राजनीतिमा नैतिकताको खडेरी !

राजनीतिमा नैतिकताको खडेरी !

राजनीति सेवा हुनुपर्थ्यो। समाज सेवालाई राजनीतिको मूलमन्त्र बनाइनुपर्थ्यो ।

एक वर्ष अगाडि संसद्का दुईवटा ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ मा सातबुँदे सम्झौता गरी सरकार बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । तर, सरकार विवादमुक्त हुन सकेको छैन ।

सरकारका मन्त्रीहरू एकपछि अर्काे गरी विभिन्न प्रकारका काण्डमा मुछिएका छन् । यद्यपि, सरकारले एक वर्ष पूरा गरेको छ । तर, सुशासन र भ्रष्टाचार नियन्त्रणको सवालमा यो सरकार सफल हुन सकेको देखिँदैन । हरेक दिन नयाँ–नयाँ प्रकारका काण्डहरूले सरकारलाई गिज्याइरहेको छ । सरकारका मन्त्रीहरू आफू विवादमा मुछिएको भए पनि नैतिकताको आधारमा पदबाट हट्दै आफूविरुद्धको छानबिनलाई सहयोग गर्ने हिम्मत गर्न सकेका छैनन् ।

भिजिट भिसा प्रकरणमा विमानस्थलका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेपछि सरकारका गृहमन्त्री विवादमा तानिएका छन् । उनीमाथि नैतिकरूपमा पदबाट राजीनामा गर्न दबाब परिरहेकै छ । उनी अहिले पनि कर्मचारीलाई मात्र दोष देखाएर उम्किने कोसिस गरिरहेका छन् । जो विगतमा आफूले सदनमा दिएको अभिव्यक्तिभन्दा फरक प्रकारका अभिव्यक्ति दिइरहेका छन् । आफ्नो विषय नितान्त फरक भएको जिकिर गरिरहेको छन् । यद्यपि, विमानस्थलबाट भिजिट भिसामा विदेश पठाउने मानव तस्करी उनीभन्दा पहिलेदेखि नै चलिरहेको कारणले पनि उनी पदबाट राजीनामा नदिने अडानमा छन् ।

जानकारहरू दाबी गरिरहेका छन्, भिजिट भिसाको प्रकरणको सर्जक नै नेकपा माओवादी केन्द्र हो । माओवादी सरकारको समयदेखि अहिलेसम्म भिजिट भिसाको प्रकरण निरन्तररूपमा चलिरहेको छ । जसका कारणले पनि होला माओवादीले लोकलाजका लागि केही दिन गृहमन्त्रीको राजीनामा मागेको नाटक गर्‍यो । तर, केही दिनपछि दुईबुँदे सहमति गरी गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ । जसले अझ के स्पष्ट पारेको छ भने अहिलेको घटनाको छानबिन मात्र समस्याको समाधान होइन । कहिलेदेखि र कसरी मानव तस्करी भइरहेको थियो ? भन्ने विषयमा गहनरूपमा अनुसन्धान हुन आवश्यक देखिएको छ । जसले गर्दा पनि अख्तियारको हालको कारबाही मात्र अपर्याप्त हुन सक्छ ।

डेढ दशकदेखि विभिन्न प्रकारका काण्डहरूले सुशासनको खिल्ली उडाएको छ । लडाकु सिबिरको अर्बाैं रुपैयाँको घोटला होस् वा वाईडबडी विमान काण्ड होस् । ललिता निवासको नाममा प्रधानमन्त्री निवासको जग्गा नै बेच्ने काण्ड होस् वा बूढीगण्डकीको ९ अर्ब कमिसन भनिएको घोटला । बाँसबारी जग्गा प्रकरण होस् वा बालमन्दिर काण्ड अथवा भुटानी शरणार्थी घोटला । टेरामक्स काण्ड होस् या पतञ्जली जग्गा काण्ड वा होस्, साठी किलो सुन तस्करीको काण्ड । यस्ता, काण्डहरू नग्नरूपमा खुल्ला भइरहेकै छन् । यति धेरै काण्ड बारम्बार भइरहँदा पनि कुनै पनि प्रधानमन्त्री होस् वा अन्य मन्त्रीहरूले आफूलाई नैतिकताको कसीमा प्रस्तुत गर्न सकेका छैनन् । बरु भ्रष्टाचारको विषयमा अदालतलाई समेत प्रभाव पार्दै अदालतको आदेशमा समेत विभेद र छेडखाड गरिएको छ । अदालतले समेत अर्बाैंको भ्रष्टाचारको काण्डमा अत्यन्त न्यून धरौटी लिएर दोषीलाई उन्मुक्ति दिने कोसिस गरिरहेको छ ।

करिब डेढ दशकदेखि नीतिगत निर्णयको नाममा राज्यको ढुकुटी दोहन गरी व्यक्तिगत लाभ लिने र कानुनी कारबाहीबाट उन्मुक्ति लिने कार्यलाई राजनीतिक दलका नेताहरूले परम्परा जस्तै बनाएका छन् । मुलुकका जनताको जीविकासँग सम्बन्धित विषयमा नीतिगत निर्णय हुनुपर्नेमा व्यक्तिगत लाभका लागि नीतिगत निर्णय गरिएका छन् । पछिल्लो उदाहरणका रूपमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासको मुद्दामा उन्मुक्ति पाएपछि पुनः पतञ्जलीको हदबन्दीभन्दा माथिको जग्गा किन्ने र बिक्री गर्ने कार्यलाई नीतिगत निर्णय बनाउने र लाभ लिने कोसिस गरे । त्यस प्रकरणमा १८ करोडभन्दा माथिको बिगोमा केवल ३५ लाखमा धरौटीमा छोड्ने कार्यले अदालतको निर्णय नै विवादित बनेको छ । अझ उनी राजनीतिक प्रतिशोध भयो भन्दै हुँकार गरिरहेका छन् ।

