फोहोर नउठेपछि प्रदूषित बन्यो कावासोती
नवलपुर : फोहोरको डम्पिङ साइड विवाद सुल्झन नसक्दा नवलपुरको सदरमुकाम कावासोतीमा विगत ९ दिन देखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठ्दा सदरमुकाम कावासोती प्रदूषित बन्दै गएको छ । स्थानीयहरूले फोहोर जलाउन थालेपछि यसले वायु प्रदूषण समेत बढाएको छ ।
कावासोतीका स्थानीय कुलप्रसाद भुसालले फोहोर नउठ्दा बाटोमा हिँड्न समेत मुस्किल बन्दै गएको बताए । उनले भने ,'जता गयो उतै फोहोरको डंगुर छ।नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । 'फोहोरबाट निस्किएको दुर्गन्धले विभिन्न रोग लाग्ने जोखिम बढ्दै गएको भुसालले बताए । उनले भने,'डम्पिङ साइडमा फोहोर फाल्न नदिएको भन्ने कुरा छ । तत्काल समस्याको समाधान खोज्नपर्छ ।' उनले फोहोर उठ्न नसक्दा हुने समस्याप्रतिसचेत रहन नगरपालिकासँग आग्रह समेत गरे ।
कावासोतीका चोकचोकमा फोहोर थुप्रन थालेका छन् । फोहोर नउठेर दुर्गन्धित हुँदै गएपछि स्थानीयले फोहोर जलाउन थालेका छन् । कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न नसकेको हो ।
सामुदायिक वनले आफूहरूसँग ५ वर्ष अगाडि भएको सम्झौता कार्यन्वयन नभएको भन्दै फोहोर डम्पिङ गर्न रोक लगाएको हो । दुई दिनअघि नगरपालिका र अंकुर सामुदायिक वनका बीचमा फोहोर व्यवस्थापन सम्बन्धी सम्झौता भएको थियो ।
तर, त्यसको कार्यन्वयनको अवस्था नहेरी फोहोर फाल्न दिने अवस्थामा आफूहरू नभएको अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसीले बताए । उनले भने , 'हामीले पटकपटक डम्पिङ साइड व्यवस्थापन को लागि ध्यानाकर्षण गरायौं ।सुनुवाइ नभएपछि बाध्य भएर फोहोर फाल्न रोक लगाएका हौं । '
सामुदायिक वन र नगरपालिका बीच फोहोरलाई वर्गीकरण गर्ने,कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने,नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई बिक्री गर्ने लगायतको सहमति भएको थियो ।
'हामीसँग दुईअघि पनि सम्झौता भएको छ । तर, सहमति बमोजिम काम भएको छैन।त्यसको उचित व्यवस्थापन नभएसम्म हामी फोहोर फाल्न दिँदैनौ ,'केसी ले भने । कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ वर्षदेखि फोहोर फाल्दै आएको थियो ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वनसँग सहमति भएको भन्दै अब छिट्टै फोहोर उठ्ने बताए । उनले भने ,'हामी सहमतिमा पुगेका छौं।सहमति अनुसारका काम सुरू भएका छन् ,अब छिट्टै फोहोर उठ्छ ।'
पौडेलले फोहोर उठाउने ठेकेदारसँग पनि छलफल भएको भन्दै डम्पिङ साडको व्यवस्थापन छिट्टै हुने बताए । पौडेलले छिट्टै फोहोर उठाउने बताए पनि सामुदायिक वनसँग भएको सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छैन । सम्झौता अनुसार काम गर्ने हो भने पनि अझै एक साता फोहोर उठ्न समय लाग्ने पौडेलले बताए ।
रोकिएको फोहोर उठाउनुपूर्व फोहोर फालिएको ठाउँमा सरसफाइ गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइने सहमति नगरपालिका र सामुदायिक वन बीच भएको थियो ।
प्रतिक्रिया दिनुहोस !