकताको युग’ भन्थे थाई नागरिक सन् १९६० अघिलाई त्यहाँ। त्यसबेला राजधानीदेखि फुकेट पुग्न एक साताभन्दा बढी लाग्ने बाटो नै हिँडेका थियौं हामी यसबेला। जतिबेला पर्यटन होइन, टिन र रबर खानीले चिनिन्थ्यो फुकेट। पहाडी जंगली यात्रा त्यो पनि सानो साँघुरो सडकमा। अहिले ‘इको–फ्रेन्डली’ फराकिला सडक हिँड्न पायौं। कैयौं ठाउँमा फेरीको प्रयोग गर्न बाध्य थिए त्यसबखत यात्रु। सन् १९७० देखि १९९० सम्म सडक सञ्जालमा क्रान्ति भएको रहेछ त्यहाँ र त पर्यटनले फड्को मार्न थालेछ।
फुकेट प्रान्त हो थाइल्यान्डको, र सहर पनि। पेटकासेम हाइवे (हाइवे–४) हो, बैंकक–फुकेट सडक सञ्जाल। फुकेट टापु प्रवेश गर्न फेरी प्रयोग गर्न बाध्य थाई नागरिक सन् १९६७ मा सारामिन पुल बनेपछि युद्ध जिते झैं देखिएका रहेछन्। सन् १९८०–२००० ले दियो अर्को कायापलट फुकेटलाई, फुकेट अन्तर्राष्ट्रिय विमानस्थल। सैन्य विमानस्थल नै बनेको रहेछ अहिले अन्तर्राष्ट्रिय। एसियामात्र होइन, युरोप, अमेरिका, अस्ट्रेलियाबाट सिधा उडान हुन्छ जहाँ। धेरै एयरलाइन्सको डेस्टिनेसन अर्थात् बैंकक–फुकेट विश्वकै व्यस्त उडान मार्ग बनेको छ।

फुकेटमा पीएसयूले गरेको स्वागत : फुकेटलाई फुकन्ता भेटें अर्थात् पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको । जब तपाईं फुकेटबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागमा सबैभन्दा पहिले के आउँछ ? थाइल्यान्डको प्राचीन फुकेट पुगेपछि सबैलाई हुटहुटी लाग्न सक्छ, फुकेट म्युजियम घुम्ने। संग्रहालय पस्नेबित्तिकै यही माथिको प्रश्न पाउनु हुनेछ। पुनः सर्वप्रथम उठान गरेको प्रश्नलाई जोडौं। सम्भवतः डिस्कोभर फुकेट पढिसकेपछि पक्कै फरक धारणा बनाउनुभयो तपाईंले फुकेटबारे। धेरैले सुनेको खुला यौन व्यापारको पक्षलाई फुकेट र पतायाको नाम 
जोड्ने गरेको पाइन्छ, जुन स्वाभाविक पनि होला।

तर, संग्रहालय पसेपछि (त्यसपछि फुकेट घुमेपछि) थाहा हुन्छ, फुकेटमा सर्वस्व छ। संग्रहालय पस्नेबित्तिकै देखिन्छ, ‘डिस्कोभर फुकेट, ह्वेयर एभ्रीवान नोज एबाउट। ह्वेन यु थिंक अफ फुकेट, ह्वाट कम्स टु योर माइन्ड फस्ट ?’ तल जवाफ लेखिएको छ, सी (समुद्र), टिन माइनिङ, ट्र्याडिसनल, फुकेट लोकल फुड, फुकेट ओल्ड टाउन र लर्निङ सेन्टर।

यी सबैले स्वागत गरे हामीलाई पाहुना झैं। सर्वप्रथम स्वागत गरेको थियो, हाम्रै विश्वविद्यालय पीएसयूले। हरियो रंगको छाता ओढे झैं विश्वविद्यालय परिसर प्रवेश गरेपछि निस्कनै मन नलाग्ने। त्यो फराकिलो परिसरभित्रको ज्ञानको ऊर्जाले लट्ठ बनाएर तानिरह्यो पहिलो दिन साँझैसम्म। जहाँ डेढ दशकपछि तीन घण्टा हातैले लेखेर एउटा परीक्षा दियौं। कम्प्युटर, ल्यापटप र इन्टरनेट अझ च्याट जीपीटीको जमानामा तीन घण्टा दिमाग खेलाएर हस्तलिखित परीक्षा ! तर त्यसले धेरैपछि स्व–मूल्यांकन राम्रै गर्‍यो, भव्य लेखन–दिव्य परिणाम ! अनौठो अनुभूति !

