शीर्ष नेतृत्वको मनोविज्ञान !

शीर्ष नेतृत्वको मनोविज्ञान !

कुनै पनि राष्ट्रको विकास गर्ने माध्यम त्यस देशको भौगोलिक अवस्थाले निर्धारण गर्ने विषय हो।

‘देशको राजनीतिको खाँबो मैले छाडें भने गल्र्यामगुर्लुम ढलिहाल्छ कि जस्तो लाग्छ। हुन त म अहिले सरकारको नेतृत्वमा छैन, प्रमुख प्रतिपक्षी दलको नेता छु तर यस्तो लाग्छ देशको राजनीति पूरै मेरै काँधमै छ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीको एक कार्यक्रममा बोलेका वाक्य हुन् यी, ‘चुरो कुरो नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेनन् भने देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ। बच्दै बच्दैन, धेरै ठूलो अप्ठ्यारोमा जान्छ। पोलिटिकल लिडरसिपको भिजनले लोडसेडिङ अन्त्य गरेको हो, कुनै टेक्निकल मानिसले होइन।’

के कारण उनी आफूलाई विकल्पविहीन नेता ठानिरहेका छन् ? उनी २०६३ सालको परिवर्तनदेखि अहिलेसम्म सत्ताको केन्द्रमा छन् तर उनले देशका लागि खास के के गरे ? कुनै १० वटा महŒवपूर्ण कामका सूची होलान् उनीसँग ? उनी कसरी विकल्परहित नेता बने ? यस्ता आत्मकेन्द्रित अभिव्यक्तिले आमनेपालीलाई अचम्भित बनाइरहेको छ। यस्तो विकल्पविहीन ठान्ने मनोविज्ञान केवल उनैसँग मात्र भएको भने होइन। यस्तै प्रकारको विकल्पहीन मनोविज्ञान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधव नेपाललगायतमा छ। कोही बोल्लान्, कोही नबोल्लान्, फरक यत्ति हो। जुन अहिलेको मुलुकको विडम्बना बनेको छ। देश अहिले दुरवस्थामा छ। अझ भन्ने हो भने राष्ट्र इतिहासकै गम्भीर मोडबाट गुज्रिरहेको छ।

लामो समयदेखि नेपालको राजनीतिका लागि धेरै त्याग गरेको दाबी गर्ने पार्टीका नेताहरू अहिले राजनीतिको केन्द्रविन्दुुमा छन्। स्वाभाविक छ, उनीहरूले नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने सिलसिलामा त्याग गरेका होलान्। त्यसलाई नेपाली जनताले सम्मान गर्छन्। तर, उनीहरू आफूलाई बिनासंकोच विकल्परहित बताइरहेका छन्। प्रश्न उठ्छ– उनीहरू सत्तासीन भइसकेपछि देशलाई के के दिए ? उनीहरूको नीति र सिद्धान्त देशका लागि कति सार्थक र व्यावहारिक बने ? उनीहरूले अवलम्बन गरेका सिद्धान्त र उनीहरूले गरेका कार्यले जनताको जनजीविकामा कस्तो प्रभाव पा¥यो ? नेताको त कुरा गरी साध्य छैन तर खासमा नागरिकको जीवन कति गुणस्तरीय बन्यो ? त्यो नै उनीहरूको मूल्यांकन गर्ने विषय हो। तर यी नेताहरू आफूलाई जनताको मूल्यांकनको कसीमा आफूलाई प्रस्तुत गर्न तयार देखिँदैनन्।

