सामाजिक रूपान्तरणको बीज हलो क्रान्ति

सामाजिक रूपान्तरणको बीज हलो क्रान्ति
सुन्नुहोस्

नेपालको सामाजिक इतिहासमा केही यस्ता घटना छन्, जसले तत्कालीन समाजमा मात्र होइन, भविष्यका पुस्तामा समेत परिवर्तनको प्रेरणा दिएका छन्। त्यस्ता ऐतिहासिक घटनामध्ये २००६ साउन ११ गते लमजुङ जिल्लाको दुराडाँडामा सम्पन्न ‘हलो क्रान्ति’ महत्त्वपूर्ण सामाजिक आन्दोलन हो।

यो केवल केही व्यक्तिले हलो जोतेको सामान्य घटना थिएन, बरु सदियौंदेखि नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेको जातीय विभेद, छुवाछूत, श्रमप्रतिको विभेदकारी दृष्टिकोण र सामाजिक रुढिवादविरुद्धको साहसिक विद्रोह थियो। त्यतिबेला ब्राह्मण जातिले हलो जोत्नुलाई धार्मिक तथा सामाजिक रूपमा निषेध गरिएको थियो।

हलो जोत्नु भनेको कथित रूपमा ‘तल्लो जातिको काम’ मानिन्थ्यो। यस्तो अन्यायपूर्ण सामाजिक संरचनाविरुद्ध दुराडाँडाका केही जागरूक, प्रगतिशील र दूरदर्शी व्यक्तित्वहरूले वैज्ञानिक सोच, धार्मिक विवेक र सामाजिक उत्तरदायित्वका आधारमा नयाँ अभियानको सुरुवात गरे। यही अभियान इतिहासमा ‘हलो क्रान्ति’का नामले अमर भएको छ।

तत्कालीन नेपालको सामाजिक अवस्था :  २००६ सालको नेपाल राणाशासनको कठोर नियन्त्रणमा थियो। राजनीतिक स्वतन्त्रता थिएन, नागरिक अधिकार सीमित थिए र समाज जातीय विभेद, छुवाछूत तथा अन्धविश्वासले ग्रस्त थियो। उच्च जातिका मानिसले खेतीपातीको मुख्य साधन हलो चलाउनुलाई सामाजिक अपराधजस्तै मानिन्थ्यो। श्रम गर्ने मानिसलाई सम्मानभन्दा अपमान गरिन्थ्यो। यसरी श्रमलाई जातीय आधारमा विभाजन गरिनु समाजको उत्पादन प्रणालीका लागि मात्र होइन, मानव सम्मानका लागि पनि गम्भीर चुनौती थियो। सामाजिक संरचनाले श्रमलाई अपमानित गरेको अवस्थामा आर्थिक उत्पादन, सामाजिक समानता र राष्ट्रिय विकास सम्भव थिएन। यही यथार्थलाई परिवर्तन गर्न दुराडाँडाका
समाज सुधारकहरूले अभियानको तयारी गरेका थिए।

हलो क्रान्तिको वैचारिक पृष्ठभूमि :  हलो क्रान्ति कुनै आकस्मिक घटना थिएन। यसको पछाडि लामो वैचारिक तयारी, धार्मिक अध्ययन, सामाजिक बहस र जनचेतना विस्तारको प्रक्रिया थियो। दुराडाँडामा महाभारत पुराण वाचन, सत्संग तथा सामाजिक छलफलमार्फत समाज सुधारको वातावरण तयार पारिएको थियो। धर्मको सही व्याख्या गर्दै श्रमलाई अपवित्र होइन, पवित्र कर्मका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो।

समाज परिवर्तनका लागि धार्मिक आधार, कानुनी पक्ष र सामाजिक स्वीकृतिबारे गम्भीर अध्ययन गरिएको थियो। त्यसपछि मात्र व्यवहारमा परिवर्तन ल्याउने निर्णय गरिएको थियो। यसले हलो क्रान्ति केवल भावनात्मक आन्दोलन नभई वैचारिक रूपमा परिपक्व सामाजिक अभियान भएको प्रमाणित गर्दछ। हलो क्रान्तिको मूल दर्शन तीनवटा आधारमा उभिएको देखिन्छ : –
१.    श्रमको सम्मान :  कुनै पनि श्रम सानो वा ठूलो हुँदैन; श्रम नै जीवन र समाजको आधार हो।
२.    जातीय समानता :  जन्मका आधारमा मानिसको मूल्य निर्धारण 
गर्नु अन्यायपूर्ण सामाजिक संरचना हो।
३.    आत्मनिर्भर समाज :  कृषिलाई सम्मान नगरी राष्ट्र समृद्ध बन्न सक्दैन। हलो समात्ने हात नै राष्ट्र निर्माणका हात हुन्।

