वर्षमानसँगको भेटमा चौथाइवालेले भने- राजावादी आन्दोलनमा भारतको समर्थन र सद्भाव छैन
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाबीच भेटवार्ता भएको छ।
दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो। भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको बताएको पुनले जानकारी दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सद्भाव र छैन’, चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनले भने।
यस्तै भारतको जम्मु–कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेको पुनले बताए। उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु’, चौथाइवालेले पुनसँग भनेका थिए।
चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए। आफूहरुले दुई दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो।
तीन दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाईवालेले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला, उदयशमशेर राणा र गृहमन्त्री समेत रहेका अर्का नेता रमेश लेखकसँग भेटेका थिए। भ्रमण सकाएर उनी आजै दिल्ली फर्कँदैछन्।
प्रतिक्रिया दिनुहोस !