महापर्व छठमा बिदा
नेपालको तराई–मधेसबाट सुरु भई हिमाल–पहाडसम्म विस्तार भएको छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भइसकेको छ। सूर्य देव र छठी माताको उपासना गरिने यो चार दिने महाव्रत नेपालीको सांस्कृतिक र धार्मिक जीवनको एक महत्त्वपूर्ण पाटो हो।
छठ पर्वको बढ्दो महत्त्वलाई राज्यले सार्वजनिक बिदा दिएर सम्मान गर्नु अपरिहार्य ठानिएको छ। छठ पर्व सूर्यदेव र प्रकृतिको उपासनाको एक महान् अनुष्ठान हो। यो अब कुनै भूगोल विशेषको चाडको रूपमा सीमित छैन। केही दशकयता छठ पर्व तराई–मधेसका नदी, तलाउ र पोखरीहरूबाट निस्केर पहाडका बेंसी र उपत्यकाका नदीकिनारहरूमा समेत उत्तिकै श्रद्धा र उत्साहसाथ मनाइन थालिएको हो।
काठमाडौंको रानीपोखरी, गुह्येश्वरी, बागमती किनारदेखि पोखराका ताल किनारसम्म छठ घाटहरू सजिने गरेका छन्। यो फैलावटले छठ पर्वले राष्ट्रिय पर्वको रूप लिइसकेको तथ्यलाई पुष्टि गर्छ। छठ पर्व सम्पूर्ण नेपालीको साझा पर्व बनिसकेको छ। यसको धार्मिक विधिविधान, सामाजिक सन्देश र तयारीको व्यापकतालाई दृष्टिगत गर्दै, कम्तीमा पर्वको मुख्य तीन दिन (खरना, छठ पर्व र पारण) मा सार्वजनिक बिदाको घोषणा गर्नु आजको आवश्यकता हो। तिहारलगत्तै कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले समाजलाई दिने सन्देश पनि अत्यन्त महत्त्वपूर्ण छ। यस पर्वले सबैलाई समान रूपले हेर्ने (उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई अघ्र्य दिने), प्रकृतिको संरक्षण गर्ने र शुद्धता तथा सादगी जीवनयापन गर्ने शिक्षा दिन्छ।
यस पर्वमा कुनै पनि प्रकारको हिंसा वा बलि प्रथा हुँदैन, जसले अहिंसाको सन्देश दिन्छ। छठ पर्व विशुद्ध रूपमा प्रकृति पूजा हो। छठ पर्व पवित्रता, आस्था र विश्वासको पर्व हो, जसको विधि विधानले व्रतालुलाई शारीरिक र मानसिक रूपमा शुद्धीकरण गर्न सिकाउँछ। यसले नेपाली समाजको विविधतालाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ। छठ घाटमा सबै जातजाति, धर्मालम्बी र भूगोलका मानिसहरू एकैसाथ भेला भएर पूजाको तयारी गर्ने र अघ्र्य दिने दृश्यले सामाजिक सद्भाव र सहिष्णुताको बलियो जग बसालेको छ। छठ पर्व मूलतः चार दिनसम्म मनाइन्छ ः नहाए–खाए, खरना, छठ (सँझिया अघ्र्य) र पारण। यीमध्ये पछिल्ला तीन दिन (खरना, छठ र पारण) व्रतको मुख्य विधिको रूपमा रहेका छन्। जसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि बिदा अपरिहार्य छ।
