नववर्षमा प्रकृतिको उपहार

नववर्षमा प्रकृतिको उपहार
फाइल तस्बिर।

विशेष गरेर फूलको प्रयोग देवीदेवताको आराधना र अतिथिको स्वागत सत्कारमा गरिन्छ। नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। फूलको रूखमा फूल फुल्नु पनि नौलो होइन। फूल फुल्नु र निश्चित समयपछि ओइलिनु कुनै अनौठो कुरा पनि भएन। यो प्रकृतिको स्वाभाविक नियमभित्रै पर्छ। तर, अनौठो र आश्चर्यजनक त्यतिबेला हुन्छ, जब कुनै फूल वर्षको एकचोटी मात्र त्यो पनि निश्चित दिनमा मात्र फुल्ने गर्छ।

प्रत्येक वर्ष विक्रम सम्वत् पात्रोको नयाँ वर्षलाई स्वागत गर्न र नयाँ वर्षको शुभकामना दिन सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा फूल फुल्दै आएको छ। यसलाई नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गरेको मान्छन्, मिथिलावासी। समाज सुधार र लोककल्याणका यावत पक्षलाई मिथिलामा सांस्कृतिक संरक्षण दिँदै आएको छ। वैशाख २ गतेका दिन मिथिलामा मनाइने जुडशीतल सरसफाइ तथा जीव–वनस्पति सबैलाई संरक्षण दिने सन्देशमूलक क्रियाकलाप गरी मनाइन्छ। त्यसैले होला, मिथिलामा प्रकृतिले पनि आफ्नो अलौकिक चरित्र देखाउने गरेको छ।

जलवायु परिवर्तनले धेरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने अवस्थामा पनि सलहेस फूलबारीमा प्रत्येक वर्ष चैत मसान्तको मध्य रातमा ‘हारम’को रूखमा मालाको आकारमा सुनाखरीको फूल फुल्दै आएको छ। मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित त्यो फूल सलहेस महाराजलाई उनका प्रेमिकाले अर्पण गरेको प्रेमको उपहार मानिन्छ। यसरी सलहेस फूलबारीमा विज्ञानलाई चकित पार्ने प्राकृतिक वरदानको दर्शन गर्न दशकौंदेखि भव्य मेला लाग्दै आएको छ।

मिथिलामा रहेका फूलबारीहरूको सौन्दर्य र महत्व संसारमा प्रसिद्ध छ। मिथिलाको गाउँगाउँमा रहेका फूलबारी पनि अवलोकनीय र अवर्णनीय छन्। फूलबारी हेर्नासाथ प्रकृतिको अनुपम एवं अलौकिक नैसर्गिक सौन्दर्यानुभूति हुन्छ। मिथिलाका केही उल्लेखनीय फूलबारीमध्ये स्थानीय लोकआस्थासँग जोडिएको सलहेस फूलबारी एक ऐतिहासिक, धार्मिक र पौराणिक फूलबारी छ। फूलबारीमा सयौं वर्ष पुराना रूख छन्। अनेकौं रूखमध्ये माला आकारको ती फूल मालिनीको ‘गहबर’ (मन्दिर) छेउमा एउटै जराबाट निस्केको दुइटा ‘हारम’को रूखमा मात्र देखिन्छ। माला आकारको फूल फुल्ने रूखमुनि रहेको गहबरभित्र हात्तीमा चढेका सलहेस र उहाँका प्रेमिका दिनामालिनीको मूर्ति छ। मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले खोला छ। त्यो फूल आफैंमा निकै प्राचीन छ। त्यसमा बेरिने फूलको कथा उस्तै पुरानो हो। उक्त फूल हेर्न नयाँ वर्षको दिन भारतबाट समेत असंख्य श्रद्धालु र भक्तजन आउँछन्। नेपालको सिरहा, सप्तरी, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीबाट सर्वसाधारण पनि फूल हेर्न र मेला भर्ने आउँछन्। सलहेस फूलबारी सिराहा जिल्लाको लहान नगरपालिकाको पडरियामा रहेको धर्मिक तथा ऐतिहासिक स्थल हो। कतिपयले जसलाई फूलबारी मेला भनेर पनि चिन्ने गर्छन्। नेपालको पूर्व–पश्चिम राजमार्गमा लहानबाट करिब ४ किलोमिटर पश्चिममा रहेको सिरहाको पडरीय चोकदेखि दक्षिणमा ऐतिहासिक तथा प्राचीन राज सलहेसको मन्दिर र मन्दिरछेउमा फूलबारी छ।

