नीलाचलमा १० महाविद्याबीच कामाख्या
अन्ततः साइत जुर्यो कामाख्या माताको दर्शन गर्ने। कामाख्या टेकेर पनि देवीको दर्शन नपाउनु, १२ वर्षपछि मात्र देवीले दर्शन दिनु। पक्कै सामान्य अवस्था रहेन मेरा लागि !
अन्ततः कामाख्या माताको दर्शन। कामाख्या टेकेर पनि देवीको दर्शन नपाउनु, १२ वर्षपछि मात्र देवीले दर्शन दिनु। पक्कै सामान्य अवस्था रहेन मेरा लागि ! सम्भवतः समाचार बन्थ्यो, कुनै सेलिब्रेटीको भए। तर संस्मरणमै सीमित रह्यो मेरो यो सन्दर्भ।
त्यसपछि त्यस्ता दिन आएनन्, जसले मलाई गुवाहाटीस्थित कामाख्या देवीको दर्शन गर्ने अवसर देओस्। २ होइन, ४। ४ पनि होइन ८। ८ पनि होइन १२ वर्ष लाग्यो कामाख्या देवी देख्ने साइत जुर्न। हुन त ५१ वर्षे यो जीवनमा अनगिन्ती परीक्षा पास गरिए होलान्, तर कुनै कुनै परीक्षा अत्यन्तै बहुमूल्य हुँदा रहेछन्। २०८१ कात्तिक १९ सोमबार मैले १२ वर्षे परीक्षा पास गरें।
जे हुन्छ, राम्रै हुन्छ भनेको उखान यो यात्राका हकमा मजैले लागू भयो। बुवाआमासँगै कामाख्या देवीको दर्शन गर्ने अवसर जुरेको रहेछ। यतिमात्र होइन, जीवनसंगिनी कमला, छोरो अञ्चित पनि सँगै। माइलो भाइ बालकृष्ण, बुहारी भूमिका, भतिजी आस्ना, भाञ्जा आदित्य पनि सँगै जानेगरीको साइत जुरेको रहेछ। सुनमा सुगन्ध थपियो, भारतको पश्चिम बंगालस्थित सुकुना निवासी भानिजबुवाका छोरा दाजु लक्ष्मी गुरागाईं र भाउजू शकुन्तला पनि साथमा हुँदा।
१२ वर्षमा खोलो पनि फर्किन्छ भन्थे। फर्कियो हाम्रा लागि पनि। २०८१ को तिहारमा झापा गौरादहस्थित घरमा भाइटीका लगाएर हामी सुकुना पुगेथ्यौं। कान्छो भाइ टीकाराम र बुहारी बिनिता छोरी आभ्या सानै भएकाले यात्रा नगर्ने ‘मुड’मा पुगे। बहिनी हिमा कामाख्या पुगिसकेकाले र भाञ्जी अनुश्री पनि सानै भएकाले नजाने भइन्।
सुकुनामा भाइटीकाको दिन कात्तिक १८ गते ठुल्दाजु खग र भाउज्यू सीता अनि दिदी तारासँग गजबको भलाकुसारी भयो। दुवै दाजुका एक छोरा एक छोरी। छोराहरू सत्यम र सिद्धान्त अनि छोरीद्वय श्रेया र श्रुति, ज्वाइँहरू अनि नातिनातिना सबैसँग धेरै वर्षपछि यसरी भलाकुसारी भयो। प्रिय भाञ्जा शरद नेपाल आउने भनेर पनि आउन पाएनन् र अलिनो महसुस भयो।
बन्दे भारत र कामाख्या दर्शन
