होटलको लोकतन्त्र

होटलको लोकतन्त्र

राजनीति अब विचारको मञ्च होइन, व्यापारको बजार बनेको छ। जहाँ शपथग्रहण पनि औपचारिकता होइन, अवसर बनेको छ। जहाँ संसद्को भूमिका क्षीण हुँदै गयो, होटलका कोठाहरू निर्णय केन्द्र बनेका छन् र जहाँ जनताको विश्वास अब शपथको शल्यकक्षमा होइन, भोजको बिलमा हराइरहेको छ।

रातको अँध्यारो होस् वा बिहानको मिर्मिरे, होटलका कोठाहरू झिलिमिली बन्छन्। कुनै अमुक होटलको अमुक कोठामा देशको भविष्यको नक्सा कोरिन्छ, संसद्को बत्ती मन्द रूपमा निभाइन्छ। नीति, नैतिकता र निष्ठा सबै कफीसँगै उम्लिन्छन्। चियाको बाफसँगै वाचा, प्रतिज्ञा पनि आकाशमा उड्छ, परिकारसँगै सिद्धान्तहरू पस्किइन्छन्।

आजकल शपथग्रहण एउटा नाटक जस्तै भएको छ। दृश्य तयार हुन्छ, संवाद रटिएको हुन्छ। पात्रहरू पुरानै हुन्छन्, तर मञ्च फेरिन्छ। संसद्को मञ्च सुनसान हुन्छ, होटलको हल गुञ्जायमान हुन्छ। कसैको कुर्सी भाँचिन्छ, कसैको चरित्र लिलाम हुन्छ, अनि जनताको सपना च्यातिन्छ।

राजनीति अब विचारको विद्यालय होइन, स्वार्थको बजार बनेको छ। सिद्धान्तहरू टेबलमा राखिएका म्यानु कार्ड भएका छन्; मन परेको विचार अर्डर गरिन्छ, नपरे फ्याँकिन्छ। दलहरू अब दल होइनन्, डिल भएका छन्; देश अब विचारले चल्दैन, व्यवहारले बेच्ने ठाउँ बनेको छ।

नेता हाँस्छन्— त्यो हाँसो व्यंग्य हो। जनता मौन छन्— त्यो मौनता पीडा हो। संविधानका पानाहरू अचेल टिस्यु पेपर झैं हात पुछेर फ्याँकिन्छन् र जनताको विश्वास पानीको ग्लाससँगै ओइल्याएर बिर्सिन्छ। होटलका झिलिमिली बत्तीमुनि देशका अँध्यारा कोठाहरू उज्याला देखिन्छन्।

कसैले भन्छ— स्थिरता आएको छ तर त्यो स्थिरता कुर्सीमा सीमित छ, देशमा होइन। सत्ता बदलिन्छ, स्वर बदलिन्छ तर चरित्र कहिल्यै बदलिँदैन। र, जनता सधैंजसो परिवर्तनको प्रतीक्षा गर्दागर्दै आत्मसन्तोषको अँध्यारोमा हराउँछन्। के यो लोकतन्त्र साँच्चै बाँचेको छ ? कि त्यो पनि होटलको बिलमा जोडिएको अर्को सेवा शुल्क हो ?

शपथका शब्दहरू अझै कानमा गुञ्जिन्छन्, ‘सेवा गर्छु, जनताको भलो गर्छु।’ तर यी शब्दहरू कुर्सीको पहिलो न्यानो स्पर्शमै हराउँछन्। सायद हामीले बुझ्न बाँकी छ, देश भवनबाट होइन, मनबाट चल्छ। तर अहिले मन होइन, मेनु चल्दैछ। लोकतन्त्र होइन, लोक प्रहसन चल्दैछ। र, यो नाटकका दर्शक हामी सबै हौं— ताली पनि हामीले बजाउँछौं, पीडा पनि हामीले सहन्छौं।

हामी लोकतन्त्रका नागरिक हौं तर नागरिकताभन्दा अगाडि ग्राहकमा रूपान्तरण भइसकेका छौं। राजनीतिले अब सेवा होइन, उत्पादन दिन थालिसकेको छ। जसको मूल्य मतले होइन, सिफारिसले तोकिन्छ।

लोकतन्त्रको असली आत्मा जनताको चेतना हो। जुन पुनः जागोस्। सत्ता फेरिनु होइन, सोच फेरिनु आवश्यक छ। होटलको बुकिङबाट होइन, जनताको निर्णयबाट देश चल्ने दिन आउनु नै वास्तविक लोकतन्त्रको पुनर्जन्म हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.