तस्करबाट यसरी ठगिन्छन् सोझा प्रगासहरू

तस्करबाट यसरी ठगिन्छन् सोझा प्रगासहरू

जनकपुरधाम : प्रगास महरा पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गए । त्यहाँ उनलाई एउटा गार्मेन्ट कम्पनीमा काम लगाइदिने भनिएको थियो । तर, दुबई पुगेपछि गार्मेन्ट कम्पनीमा नभई उनलाई कम्पनीका मजदुर बस्ने कोठामा पुर्‍याइयो । बन्धक बनाइयो । राहदानी खोसियो । न काम, न ज्याला । पराइको देशमा अलपत्र परे । पराइको देशमा बिलौना गरे, कसले पो सुन्थ्यो र ? बरु, देश फर्किन पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो । एजेन्टमार्फत ट्राभल एजेन्टसँग भेट गरे । एजेन्टले टिकट र अन्य कागजात बनाएर स्वदेश फर्काइदिने आश्वासन दिए । अनि, त्यसको बन्दोबस्त पनि गरिदिए । तर, प्रगासलाई थाहा थिएन कि त्यो पनि उनलाई फसाउने अर्को यड्यन्त्र थियो । 

ट्राभल एजेन्ट मुकेश साहले दुबईबाट फर्किने क्रममा प्रगासलाई एउटा राइसकुकर लगिदिन आग्रह गरे । सोझा प्रगास राइसकुकुर बोकेर स्वदेश फर्के । राइसकुकरको हिटिंग प्लेटमा सुन लुकाइएको थियो । जुन, प्रगासले पत्तो नै पाएका थिएनन् । कमाइ गर्न नपाए पनि स्वदेश फर्किन पाएकोमा उनी खुसी थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्न पाएकोमा खुसी थिए । तर, भन्सारका कर्मचारी र प्रहरीले पक्राउ गरे । त्यस बेलासम्म पनि आफूलाई किन पक्राउ गरियो भन्ने उनलाई थाहा थिएन । सुन तस्करी गरेको आरोप लगाइयो । आठ वर्षको जेल सजाय तोकियो र नक्खु जेल पठाइयो । 

त्यसबेला न त उनलाई कानुनी प्रतिरक्षाको अवसर दिइयो । न त उनको पक्षमा कसैले आवाज नै उठाए । चार वर्षसम्म नक्खु कारागारमा सजाय काटेपछि प्रगास निर्दोष साबित भए । राजस्व न्यायाधीकरण काठमाडौंका अध्यक्ष ब्रजेश प्याकुरेल र लेखा सदस्य वासुदेव खनालको इजलासले भन्सार/सुन भन्सार चोरी पैठारी मुद्दामा प्रगासलाई सोमबार थुनामुक्त गरेको हो । प्रगासका तर्फबाट अधिवक्ता रामकुमार कामत, दीपेन्द्र झा र अमितेश पण्डितले बहस गरेका थिए ।

nullप्रगास महरा ।

‘प्रगास महराको हकमा कैदसजाय भुक्तान भइसकेको र निजबाट बरामद भएको सुन जफतसमेत भइसकेको अवस्था देखिन्छ,’ थुनामुक्त आदेशमा भनिएको छ– प्रतिवादी विदेश गएको अवधि लामो समय भएको भन्ने नदेखिएको, निजबाट बरामद भएको सुन आफैंले खरिद गरी सुन चोरी पैठारी गरेको अवस्था नभई अन्य व्यक्तिको प्रलोभनमा परी बोकी ल्याएको भन्ने निजको बयान समेतबाट देखिएको उल्लेखित छ ।’

त्यसैगरी आदेशमा थप भनिएको छ, ‘निजको सामाजिक, आर्थिक एवं शैक्षिक अवस्थासमेत विचारणीय भएको साथै सुरु न्यायिक कार्यमा निज प्रतिवादीको तर्फबाट निष्पक्ष सुनुवाइको सन्दर्भमा उचित प्रतिनिधित्वसमेत भएको नदेखिँदा बिगोबमोजिम जरिबाना गरी सो जरिबानाबापत सात वर्ष कैद सजाय भुक्तान हुने गरी भएको निर्णय न्यायोचित एवं विवेकसम्मत नदेखिँदा प्रमुख भन्सार प्रशासनले गरेको फैसला मिलेको देखिँदैन । प्रतिवादीले बिगोबापत हालसम्म कैद बसेको अवधि नै निजको हकमा पर्याप्त रहे भएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६४ को उपदफा (५) बमोजिम निजको असुल जनाई लगत कट्टा गरी थुनामुक्त गरी दिनू । ’

