कर्णाली घुम्ने पर्यटक बढ्दै

कर्णाली घुम्ने पर्यटक बढ्दै
वीरेन्द्रनगरमा रहेको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार मन्दिर
सुन्नुहोस्

सुर्खेत : पर्यटकका लागि कर्णाली उत्कृष्ट गन्तव्य बन्न थालेको छ । पछिल्लो समय कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुनुले पनि यसको संकेत गरेको हो । तथ्यांकअनुसार कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको छ । अर्थात् ६ महिनाको अवधिमा कर्णालीमा स्वदेशी तथा विदेशी गरी साढे ५ लाख पर्यटक भित्रिएका छन् ।

पर्यटकीय क्षेत्रहरूको प्रचार, भौतिक पूर्वाधारमा सुधार, सडकको सहज पहुँच र सुविधायुक्त होटल उपलब्ध हुन थालेपछि कर्णालीमा पर्यटकको आवागमन बढेको हो । कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिन्जा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । यी पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका हुन् । यस्तै कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो ।

कर्णालीमा पर्यटनको विकास र पर्यटकको आवागमनबारे नेपाल राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले अध्ययन गरेको थियो । सोही अध्ययनको प्रतिवेदनअनुसार कर्णालीमा विगतको तुलनामा पर्यटकको आवागमन उत्साहजन देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो सयम कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको देखाएको छ । गएको आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्णालीमा साढे ५ लाख पर्यटक भित्रिएका छन् । राष्ट्र बैंकका अनुसार बितेको आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मात्र कर्णालीमा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटक भित्रिएका छन् । प्रदेशस्थित नमुना छनोटमा परेका होटलबाट प्राप्त तथ्यांकको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णालीमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो अवधिमा समग्रमा कर्णालीमा पर्यटक आगमन ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को यही अवधिमा ८ दशमलव ६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटकको संख्या आर्थिक वर्ष २०८१/०८२ मा १२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा चिनियाँ पर्यटकको संख्या १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको वितेको आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ६९ प्रतिशतले वृृद्धि भएको तथ्यांकमा उल्लेख छ । यस्तै कर्णालीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय कर्णाली आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । यद्यपि कर्णालीमा आउने पर्यटकको बसाइ दर बढाउन थप योजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । पर्यटन व्यवसायको अत्यधिक सम्भावना भएको कर्णालीमा सहज हवाईसेवा तथा सडक यातायात, पर्यटकीय होटल तथा होमस्टेलगायत मनोरञ्जनात्मक क्रियाकलापको थप व्यवस्थापन गर्न सकेमा पर्यटकको औसत बसाइदर बढाउन सकिने सुझाव राष्ट्र बैंकले दिएको छ । यस्तै प्राथमिकताका साथ संघीय एवं प्रादेशिक स्तरका नीति तथा कार्यविधिमार्फत पर्यटन विकासमा लगानी गर्न सकेमा कर्णालीवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने सम्भावना रहेको नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतको निस्कर्ष छ ।

पर्यटकको आवागमन बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले पनि यहाँको पर्यटन प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखिएको जनाएको छ । जसअन्तर्गत प्रदेश सरकारले कर्णालीको पर्यटन प्रवद्र्धन र विकासमा काम गर्नका लागि पर्यटन प्रवद्र्धन विकास समिति स्थापना गरेको छ । पर्यटन प्रवद्र्धन विकास समितिका सदस्य भानुभक्त खड्काले कर्णालीका पर्यटकीय गन्तव्यको खोजी गर्दै प्रचारप्रसारको कार्यलाई व्यापक बनाइने बताए । 
पहिचान भएका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि पर्यटन सर्किटको अवधारणामा काम गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ । यस्तै, पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवालगायतको जानकारी दिन गन्तव्य कर्णाली एप सञ्‍चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.