तिरहुतलाई सप्तरी प्रिमियर लिग

तिरहुतलाई सप्तरी प्रिमियर लिग

राजविराज : तिरहुत टाइगर्सले छैटौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधिमाथि कब्जा गरेको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै उपाधि उचालेको हो। 

तिरहुत टाइगर्सले दिएको ९२ रनको झिनो लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रन जोड्दै सबै विकेट गुमायो। छिन्नमस्ताको लागि विशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। राष्ट्रिय क्रिकेटर भीम सार्की उसका ४ ब्याटरले खातासमेत खोल्न सकेनन्।

तिरहुतको बलिङमा देब्रेहाते स्पिनर दीपेश कँडेलले सर्वाधिक ४ विकेट लिएर खेल आफ्नो पक्षमा पारे। गेम चेन्जरको पुरस्कार पाएका कँडेलले ४ ओभरमा २५ रन खर्चिए। यस्तै प्लेयर अफ द म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिए जुन क्रममा उनले ३ ओभरमा १५ रन खर्चिए। बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको तिरहुत टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो। तिरहुतको लागि भोलाकुमार साहले सर्वाधिक २९ रन योगदान दिए। बसिर अहमदले १८ तथा रूपेश सिंहले १० रन बनाउनुबाहेक अन्य ब्याट्रले दोहोरो अंकको रन बनाउन सकेनन्। छिन्नमस्ताको बलिङमा विशाल पटेल, फिर्दोश अन्सारी, गुणानन्द राय र सुमित नेवारले समान २ विकेट लिए। 

उपाधिसहित तिरहुत टाइगर्सले ३ लाख रुपैयाँ हात पारेको छ। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पुरस्कार थापेको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडी तिरहुत टाइगर्सका बसिर अहमद घोषित भए जसले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए। यस्तै उत्कृष्ट बलर छिन्नमस्ता लायन्सका विशाल पटेल घोषित भए जसले ७ खेलमा १५ विकेट लिए। उत्कृष्ट ब्याट्र कञ्चनरूप राइनोजका शुभ कंसाकार घोषित भए जसले ७ खेलमा २९७ रन बनाए। 

यस्तै उदीयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए जसले ७ खेलमा १२ विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुत टाइगर्सका कप्तान अनिलकुमार यादव घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले १५ हजारबराबरको क्रिकेट किट प्राप्त गरे। 

विजेता खेलाडीलाई तिरुहत गाउँपालिकाका अध्यक्ष विजय यादव, राजविराज नगरपलिकाका प्रवक्ता जयनारायण मण्डल, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्य दुर्गाराज पाठक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भुजेल, पत्रकार मनोहर पोखरेल, सशस्त्र डीएसपी गोविन्द पोखरेल, व्यापारी कलिम खाँलगायतले पुरस्कार वितरण गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.