क्रान्तिका प्रमुख अभियन्ता :  यस ऐतिहासिक आन्दोलनका प्रमुख अगुवाहरूमा मु. हरिदास अधिकारी, पण्डित तोयनाथ अधिकारी, लप्टन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल तथा श्रीकान्त अधिकारी प्रमुख थिए। उनीहरूले व्यक्तिगत प्रतिष्ठाभन्दा समाजको हितलाई प्राथमिकता दिए। धार्मिक विद्वत्ता, कानुनी ज्ञान, संगठन क्षमता र सामाजिक नेतृत्वलाई एकीकृत गर्दै परिवर्तनको अभियान अघि बढाए। उनीहरूको उद्देश्य कुनै व्यक्ति विशेषको विरोध गर्नु थिएन; समाजलाई विभाजन गर्ने कुप्रथाको अन्त्य गर्नु थियो।

यो अभियानमा दुराडाँडाका अगुवाहरूले साथ दिए, कोही प्रत्यक्ष त कोही अप्रत्यक्ष रूपमा संलग्न भए। २००६ साउन ११ गते अनौ समाउने २७ जना ब्राह्मणमा पण्डित तोयनाथ अधिकारी, लप्टन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, वसन्त अधिकारी, बद्रीनाथ अधिकारी, श्रीधर पाध्याय अधिकारी, हरिलाल पौडेल, लक्ष्मीप्रसाद अधिकारी, लोकनाथ अधिकारी, दिननाथ अधिकारी, पशुपति न्यौपाने, दुर्गाप्रसाद अधिकारी, ज्ञानशाली अधिकारी, केशव अधिकारी, लक्ष्मीप्रसाद अधिकारी (राहुले), देवशर्मा अधिकारी, जगन्नाथ अधिकारी, दामोदर अधिकारी, ईश्वरी अधिकारी, रामचन्द्र अधिकारी, शेखरनाथ अधिकारी, विष्णुप्रसाद अधिकारी, डोलनाथ अधिकारी, काशीनाथ अधिकारी, भोजराज अधिकारी र गंगादत्त अधिकारी थिए।

यो साउन ११ गतेको घटनामा अग्रसर भई अनौ समाउनेहरूको नाम हो। तर, उक्त अभियानलाई बढाउँदै जाँदा थप व्यक्तिहरूले पनि हलो समाउने साहस गरे, भने कतिले मन भएर पनि घरायसी अवस्था र परनिर्भरतामा घर चलाउने बाध्यताले अनौ समाउन सकेनन्। अनौ समाउनेहरू क्रमश:  थपिए; मायानाथ पौडेल, रामलाल श्रेष्ठ, कछारथोकका एक जना पाँचघरेको ठूलो गरामा अनौ समातेर घर जाँदा घर निकालामा परी परदेशी हुनु परेका व्यक्तिदेखि थुप्रै अगुवा एकपछि अर्को गर्दै जोडिँदै जाँदा यो अभियान देशव्यापी फैलियो।

हलो क्रान्ति नेपालको सामाजिक इतिहासको एउटा युगान्तकारी घटना हो। यसले जातीय विभेदविरुद्ध विद्रोह गर्‍यो, श्रमको सम्मानलाई प्रतिष्ठित गर्‍यो, सामाजिक समानताको आधार निर्माण गर्‍यो र राजनीतिक जागरणलाई समेत प्रेरणा दियो।

साउन ११ एउटा ऐतिहासिक दिन :  २००६ साउन ११ गते दुराडाँडाको अर्चल्यानीको बाटे गरोमा ऐतिहासिक रूपमा हलो जोत्ने कार्यक्रम सम्पन्न भयो। सबैभन्दा पहिले पण्डित तोयनाथ अधिकारीले हलो समाते। त्यसपछि शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारीलगायतले क्रमश:  हलो जोते। कुल २७ जना सहभागीले समाज परिवर्तनको उद्घोष गर्दै श्रमको सम्मानको नयाँ इतिहास रचे।

जुन दृश्य तत्कालीन समाजका लागि अत्यन्तै असामान्य थियो। एकातिर धेरै मानिसले यसलाई सामाजिक विद्रोह माने भने अर्कोतर्फ प्रगतिशील समुदायले यसलाई नयाँ युगको सुरुवातका रूपमा स्वागत गर्‍यो। जुन विद्रोहले शासकको मन हल्लायो। वर्ष दिनपछि अभियानका अगुवाहरू पण्डित तोयनाथ अधिकारी, शेषकान्त अधिकारी र श्रीकान्त अधिकारी हलो जोतेको अभियोगमा पक्राउ परे। उनीहरूलाई पोखरा जेल चलान गरियो, तर त्यहीँ पनि उनीहरूले विद्रोह गरे, अनशन बसे र आफ्ना कुरा बुलन्द पारे।