निरन्तर बगिरहे आमाका आँखाबाट आँसु
असलानी महराका आँखा मंगलबार बिहानैदेखि आँसुले भरिएका थिए । ती आँसु कुनै शोक र दुःखले नभई, खुसी र सन्तोषका थिए । किनकि, करिब ६५ वर्षकी असलानीको बुढेसकालको सहारा छोरा प्रगास निकै कठिन परिस्थिति भोगेर घर फर्केका थिए । हुन त यति छिट्टै छोरा फर्किने आस असलानीलाई थिएन । तर, निकै लामो प्रयास र सहयोगपछि प्रगास मंगलबार बिहानै धनुषाको नक्टाझिज नगरपालिका— ६ स्थित आफ्नो घर फर्केका थिए । 

एकातर्फ छोरा फर्केकामा असलानी खुसी थिइन । तर, विदेश जान भन्दै छोराले लिएको ऋण तिर्नुपर्‍यो भन्दै एकाबिहानै साहुहरू घरको ढोकामा पुगिसकेका थिए । अब त्यो ऋण कसरी ऋण तिर्ने भन्ने चिन्ता पनि उस्तै थियो, असलानीको अनुहारमा । आर्थिक रूपमा निकै विपन्न र अशिक्षित दलित समुदायका ३६ वर्षीय प्रगास भने वैदेशिक रोजगारीका क्रममा ठगिएका थिए । अनाहकमा चार वर्ष जेलमा बिताएका थिए । 

परिवारले उनको रिहाइ हुने आशा मारिसकेको थियो । तर, अधिवक्ता दीपेन्द्र झाको पहल र प्रयासमा महरालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराइयो । अनि, थुनामुक्त भएर घर फर्के । नक्खु कारागारमा चार वर्षदेखि बिताउँदाका यातनाहरू प्रगासले बिर्सेका छैनन् । 

एजेन्टबाटै ठगी
प्रगासका ६ जना दाजुभाइ छन् । भागबन्डा गरेर सबै जना अलग भइसकेका छन् । आमा भने प्रगाससँग बस्छिन् । प्रगास गाउँमै मजदुरी गर्थे । चारवटी छोरी जन्मिएपछि घर खर्च धान्न कठिन भयो । अनि, वैदेशिक रोजगारीमा जाने निधो गरे । २०७७ मंसिर महिनामा प्रगास दुबई पुगे । तर, त्यहाँ न त उनले काम पाए न त तलब नै ।

‘गाउँघरका अरू युवाहरू पनि विदेश गएका थिए । त्यही देखेर मैले पनि विदेश जाने सोच बनाए,’ प्रगासले भने, ‘ विदेश जान गाउँकै साहु रामनारायण साहसँग ३ लाख रुपैयाँ कर्जा लिएको थिएँ । दुई लाख रुपैयाँ गाउँकै एजेन्ट सिकेन्द्र महतोलाई बुझाए । त्यहाँ गार्मेन्टको काम छ, कपडा प्याकिङ गर्नुपर्छ । खाने बस्ने सुविधासहित दुबईको एक हजार रुपैयाँ मासिक तलब पाउने भनी एजेन्टले भनेका थिए,’ प्रगासले सुनाए, ‘तर, त्यहाँ जानेबित्तिकै एउटा कोठामा लगेर थुनिदिए । कम्पनीका मान्छेले राहदानी पनि खोसे । शारीरिक यातना दिने, खाना नदिने र काम पनि नदिएर कोठामा थुने । जेनतेन बाँचे ।’

कम्पनीबाट भागेर ज्यान बचाएका प्रगासले नेपालको रोजगार कम्पनीलाई सम्पर्क गर्दा अर्को काम मिलाइदिने भन्दै करिब तीन महिना जति झुलायो । काम नपाएर भोकभोकै पर्ने अवस्था आएपछि प्रगासले घरमा सम्पर्क गरे । निकै दबाबपछि नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइदियो । २०७७ चैत २४ गते उनी नेपाल फर्किए । तर, नेपाल फर्किनेबित्तिकै सुन तस्करीको आरोपमा पक्राउ परे । विदेशको भूमिबाट ज्यान जोगाएर नेपाल फर्किएका प्रगास अनाहकमा जेल परे ।