जहाँसम्म आफूलाई विकल्पविहीन भन्ने नेताहरूको विषय छ, नेताहरूले अवलम्बन गरेका नीति र कार्यलाई जनताले मुक्तकण्ठले प्रशंसा गर्न सकेका छैनन्। बरु, उनीहरूले जबर्जस्ती लादेका संघीयताजस्ता विषयले नेपाललाई ठूलो ऋणभारमा पारिसकेको छ। वर्तमान अवस्थाको नेपालको चित्रण कहालीलाग्दो छ। हरेक दिन नेपालबाट भइरहेको युवा पलायनले आमनेपालीलाई चिन्तित तुल्याएको छ। युवाहरूको पलायनले देशका हरेक क्षेत्रमा केही वर्षपछि दक्ष जनशक्तिमात्र होइन, साधारण जनशक्तिसमेत पाउन असम्भव हुने अवस्था सिर्जना हुन पुगेको छ। जब कुनै पनि राज्य युवाविहीन बन्दछ, त्यो राष्ट्र बुढो र जर्जर बन्दछ। युवा शक्तिको अभावमा न त मुलुकले कुनै उद्योगको विकास गर्न सक्छ न त कृषिमा कुनै नवीन क्रान्ति ल्याउन सक्दछ।

कुनै पनि राष्ट्रको विकास गर्ने माध्यम त्यस देशको भौगोलिक अवस्थाले निर्धारण गर्ने विषय हो। नेपाल, संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुईवटा छिमेकी चीन र भारतबीचमा  रहेको भू–परिवेष्ठित मुलुक हो। जसका कारण नेपालको विकासका लागि यी दुई मुलुकको बजारलाई दृष्टिगत गरेर उद्योगहरूको स्थापना गर्नु नै नेपालको तीव्र विकासको बाटो हो भनेर बुझ्दा हुन्छ। त्यसका लागि नेपालको कूटनीतिक क्षमता कति छ ? भन्ने कुराले उद्योगको स्थापना र बजार व्यवस्थाको निर्धारण गर्दछ। तर, अहिले नेपालको कूटनीति असफल जस्तै देखिएको छ। चरम भ्रष्टाचार र स्वार्थको द्वन्द्वले राष्ट्रको छवि धमिलिएको छ। भीडको राजनीति हाबी हुँदा नियम, कानुन गौण बनेका छन् भने न्यायपालिकाको साखमा समेत ह्रास आउन थालेको छ। सोही कारण पनि औद्योगिक क्रान्ति र छिमेकी राष्ट्रको बजार संयुक्त लगानीका उद्योगहरूको स्थापना गर्न उनीहरूले विश्वास गर्न नसक्ने अवस्था सिर्जना हुन पुगेको हो।

देश अहिले दुरवस्थामा छ। अझ भन्ने हो भने राष्ट्र इतिहासकै गम्भीर मोडबाट गुज्रिरहेको छ। लामो समयदेखि नेपालको राजनीतिका लागि धेरै त्याग गरेको दाबी गर्ने पार्टीका उनै नेताहरू अहिले राजनीतिको केन्द्रविन्दुुमा छन्।

त्यसैगरी, नेपाललाई आत्मनिर्भर बनाउने अर्काे बाटो भनेको कृषि पेसा हो। विगतमा परम्परागतरूपमा कृषि पेसा अवलम्बन गर्दा बहुसंख्यक मानिस अर्थात् एक समयमा ९३ प्रतिशत मानिसहरू कृषिमा आश्रित थिए। तर अहिले परिस्थिति बदलिएको छ। कृषिमा आश्रित हुनेको संख्या ह्वात्तै घटेको छ। तर, कृषि पेसाको औचित्यता अहिले पनि सकिएको छैन। अहिले नेपालले चामल निर्यातको सट्टा करिब ५० अर्बभन्दा माथिको चामल आयात गर्ने गर्छ। हरियो तरकारी र मासुजन्य चिजहरू अहिले पनि अर्बाैंको आयात गर्छ। नेपालमा नवीन प्रविधिसहितको कृषि क्रान्ति अहिलेको प्रमुख आवश्यकता बनेको छ। के विकल्पविहीन ठान्ने नेतृत्वको नीतिले नेपालको कृषि पेसालाई पुनर्जीवित गर्न खोजेको छ ? बिल्कुलै छैन। नेपालका कृषियोग्य जमिनहरू नेपालभर बाँझो छन्।

