अब पिउनुपर्ने छैन तमोरको धमिलो पानी

अब पिउनुपर्ने छैन तमोरको धमिलो पानी
गाग्रीमा पानी थाप्दै एक महिला। तस्बिर : हरिबहादुर लम्जेल
सुन्नुहोस्

धनकुटा : कुनै बेला धनकुटा नगरपालिका–९ छिम्सुवावासीलाई तमोर नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो। गाउँ आसपासका पानीको स्रोत मुहान सुक्दै गएपछि यहाँ खानेपानीको चरम समस्या भयो। छेवैमा तमोर नदी अविरल रूपमा बगिरहे पनि बर्खामा धमिलो पानी बग्थ्यो। हिउँदमा सङ्लो बगेपछि मसिना बालुवाका कणहरू हुने भएकाले पिउन योग्य थिएन। तर, पनि यहाँका स्थानीयलाई पिउनुको विकल्प थिएन।

दुई वर्ष अघिदेखि निर्माणाधीन खानेपानी योजना निर्माणको अन्तिम चरणमा पुगेपछि अहिले भने स्थानीयलाई तमोर नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता हटेको ९ नम्बर वडाका सदस्यसमेत रहेका स्थानीय सुवर्ण कार्कीले बताए।
मूलघाट–छिम्सुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर भण्डारीका अनुसार साँगुरीगढी गाउँपालिका–६ सिस्ने अलैंचीबारीको मुहानबाट पानी ल्याइएको छ।

पानीको मूल रहेको स्थान र छिम्सुवा गाउँको दूरी झन्डै १२ किलोमिटर छ। पाइपमार्फत पानी ल्याइएको छ। कोशी राजमार्गको घण्टेदेखि मूलघाटसम्म पाइप बिछ्याइएको छ। मूलघाटस्थित तमोर नदीको पक्की पुल हुँदै अग्लो ठाउँमा पानी संकलनका लागि ट्यांकी बनाइएको छ। त्यहाँ संकलन गरिएको पानी छिम्सुवा गाउँमा पु¥याइएको छ। छिम्सुवा गाउँका करिब ४५ घरधुरीमा अहिले पानीका धारा पुगेको उनले बताए। सो योजनाबाट मूलघाट आसपासका करिब १ सय ५ घरधुरीसमेत लाभान्वित भएका छन्।

योजनाको कुल लागत ३ करोड ३३ लाख रुपैयाँ छ। जसमध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटा र उपभोक्ताको लागत साझेदारी छ। ‘जहाँ समस्या त्यहाँ विकल्पको खोजी तीव्र हुँदो रहेछ’, उनले भने, ‘पानीको मुहान नभएको कारण खानेपानीको समस्या बढ्दै गएको थियो। हामीले समाधान खोज्दै गयौं। खानेपानी कार्यालय र स्थानीय सरकारको पहलमा गाउँमा पानी ल्याउन सफल भयौं।’ उनका अनुसार अहिले पनि पूर्ण रूपमा काम सम्पन्न भएको छैन। तर, पनि घरघरमा पानी वितरण गर्न सफल भएको उनले बताए।

यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख सन्तोषकुमार दासले प्रदेश सरकारको सीमित स्रोत साधनमा सफल योजना निर्माण सम्पन्न भएको बताए। उनले भने, ‘त्यहाँ खानेपानीको ठूलो समस्या थियो। योजना सम्पन्न भएसँगै त्यहाँका स्थानीयलाई धेरै सहज भएको छ।’

छिम्सुवा गाउँ तमोर किनारको बस्ती हो। यहाँबाट तमोर नदी नजिकै छ। करिब आधा घण्टाको पैदलबाट तमोर नदी पुग्न सकिन्छ। पहिले खानेपानीको धेरै दुःख रहेको तर अहिले घरघरमा धारा पुगेकाले समस्या समाधान भएको गाउँकी ज्येष्ठ नागरिक फूलमाया कार्कीले बताइन्। पहिले नदीबाट घण्टौं समय खर्चिएर पानी ओसार्नुपर्ने बाध्यता अब हटेको छ।

अहिले भने आफ्नै घरमा पानीको धारा जडान भएपछि स्थानीयवासी हर्षित भएको उनले बताइन्। कार्कीका अनुसार गाउँमा खानेपानीको दीर्घकालीन स्रोत पनि थिएन, विकल्प पनि थिएन। गोठाला जाँदा पानी ल्याउने गाग्री पनि सँगै लिएर जानुपथ्र्यो। केही वर्षअघि खानेपानी ल्याउन गएकी महिला तमोर नदीले बगाएको समेत उनले स्मरण गरिन्।

‘अहिलेको परिस्थितिमा फरक–फरक स्थानीय तहबाट पानी ल्याएर आयोजना सञ्चालन गर्न कठिन नै हुन्छ। तर, हाम्रो समस्या त्यहाँका स्थानीयले बुझिदिनुभयो। मुहान खरिदका लागि समस्या भएन’, अध्यक्ष भण्डारीले भने। 
उनका अनुसार आयोजना सञ्चालन गर्न कठिन नै थियो। मुहान भएको क्षेत्र भौगोलिक रूपमा विकट र धेरै टाढा भएका कारण ल्याउन नै खर्चिलो थियो। तर, खानेपानीको धेरै समस्या भएपछि दुःख कष्ट हराउँदो रहेछ। छिम्सुवाका हरेक घरघरका स्थानीयले खानेपानी ल्याउन  श्रमदान गरेका छन्। 

वर्षौंदेखिको समस्या समाधान हुँदा यहाँका स्थानीय खुसी देखिन्छन्। ‘धेरै नै जटिलताहरू थिए तर त्यसलाई हामीले सहजीकरण गर्दै काम गर्न सफल भयौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.