दुबईबाट काठमाडौं फर्केको दिन त्रिभुवन विमानस्थलमा रहेका अधिकारीहरूले उनलाई ९३४ ग्राम सुन चोरी पैठारी गरेको आरोपमा विमानस्थलबाटै पक्राउ गरेका थिए । ‘मलाई त केही थाहै थिएन हजुर,’ प्रगासले भने, ‘घर फर्किन पाएकोमा मनमा खुसी थियो तर, एक्कासि प्रहरीले समात्यो । के भयो भनेर बुझ्दा मेरो सामानमा तस्करीको सुन रहेछ । अनपढ भएकै कारणले मलाई फेरि फसाइएको थियो ।’

राइसकुकर बोकेर ल्याउँदा जेलको बास दुबईबाट फर्किने क्रममा ट्राभल एजेन्ट मुकेश साहले प्रगासलाई एउटा राइसकुकर लगिदिन आग्रह गरे । मुकेशले आफ्नो बहिनीको बिहे हुन लागेको भन्दै राइसकुकुर लगिदिन आग्रह गरे । ‘नेपाल पुगेपछि बहिनीलाई दिनू’ भनेका थिए । तर, कुकरको हिटिङ प्लेटभित्र सुन लुकाएको प्रगासलाई थाहा थिएन । विमानस्थलमा चेकजाँचको क्रममा प्रगास तस्करीको सामानसहित फेला परे र उनलाई थुनामा पठाइयो । 

तत्कालीन प्रमुख भन्सार प्रशासक महेश भट्टराईले २०७८ चैत्र २८ मा प्रगासलाई सुन चोरी पैठारीमा दोषी ठहर गरी फैसला सुनाए । त्यसपछि उनलाई थुनामा पठाइयो । ‘मलाई त यो मुद्दाको बारेमा पनि केही थाहा थिएन हजुर, दुई वर्षसम्म जेलमै थिएँ,’ उनले भने,‘ २०८० वैशाख महिनामा मेरो भाइ विनोद महराले मलाई जेल हालिएको कुरा सुनाएपछि झसंग भएको थिएँ । मैले फैसला सुनेको ३५ दिनमा पुनरावेदन गर्न म्याद पाएको कागजमा हस्ताक्षर गराइएको थियो । मलाई कहिले छोड्ने हो भनेर प्रहरीलाई सोध्थेँ । उनीहरू ‘छिट्टै’ भन्ने जवाफ दिन्थे । त्यही आशामा जेलमा बसिरहें ।’

प्रशासक भट्टराईले प्रगासलाई जरिबाना रकम दाखिला गर्न नसके २०८५ चैत्र २३ गतेसम्म कैदमा राख्ने निर्णय गरेका थिए । जसअनुसार आठ वर्षको कैद सजाय हुन्थ्यो । तर, फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६४ (५) अनुसार जरिबानाबापत कैद गर्दा सात वर्षभन्दा बढी कैद गर्न नसकिने व्यवस्था छ । तर, प्रगासलाई आठ वर्ष कैद तोकिएको थियो । 

nullथुनामुक्त भएपछि प्रगासलाई हौसला दिँदै अधिवक्ता दीपेन्द्र झा ।  तस्बिर : मनिका झा

उचित कानुनी प्रतिरक्षा नपाउँदा अन्याय
प्रगासलाई आफ्नो बचावमा अधिवक्ता राख्न पाउने कानुनी व्यवस्थाबारे जानकारी पनि थिएन । उनी जेलभित्रबाट केवल आफ्ना परिवारका सदस्यहरूको सम्पर्कमा थिए । दलित समुदायका निरक्षर उनको खासै पहुँच र चिनजान पनि थिएन । उनि जेल परेपछि परिवारका सदस्यले चारैतिर हारगुहार गरे । ऋण लिएर जेनतेन काठमाडौंमा कोठा भाडा लिई प्रगासलाई थुनामुक्त गराउने प्रयासमा लागिराखेका थिए उनका कान्छा भाइ विनोद महरा ।

‘दाजुलाई जेलबाट छुटाउन सक्दो प्रयास गरेँ,’ विनोदले भने,‘ गाउँका नेता, ठूला मान्छेहरू, प्रहरी, प्रशासन सबैलाई गएर भनेँ तर, कहीँ कतै सुनुवाइ भएन । दाजु विदेशमा हुँदासम्म सम्पर्कमा भएका एजेन्टहरू पनि जब उनी सुन तस्करीको आरोपमा पक्राउ परे, त्यसपछि सम्पर्कविहीन भए । फोन उठाउन छाडे । काठमाडौंमा खाना खाने पैसासमेत थिएन । अधिवक्ता दीपेन्द्र झाको सम्पर्कमा पुगेपछि त्यहाँबाट न्यायको लागि पहल भयो । ’