त्यसैगरी, नेपाल संसारकै सुन्दरतम मुलुकमध्येको एक हो। नेपाल संसारभरका प्रकृतिप्रेमीका लागि पर्यटकीय गन्तव्यस्थल हो। यस्ता धेरै आयआर्जनका बाटाहरू नेपालसँग हुँदाहुँदै पनि नेपालबाट रोजगारीका लागि युवाहरूको पलायन डरलाग्दो रूपमा किन भइरहेको छ ? किन विकल्पविहीन नेताहरूको नीतिले नेपालमा रोजगारी सिर्जना गर्न सकेको छैन ? उनीहरूको उद्देश्य युवाहरूलाई नेपालमा रोक्नु पर्दथ्यो। रोजगारीका नयाँनयाँ क्षेत्रहरूको खोजी गर्ने हुनु पर्दथ्यो। तर, यथार्थ त्यस्तो छैन। युवाहरूलाई मुलुकबाहिर जान अघोषित रूपमा प्रेरित गरेको जस्तो देखिएको छ। जुन कुराको प्रमाण उनीहरूका विकल्पविहीन अभिव्यक्तिले स्पष्ट पारिरहेका छन्।

यदि उनीहरू राष्ट्रप्रति जिम्मेवार भइदिएको भए एउटा पद्धतिको निर्माण हुन्थ्यो। त्यति गरिसकेपछि युवालाई राजनीति र नीतिनिर्माण तहमा पु¥याउने पहल सफल हुन्थ्यो। उनीहरू अझै पनि आफ्ना कमी, कमजोरीहरू खोजी गर्ने र गल्ती सच्याउनेमा छैनन्। बरु आफू बाँचुञ्जेल सत्तामा बस्ने अभिप्रायले अभिव्यक्ति दिइरहेका छन्। उनीहरू यति अभिमानी भएका र दम्भले भरिएका छन् कि उनीहरू आफ्ना गल्ती कसैले औंल्याइदिएको पनि सुन्न चाहँदैनन्। बरु, स्वस्थ आलोचना गर्नेलाई नै समाप्त पार्न उद्यत् देखिने गरेका छन्। त्यसैको परिणाम हो, ‘म भइनँ भने यो मुलुक रहँदैन। मैले छोडिदिएँ भने यो देश गल्र्यामगुर्लुम ढल्छ’ जस्ता भद्दा अभिव्यक्ति ! विकल्पहीन बन्ने नेतृत्वको घोषणाले होइन। उनीहरूका नीति र असल कार्यले हो। तर, उनीहरूले सोचिरहेका छैनन् कि उनीहरूका गलत नीति र कथित सिद्धान्तले राष्ट्र कति पछि धकेलिइसकेको छ भनेर।

जहाँसम्म युवा शक्तिको कुरा छ, एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो शक्ति भनेको युवा जनशक्ति हो। जुन शक्तिको अभावमा राज्यले कुनै पनि क्षेत्रमा विकास गर्न सक्दैनन्। चाहे त्यो क्षेत्र कृषि होस् वा उद्योग अनि स्वस्थ्य र शिक्षाको क्षेत्र नै किन नहोस् ? युवाको अभावमा कुनै पनि क्षेत्रले गति लिन सक्दैन। अहिले मुलुकमा युवाको अभाव सुरु भइसकेको छ।  युवाहरूको विदेश पलायन/वैदेशिक रोजगारीमा जानाले शिशु जन्मदरको कमीले संकटको संकेत गरिसकेको छ। करिब तीन करोड जनसंख्या भएको नेपालमा एक करोडभन्दा बढी मानिस मुलुकबाहिर छन्। तीन प्रतिशतभन्दा बढी शिशु जन्मदर नरहेको अवस्था छ।  नेपालमा  दैनिक जन्मने शिशुहरू राष्ट्रभरमा एक हजारको हाराहारीमा पनि नहुनु भविष्यका लागि मुलुकको अस्तित्व संकटमा पर्नु हो। के यस्ता विषयमा गम्भीर रूपमा ध्यान दिनुपर्ने होइन र !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.