विश्वविद्यालय पुगेर फर्किएसँगै सोही यात्रा अवधिमा जीवनको विश्वविद्यालयबाट जीवनयापनसम्बन्धी महत्त्वपूर्ण पाँच नियम सिकें, जसले आफूलाई सहयोग गरिरहेछ, उसलाई कहिल्यै नबिर्सनू। जसले आफूलाई विश्वास गरिरहन्छ, उसलाई कहिल्यै नचिढ्याउनू। जसले आफूलाई निरन्तर साथ दिन्छ, उसलाई कहिल्यै वेवास्ता नगर्नू। जसले आफूलाई दृश्य/अदृश्य स्वरूपमा माया गरिरहन्छ, उसलाई कहिल्यै घृणा नगर्नू। अनि, जसले आफूप्रति दयाभाव/सद्भाव राखिरहन्छ, तिनबाट कहिल्यै फाइदा नलिनू।

रंग हिल, म्युजियम फुकेट र नाइ हार्न बिच : फुकेट सिटीको मुख्य दृश्य स्थान भनेको खाओ रंग अर्थात् ‘रंग हिल’ हो, जुन सहरको केन्द्रबाट उत्तरपश्चिममा छ। त्यहाँबाट हामी १२ स्कलरले सहर, वरपरका पहाड र टापुको दक्षिण भागको ‘पानारामिक भ्युज’ गजबले नियाल्यौं। अन्य लोकप्रिय दृश्य स्थान पनि टाढैबाट दृष्टि पुर्‍यायौं। नक्कर्ड हिलमा रहेछ, ‘फुकेट बिग बुद्ध’। जहाँबाट चिहायौं, सहर र समुद्री तटहरूको ३६० डिग्री भ्यु। इतिहासले भन्यो, ‘फुकेट कुनै बेला जंगल थियो 
र यहाँका जनता माछा मार्ने फिसरम्यान।’
‘म्युजियम फुकेट’ दोस्रो गन्तव्य हाम्रो। थाहा पायौं, ‘माइनिङ’ फुकेटको ‘लाइफ ब्लड’ रहेछ। यो सहरको स्थापनासँग टिन खानीको इतिहास जोडिएको रहेछ, १९औं र २०औं शताब्दीको प्रारम्भ। जसमा चिनियाँ, मलेसियाली र थाईहरू आकर्षित भएका रहेछन्, अवसरको खोजीमा यो टापुमा। क्रमशः तिनले बढ्दो समुदायका लागि आधारभूत संरचना जस्तै सडक, आवास र अन्य सुविधाको विकासमा योगदान पुर्‍याएका रहेछन्।
समयसँगै, खानीका शिविरहरू एक व्यस्त सहर ‘फुकेट सिटी’को स्वरूपमा विकास भयो। खानीलगायतले अर्थतन्त्र वृद्धि भयो। यो संग्रहालयले फुकेटको विगतदेखि वर्तमानसम्मको इतिहास बोकेको छ। सुन्दर समुद्री तटहरू, समृद्ध संस्कृति र जीवन्त इतिहासका कारण आजको फुकेट बर्सेनि करोडौं पर्यटकका लागिसमेत लोकप्रिय गन्तव्य बनिरहेछ।