६.१० मा सिलिगुडीबाट बन्दे भारतमार्फत १०.४० मा गुवाहाटी पुग्दैथियौं कात्तिक १९ गते सोमबार। सबेरै अँध्यारै दार्जिलिङ रोडहुँदै १० किलोमिटर दूरी पार गरेर नर्थ बंगालकै ठूलो सहर सिलिगुढी पुग्यौं। न्यु जल्पाईगुरी जंक्सन रेलवे स्टेसन छिरेर नयाँ रेल ‘बन्दे भारत’मा बस्यौं। भारत यात्रामा सधैं पुराना शैलीका रेल चढ्ने हामीलाई यो नयाँ रेलले युरोपियन स्ट्यान्डर्ड आभास दिलायो। समयमै गुड्ने, समयमै पुग्ने पनि। नेपालमा पनि पूर्वमेचीदेखि महाकालीसम्म यस्तै गुणस्तरीय कम्तीमा दुईवटा रेल ओहोरदोहोर गर्ने चाँजोपाँजो मिलेको भए ? मनभरि अनुत्तरित प्रश्न सल्बलाइरह्यो।
नीलाचल पहाडमा थपक्क बसेकी रहिछन्, कामाख्या माता। असम गुवाहाटीको नीलाचलमा अवस्थित कामाख्या देवी ५१ शक्तिपीठमध्ये सबैभन्दा प्राचीन र पवित्र मानिन्छ। यो मन्दिर तान्त्रिक र भक्तहरूका लागि विशेष आकर्षणको केन्द्रविन्दु रहेछ।
२२२२७ नम्बरको बन्दे भारत एक्सप्रेस ठीक ६.१० मै छुट्यो गुवाहटीका लागि। न्यु कोच विहार, न्यु अलिपुर, गोस्साइगाउँ हाट, कोक्राझार, न्यु बोंगाइगाउँ हुँदै कामाख्या स्टेसनमा ठीक १०.४० मै रेलले हाम्रा लागि ब्रेक लगाइदियो। त्यसपछि बन्दे भारत गुवाहाटी स्टेसनतर्फ गयो, हामी कार समातेर ६ किलोमिटर परको कामाख्या मन्दिर। बिहानैदेखि फलफूलमात्रै ग्रहण गरेकाले सोही दिन कामाख्या दर्शन गर्ने सोच बन्यो बाटामै।
होटलमा पोकापन्तुरा थन्क्याएर लाइन बस्यौं, दिउँसो साढे १ बजे देवी दर्शनका लागि। लगभग साढे ६ बजे दर्शन पायौं। २०६९ फागुन अन्तिम साता हजुरआमा बाटुलादेवीले यो धरती छाडेर जानुभयो। जतिबेला म आसामको पानीभण्डारामा अन्तर्राष्ट्रिय नेपाली साहित्य महोत्सवमा सहभागी भइरहेको थिएँ। नेपालबाट खबर पाएका दिन ब्रह्मपुत्र नदी घुम्दै तेजपुर पुग्ने कार्यक्रम थियो। सम्मेलन सकेर केही दिनमा गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेका थियौं। त्यसबेला सबै साहित्यकार दर्शनका लागि भित्र पसे, हजुरआमाको जुठो बारेको म भने मन्दिर बाहिरै बसें। २०६८ भदौ २७ हजुरबुवा पुष्पलालको निधन भएको थियो।
महिमामा कामाख्या मन्दिर
नीलाचल पहाडमा थपक्क बसेकी रहिछन्, कामाख्या माता। असम गुवाहाटीको नीलाचलमा अवस्थित कामाख्या देवी ५१ शक्तिपीठमध्ये सबैभन्दा प्राचीन र पवित्र मानिन्छ। यो मन्दिर तान्त्रिक र भक्तहरूका लागि विशेष आकर्षणको केन्द्रविन्दु रहेछ। यहाँ देवी कामाख्याको पूजा योीन आकारको चट्टानको स्वरूपमा गरिन्छ, जहाँ मूर्तिको रूपमा पूजाआजा गरिन्न।
