कस्ता हुनुपर्छ रिह्याव सेन्टर ?

कस्ता हुनुपर्छ रिह्याव सेन्टर ?

मुलुकमा लागुऔषध दुर्व्यसन एक गम्भीर सामाजिक तथा स्वास्थ्य समस्या बनेको छ। पछिल्लो दशकमा यस समस्याले विशेषगरी युवावर्गलाई नराम्रोसँग गाँजेको छ। यसको नियन्त्रण तथा उपचारका लागि देशभर विभिन्न रिह्याव (पुनर्स्थापना) केन्द्रहरू सञ्चालनमा छन्। राज्यबाट पनि लागुऔषध नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विधायकबाट उपयुक्त ऐन कानुन निर्माण गरेर कार्यान्वयन पनि गरिरहेको अवस्था छ। तथापी लागुऔषध दुर्व्यसनको समस्या भने झन् गाँजिँदै गएको देखिन्छ।

लागुऔषध दुर्व्यसनीहरूलाई पुनस्र्थापना तथा आत्म–परिवर्तनमा सहयोग गर्ने उद्देश्य लिएर सञ्चालनमा आउने रिह्याव सेन्टरहरूको संख्या पनि बढ्दै छन्। यी केन्द्रहरूले लागुऔषध प्रयोगकर्ताहरूलाई चिकित्सा, मनोपरामर्श, सामाजिक पुनस्र्थापना तथा आत्म–परिवर्तनमा सहयोग गर्ने कार्यहरू पनि गरिरहेकै छन्। अधिकांश केन्द्रहरूले डिटोक्सिफिकेसन, मनोपरामर्श, समूह थेरापी र जीवन सीप तालिम जस्ता उपचार विधिहरूलाई नै अवलम्वन गरेको पनि पाइन्छ। 

तथापी अधिकांश केन्द्रहरू प्रभावकारी ढंगले सञ्चालन हुन सकेको अवस्था भने छैन। नेपालमा लागुपदार्थ दुर्व्यसनको अवस्था, रिह्याब सेन्टरहरूमा उपचार गरिने लतहरूको विवरण र उपलब्ध तथ्यांकहरूलाई हेर्दाः सन् २०२० मा नेपालमा १,३०,४२४ लागूपदार्थ प्रयोगकर्ता थिए। जुन वार्षिक ५.०६ प्रतिशतको दरले वृद्धि हुँदै सन् २०२४ सम्ममा यो संख्या करिब १,५६,८२१ पुगेको अनुमान छ। 

मुलुकमा हाल सरकारी, गैरसरकारी, तथा व्यक्तिगत स्तरमा करिब २५० संख्याको हाराहारीमा रिह्याव सेन्टरहरू दर्ता भएका छन्। तीमध्ये काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, बिराटनगर, बुटवल लगायतका सहरमा धेरै केन्द्रहरू क्रियाशील छन्। केही केन्द्रहरू सेवा गुणस्तरको हिसाबले उत्कृष्ट भए पनि धेरैजसो केन्द्रले न्यूनतम मापदण्ड पनि पूरा गर्न सकेका छैनन्। 

प्रभावकारी सेवा प्रदान गर्न रिह्याव सेन्टर आफैंले आफूलाई चुस्त दुरुस्त र व्यवस्थित बनाउनुपर्छ। रिह्याबले भन्दा रिह्याबमा दिइने शिक्षा वातावरण¸ अभ्यास¸ विधी¸ पाठ्यक्रम तथा कोर्षले सेवाग्राहीको सोच र मानसिक अवस्थामा परिवर्तन ल्याएर व्यक्तीको बानी व्यवहारमा सुधार ल्याउने हो। रिह्याव सेन्टरहरू नाफामुखीभन्दा सेवामुखी भावलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्ने हो। र, कतिपयले सोहीअनुरूप सेवा प्रदान गरेकै पनि छन्।

सञ्चालक तथा व्यवस्थापकहरूको लापरबाही तथा गैरजिम्मेवारीपनले उपचारभन्दा समस्याहरू थपिँदो छ। रिह्यावहरूमा दुर्व्यसनीहरूमाथि भएका विभिन्न अमानवीय घटनाहरू सामाजिक सञ्जालमा भाइरल बन्दै पनि छन्। कतिपय घटनाहरू उपर प्रहरीले अनुसन्धान पनि गरिरहेको अवस्था छ। कतिपय रिह्याव सेन्टरहरू मुद्दाका प्रतिवादी बनेर अदालतसम्म पुगेका अवस्थाहरू पनि छन्।