‘डिस्कोभर फुकेट’ योजनामा पीएसयूले हामीलाई सहरभन्दा पर पुर्‍यायो, दक्षिण फुकेटको ‘नाई हार्न बिच’। मध्याह्न १२ बजेको चर्को घाम। नीलो खुलेको आकाश। नरम बालुवाको स्पर्शसँगै गहिरो तर नीलै समुद्रबाट छालहरू हामीलाई छुन आइरहन्थे निरन्तर। समुद्रले स्वागत गर्दैमा हामी त्यहाँ रमाउन कहाँ सक्थ्यौं र ? समयले हाम्रा पाता कसेको थियो। बालुवामा ‘सन बाथ’ लिइरहेकादेखि समुद्रको छालमा आनन्दले तैरिरहेकाहरूको मजा मनभरि पोको पार्दै केहीबेरमै बाईबाई गर्न बाध्य भयौं हामी।

सामुद्रिक किनारहरू (सी बिच)मा भेटिने स्वर्ग : फुकेट पुगेपछि थाहा भयो, यो सहर/प्रान्त त अन्डामान समुद्रमा अवस्थित रहेछ जुन इन्डियन ओसन बेसिनको एउटा भाग रहेछ। अन्डामान समुद्र नीलो–हरियो र सफा पानीका कारण पर्यटक लोभ्याउन सफल रहेछ। ‘भ्राइब्रेन्ट मारिन लाइफ’ र सहर आसपासका अनगिन्ती आइल्यान्डले यसको आकर्षण सबैलाई लोभ्याउने खालको पाएँ।

  •   पाटोङ बिच फुकेटको सबैभन्दा लोकप्रिय र ठूलो समुन्द्री तट (बिच)। जीवन्त वातावरण (लाइभली एटमोसफेयर), जल खेल (वाटर स्पोर्टस्) र चलायमान रात्रिजीवन (भाइब्रेन्ट नाइटलाइफ)का कारण यसले कसलाई नलोभ्याउला र !
  •  कारोन बिच पनि लामो समुद्री किनारमध्ये एक। बालुवाको साम्राज्यमा मजाले लडिबुडी गर्न पाइने यो किनार ‘सिंगिङ स्यान्ड’ अर्थात् यो बालुवामाथि हिँड्दा खुट्टाले आवाज निकाल्छ, मानौं खुट्टाले बालुवाको संगीतसँगै गीत गाइरहेछ। साथमा, सूर्यास्तको दृश्य उत्कृष्ट लाग्छ जहाँ।
  • काता (नोइ) बिच पारिवारिक समुद्री तटले परिचित छ। सर्फरहरूका लागि झनै लोकप्रिय। फुकेटको दक्षिणी भागमा रहेको यो सानो र शान्त खाडीले चिनिन्छ।
  •   कमला बिच जहाँ परिवारका लागि सबैभन्दा उपयुक्त गन्तव्य। शान्त वातावरण र आरामदायक अनुभवले 
  • सधैं सबैलाई तानिरहन्छ।
  •  नाई हार्न बिच पनि दक्षिण दिशामै लमतन्न सुतेको छ। कम विकसित समुद्री किनार भए पनि यो विल्कुल शान्त छ। 
  • जहाँ पुग्दा हामीले तीनतिर हरियाली महसुस गर्न पायौं।
  • बाङ ताओ बिच जसको दक्षिणी भागमा सुविधा सम्पन्न रिसोर्टहरूले यहाँ पुग्नेहरूलाई तान्न सफल छ। तर 
  • उत्तरी भाग भने शान्त छ।
  • फ्रिडम बिच सेतो बालुवाले परिचित छ। सुन्दर समुद्री तट भए पनि लामो टेल बोटबाट मात्र पुगिने भएकाले कमै पर्यटक मात्र यहाँ पुग्छन्। त्यसैले पनि यो प्रायः शान्त देखिन्छ।