अम्बुबाची महोत्सव यहाँको चारदिने महोत्सव हो, जसले मातृ पृथ्वीको वार्षिक मासिक चक्रलाई मनाउँदो रहेछ। जसलाई मातृदेवी कामाख्याको रूपमा प्रतीकृत गरिएको छ। जुन महोत्सवमा भक्तहरूले दुई प्रकारको प्रसाद प्राप्त गर्ने रहेछन्, अंगोदक (वर्षाको पानी) र अंगवस्त्र (रातो कपडाको टुक्रा)। तर त्यो अवसर पाएनौं। जसलाई जुन–जुलाई महिना चाहिने रहेछ।
कामाख्या देवीको मुख्य मन्दिरलाई चारैतिर विभिन्न मन्दिरले घेरेको छ, जसले दस महाविद्याहरूलाई समर्पित गरेको पाइन्छ। जहाँ काली, तारा, त्रिपुरा सुन्दरी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मतंगी र कमलात्मिका रहेछन्। त्रिपुरा सुन्दरी, मतंगी र कमलात्मिका चाहिँ मुख्य मन्दिरभित्रै अवस्थित रहेको पाइयो। बाँकी अन्य सात महाविद्याहरू व्यक्तिगत मन्दिरहरूमा समर्पित रहेछन्, जुन दुर्लभ र असामान्य मानिन्छ। कामाख्या मन्दिरको यो संरचनाले शक्तिवादको विविधता र समृद्धि दर्शाएको पायौं। जसले भक्तहरूलाई अद्वितीय अनुभव सिर्जना गरेको रहेछ। ६८ वर्षको हुँदा पहिलो पटक कामाख्या दर्शनपछि आमा चन्द्रकलाले भन्नुभयो, ‘आजदेखि आउन खोजेको होइन, समय आउनै पर्नेरहेछ।’
फेरीमा चढेर ब्रह्मपुत्रबीचको उमानन्द
बिहानै भुवनेश्वरी मन्दिरको दर्शन गर्यौं। जंगलबीच पिचबाटो हुँदै पैदल यात्रा गरेर त्यो अग्लो ठाउँको यो मन्दिर पुग्दाको आनन्द छुट्टै थियो, ११ जनाको। महाराजा गोविन्द माणिक्य (सन् १६६०–१६७६) ले यो मन्दिरको निर्माण गरेका थिए। जुन मन्दिर रवीन्द्रनाथ टैगोरका प्रसिद्ध नाटकहरूमा अमर बनाइएको छ, जसमा ‘राजर्षि’ र ‘बिसर्जन’ समावेश छन्। दर्शनपछि गुवाहाटी सहरको दृश्यले हामीलाई एकाबिहानै मोहित तुल्यायो।
त्यसपछि पिएको केही सुरुप मात्र लाउन पाउने स्वादिलो मट्का चायले त मोहनी नै लगायो। यात्राको मुख्य गन्तव्य कामाख्या भए पनि ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ भने झैं गुवाहाटी महानगर आसपास घुम्न त बाँकी नै थियो। झोलीतुम्लो बोकेर कारमा साढे ७ किलोमिटर दूरीको पल्टन बजार पुग्यौं। नेपाली भवनमा बासको निधो गरेर निस्कियौं, ब्रह्मपुत्रतिर।
ब्रह्मपुत्र नदी चीन, भारत र बंगलादेशमा बग्छ। यो हिमालयको चेमायुंगडुंग ग्लेसियर (तिब्बत)मा उत्पन्न हुन्छ र लगभग २९ सय किलोमिटर (१,८०० माइल) यात्रा गरेर गंगा नदीमा पुगेर मिसिन्छ अनि बंगालको खाडीमा पुग्छ। जुन भारतको आसाम, अरुणाचलहुँदै बग्छ। ब्रह्मपुत्र नदी दक्षिण एसियामा महत्त्वपूर्ण जलस्रोत हो, जसले कृषि, जल यातायात र स्थानीय
जीवनशैलीमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
पल्टन बजारबाट बस चढेर साढे ३ किलोमिटर ९–साढे ९ मा पुग्दा सूर्योदय झैं दृश्य देख्यौं, ब्रह्मपुत्र नदीमाथि। सूर्यमन्त्र÷गायत्री मन्त्रसहित सूर्यदेवलाई अर्घ दिएर भारत सरकारले सञ्चालन गरेको फेरीमा चढ्यौं। ३०५ नम्बरको एमभी उमाचल फेरी (सरकारले ‘जलवाहक’ भनेर यात्रु र कार्गो प्रवद्र्धनमा नदीमाथि सञ्चालन गर्दो रहेछ)मा ओहोरदोहोरलाई प्रतिव्यक्ति ४० भारु तिरेर झन्डै २० मिनेटको सामुद्रिक यात्रामा उमानन्द पुग्यौं।
उमानन्द पिकोक आइल्यान्डमा अवस्थित रहेछ। यो शान्त पूजास्थल भगवान् शिवको नाममा राखिएको र समर्पित गरिएको पाउँदा शिवप्रेमी हामीलाई झनै आनन्द थपियो। ‘उमा’ शिवकी पत्नीको अर्को नाम र ‘आनन्द’, जसको अर्थ खुसी हुन्छ। भस्माकला वा भस्माकुट पहाडमा अवस्थित उमानन्द (टापुमा थपक्क बसेको जस्तो) प्रकृतिप्रेमीहरूका लागि दिव्य स्थान स्वर्ग झैं। जुन टापु सन् १६९४ मा राजा गदाधर सिंहले निर्माण गरेका रहेछन्। जहाँ शिवसँगै मन्दिरमा १० अन्य हिन्दु देवताका मूर्तिको पनि दर्शन गर्न पाइयो।
श्रव्यदृश्यमा तारामण्डल (बायोग्राफी अफ युनिभर्स)
ब्रह्मापुत्र नदीबाट निस्किएर हाम्रो टोली ब्रह्माण्डको जीवनीतिर आकर्षित भयो। कलकत्तामा ब्रह्माण्डको जीवनी शो हेर्ने मौका केही वर्षअघि नै पाइसकेको थिएँ। बाँकी सबैका लागि यो पहिलो र नौलो थियो। गुवाहाटी प्लानेटेरियममा देखाइने आकर्षक शो हामीले ब्रह्माण्डको इतिहासदेखि विकासका अनेक अन्वेषण देख्यौं।
प्राचीन समयका स्थिर अवस्थाका तारादेखि आधुनिक समयको ब्रह्माण्डबारे विविध विषय जान्न, देख्न र बुझ्न पायौं। जहाँ देखाइएका दृश्यमा सौर्य प्रणालीको मनमोहक यात्रा समेटिएको थियो। चलचित्र हेरे झैं अनुभव खगोल विज्ञानको प्रगति पनि हेर्यौं। विद्यार्थीका लागि यो शैक्षिक प्रस्तुतीकरण थियो जसले ब्रह्माण्डको कथा चित्रण गरेको थियो। ब्रह्माण्डका ती दृश्यले नयाँ संसारको ज्ञान दिलायो, अनौठो संसारमा घुमायो पनि।
वशिष्ठ ऋषि र उनको सुनसान आश्रम
पल्टन बजारबाट साढे १३ किलोमिटर दूरीमा रहेछ, वशिष्ठ ऋषिको आश्रम। जसले सन्ध्याचल पहाडको बेल्टोला नामको उक्त सुनसानस्थलमा ध्यान गरेका थिए भन्ने जनविश्वास रहेछ। उनको नाममा सन् १७६४ मा अहोम राजा राजेश्वर सिंहले यो मन्दिर निर्माण गरेका रहेछन्, जुन भगवान शिवका लागि समर्पित गरिएको रहेछ।