सामाजिक प्रभाव :  हलो क्रान्तिको पहिलो प्रभाव जातीय विभेदमाथि परेको देखिन्छ। यस आन्दोलनले जन्मका आधारमा होइन, श्रमका आधारमा समाज निर्माण हुनुपर्छ भन्ने सन्देश दियो। यसले श्रमको सम्मानलाई सामाजिक मूल्यका रूपमा स्थापित गर्‍यो। यस अभियानले युवामा नयाँ सोचको विकास गरायो। सामाजिक समानता, श्रमको गरिमा, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वप्रति सकारात्मक धारणा निर्माण भयो। गाउँमा परिवर्तन सम्भव छ भन्ने आत्मविश्वास पैदा भयो। सबैभन्दा ठूलो परिवर्तन भनेको ब्राह्मण समुदायभित्रै श्रमप्रतिको दृष्टिकोणमा आएको परिवर्तन हो। हलो जोत्नु अपमान होइन, उत्पादनशील जीवनको आधार हो भन्ने चेतना विस्तार हुन थाल्यो।

राजनीतिक चेतनामा प्रभाव :  हलो क्रान्ति मूलत:  सामाजिक आन्दोलन भए पनि यसले राजनीतिक चेतना विस्तारमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ।

सामाजिक समानताको आन्दोलनले राजनीतिक स्वतन्त्रताको आवश्यकता पनि उजागर गर्‍यो। यही कारण यस अभियानका धेरै अभियन्ता पछि २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिए। दुराडाँडाबाट सुरु भएको चेतना तनहुँ, कास्की, गोरखा, स्याङ्जा, अर्घाखाँचीलगायतका क्षेत्रमा फैलियो। यसले नागरिकलाई अन्यायविरुद्ध बोल्ने साहस दियो र लोकतान्त्रिक परिवर्तनको आधार निर्माण गर्‍यो।

आन्दोलनका चुनौतीहरू :  हलो क्रान्तिले तत्काल व्यापक समर्थन पाएको थिएन। रुढिवादी समाजबाट कडा विरोध भयो। आन्दोलनका अगुवाहरू सामाजिक बहिष्कार, प्रशासनिक निगरानी र कानुनी कारबाहीको जोखिममा परे। कतिपयलाई पक्राउसमेत गरियो र आन्दोलनलाई दबाउने प्रयास गरियो। तर, उनीहरूले आफ्नो अभियान त्यागेनन्। यही साहसले आन्दोलनलाई ऐतिहासिक बनायो।

हलो क्रान्तिको दीर्घकालीन महत्त्व :  आज नेपालको संविधानले समानता, सामाजिक न्याय र विभेदविरुद्धको अधिकार सुनिश्चित गरेको छ। श्रमको सम्मानलाई राष्ट्रिय विकासको आधार मानिएको छ। यी मूल्यहरूको प्रारम्भिक सामाजिक अभ्यासमध्ये हलो क्रान्ति पनि एक हो। हलो क्रान्तिले देखाएको मुख्य शिक्षा भनेको समाज परिवर्तन कानुनबाट मात्र होइन, व्यवहार परिवर्तनबाट सम्भव हुन्छ भन्ने हो। सामाजिक सुधारका लागि व्यक्तिगत साहस, नैतिक नेतृत्व र सामूहिक प्रतिबद्धता अपरिहार्य हुन्छ।

वर्तमान सन्दर्भ :  आज पनि नेपाली समाजमा विभिन्न प्रकारका विभेद, अन्धविश्वास र श्रमप्रतिको असमान दृष्टिकोण पूर्ण रूपमा समाप्त भएका छैनन्। त्यसैले हलो क्रान्तिको सन्देश अझै सान्दर्भिक छ। श्रम गर्ने मानिसको सम्मान, जातीय समानता, सामाजिक समावेशिता र उत्पादनमुखी संस्कृतिको विकास आज पनि राष्ट्रिय आवश्यकता हो। दुराडाँडाको हलो क्रान्तिलाई विद्यालय, विश्वविद्यालय तथा अनुसन्धानका विषयवस्तुमा समावेश गर्नु, ऐतिहासिक स्थलको संरक्षण गर्नु तथा प्रत्येक वर्ष साउन ११ लाई ‘सामाजिक चेतना दिवस’का रूपमा मनाउनु उपयुक्त हुनेछ। यसले नयाँ पुस्तालाई नेपालको इतिहास बुझ्न र परिवर्तनका लागि प्रेरित हुन सहयोग पुर्‍याउनेछ।

निष्कर्ष :  हलो क्रान्ति नेपालको सामाजिक इतिहासको एउटा युगान्तकारी घटना हो। यसले जातीय विभेदविरुद्ध विद्रोह गर्‍यो, श्रमको सम्मानलाई प्रतिष्ठित गर्‍यो, सामाजिक समानताको आधार निर्माण गर्‍यो र राजनीतिक जागरणलाई समेत प्रेरणा दियो। दुराडाँडाका साहसी समाज सुधारकहरूले देखाएको नेतृत्वले नेपाली समाजलाई नयाँ दिशातर्फ उन्मुख गरायो। समानता, समावेशिता र सामाजिक न्यायको कुरा गरिरहेका छौं भने त्यसको ऐतिहासिक जग बसाल्ने आन्दोलनमध्ये हलो क्रान्ति अग्रस्थानमा पर्छ। यो केवल अतीतको गौरव होइन, वर्तमानको मार्गदर्शक र भविष्यको प्रेरणा पनि हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.