फुकेट र आसपास घुमेपछि लाग्यो, यो अन्डामान समुद्रका सुन्दर/आकर्षक र लोभलाग्दा टापुसँगै खाडीहरूको प्रवेशद्धार (गेट–वे) हो। प्रसिद्ध माया–बेसहितको फि फि सामुद्रिक टापू, जुन फुकेटमात्र होइन, थाइल्यान्ड पुग्ने पर्यटककै गन्तव्य बन्छ। क्राबी प्रान्तमा पर्ने यो फि फि आइल्यान्ड पुग्नेलाई लाग्नेछ, स्वर्ग झैं लाग्ने प्रकृतिको यो हरियाली सामुद्रिक सुन्दर संसारमै हराइरहूँ।
हजारौं पर्यटक फुकेट गन्तव्य बनाउँछन् र फि फि पुग्छन् तर फि फिलाई नै गन्तव्य बनाउने पर्यटकको पनि कमी छैन। त्यसो त यहाँका सिलिमान टापुहरू डाइभिङ र फाङ न्गा खाडी जेम्स बन्ड टापुजस्ता चुना पत्थरका पहाडहरूका लागि प्रसिद्ध रहेछन्। सबै दृश्य पान गर्ने पर्यटकले फुकेटलाई अवश्य भन्नेछ, स्वर्गको एउटा टुक्रा त यहाँ पनि पो रहेछ।

फुकेटमा बुद्धको हड्डी र वाट चालोङको चर्चा : फुकेट पुग्नु अनि बुद्धलाई नभेट्नु ! फुकेट पुग्नु अनि वाट चालोङ नपुग्नु ! यो हुन सक्दैन। १९औं शताब्दीको सुरुतिरै बनाइएको वाट चालोङलाई वाट चायाथाराराम पनि भनिँदो रहेछ। पीएसयूले ‘डिस्कोभर फुकेट’मा हाम्रो अर्को गन्तव्य बनाएको यो ठाउँ फुकेटको सबैभन्दा महत्त्वपूर्ण र ठुला मन्दिरमध्ये एक रहेछ। सहरको ऐतिहासिक स्थानले परिचित यो फराकिलो ठाउँमा मुख्य भवन, फ्रा महाथात चेडी र अन्य थुप्रै साना संरचना रहेछन्।

‘स्पिरिच्युअल सिम्बोल’ मानिने यो मन्दिर थाइल्यान्डका सबैभन्दा पवित्र मन्दिरमध्ये एक रहेछ। जहाँ भगवान् गौतम बुद्धको हड्डीको अवशेष रहेको मान्यताका कारण यो स्थल ऐतिहासिक मानिएको रहेछ। श्रीलंकाबाट ल्याइएको बुद्धको उक्त हड्डीको काँचको प्रदर्शनमा पनि अवलोकन गर्न सकिन्छ। जुन मन्दिरमा छायाँ, मध्य र पूर्वोत्तर थाइल्यान्डको वास्तुकला हेर्न पायौं। जसमा चम्किला रंग र अत्यन्तै जटिल किसिमको डिजाइन देख्यौं। मनमोहक वास्तुकलासँगै भित्तामा बुद्धको जीवनको चरित्र चित्रण गर्ने भित्ते पेन्टिङ पनि प्रशस्त पायौं। जसले बुद्धको जीवनको कथा र उपदेशलाई चित्रण गरेको रहेछ।

वाट चालोङको अर्को मुख्य आकर्षण रहेछ, फ्रान्सको आइफेल टावरजस्तै लाग्ने आकर्षक र भव्य संरचना फ्रा महाथात चेडी।  भवनको सुनौलो बाहिरी भाग जटिल डिजाइन र सावधानीपूर्वक कोरिएका आकृतिहरूले कसलाई नलोभ्याउला र ? तीन तले यो ६१ मिटर अग्लो चेडीमा ३६ बुद्धका मूर्तिहरू र माथिल्लो तलामा बुद्धको हड्डीको एउटा पवित्र टुक्रा राखिएको छ।

फ्रा महाथात चेडीको वास्तुकला र आस्थाले जोकोही पर्यटकलाई एक अद्वितीय अनुभव प्रदान गर्नेरहेछ, जसले आगन्तुकहरूलाई बुद्धको शिक्षासँग गहिरो सम्बन्धमा जोडिन लोभ्याउने रहेछ। बुद्ध जन्मिएको देशबाट पुगेका हामी फुकेटको वाट चालोङमा अर्को लुम्बिनी भेट्यौं, देख्यौं, रम्यौं।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.