८ सय ३५ बिघा क्षेत्रफलमा फैलिएको आश्रम र मन्दिर गार्भंगा नामको आरक्षित वन नजिक छ। मेघालयबाट उत्पत्ति भएर बग्ने सन्ध्या, ललिता र कान्ता नदीको संगमस्थलमा रहेको मन्दिर परिसरमा एउटा गुफा पनि रहेछ, जहाँ वशिष्ठ ऋषिले ध्यान गरेका रहेछन्।
आश्रम परिसरमा एक गुफा पनि छ, जुन लगभग पाँच किमिभित्रसम्म रहेको छ। त्यहाँ ऋषि वशिष्ठले ध्यान गरेका थिए भन्ने विश्वास छ। त्यसैले यो स्थल तीर्थयात्री र पर्यटकका लागि लोकप्रिय गन्तव्य बनेको रहेछ। कालिका पुराणमा वशिष्ठ मन्दिरलाई सात शक्तिपीठमध्ये एकको रूपमा उल्लेख गरेबाट थाहा हुन्छ, यसको धार्मिक एवं ऐतिहासिक महत्त्व। सानो
झरनाले पनि आगन्तुकलाई लोभ्याउँदो रहेछ।
कला, साहित्य र संस्कृतिको संगम– आर्ट ग्यालेरी
श्रीमन्त शंकरदेव कलाक्षेत्र असमको गुवाहाटीको सांस्कृतिक पहिचानको जगेर्ना गर्ने संस्था पनि अवलोकन गर्ने अवसर जुट्यो। जसले कला, साहित्य र संस्कृतिको धरोहरलाई नयाँ पुस्तामाझ पुर्याउने भूमिका खेलेको पायौं। लक्ष्मी दाइले अवलोकनपछि भन्नुभयो, ‘यो त असमिज समाजको परम्परागत कलाका अनेक रूपहरूको दस्तावेजीकरण रहेछ।’
बुवा दिननाथले आफ्नो बुझाइ सुनाउनुभयो, ‘परम्परागत शिल्प, वस्त्र र कला कार्यहरूको प्रदर्शनले धेरै ज्ञान दियो। कलाक्षेत्रका संग्रहालय र ग्यालरीहरू रहेछन्, जसले इतिहासलाई जीवित राखेको रहेछ। विभिन्न ऐतिहासिक सामग्री, पाण्डुलिपि र सांस्कृतिक वस्तुलाई संरक्षण गरेर पवित्र कर्म गरेका रहेछन् गुवाहाटीवासीले।’ गुवाहाटी यसै पनि भारतको स्वीट्जरल्याण्डले चिनिँदोरहेछ । जसलाई नर्थइष्ट इन्डियाको गेट–वे पनि भनिन्छ ।
नृत्य, नाटक र संगीतको प्रदर्शनकलाले अझ नयाँ ज्ञान दिलायो हामीलाई। पुस्तकालय र अनुसन्धान सुविधाहरू पनि रहेछन् त्यही एउटै थलोमा। जहाँ कार्यशाला र तालिम कार्यक्रम पनि गर्न सकिने रहेछ। समाजले विद्यालय र समुदायका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न पाउने हुँदा त्यसले सांस्कृतिक जागरुकता जगाउने रहेछ।
अनेक पूर्वाधारसँगै प्रशस्त सुविधा यस कलाक्षेत्रमा पाइयो। जहाँ अडिटोरियम, खुल्ला थिएटर र प्रदर्शनी हलहरू (आधुनिक सांस्कृतिक स्थलहरू) दिएर गुन लगाएको रहेछ। समाजले सांस्कृतिक पूर्वाधारलाई विस्तार गर्दै संग्रहलाई डिजिटल बनाउने र सांस्कृतिक धरोहरलाई विश्वव्यापी बनाउने लक्ष्य राखेको थाहा पाउँदा मैले नेपाल सम्झिएँ, हामीले यस्ता काम के, कति, कहाँ र कसरी गरेका छौं ?
प्रतिक्रिया दिनुहोस !