मधेसलाई बिर्सेको सजाय उपेन्द्रले पाए
मधेसलाई इगनोर गरेर छोटो बाटोबाट उपेन्द्र यादव प्रधानमन्त्री बन्न खोजेका थिए। सत्ता गठबन्धनले यतिखेर झ्यालबाट फालिएका हुन्।
उपेन्द्र यादव मधेस राजनीतिका दुबो हुन्। दुबो कहिलेकहीँँ सुक्छ तर, त्यसको जारा फेरि मौलाएर आउँछ। सत्ताको मैदानमा रहेको हरियो दुबो यसरी सत्ता गठबन्धनका दुई हात्ती (एमाले र माओवादी पार्टी) को लडिबुडीमा कुल्चिन पुगेको छ। र, यादव ठूलो आकारबाट सानो आकारमा आइपुगेका हुन्।
उपेन्द्र यादव नेतृत्वको दल मधेसी दल होइन। मधेस आश्रित दल हो। २०७२ सालको आन्दोलनमा उपेन्द्र यादव जनताको साथमा रहेनन्। उनी चुनावी राजनीतिमा गए। चुनावी राजनीतिमा छलकपट, दाउपेच सबै चल्छ। उनलाई तत्कालीन समयमा मधेसी मोर्चाभन्दा पनि समाजवादी मोर्चाको सपना बढी आउँथ्यो। त्यसबाट उत्साहित हुन्थे। र परिकल्पनाकारका रूपमा देखिन्थे। तुलनात्मक रूपमा अरू नेताभन्दा उनी केपी ओली र प्रचण्डसँग अलि बढी नै कानेखुसी गर्थे। तर, यति खेर उपेन्द्र यादवले विगतमा गरेको कमजोरी प्रतिफल प्राप्त गरिहेका छन्।
उपेन्द्रले आफ्नो जरो बुझ्नुपर्छ। उनको जरो मधेस हो। मधेसको राजनीति बलियो रहे मात्रै काठमाडौंंको सत्ता र संसदीय गणितको राजनीतिमा त्यसले महत्व राख्छ। मधेसलाई इगनोर गरेर छोटो बाटोबाट उपेन्द्र यादव प्रधानमन्त्री बन्न खोजेका थिए। सत्ता गठबन्धनले यतिखेर झ्यालबाट फालिएका हुन्। उपेन्द्र यादवले मधेसको एजेन्डाभन्दा आफ्नो व्यक्ति लाभ र हानीलाई सत्ताको भर्याङ बनाए। सप्तरीमा हारेको मान्छे बारामा किन आउनुपर्यो ? उपप्रधानमन्त्री नै बन्दा मधेसले के पायो ? त्यसैले उपेन्द्रका विषयमा मधेसमा कुनै रुवाबासी छैन।
उपेन्द्र यादवलाई सत्ता गठबन्धनले उपप्रधानमन्त्रीबाट हटाउँछ। दूधबाट जसरी झिँगालाई फाल्छ त्यसैगरी सत्ता गठबन्धबाट उपेन्द्र यादव फालिन्छ। नेपाली राजनीतिको वचस्र्वशाली शक्तिलाई चिन्न नसक्नु उनको कमजोरी हो। उपेन्द्रले आफ्नो घरको कमजोरी सच्याएन सकेनन्। अनि पार्टी फुट्ययो। मधेसलाई बिर्सेको सजाय उपेन्द्रले पाएको हो।
(चन्द्रकिशोर राजनीतिक विश्लेषक हुन्।)