प्रगासका लागि एकमात्रै सहारा बने, अधिवक्ता दीपेन्द्र झा । महोत्तरीबाट चुनाव लडेका झालाई अधिवक्ताभन्दा पनि नेता भनेर प्रगासकी दिदी रीता महराले चिनेकी थिइन् । झा केही व्यक्तिगत कामका लागि रीताको गाउँ महोत्तरीको पिपरा आएको बेला उनले रुँदै आफ्नो भाइलाई परेको अन्यायबारे सुनाइन् । ‘म एउटा पूजामा सहभागी हुन पिपरा गएको थिएँ । त्यहँी भेटिएकी थिइन् प्रगासकी दिदी । उनले भाइलाई परेको अन्याय बारे सुनाइन् । मैले उनलाई घटनाको फाइल दिन भने । उनले मेरो गाडीमा फाइल ल्याएर राखिदिइन् । काठमाडौं फर्कने बेलामा मैले त्यो फाइल पढेँ । अनि लाग्यो प्रगास माथि अन्याय नै भएको हो,’ अधिवक्ता झाले भने, ‘उनीमाथि सुन चोरी पैठारी मुद्दा दायर भएकोमा कानुनी प्रतिरक्षाविहीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फैसला हुँदा कैद र जरिबानाबापत ८ वर्ष कैदमा बस्नुपर्ने भनी फैसला भएको थियो ।

त्यसपछि पुनरावेदन म्याद रीतपूर्वक तामेल नभई करिब दुई वर्षपछि निजका परिवारका सदस्यहरूले मलाई सम्पर्क गरे । हामीले निःशुल्क कानुनी सेवा दिई रिटको माध्यमबाट पुनः पुनरावेदन म्याद जारी गराई पुनरावेदन दर्ता गराएका थियौं । सोहीअनुसार पुनरावेदनको रोहवरमा उनको पक्षमा सुनुवाइ भएको हो । यो न्यायको जित हो । उनी थुनामुक्त भएकोमा म निकै खुसी छु ।’ अब कसरी ऋण तिर्ने ? ‘चार वर्षमा मैले धेरै थोक गुमाइसकेको छु । मेरो टाउकोमा जति कपाल छन, त्योभन्दा बढी घरमा ऋण भइसक्यो कहाँबाट चुकाउने ? प्रगासले भने, ‘विदेशको चक्करले मलाई बर्बाद बनायो ।’

घर फर्किन पाएकोमा खुसीभन्दा पनि ऋण कसरी तिर्ने पिरमा छन, प्रगास । ‘जेलमा भएको बेला जतिखेर पनि एउटै कुरा सोचेर हैरान हुन्थे, घर परिवार कसरी चलेको होला, साहुकारहरूले त बेइज्जत नै गरेका होलान् भन्ने लाग्थ्यो,’ प्रगासले भने, ‘अब कसरी सबै कुरा ठीकठाक होला ? म त मर्नु न बाँच्नु भएको थिएँ । ’ प्रगास जेलका ती दिनहरू सम्झिँदै भन्छन्, ‘राम्रो जीवन पाउने आसमा विदेशको सपना देखेँ तर, विदेशमा कमाउनुको साटो मैले सबै गुमाएँ ।’ 

प्रगासको गाउँमा १० धुर घडेरी छ । पाँच वर्ष पहिला उनीसहित भाइहरूले कर्जा पैंचौ लिएर एउटा पक्की घर बनाएका थिए । त्यो घरमा हाल ६ जना भाइहरूको परिवार छुट्टा–छुट्टै बस्छन् । घर बनाएको ऋण पनि तिर्न बाँकी नै छ । खेती गर्न पनि उनीहरूसँग आफ्नो खेत छैन । अर्काको खेतमा मजदुरी गरेर परिवारको जीवन चलाउँदै आएका छन् । प्रगास विदेश जाने बेलामा लिएको ऋण अहिले बढेर लाखौं पुगेको छ । मिटरब्याजको चपेटामा परेका प्रगासको ऋणको तमसुक दुई पटक साहुले सच्याइसकेका छन् ।