छठ पर्वमा शुद्धता र नियम–निष्ठाको निकै ख्याल राखिन्छ। व्रतको तयारी चतुर्थी (नहाए–खाए) बाट सुरु भई पञ्चमी (खरना) सम्म चल्छ। मुख्य विधि षष्ठी र सप्तमीका दिन हुन्छ। षष्ठीका दिन दिनभर निराहार व्रत बसी अस्ताउँदो सूर्यलाई ‘सँझिया अघ्र्य’ दिइन्छ भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र व्रतको समापन हुन्छ। यो चार दिने प्रक्रिया व्रतालुहरूका लागि पूर्ण शुद्धता र कठोर उपवासको समय हो। छठ पर्वमा व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवरले नै शुद्धतालाई कडाइसाथ पालन गर्छन्। छठ पर्वको व्रत अन्य पर्वको तुलनामा अत्यन्त कठिन मानिन्छ। खरनाको दिनदेखि व्रतालुहरू पूर्ण रूपमा निराहार व्रत बस्ने तयारी गर्छन्। साँझमा पवित्र विधिबाट तयार पारिएको खीर (सख्खरको खीर) खाएपछि ३६ घण्टा लामो निर्जल (पानी समेत नखाने) उपवास सुरु हुन्छ। खीर तयार पार्नुअघि नुहाएर चोखो हुने, पूजा गर्ने र शुद्धताका नियमहरू पालना गर्नुपर्छ। यस दिन कार्यालय वा कामकाजमा व्यस्त भएर यी नियमहरू पालना गर्न कठिन हुन्छ। तसर्थ, व्रतको आधारशिलाको रूपमा रहेको ‘खरना’को दिन पनि बिदा आवश्यक छ।
छठ घाट (पूजास्थल) को सरसफाइ, सजावट, प्रसाद सामग्रीको तयारी र घाटसम्म पुग्ने व्यवस्थापन व्यापक र सामूहिक प्रयासबाट हुने गर्दछ। पर्वको तयारीमा घरका सबै सदस्य र छिमेकीसमेत जुट्ने गर्दछन्। पूजाका सामग्रीहरू जस्तै बाँसको नाङ्लो, डाला, घैंटो, ठेकुवा, भुसुवा, फलफूल आदि जुटाउने र बनाउने काममा एक दिनभन्दा बढी समय लाग्ने गरेको छ। षष्ठीको दिन सँझिया अघ्र्यका लागि घाटमा जानु अघिल्लो दिन बिदा नभएर सबै तयारी समयमै गर्न कठिन हुने गरेको छ।
त्यस्तै, सप्तमीको बिहानको अघ्र्यपछि मात्र व्रत समाप्त हुने भएकाले त्यस दिन काममा फर्किन हतार गर्दा व्रतको पूर्णता र त्यसपछिको विश्राममा बाधा पुग्ने गरेको छ। रातभर सूर्यको आराधना गरेपछि बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ। अघ्र्य दिएर घर फर्किने र प्रसाद बाँड्ने कार्य सम्पन्न गर्दा दिनको एक चौथाइ समय बितिसकेको हुन्छ। कठोर व्रतपछि व्रतालुलाई पर्याप्त विश्राम र शुद्ध भोजनको आवश्यकता हुन्छ। सप्तमीका दिन बिहानै कार्यालय पुग्नुपर्ने बाध्यताले व्रतालुको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ। तसर्थ, व्रतको सफल समापन र विश्रामका लागि ’पारण’ को दिन समेत बिदा आवश्यक छ। छठ पर्वको पञ्चमी देखि सप्तमी सम्मको यी तीन दिनलाई हेर्दा, धार्मिक आस्था र विधिको कठोरतालाई सम्मान गर्दै तीनै दिन बिदा दिन आवश्यक देखिन्छ। राज्यले कुनै पनि समुदाय वा संस्कृतिप्रति विभेद नगरेको सन्देश दिन पनि यसरी बिदा दिन न्यायोचित तथा जरुरी छ।
छठ पर्वमा देशभर र विदेशबाट समेत मानिसहरू आफ्नो घर फर्किने गर्दछन्। तिहारको समापन (भाइटीका) र छठको सुरुवात (नहाए–खाए) बीच प्रायः एक वा दुई दिनको अन्तर रहने गर्दछ। दसैं–तिहारपछिको ठूलो पर्व छठ भएकाले कर्मचारी, विद्यार्थी तथा अन्य पेसाका व्यक्तिहरूलाई एक÷दुई दिनकै अन्तरमा कार्यस्थलमा गई पुनः घर फर्किन निकै कठिनाई हुने गरेको र असम्भावित समेत छ।
प्रतिक्रिया दिनुहोस !