त्यस्तै, टेरामक्स काण्डमा अर्बौंको भ्रष्टाचार मुद्दामा समेत केवल २५ लाखको धरौटीमा भूपूमन्त्री मोहन बस्नेत छुटेका छन् । माओवादीकी नेतृ अमला रोका ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटीमा छुटेकी छन् । यो अवस्थाले दिन प्रतिदिन अदालतको साख गिरिरहेको छ भने नागरिकहरूमा निराशा छाएको छ । शक्तिशाली मानिसहरू अदालतलाई खल्तीमा राख्छन् भन्ने जस्तो सन्देश जनमानसमा फैलिरहेको छ । के यो अवस्थाले जनताको जनजीविका उन्नत बन्न सक्छ ? अर्काेतिर २०७२ को संविधान जारी गरिसकेपछि नेपालमा अनावश्यकरूपमा राजनीतिक इकाइहरू खडा गरिएका छन् । राजनीतिक इकाइ जनताको जनजीवनलाई सहज बनाउनभन्दा पनि नितान्त राजनीतिक कार्यकर्ताहरूलाई व्यवस्थापन गर्ने नियतले स्थापना गरिएको हुनाले जनता करको बोझले थिचिएका छन् । कार्यकर्ताको व्यवस्थापनका लागि राजनीतिक इकाइको स्थापना गरिएका कारण मुलुकको बजेटको ६० प्रतिशत साधारण खर्चनुपर्ने बाध्यताले विकासका नयाँ योजनाहरू करिब करिब बन्दको अवस्थामा छन् ।

बजेटको ६० प्रतिशत साधारण खर्च हुँदा विकासका लागि बजेट नै नहुँदासमेत राजनीतिक पार्टीका नेताहरू अझै देश विकासको हल्ला गरिरहेका छन् । के बजेट अनुत्पादकरूपमा तलब र सुविधामा वितरण गरेकै भरमा मुलुकको विकास हुन सक्छ ? तर अझै उनीहरू संविधानको त्रुटि र बोझिलो राजनीतिक पद्धतिलाई परिवर्तन गर्न तयार छैनन् । हरेक पार्टीका शीर्ष नेताहरू प्रदेशको नाममा खडा गरिएका संरचनाहरूबाट आफूविरुद्ध उठ्न सक्ने आवाजलाई तल्लो तहमा नै साम्य पार्ने किल्लाका रूपमा प्रयोग गरिरहेका छन् । यथार्थमा राजनीति के हो ? राजनीति केका लागि ? भन्ने प्रश्न खडा भएको छ । के राजनीति व्यापार÷व्यवसाय हो ? बिल्कुल होइन । राजनीति सेवा हुनुपर्थ्यो । समाज सेवालाई राजनीतिको मूलमन्त्र बनाइनुपर्थ्यो । तर, करिब तीन दशकदेखि खुल्लमखुल्ला ‘राजनीति गर्ने भनेको जोगी हुनलाई होइन’ भन्दै स्पष्टरूपमा आय आर्जन गर्न, फास्ट ट्रयाकबाट पैसा कमाउन राजनीति हो भन्ने अर्थ लगाइरहेका छन् । जसका कारण राजनीतिमा लाग्ने मानिसहरू राजनीतिक सिद्धान्तबाट निर्देशित हुन छोडिसकेका छन् ।

बरु व्यापारी, उद्योगी, विभिन्न स्वार्थ समूहका मानिस, गुन्डा, डनहरूसमेत राजनीतिक क्षेत्रमा प्रवेश गरी नीति निर्माण तहमा पुगिसकेका छन् । त्यति मात्र होइन, उनीहरूले जे चाह्यो, त्यही प्रकारको कानुनको तर्जुमा हुने गरेको दशकौं भइसकेको छ । राजनीतिक पार्टीका सिद्धान्त निष्ठ नेताहरू उनीहरूको अगाडि नतमस्तक जस्तै भइसकेका छन् । यसभन्दा बिडम्वना ! मुलुकका लागि के हुन सक्छ ? मुलुकको राजनीति, राजनीतिक नेताहरूको हातबाट स्वार्थ समूह र बिचौलियाको हातमा गइसक्दा पनि राजनीतिलाई शुद्धीकरण गर्नेतर्फ नेताहरू अग्रसर हुन सकेका छैनन् । तसर्थ, यदि मुलुकको राजनीतिलाई सही दिशा दिने हो भने राजनीतिक पार्टीका युवाहरू अगाडि आउन जरुरी भइसकेको छ । यदि अझै पनि म यति वर्ष जेल बसेको मैले यति त्याग गरेको भन्दै सत्तामा सदाबहार रमाउने नेताहरूविरुद्ध आवाज उठाउन नसक्ने हो भने राजनीति अझै धुमिल र काष्टदायी बन्ने निश्चित छ । खासगरी युवाहरूलाई चेतना आओस् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.