लघुवित्तमा आबद्धलाई उद्यमी बनाउन सुन्तला खेती तालिम
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य सेवा केन्द्रमा आबद्ध कृषकलाई उद्यमी बनाउन व्यावसायिक सुन्तला खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ।
निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घासा शाखाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, वडा नं.३ दाना र वडा नं. १० नारच्याङका सदस्यहरूका लागि चैत ५ देखि ७ गतेसम्म तालिम सञ्चालन भएको हो।
१० वटा सदस्य केन्द्रका ४० जनाको सहभागिता रहेको तालिममा कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत (सातौं) प्रकाश पुन र अन्नपूर्ण गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले सुन्तला नर्सरी स्थापना, रेखांकन, रोगकिरा पहिचान, काँटछाँट, मलजललगायत विषयमा तालिम दिएका निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घाँसा शाखाका प्रमुख पुरुषोत्तम खनालले जानकारी दिए।
तालिम समापन कार्यक्रममा निर्धन उत्थान संस्थाका उपाध्यक्ष जर्नादन देव पन्तले निर्धन लघुवित्तका सदस्यहरूलाई विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गर्ने उद्देश्यले संस्थाले सीपमूलक तालिम दिने गरेको बताए।
निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अञ्जु पाण्डेले लघुवित्तका सदस्यहरूले लिने ऋणको सदुपयोग गराउन प्रत्येक वर्ष एकवटा प्रदेशमा एक-एकवटा तालिम सञ्चालन गर्ने संस्थाको नीतिअनुसार यसपालि घरापलाई रोजिएको बताए। ७७ वटै जिल्लामा १ सय ८९ वटा शाखा कार्यलयमार्फत ४ लाख जना सदस्यलाई सामूहिक जमानीको आधारमा ऋण र वित्तीय सुविधा उपलब्ध गराएको छ।
प्रतिक्रिया दिनुहोस !