स्वदेश फर्किए विदेशी खेलाडी
काठमाडौं : दोस्रो संस्करणको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएपछि विदेशी खेलाडीहरू स्वदेश फर्किएका छन् । देशको पछिल्लो राजनीतिक परिस्थितिपछि प्रतियोगिता स्थगित गरिएको थियो । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रतियोगिता स्थगित गरेको हो ।
त्यसपछि लगातार कफ्र्यु र निषेधाज्ञाका कारण केही समय पोखरामै अड्किएका विदेशी खेलाडी काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण अड्किएका उनीहरू शनिबार रातिसम्म स्वदेश फर्किसकेको प्रतियोगिताका निर्देशक जगदीश भट्टले जानकारी दिए ।
हामीले बिहीबारदेखि नै विदेशी खेलाडीलाई स्वदेश फिर्ता पठाउन थालेका छौं । अहिले सबै विदेशी खेलाडी स्वदेश फर्किसकेका छन् । शनिबार रातिसम्म सबै खेलाडी फर्किसकेका छन् ।
– जगदीश भट्ट
प्रतियोगिता निर्देशक
‘हामीले बिहीबारदेखि नै विदेशी खेलाडीलाई स्वदेश फिर्ता पठाउन थालेका छौं । अहिले सबै विदेशी खेलाडी स्वदेश फर्किसकेका छन्’, उनले भने, ‘शनिबार रातिसम्म सबै खेलाडी फर्किसकेका छन् ।’ उनले सोमबार लिगको विशेष बैठक रहेको जानकारी दिँदै प्रतियोगिताका बाँकी खेलका बारेमा निर्णय हुने बताए । ‘खेलाडीलाई स्वदेश फर्काए पनि प्रत्यक्ष प्रशारणका लागि भारतबाट आएका प्राविधिक र सामग्री पोखरामै छन् । त्यसका विषयमा पनि बैठकमा छलफल हुन्छ’, उनले भने, ‘यी सबै कुरालाई मध्यनजर गरेर प्रतियोगितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्छ ।’
पोखराको बहुउद्देशीय कभर्डहलमा भएको प्रतियोगिताको लिग चरणका नौ खेल सम्पन्न भइसकेको थियो । अब लिगको ६ खेल र फाइनल हुन बाँकी छ । प्रतियोगितामा पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले प्रतिस्पर्धा गरेका थिए । यस पटक पहिलो संस्करण खेलेको गण्डकी थन्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज भित्रिएका थिए ।
एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा सहभागी हुन १० देशका १८ खेलाडी नेपाल आएका थिए । जसमा एसियाली राष्ट्र थाइल्याण्डदेखि नेदरल्यान्ड्स, रुस, क्रोएसिया, ग्रिस, रोमानिया, बुल्गेरिया, अमेरिका र ब्राजिलका खेलाडी छन् । लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका थिए । ६ वटै फ्रेन्चाइज टोलीले कोटा अनुसार तीन विदेशी खेलाडी अनुबन्ध गरेका थिए ।
यस पटक थाइल्यान्डबाट सबैभन्दा धेरै पाँच खेलाडी नेपाल आएका थिए । यस्तै नेदरल्यान्ड्सबाट तीन, रुस र ब्राजिलबाट दुई/दुई, अमेरिका, किर्गिस्तान, क्रोएसिया, ग्रिस, रोमानिया र बुल्गेरियाबाट एक/एक खेलाडी अनुबन्ध गरिएको थियो । पहिलो संस्करणमा छिमेकी राष्ट्र भारतका खेलाडी आए पनि दोस्रो संस्करणमा भने भारतका कोही पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले ल्याएनन् ।
प्रतिक्रिया दिनुहोस !