ज्वाईंको चिन्ताले सासू, ससुरा बिते 

प्रगास जेल परेपछि सबैभन्दा बढी बिचल्लीमा परिन् पत्नी संगीता महरा । चारजना ससाना छोरी र वृद्ध सासूको भरणपोषणको जिम्मेवारी संगीता माथि आयो । सामान्य लेखपढ गर्न समेत नजानेकी र प्रगास हुँदासम्म घर बाहिर निस्केर काम पनि नगरेकी संगीतालाई छोराछोरी पाल्नकै लागि अर्काको खेतमा गएर मजदुरी गर्नुपर्ने बाध्यता आयो । अर्को तर्फ ज्वाईं (प्रगास) अनाहकमा जेल परेको थाहा पाएपछि संगीताका बुवा बिन्दे महरा र आमा मानो महरा चिन्तामा परे ।

‘मेरो बुवा र आमा दुवैजना उहाँकै चिन्तामा परेर बित्नु भो,’ पत्नी संगीताले भनिन्, ‘ज्वार्इंलाई यस्तो आपत् पर्‍यो । अब नातिनीहरूलाई कसरी पाल्ने होला ? घरपरिवार कसरी चलाउने होला ? भन्दै तीन वर्षअगाडि बुवा बित्नुभयो । त्यसको एक वर्षपछि आमा पनि बितेपछि म त टुहुरो भएँ,’ संगीताले रुँदै भनिन, ‘उहाँ पक्राउ परेको थाहा पाएदेखि मेरो त जीवननै उजाड बन्यो । बालबच्चालाई कसरी पाल्ने ? घरधन्दा कसरी चलाउने ? भन्दै मानसिक रूपमा पागलजस्तै भएकी थिएँ । सासूले निकै सहारा दिनु भयो । ऋण, सापट लिएर जेनतेन दिन काट्यांै । अहिले उहाँ फर्केपछि आशाहरू जागेर आएको छ । अब जे जसो भए पनि आफ्नै गाउँठाउँमा मेहनत मजदुरी गरेर परिवार चलाउँछौं । उहाँलाई विदेश कहिल्यै जान दिन्न ।’

एजेन्ट सम्पर्कविहीन
गाउँकै एजेन्ट सिकेन्द्र महतोले दुबईमा प्रगासलाई राम्रो रोजगार र तलबको ग्यारेन्टी दिएका थिए । तर, विदेश गएपछि न त भनेअनुसारको काम पाए, न तलब नै । उल्टै कम्पनीले राहदानी खोसेर अलपत्र बनाएको थियो । विदेश पठाउने नाउँमा दुई लाख रुपैयाँ प्रगासबाट लिएका एजेन्ट सिकेन्द्र हाल परिवारको सम्पर्कमा छैनन् । प्रगास जेल परेपछि उनको परिवारले गाउँमा ‘पञ्चायत भेला’ बोलाएको थियो । सिकेन्द्रलाई ठगीको जिम्मा लिनुपर्ने निर्णय गरिएको थियो । तर, उनले नत पञ्चायतको निर्णय माने, न त प्रगासलाई कुनै क्षतिपूर्ति नै दिए । हाल सम्पर्कमा पनि छैनन् । ‘जेठा र कान्छा छोराहरूले पटकपटक एजेन्टलाई ताकेता गरे,’ आमा असलानीले भनिन्, ‘गाउँका भद्रभलादमीहरूले पनि उनलाई न्याय गर्न निर्देशन दिए । तर पनि, कुनै रकम दिएन । हामीलाई परेको दुःखका बारेमा बुझ्न पनि आएनन् । छोरालाई यसरी फसायो कि हामी चार वर्षदेखि नर्कको जीवन भोग्न बाध्य भयौं । भगवान्ले त्यसको कहिले भलो गर्दैन ।’ 

विदेश पठाउँदा ठगिएका प्रगासलाई सुनको तस्करीमा फसाउने ट्राभल एजेन्ट मुकेश साह पनि कानुनी दायरामा आएका छैनन् । उनी न त प्रगासको परिवारको सम्पर्कमा छन् न त प्रहरीको । न प्रशासनले नै उनलाई समात्न कुनै पहल गरेको छ । आफू छुटेपछि अब ती एजेन्टहरूका विरुद्धमा प्रहरीमा जाहेरी दिने प्रगास बताउँछन् । उनी भन्छन्, ‘मलाई यसरी नर्क देखाउनेहरूलाई कानुनले सजाय दिनै पर्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.