नेपाल सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत र स्थानीय तहको समन्वयमा केन्द्रहरू दर्ता हुन्छन्। तर, दर्ता भएपछि नियमित अनुगमन, मूल्यांकन तथा मापदण्डको पालना सुनिश्चित गर्ने संयन्त्र अत्यन्त कमजोर छ। अधिकांश केन्द्रहरू स्वयंसेवी संघसंस्थाले चलाएका पनि छन्। पेसागत दक्षता, स्रोतसाधन तथा अनुभवी दक्ष जनशक्तिको अभावले रिह्यावबाट प्रदान गरिने सेवाहरू प्रभावकारी बन्न सकेका छैनन्। 

समस्या र चुनौतीहरू 
पेसागत दक्षताको अभावः–  धेरैजसो रिह्याव सेन्टरहरूमा चिकित्सक, मानसिक स्वास्थ्य विशेषज्ञ, परामर्शदाता (काउन्सिलर), नर्स, सामाजिक कार्यकर्तालगायत पेसागत जनशक्तिको अभाव छ। मनोपरामर्श बिना डिटक्सिफिकेसन मात्र (शरीर सफा गर्ने प्रक्रिया) गरेर व्यक्तिलाई ‘सफा’ बनाउने प्रवृत्ति अझै पनि धेरै केन्द्रहरूमा देखिन्छ। 

एकीकृत कार्यक्रमको अभावः– लामो समयसम्म पुनः लागुऔषधमा फर्कने सम्भावना घटाउनका लागि औषधि उपचार मात्र नभई मनोवैज्ञानिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक पुनर्स्थापना आवश्यक हुन्छ। तर, अधिकांश केन्द्रहरूमा यो एकीकृत दृष्टिकोणको अभाव छ। आर्थिक अभाव र शुल्कमा विसंगतिः– केन्द्रहरूको सञ्चालन खर्च व्यहोर्न सेवाग्राहीबाट शुल्क लिइन्छ। धेरै केन्द्रहरूले अत्यधिक शुल्क लिने गरेको गुनासो पनि सुनिने गरेको पाइन्छ, जसका कारण निम्न आय भएका परिवारका सदस्यहरू उपचारबाट वञ्चित हुन्छन्। अर्कोतर्फ, न्यून शुल्क लिने केन्द्रहरूमा सेवा गुणस्तर निकै कमजोर पनि हुन्छ।

कानुनी तथा नीतिगत चुनौतीः– नेपालमा लागुऔषध दुर्व्यसनसम्बन्धी स्पष्ट र कार्यान्वयन योग्य राष्ट्रिय नीति भए पनि यसको प्रभावकारी कार्यान्वयन पक्ष कमजोर छ। कानुनअनुसार अनिवार्य मापदण्ड कायम गर्नुपर्ने भए तापनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपारदर्शीरुपमा सञ्चालन भइरहेका अवस्था छन्। 

सामाजिक कलंक र पारिवारिक समर्थनको अभावः–  लागुऔषध दुर्व्यसनलाई अझै पनि समाजले अपराधका रूपमा हेर्ने प्रवृत्ति छ। पुनस्र्थापना पछि पनि सेवाग्राहीहरूलाई समाजले सहज रूपमा स्वीकार गर्न सक्दैन। परिवारमा पनि साथ र समर्थन नपाउनु, बेरोजगारी, गरीबी र अस्थिर वातावरणले पुनः दुर्व्यसनमा फर्कने सम्भावना बढाउँछ। 

महिला र किशोरका लागि न्यून सेवा पहुँचः– सन् २०२४ को तथ्याँक हेर्दा महिला तथा किशोरीहरूमा पनि लागुऔषध दुर्व्यसनको संख्या बढ्दो छ। तर, उनीहरूको लागि लक्षित सेवा प्रदान गर्ने केन्द्रहरू अति कम छन्। महिलाका लागि सुरक्षित, गोप्य तथा लिंगीय संवेदनशील कार्यक्रमको अत्यधिक अभाव छ। 

पुनः लागुपदार्थ प्रयोग दर उच्च हुनुः– नेपालमा रिह्यावपछि पुनः लागुपदार्थ सेवनमा फर्किने दर धेरै उच्च छ। यसको कारण उपचारको अधुरो प्रक्रिया, कमजोर परामर्श सेवा, पुनः सामाजिक समावेशीकरणमा असफलता, बेरोजगारी र सहारा प्रणालीको अभाव हो। 

विशेषगरी युवाहरूमा लागुपदार्थ दुर्व्यसन एक गम्भीर सामाजिक र स्वास्थ्य समस्याको रूपमा देखापर्दै गएको छ। रिह्याब सेन्टरहरूले दुर्व्यसनबाट मुक्त हुन चाहने व्यक्तिहरूका लागि महत्तपूर्ण भूमिका खेल्छन्। तथापि, सेवा पहुँच, लिंग समावेशिता, र गुणस्तरमा सुधारको आवश्यक छ। सरकार, गैरसरकारी संस्था, र समुदायको समन्वयमा रिह्याब सेवाहरूलाई प्रभावकारी बनाउन सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.