करिब नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सलहेसको फूलबारीको नामले प्रसिद्ध छ। फूलबारीको मध्यभगमा रहेको हारम नामको रूखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको दिन एकाबिहानै कसैले रातमा लगेर झुन्डयाइ दिएजस्तो एकदिनका लागि माला आकारको सेतो सुनाखरी फुल्ने गर्छ। अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ। सो फूल सातौं–आठौं शताब्दीदेखि फुल्दै आएको जनविश्वास छ। वनस्पतिविद्हरूले अर्किडको फूल भन्ने गरेको उक्त फूल फुल्ने रूखलाई भने स्थानीयले हारमको रुख भन्ने गरेका छन्। फूल जति आकर्षक र लोभलाग्दो हुन्छ, त्यसको रहस्य पनि त्यति नै रोचक र अनौठो छ। फूलबारी वरिपरिका बासिन्दाहरूका अनुसार अन्य कुनै दिन सो फूल देखिँदैन। प्रकृतिको यस अनौठो रूपलाई दैवीशक्तिको रूपमा लिइन्छ। उक्त फूलबारे अनुसन्धान गर्न जरुरी छ। यद्यपि सलहेस गाथामाथि विश्वास गर्नेहरू सलहेसका प्रेमिका मालिनी सलहेसको दर्शन गर्न फूलका रूपमा उक्त दिन प्रकट हुने जनविश्वास छ। वैशाख १ सलहेस र मालिनीका लागि प्रणय दिवस रहेको विश्वास गर्न सकिन्छ।  राजा सलहेस र मालिनीको हबरमा गरेको भाकल पूरा हुने जनविश्वास छ। युवायुवतीले उक्त फूललाई साक्षी मानेर प्रेमसूत्रमा बाँधिने गर्छन्। नि:सन्तान महिलाले सलहेस फूलबारीमा दर्शन गरेर सन्तान माग गर्छन्। सन्तान पाएपछि तिनको मुण्डन गराउन आउँछन्। मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाहीँ अपर्झट रूपमा मात्र देखिने गरेको पुजारीको भनाइ छ।

अत्याधिक सम्मान पाएका राजा सलहेस देवताभन्दा पनि लोकनायक थिए। सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमर्का सुन्ने गर्दथे। सलहेस गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ। पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन गरी यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भिœयाउन टेवा पुग्ने जनविश्वास छ।

मूलत: लोकगाथाका नायकका रूपमा रहेकाले यिनीबारे पर्याप्त अध्ययन हुन सकेको छैन। यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजा भए तापनि लोककल्याणमा सक्रिय थिए, जसकारण उनी जनताका प्रियपात्र बने। त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन्। उनको व्यक्तित्वमा अचम्मको आकर्षण पाइन्छ। प्रेम, प्रकृति, सौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे। सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देवता झैं पुजिन्छ। उनी मिथिला क्षेत्रमा अन्याय र अत्याचारविरुद्ध लडेका एक विद्रोही पात्र पनि हुन्। अहिले पनि तराईका दुसाध र दनुवार समुदायले उनलाई देवताकै रूपमा पूजा गर्ने गर्छन्।

सलहेसको समय कृषिको प्रारम्भिक युग थियो। सलहेस फूलबारीले विभिन्न किसिमको अतिक्रमण सहँदै आएको छ। यद्यपि अहिलेसम्म सानो जंगलको रूपमा अस्तित्वमै छ। यस फूलबारीकै सेरोफेरोमा सलहेससँग सम्बन्धित अन्य ऐतिहासिक स्थान पनि छन्। उत्तरतर्फ मनिक दह छ भने पूर्वोत्तरमा पकडियागढ छ। सामाजका हरेक वर्ग, जाति, समुदायले सम्मान, श्रद्धा र निष्ठा साथ सलहेसको नाम लिने र पूजा गर्ने गर्छन्। 

हाम्रो देशमा सबैले पुज्ने यस्तो अर्को कुनै दलित ऐतिहासिक व्यक्ति सायदै होला। राजा सलहेस अहिले पनि मिथिलामा पुजनीय र लोकप्रिय पात्र हुन्। अहिले पनि गाउँ–गाउँमा गीत र महराइका माध्यमले राजा सलहेसको गाथा गाउने चलन छ। मिथिला क्षेत्रको लोक नाचमा पनि राजा सलहेस त्यति नै चर्चित र लोकप्रिय हुन्। लोक नाचमा राजा सलहेसको नाच मन पराउनेहरूको कमि थिएन। अहिले मैथली लोक नाच नै लोप हुने खतरामा परेको छ। यसका कलाकारहरू पलायन भइसकेका र पलायन हुने क्रममा छन्। 

राजा सलहेस अहिलेको युवावर्गमा त्यती परिचित नभए पनि बुढापाकामा उनलाई नचिन्ने र उनलाई श्रद्धा नगर्ने कोही छैनन्। मिथिलाको यस्तो विभूतिलाई हालका आधुनिक शिक्षित सामाजमा पनि चिनाई राख्न फिल्म, कथा, कबिता र टेलिफिल्मको सहारा लिनुपर्ने देखिन्छ। यसमा सम्बन्धित पक्षले पहलकदमी लिनुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.